४ चैत्र २०६९ | 17 March 2013

अब्बल छ्वाली कलाकार

Share:
  

तस्वीर: ऋषिराम कट्टेल
इनाचो भक्तपुरका सीताराम गोसाई (२९) दत्तात्रेय मन्दिर छेवैको घरमा गहुँको छ्वालीबाट उत्कृष्ट कला सिर्जनामा रमाइरहेका भेटिन्छन्। चित्रकलामा पोख्त उनी आफ्ना मामाले छ्वालीबाट पंखा बनाएको देखेपछि यसमा लागेका थिए। “छ्वालीबाट धेरै उत्कृष्ट सिर्जनाहरु गरेको छु”, सीताराम भन्छन्, “तर, काठमाडौंमा नभएकाले कलाकारमा दरिन सकेको छैन।”

घरेलु तथा साना उद्योग विकास समिति भक्तपुरले भने उनलाई दुई पटक सर्वोत्कृष्ट कलाकारको पुरस्कार दिइसकेको छ। भक्तपुर दरबार परिसर र दत्तात्रेयमा उनले दुई पटक छ्वाली कला प्रदर्शनी गरेका छन् भने संयुक्त प्रदर्शनीको गन्ती छैन। उनले छ्वालीबाटै व्यक्तिचित्र र प्राकृतिक दृश्यदेखि मठमन्दिर, थाङ्का र ग्रिटिङ कार्डसम्म बनाएका छन्। यीमध्ये सीतारामले बनाएका छ्वालीका कालचक्र, हरित तारा, गुरुचक्र, पाटन दरबार, मञ्जुश्री विशेष छन्। “छ्वालीको कालचक्र साढे तीन लाख रुपैयाँमा बिक्री भएको छ”, सीताराम भन्छन्।

अहिले धेरैजसो महोत्सवका आयोजकहरु उनको कलालाई आकर्षण बनाउन चाहन्छन्। अर्थात्, काम बढेर सात जना स्टाफले नभ्याउने भएको छ। त्यसैले अझ् सजिलो होस् भनेर यही फागुनपछि श्रीमतीलाई शिक्षिका जागिरबाट छुटाएर यही काममा 'फुल टाइमर' बनाउँदैछन्। सीतारामको छ्वाली कला चीन, थाइल्याण्ड, सिंगापुर, अमेरिका र जापानसम्म पुगेको छ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम