आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श
मेरो घरको आँगनमा
एउटा आदिम दुःख अग्लिरहेछ
अझ्ै पनि देखिएको छैन
मेरो घरको धुरीमाथिको आकाश
म गर्व गर्छु, म घमण्डले उन्मत्त छु
मैले बाँचेको जीवन, तिमीले मात्र होइन
सम्भवतः कसैले पनि बाँच्न सक्दैनन्
तिम्रो धुरी टेकेर, घाम पश्चिम ओर्लिएन भने
तिमी आफैँ भित्र टुक्रा–टुक्रा हुन्छौ
आफैँले आफ्नै हत्या गर्छौ
तिम्रो घरको बाटो भएर
बादल उकालो चढ्न मात्र खोज्यो भने
तिमी भगवानलाई सक्दो सराप्छौ
कि भगवानका अगाडि सेरिन्छौ
उज्यालोले नअघाउने, प्रिय मान्छे
दिन–रात घाम–जूनको पिरलोमा हुन्छौ
हाँसोलाई आँसुमा भिजाएर
उदास जीवनको गीत गाउँछौ
तिमी बाँच्नैका लागि
मनभरि अभिमन्युको चक्र बोकिरहन्छौ
सुखै सुखमा पनि, दुखै दुख देख्छौ
मेरो प्रिय मान्छे
बाँच्नु त एउटा साधारण दृष्टान्त हो
म आँसुलाई हाँसोमा मिसाएर
अँध्यारोमा, उमङ्गको गीत गाउँछु
मलाई अरूको घरको धुरीमा
घाम लुटपुटिएको औधी मन पर्छ
म पसिनामा जीवन खोज्छु
मलाई बादल मेरै घरको आँगनमा
मनलाग्दी नाचेको औधी मनपर्छ
म सङ्घर्षमा जीवन खोज्छु
तिम्रो खुसीका लागि पनि
मेरो प्रिय मान्छे
उज्यालोको सम्पूर्णता, तिमीतिरै जाओस्
तिमी मनदेखि नै उज्यालिनुपर्छ
म त घनघोर जङ्गलको मृगजस्तो
अँध्यारोभित्र उज्यालोका सपना देखिरहन्छु
कुरुपतामाथि सुन्दरताको सङ्गीत बजाइरहन्छु
म पसिनाको सङ्लो मुहान हुँ
सङ्घर्षको सबल उदाहरण हुँ
जीवनको मीठो धून हुँ
त्यसैले म आफँै घाम, जून हुँ
आज पनि छैन
मेरो घरको धुरीमा घामको स्पर्श
ठाकुर बेलवासे
खै उसले जितेर गयो कि हारेर गयो
कसरी भनुँ मरेर गयो कि मारेर गयो
नयनको यो मदिरा माग्यो पिलाइदिएँ
बिचरोले सद्दे बानी बिगारेर गयो
आउँदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो
मन–मथिङ्गल मेरैछेउमा थुपारेर गयो
ओढेर आएको त्यो इमानको च्यादर
आज उसले यतैकतै उतारेर गयो
उज्यालोदेखि शायद डराउँछ होला ऊ
मध्यरातमा किन ढोका उघारेर गयो ?
