१६ असोज १५ कात्तिक २०६८ | 3 Oct - 1 Nov 2011

रेलबाट युरोपको फन्को

Share:
  
- जीवा लामिछाने

सिनेट स्क्वायर, हेलसिन्की, फिनल्याण्ड ।
अन्ततः मैले एक्लै लामो यात्रा गर्ने निर्णय गरें । त्यो समयमा सोभियत संघमा विशाल भूगोल टुक्रा–टुक्रा पार्ने गरी राजनीतिक आँधीबेहरी आउनुपूर्वको सन्नाटा थियो । मस्को इन्ष्टिच्यूट अफ सिभिल इन्जिनियरिङका मेरा सहपाठी मित्र भरत शाक्य भर्खरै युरोपेली देशहरूको लामो यात्रा सकेर फर्किनुभएको थियो । युरोपको रेलयात्रा निकै सहज र आरामदायी छ । त्यो बेला सोभियत संघमा अध्ययनरत विद्यार्थीहरूलाई हरेक वाहनको शुल्कमा भारी छुटको व्यवस्था थियो । मस्कोमा युरो–रेलको टिकट किनेपछि युरोपका धेरै देश घुम्न सकिन्थ्यो ।

५ जुलाई १९९० को २२:३० बजे मस्कोको लेनिनग्रादरस्की रेल्वे स्टेशनबाट मेरो यात्रा शुरु भयो । च्याम्बरमा चार यात्रुको लागि छुट्टाछुट्टै सुत्न÷बस्न मिल्ने ठाउँ भए पनि म बाहेक अरू दुई जना मात्र थिए । उनीहरू मस्कोमा पढ्ने चेक गणतन्त्रका विद्यार्थी रहेछन् । चिनजानपछि हामीले स्याम्पेन खोलेर यात्राको शुभारम्भ ग¥यौं । भोका आँखाहरूलाई सौन्दर्यपान गराउँदै एकाबिहान धर्तीमा सुनौलो घाम पोखिने बेला हामी हेल्सिन्की पुग्यौं । रेल–स्टेसनमा भेट भएका एक पादरीले मलाई चर्चमा जान निकै अनुरोध गरे, आज भगवानको प्रत्यक्ष दर्शन गर्न पाइने दिन हो भन्दै !

क्रिस्टियाना, कोपनहेगन, डेनमार्क ।
त्यो समयमा अधिकांश सोभियत जनता धर्ममा विश्वास गर्दैनथे । त्यसैले ती धर्मगुरुहरू नास्तिकहरूलाई आफ्नो धर्मप्रति आस्था जगाउन, आकर्षित गर्न यसैगरी रेल–स्टेसनहरूमा बल्छी थापेर बस्थे, खास गरेर सोभियत संघबाट हेल्सिन्की आउने पर्यटकहरूको लागि । मलाई पादरीबाट पिण्ड छुटाएर हेल्सिन्की शहरतिर हेलिन हम्मेहम्मे परेको थियो । सन् १५५० मा राजा गुस्ताभले निर्माण गरेको हेल्सिन्की १९१७ मा फिनल्याण्डको राजधानी भएको इतिहास छ । प्राचीन कलाले सिँगारिएको यो ऐतिहासिक शहरको केन्द्रमा सिनेट स्क्वायर छ । डेढ सय वर्षभन्दा पुरानो हेल्सिन्की चर्च सबैको अवलोकन सूचीमा पर्छ । हेल्सिन्कीका भव्य भवन, विश्वविद्यालय र उद्यानहरू जोसुकैका लागि अविस्मरणीय छन् ।

हेल्सिन्कीबाट बाल्टिक सागरको नीलोपन र अथाह क्षितिज नियाल्दै गरिने स्टकहोमतर्फको यात्रामा सर्वाधिक रुचाइने सवारी साधन पानीजहाज हो । मी सिल्या लाइन नामको पानीजहाजमा सवार भएँ । सिङ्गो गाउँ अटाउने जहाजभित्र सुपर मार्केट, क्याफे–रेस्टुरेन्ट, साउना–जाकुजी र केटाकेटीहरूका लागि खेल्ने स्पटहरू थिए । कहिले एउटा छेउको मिनी मार्केटमा टहल्दै त कहिले अर्को छेउबाट घना जङ्गलयुक्त टापुहरूमा दृष्टिपात गर्दै मैले जहाजको कुना–कुनामा चक्कर मारें । ग्रीष्मऋतुमा स्कान्देनाभियाका देशहरूमा राति बाह्र बजेसम्म उज्यालो हुन्छ, जसलाई ‘ह्वाइट नाइट’ अर्थात् सेतो रात भन्ने गरिन्छ ।

