दशैँबाट दशैँ हराएको खबर
छ छैन अखबारमा ?
शरद भुईंमा ओर्लेको छ,
स्कूल मावल गइसकेको छ ।
केही आएन भन्न असजिलो छ
तथापि,
दशैँ नआएको कुरा कतै
छ छैन शहरमा ?
उन्नाइस तोपको सलामीले भर्खरै
टुँडिखेलको मौन घोडा
उन्नाइस पटक तर्सेको ठीक साँचो हो ।
क्यालेन्डरको दशैँ छुट्टीमा
यता कार्यालयबाट,
उता जिन्दगीको व्यस्त चोकबाट
समय घर भागिसकेको पनि ठीक साँचो हो ।
तरै दशैँ आएकै खबर नै त
ती पनि होइनन् ।
रेडियोको मालश्री,
अखबारको सेलेब्रिटी गफ,
सरकारी गजेटको आधिकारिक सूचना...
यिनैमाझ् कतै हराएको छ
दशैँ ।
हलक्क हुर्किएको जमरा,
आकाशलाई हुत्याउँदै मच्चिरहेको पीङ,
सुनसान गाउँको बाटोमा अचानक
घर फर्किरहेका मानिसहरूका ताँती,
हृदयजस्तो एकान्त आँगनको
मखमली पूmल र बजारको
सपिङ सेन्टरको भीड पछिल्तिरबाट
निस्किसकेको छ दशैँ ।
सूचनामा दशैँ आएको कुरा चाहिँ
ठीक साँचो हो ।
राष्ट्राध्यक्षको औपचारिक भाषणमा
दशैँ आएको कुरा पनि ठीक साँचो हो ।
रङ्गीन पत्रिकाका मोटा विशेषाङ्कहरूभित्र
दशैँ लुकी आएको कुरा पनि ठीक साँचो हो ।
तर, दशैँ आएकै कुरा चाहिँ सही होइन ।
साँचो कुरा—
युद्धमा मारिएका मानिसका
टुहुरा छोराछोरीलाई थाहा छ ।
टाढा मरुभूमिमा हराएका छोरा पर्खेका जम्मै आमाहरूलाई थाहा छ ।
साँचो कुरा— गरिबका चिसा मझ्ेरीहरूलाई थाहा छ ।
विधवाका ऐनाहरूलाई थाहा छ ।