फोटोको लुकेको पाटो

Share:
  
- दीपक अर्याल
'गुरुको विद्यामाथि प्रश्न गर्नुहुँदैन' भन्ने मान्यताका कारण हुन सक्छ, वि.सं. १९८४ अघि गोर्खापत्रमा छापिएका तस्वीरहरू नेपाली फोटो पत्रकारिताको इतिहासमा नसमेटिएको।

वि. सं. २०२४ मा प्रकाशित गृष्मबहादुर देवकोटाको पुस्तक 'नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास'ले १३ वैशाख १९८४ मा प्रकाशित 'चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगञ्जकी सूर्यमती श्रेष्ठेनी'को तस्वीर नै नेपाली छापामा छापिएको पहिलो तस्वीर हो भनेर दाबी गर्‍यो। हाम्रो फोटो पत्रकारिताको इतिहास यही दाबीको आधारमा अगाडि बढ्यो। गत ४० वर्षदेखि यही आधारमा नेपाली पत्रकारिताको इतिहास पढ्ने–पढाउने काम भयो र अनुसन्धानात्मक पुस्तक तथा लेखहरूमा पनि फोटो पत्रकारिताको यही दाबी दोहोर्‍याइयो। जबकि, समाचारमूलक सामग्रीका लागि १९८४ सालभन्दा अगाडि नै देश समाचार अन्तर्गत दुई वटा र श्री ३ चन्द्रशमशेर राणासँग सम्बन्धित पुस्तकको विज्ञापन गर्न एउटा फोटो (हाल्फ टोन ब्लकमा आधारित) प्रकाशित भइसकेका थिए।

'गुरुले भनेका सबै कुरा सत्य हुन्छन् वा गुरुको विद्यामाथि प्रश्न गर्नुहुँदैन' भन्ने मान्यताले अग्रजका पुस्तक परको तथ्य खोतल्न जरूरी ठानिएन। नत्र, गोर्खापत्रमा समाचारसहित प्रकाशित फोटोमा ध्यान नजाने कुरै आउने थिएन। ३० असार १९८२ को गोर्खापत्रको देश समाचार (सदर) मा 'श्री ३ महाराजको जन्मोत्सव' शीर्षकमा समाचारसहित चन्द्रशमशेरको फोटो प्रकाशित छ। १९८३ श्रावण १८ गते सोमबारका दिन पनि चन्द्रशमशेरको जन्मोत्सवको समाचारमा उनको फोटोको प्रयोग गरिएको छ।

वि.सं. १९८४ मा प्रकाशित सूर्यमती श्रेष्ठेनीको फोटो सर्वसाधारणको क्याप्सनसहित फोटो भएकाले फोटो पत्रकारिताका दृष्टिकोणले त्यो महत्वपूर्ण छ भन्ने तर्क पनि गरिन्छ। तर, त्यो तर्क गर्दै गर्दा त्यो फोटो प्रकाशित हुनुका कारण पनि खोतल्नुपर्ने हुन्छ। वास्तवमा विविध विषयअन्तर्गत 'श्री चन्द्रकामधेनु चर्खा–प्रचारका खेती विभागद्वारा प्रकाशित कपास खेतीको साधारण सूचना!” भित्र प्रकाशित फोटोको सूचनाभित्र कपासको प्रशंसा गर्दै तुलसीकृत रामायणको श्लोक उद्धृत गरिएको छ। कपास खेतीका विषयमा जानकारी दिइएको सूचना जारी गरिंदा सूर्यमती श्रेष्ठेनीको फोटो प्रकाशित भएको देखिन्छ।

कमल दीक्षितका अनुसार महाराज चन्द्रशमशेरले गान्धीको चर्खाको शक्तिको अनुमान लगाइसकेका थिए। उनी त्यसको प्रतिकारमा नेपालभित्र आफ्नै प्रकारको स्वदेशी आन्दोलन चलोस् भन्ने चाहन्थे। यही योजना बमोजिम, केही वर्ष वार्धामा बसेर नेपाल आएका तुलसी मेहेरजीमार्फत 'चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी' जन्मियो। यस महागुठीले कामधेनु चर्खा र कपासका विषयमा विभिन्न जानकारी दिने उद्देश्यले तुलसी मेहेरले १९८३ देखि १९८८ सम्म गोर्खापत्रमा नियमित लेखेका थिए। यसै श्रृंखलाअन्तर्गत प्रकाशित सूचनाका लागि आवश्यक भएकोले मात्र श्रेष्ठेनीको तस्वीरको प्रयोग भएको हो, तर्क गरिए जस्तो आम जनताको समाचार दिनका लागि 'फोटो पत्रकारिता' गरिएको थिएन।

ऊ बेला तस्वीर लिने क्यामेरा सीमित व्यक्ति वा समूहसँग मात्र भएको सन्दर्भमा वीरगञ्जकी ती महिलालाई सर्वसाधारण जनताको रूपमा प्रतिनिधित्व गराउँदै समाचारका लागि गोरखापत्रमा तस्वीर छाप्ने काम पक्कै गरिएको होइन। बरू चन्द्रशमशेरको बगैंचामा काम गर्ने महिलालाई चन्द्रशमशेरले आफूले गरेको कामको बयान गर्न वा कपास खेतीको बयान गर्नका लागि एक माध्यमका रूपमा मात्र उपयोग गरिएको थियो।

comments powered by Disqus

रमझम