नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय मानिन्थे, रामशरण दर्नाल । काठमाडौंको कालधारामा जन्मिएका दर्नालको पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि उनको जीवन नेपाली लोक सङ्गीतको जगेर्नामा समर्पित थियो । झप्रे दर्नालको नामले चिनिने उनका बुबा सत्यकुमार दर्नाल जातीय विभेदविरोधी आन्दोलनका चर्चित सहर्षनाथ कपालीका सहयोद्धा थिए । २००४ सालबाट प्रारम्भ भएको जातीय विभेद विरूद्धको आन्दोलनमा झप्रे दर्नालको भूमिका अविस्मरणीय थियो । राजनीतिक वातावरणमा हुर्किएका रामशरण दर्नालले आफूलाई सङ्गीत अनुसन्धाताको विराट व्यक्तित्व बनाए ।
काठमाडौंको दरबार हाईस्कूल र दार्जीलिङको सेन्ट रोवर्टस् हाईस्कूलमा पढेका दर्नालले २०१६ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान स्थापना भएपछि वाद्यवादकको रूपमा त्यहाँ प्रवेश गरेका थिए । प्रज्ञा–प्रतिष्ठानको सङ्गीत र नाट्य विभाग स्थापनामा उनको ठूलो देन रह्यो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलनहरूमा नेपाली लोक बाजा र लोक सङ्गीतको संरक्षणबारे उनले दर्जनौं पटक कार्यपत्रहरू पेश गरे । २०५६ मा प्राज्ञ भएका दर्नाल नेपाली बाजा सङ्ग्रहालय, दर्नाल सांस्कृतिक सम्वद्र्धन परिषद्, नेपाल दलित साहित्य तथा सांस्कृतिक प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, दलित बुद्धिजीवी प्रतिष्ठान, बिसे नगर्ची स्मृति प्रतिष्ठान, परियार सेवा समाजलगायत दर्जनौं संघसंस्थाका संस्थापक, सल्लाहकार र संरक्षक रहे ।
उनको योगदानको जीवनकालमै कदर भएकै पनि हो । उनले दरबार र सरकारले दिने गोरखा दक्षिण बाहुदेखि देश–विदेशका जनस्तरका पुरस्कार र सम्मानहरू पाए । तीमध्ये मधुरिमा सङ्गीत सम्मान, कलानिधि–इन्दिरा सङ्गीत सम्मान, साधना सम्मान, डा. अम्बेडकर अन्तर्राष्ट्रिय भाइचारा सम्मान, झ्पट पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नुरगङ्गा पुरस्कार छन् । उनका सङ्गीत परिक्रमा, विश्वविख्यात सङ्गीतकार, नेपाली वागिना, सङ्गीतको विस्तृत अवलोकन (दुई भाग), नेपाली सङ्गीत साधक, सङ्गीत सौरभ, कला, प्राज्ञ पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू लगायत दर्जनौं कृति प्रकाशन भएका छन् । केही प्रकाशोन्मुख छन् ।
गोपाल बराइली, काठमाडौं