भू–स्वर्गमा

Share:
  

सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल खप्तड लेकमा यो सिजनको अन्तिम हिमवर्षा फागुनको दोस्रो साता भयो। हिउँ यति पर्‍यो कि यो संरक्षित निकुञ्ज क्षेत्रका कोणधारी वनमा रूखका टुप्पा मात्र देखिन्थे, पाटन (नागी) हरु हिउँको तहभन्दा धेरै तल पुगेका थिए। आगामी दिनका लागि एकदमै राम्रो मौसमी सन्देश लिएर आएको यो हिमपातले मानिसहरुलाई नेपाली सेनाको गुल्म, निकुञ्ज कार्यालय र गेष्टहाउसहरुमा कैद बनायो– खप्तडलाई जोड्ने मार्गहरु समेत ठप्प पारेर। बाइस पाटन, बाउन्न झोती (थुम्का) भनेर चिनिने सुन्दर लेक खप्तडलाई अब यो हिउँ पग्लेपछि बुकीले सेताम्य बनाउनेछ।

द्वापर युगमा पाण्डवहरु यही लेक भएर स्वर्ग गएको धार्मिक किंवदन्ती छ। स्कन्दपुराणमा खप्तडलाई खेचराद्री पर्वत भनिएको छ। स्वर्गीय श्री १००८ सचिदानन्द सरस्वती (खप्तड बाबा)ले यहीं बसेर जीवनोपयोगी एक दर्जन पुस्तक रचना गरेका थिए। असोज–चैतसम्म हिउँ ओढेर बस्ने खप्तडका पाटनहरु जेठ, असार र साउनभर रंगीविरंगी भुईंफूलको पछ्यौराले ढाकिए झै देखिन्छन् भने चैत–वैशाखमा सात थरी गुराँसले ढकमक्क हुन्छ। खप्तडको डाँफे कोटबाट दार्चुलाको अपी, बझाङको सैपाल, बाजुराको बडीमालिका र भारतको नन्दादेवी हिमाल छर्लङ्ग देखिन्छ।

तस्वीर: दीर्घराज उपाध्याय

comments powered by Disqus

रमझम