महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी !
झेल्दैछु म महाभारत, शकुनिका पासा,
बुझे पनि नबुझे झै कपटका भाषा !
यै छातीमा दुख्छन् अझै द्रौपदी र सीता,
सारथि भै आऊ लेख यो युगको गीता !
खेलूँ कति आगोसँग परीक्षा म दिऊँ,
अञ्जुलीमा जिन्दगीको भिक्षा कति लिऊँ !
धर्ती अब फाट्दैन मुटुमात्र फाट्छ
तिमी विना मेरो व्यथा अरू कसले बाँड्छ !
गीता त्रिपाठी
बाँसुरी
तातो रसिलो ओठ र बाँसुरी
हे प्रभु मलाई बाँसुरी बनाऊ
र, प्रियतमाको रातो ओठसम्म पु¥याऊ
सास फुकेर राग रागिनीको
मलाई जीवनमय बनाओस्
सम्पूर्ण ऊर्जाहरू मायाको सलल बगाओस्
म मुग्ध भएर भावातित ध्यानमा
मधुर ध्वनि बाहेक केही नरहुँ
नरम स्वर बाहेक केही नरहुँ
बगिरहँु, बगिरहुँ अनन्त अन्तरिक्षसम्म
सृष्टिको प्रत्येक अणुलाई अङ्कमाल गरेर
म बाँसुरी बाहेक केही नरहुँ ।
देवेन्द्र नेपाली
विदेशी हात
प्यारो छ हामीलाई नेपालै, किन बत्रु र जापान
जनप्रिय छन् नेता हाम्रा, प्रधानमन्त्री छन् विद्वान
बनेन सडक चलेन गाडी, तिनलाई के को बात
सुख’नि हुन्थ्यो, शान्ति’नि हुन्थ्यो नभए विदेशी हात !
प्यारो छ हामीलाई नेपालै, किन बत्रु र रूस
छन् कर्मचारी जनसेवक सच्चा, हेर्नै नसक्ने घुस
मन्त्रीगणको क्षमतालाई को दिन सक्छ मात
धारा’नि चल्थ्यो, बिजुली’नि बल्थ्यो नभए विदेशी हात !
प्यारो छ हामीलाई नेपालै, किन बत्रु र कतार
दल–बीचबीच छ प्रेम विलक्षण, साझ छ सरकार
सभासद् सबै मिहिनेती भन्दैनन् काममा दिनरात
संविधान’नि बन्थ्यो, सुरक्षा’नि हुन्थ्यो नभए विदेशी हात !
जुगल भूर्तेल
हत्याराको डायरी
कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी
डायरी मोटो छ महाभारतभन्दा मोटो
मान्छे मार्ने
लाखौँ तरिका
लाखौँ हतियार
(छुरीदेखि महँगीसम्म)
उल्लेख गरेको छ हत्याराले
आफूले मार्ने मान्छेहरूको
लामो सूची
तयार गरेको छ उसले
मिति र स्थानसहित
उसको सूचीमा छन्–
किसान÷मजदुर÷शिक्षक÷कवि÷पत्रकार
साना व्यापारी
को छैन उसको सूचीमा ?
उसको सूचीमा म छु
सेतै कपाल फुलेकी मेरी आमा छिन्
भातभान्छाबाहेक केही नजान्ने मेरी श्रीमती छे
राम्ररी बोली पनि नफुटेको मेरो छोरो छ
प्राइभेट कम्पनीमा काम गर्ने मेरी बहिनी छे
उसको सूचीमा
मेरा आफन्त छन्, छिमेकी छन्
मित्र छन्÷शत्रु छन्
को छैन उसको सूचीमा ?
यो देशको हरेक ‘ठूलो मान्छे’को हातमा
बिल्कुल त्यस्तै डायरी छ
अब कोसँग गुहार माग्ने ?
विनोदविक्रम केसी
गजल
अभागी यो अयोध्यामा जन्मिएनन् राम
सधैँभरि अन्धकार उदाएनन् घाम
रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति
बनिसक्यो देवभूमि दानवको गाम
शकुनि नै शकुनि छन् जता हेरे पनि
सुन्दिनँ म आजभोलि विदुरको नाम
पुगिएन गन्तव्यमा जति हिँडे पनि
यस्तो पारा अगुवाको, छक्क परे आम
सुनचाँदी, हीरामोती पेवा महलको
राजधानीतिर देख्छु अगस्तिको लाम ।
धनराज गिरी