बासेल, स्वीट्जरल्याण्ड।
सुत्नको लागि आरामदायी क्याबिन हुँदाहुँदै पनि म राति निकै बेरसम्म जहाजको छतमा थिएँ, चिसो सिरेटोसँग साक्षात्कार गर्दै । यसै पनि यो मेरो पहिलो रोमाञ्चक पानीजहाज यात्रा थियो । साँझ् १७:३० बजे हेल्सिन्की बन्दरगाह छोडेको, बिहान ८:३० मा स्कटहोम पुगियो । जुलाई ७ को दिनभर मैले स्टकहोमको फेरो मारिरहेँ । प्राचीनता र आधुनिकताको मिश्रण स्कटहोम शहरका प्रसिद्ध केन्द्रहरू खासगरी नेचुरल हिस्ट्री म्युजियम, मोडर्न म्युजियम, स्टकहोम चर्च, राजप्रासाद आदिको सौन्दर्य र भव्यतालाई आँखाले नियालें, मनले छामें । त्यसपछि काल्र्सवर्ग बियरको लागि प्रख्यात डेनमार्कको कोपेनहेगनतिर लागेँ ।

धेरै सुत्ने, खाने ठाउँ तर थोरै यात्री रात्रि ट्रेनले बिहान कोपेनहेगनको सेन्ट्रल रेल्वे–स्टेशन पु¥यायो । त्यहाँबाट म रोजेनवर्ग चर्चतिर लागेँ, त्यसपछि क्रिस्टियाना गएँ । क्रिस्टियानालाई १७औं शताब्दीको प्रारम्भिककालदेखि नै स्वच्छन्द स्वभावका मानिसहरूले गुल्जार बनाएको शहर मानिन्छ । अहिले पनि गाँजा जस्ता पदार्थहरू सजिलै किनबेच हुँदोरहेछ । शहरमा जताततै स्वादिलो डेनिस परिकार हट डगका स्टलहरू लामबद्ध थिए । क्षणभरमै तयार गरिने यो सुस्वादु परिकार पर्यटकहरूका लागि समेत असाध्यै लोकप्रिय खाना हो । त्यस दिनको मेरो लञ्च पनि हट डग नै भयो ।

८ जुलाईको मध्यान्हमा म स्वीट्जरल्याण्डको सिमानामा रहेको बासेल शहरमा थिएँ । उत्तर–पश्चिम स्वीट्जरल्याण्डको राइन नदीछेउको बासेलले ‘सानो तर सुन्दर’ भन्ने विचारलाई आत्मसात् गरे जस्तो लाग्यो । फ्रान्स र जर्मनीको पनि सिमानामा पर्ने बासेलका इलम सङ्ग्रहालय र चर्च पर्यटकका लागि चुम्बक नै रहेछन् । बासेलबाट जेनेभा जाने ट्रेन पर्खिरहेको बेला मैले एक जर्मन चिकित्सक दम्पतीलाई भेटें । उनीहरूले १० वर्षअघि भारतको राँचीमा स्वयंसेवीको रूपमा काम गरेका रहेछन् । त्यही बेला नेपाल पनि गएका रहेछन् । स्वीट्जरल्याण्डको लागि ट्रेन नआउञ्जेल गफगाफ चल्यो ।

तत्कालीन पूर्वी जर्मनी र पश्चिम जर्मनीबीचको चार्ली चेक प्वाइन्ट– पहिले (दायाँ) र अहिले ।
स्वीट्जरल्याण्डका अनगिन्ती पहाडहरू छेडेर बनाएका टनेलहरू पार गर्दै मैले कल्पना गरें, हाम्रो देशका अक्षत पहाडहरूभित्र यस्ता द्रूतगतिको ट्रेनले कहिले पूर्व–पश्चिम, उत्तर–दक्षिण गर्लान् ? यस्तो प्रगति हाम्रै जीवनकालमा होला ? या सन्ततिहरूको पालामा मात्र ? यस्ता प्रश्नहरूले हुँडलिरहेका बेला मनभित्र अलिकति अवसादले पनि छोयो । जेनेभा स्वीट्जरल्याण्डको मात्र होइन, अन्तर्राष्ट्रिय रेडक्रसलगायत संयुक्त राष्ट्रसंघका अधिकांश संस्थाहरूको पनि राजधानी हो । फ्रेन्च, जर्मन र अङ्ग्रेजी यहाँका प्रमुख भाषा हुन् । यहाँका सङ्ग्रहालयहरू हेर्न चार घण्टाको समय हात्तीको मुखमा जिरा हुँदोरहेछ । जाँ हेनरी ड्युनाको समयदेखि वर्तमानसम्मका रेडक्रस गतिविधिहरू जान्न र प्रथम विश्वयुद्धका युद्धबन्दीहरूको कथाव्यथा बुझन भाग्यले साथ दिए अर्को पटक अवश्य आउनेछु भन्दै मन बुझएँ ।