शीतल कादम्बिनी
गजल
बर्बाद घर नहोस् कसैको
खरानी रहर नहोस् कसैको
जुध्दैमा आँखा उसैसित
घायल नजर नहोस् कसैको
खेल्नलाई खेल्नु बैंसको खेल
बिटुलो अधर नहोस् कसैको
मित्रताको हात बढाउँदा पनि
साथमा खंजर नहोस् कसैको
बाँचौं हामी प्रेमपूर्वक
आपसी टक्कर नहोस् कसैको
देखौं अनि प्रसन्न हजुरलाई
दिल पत्थर नहोस् कसैको
साथ नदिए’नि कसैले यहाँ
निस्तो प्रहर नहोस् कसैको
जम्दैछ अब जिन्दगीको महफिल
उठ्ने तरखर नहोस् कसैको ।
ज्ञानुवाकर पौडेल
गजल
कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म ।
छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।
जहाँ पुकार्छौ मनले तिमी त्यहीं हुन्छु म
जूनमा छु, तारामा छु, साँच्चै सिङ्गो आकाशमा छु म ।
सुखमा छु, दुःखमा छु, छु तिम्रो हरेक भोगाइमा
आँटोमा छु, पीठोमा छु तिम्रो हरेक गाँसमा छु म ।
वनमा छु, छु उकाली ओरालीका तिम्रा सुसेलीहरूमा
पहाडमा छु, खोलीमा छु, पलाँस अनि गुराँसमा छु म ।
मिथिला प्याकुरेल
फेरि अर्को आइतबार
सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर
लावारिस सालका पातहरू
सल्र्याङ–सल्र्याङ सन्त्रास बजाउँदै
आयो अर्को आइतबार ।
सुर्ताको सुर्ती मल्दै
मलेशियामै हात छुटेको रघुवीरको खुइयऽऽऽ तन
अरबबाट छोरो मात्रै आर्जेकी धनकुमारीको जोगी मन
यत्ति नै खेर
चियापसले रामदुलारीको कित्लीहुँदै
सर्लाहीबाट अइयाऽऽऽ समाचारको फुस्सऽऽऽ बाफ उठ्छ
‘अपहरित रामस्वरुपको फिरौती पछि हत्या’
नथामेर त्यो ‘ओभर डोज’
रामदुलारीका चिया गिलासहरू दुर्घटनाग्रस्त हुन्छन्
भिखमपुरमा धु्रवेश दा’को सितार चुटिन्छ
तत्क्षण
बच्चे साह तेली बसाइ हिँडने लु चल्छ
बग्दाबग्दै नदी अररियो
सहनै पर्ने भो
फेरि अर्को ऋणात्मक आइतबार
भोग्नै पर्ने भो
फेरि अर्को गद्दार आइतबार !
चन्द्र घिमिरे
गजल
यो जमघट देखेर चकित छु अहिले
आफ्नै दुश्मनहरूको मीत छु अहिले ।
जब ढोका हालेँ, घरमै त्रसित थिएँ
ढोका फालेदेखि सुरक्षित छु अहिले ।
चल्दो रहेछ होडबाजी प्यारमा पनि
कसैको दिलमा मनोनीत छु अहिले ।
जति हाँस्नु थियो बच्चामै हाँसिसकेँ
हाँसोदेखि अब बञ्चित छु अहिले ।
आऊ, स्पर्शले मारेर जाऊ मलाई
दूबोमाथि अडेको शीत छु अहिले ।
भट्टीबाट निस्केपछि मुर्दा हुनेछु
के भन्नु छ भन, जीवित छु अहिले ।
राबत
फूलहरु फूलहरू हरेक दिन
भमरासँग तर्सिन्छन्
र, उनीहरूसँगै समर्पित हुन्छन् ।
फूलहरू हरेक क्षण
हावाहुरीदेखि डराउँछन्
र, उनीहरूकै तालमा नाच्छन् ।
फूलहरू मान्छेदेखि डराउँछन्
र, उनीहरूकै गलामा सजिन्छन् ।
थाहा छ फूलहरूलाई
सुन्दर हुनु अभिशाप हो ।
कोमल हुनु अभिशाप हो ।
र, सुगन्धित पनि अभिशाप हो ।
मौसमै पिच्छे
झ्र्दै जानु, पलाउँदै जानु
र, निम्सरो हावाको झेक्कासँग
हार्दै जानुमै फूलहरू सौभाग्य ठान्छन् ।
किनभने,
फूलहरूलाई शाश्वत नियम थाहा छ
नझ्री फेरि कसरी फुल्नु ?
*भोजराज न्यौपाने *