१६ असोज १५ कात्तिक २०६८ | 3 Oct - 1 Nov 2011

माग

Share:
  

गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ

छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ

फिर्ता देऊ मलाई

कैयन् दिनसम्म झ्ण्डा ओढेर सुतेको मेरो फराकिलो छाती

जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु

भिजाएकी थिई मेरो छातीको फाँट,

फिर्ता देऊ मलाई बारुद बोक्दा थलिएको मेरो पिठ्यूँ,

फिर्ता देऊ एम्बुस पड्केर नसुन्ने भएका मेरा दुवै कान

फिर्ता देऊ छर्राले अँध्यारो बनाएको मेरो दाहिने आँखा

निधारमा अयोग्यको छाप लगाएर

अस्थायी शिविरबाट निकालिएको

म जन्मराम थारू

म डोलबहादुर लामा

म भूमिराज लिम्बू

म गुलाब शर्मा

म पुष्पबहादुर महर्जन

म चैनशोभा मगर

अर्थात् हामीहरू

फिर्ता मागिरहेछौं

क्रान्तिका नाममा बिताएको

एकदशक

जीवनका एक–एक सेकेन्ड !

अनमोलमणि

comments powered by Disqus

रमझम