१८८६ मा बनेको जेनेभाको द जेट् दीयू वाटर फाउण्डेसन युरोपकै सबभन्दा ठूलो फोहोरा हो । यसमा प्रति सेकेण्ड ५०० लिटर पानी १५० मिटरको उचाइबाट प्रतिघण्टा २०० किमिको दरले खस्छ । यो अभूतपूर्व फोहोरा (हावा)मा झ्रिरहेको पानी ७००० लिटर हुन्छ । विराट फोहोरालाई जति हे¥यो त्यति भव्य देखिँदोरहेछ । चिल्ला सडकमा तीव्र गतिमा हुँइकिरहेका कारहरू पैदल यात्रु देख्नासाथ टक्क रोकिँदा रहेछन् । पैदल यात्रुहरूलाई महŒव दिने यस्तो सभ्यता हाम्रो देशमा कहिले पुग्ला ?

जेनेभाबाट हिँडेपछि बासेलको सिमानामा ट्रेन परिवर्तन गरेर एकाबिहानै जर्मनीको फ्राङ्कफर्टमा आईपुगेँ । मेन नदी किनारमा बसेको जर्मनीको सबभन्दा ठूलो शहर फ्राङ्कफर्ट युरोपको प्रमुख पारवहन तथा आर्थिक केन्द्र पनि हो । शीतयुद्धताका यो स्थान अमेरिकी सेनाको प्रमुख किल्ला थियो । फ्राङ्कफर्ट रेल्वे–स्टेशन सम्भवतः युरोपको सबैभन्दा व्यस्त रेल्वे–स्टेशन हो । फ्राङ्कफर्टमा केही समय बिताएपछि अर्को ट्रेनमा बर्लिनतिर लागें ।

त्यतिबेला बर्लिन रूसीहरूको व्यापारिक सामग्री किन्ने मुख्य बजार थियो । मैले बर्लिनका चेक प्वाइन्ट चार्ली, पोग्रोम सङ्ग्रहालय, व्राण्डेडवर्ग गेटलगायत केही स्थानको तुफानी भ्रमण गरें । सोभियत संघले सन् १९६१ मा निर्माण गरिदिएको चेकप्वाइन्ट चार्ली पूर्वी जर्मनीमा प्रवेश गर्ने विदेशीहरूलाई सुरक्षा जाँच गर्ने स्थान र शीतयुद्धको साङ्केतिक प्रतिबिम्ब थियो । १९९० मा बर्लिनको पर्खाल भत्काइएसँगै चेकप्वाइन्ट चार्ली इतिहासको गर्तमा विलाएर गयो । यद्यपि, ती कठोर दिनहरूको सम्झ्नास्वरुप त्यो ठाउँमा आज पनि एउटा प्रहरीले पहरा दिइरहेको हुन्छ !

क्षितिजमा सूर्यले बिदा लिने बेला म मस्को जाने रात्रिट्रेन समात्न पूर्वी बर्लिनमा थिएँ । र, बर्लिनबाट ५१६ किमि टाढा वार्सा छिचोलेर मिन्स्क हुँदै मस्को पुगेँ । ग्रीष्म ऋतुकालीन मेरो युरोप ट्रेन यात्रा मौसमका कारण पनि अत्यन्तै मनोहर भयो । १३ जुलाईमा मस्को आइपुग्दा मैले ट्रेन र पानीजहाजबाट युरोपको ५६३८ किमि परिधि तय गरेछु । यो अवधिमा मनले चाहिँ कति फन्को मा¥यो, गनिसाध्य छैन ।

रमाइलो र सुरक्षा अनुभूतिका लागि प्रायः साथीभाइसँग विनोदपूर्ण यात्रा गर्नेलाई एक्लो भ्रमण आफ्नै स्वादको हुँदोरहेछ । न औपचारिकताको बन्धन न तालिकाको यान्त्रिकता । आफूलाई सुसेल्न मन लागे सुसेल्ने, खान मन लागे खाने । हिँड्न मन लागे हिँड्ने, किताब पढ्न मन लागे पानाहरू पल्टाउने । जे मन लाग्यो, त्यै अन्तिम निर्णय !

सामूहिक यात्रामा आफ्नै मन र आँखालाई पनि बण्डा गर्नुपर्छ । एक्लो यात्रामा साँच्चै यायावर शैलीको निजात्मकता मौलाउँदो रहेछ । त्यसैले होला, रहस्यको दुनियाँ पहिल्याउन निस्केका साधुहरूले मर्जीको मालिक र पाइलाको सम्राट हुन एक्लो यात्रा रोजेका !

comments powered by Disqus

रमझम