१६ असोज १५ कात्तिक २०६८ | 3 Oct - 1 Nov 2011

'खसे पुक' को अभ्यास

Share:
  
- कैलाश राई

बाल्यकालको सम्झ्ना दिलाउने दुङमाली किरात राई मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन् । पहिलो प्रसङ्ग, मेरी मावली बोजु (हजुरआमा)को । पल्टनमा जमदार बाजेले त्यतिबेलाको ‘नेपाल’की मगर्नीलाई पँधेराबाटै तानेर भोजपुरको उदेकलाग्दो गाउँमा पुर्याउनुभएछ । रहँदाबस्दा बोजुले गाउँको भाषा, परिवेश र संस्कृति यति आत्मसात् गर्नुभयो, कसैले बाहिरबाट आएको भेउ नै नपाउने भो ! दुङमालीले बोजुको मातृभाषा समेत कप्लक्कै निलिदियो ।

जीवनकालमा उहाँ एकपल्ट पनि माइत जानुभएन । माइतीको एउटा मात्र चिठ्ठी पनि निधनपछि आइपुग्यो । बोजुले सामना गरेको भाषिक कठिनाई म भन्न सक्दिनँ, तर २०४९–५० ताका मैले केही कठिनाईसँग जुध्नुपरेको थियो । हैरानै भइयो । तर त्यसले बोजुको जस्तै सकारात्मक गति लिनु रहेछ, लियो ।

‘खसे पुक’को शक्ति

प्राथमिक शिक्षादेखि नै नेपाली पाठ्यक्रमअन्तर्गत नेपालीमै पढाइ हुने विद्यालयमा बाहिरबाट आएका नेपालीभाषी मास्टरहरू हामीलाई नेपालीमा अभ्यस्त पार्ने अनेक कोसिस गर्नुहुन्थ्यो, तर हाम्रो जिब्रोमा यो भाषा बस्नै मान्दैनथ्यो । फुल पार्ने दशथरी पक्षीको नाम लेख भन्ने प्रश्न कसोकसो बुझेछौं । सबै उत्तर लेख्यौँ, तर आफ्नै मातृभाषामा (अझ्ै पनि म कतिपय चराचुरुङ्गी र बोटबिरुवालाई नेपाली नामले चिन्दिनँ) । कापी जाँच्दा सरले बुझनुभएन । धन्न, ती सरले स्कूल नजिकै बिहे गर्नुभएको थियो; त्यही अन्तरजातीय विवाहले हाम्रो उद्धार गरेछ ।

पाँच कक्षाको अङ्ग्रेजीको जाँच घोकेरै दिइयो । नेपालीमा अङ्ग्रेजीको भन्दा कता हो कता धेरै लेखियो, तर के लेखेँ थाहा थिएन । तीनओटा प्रश्न बाँकी छँदा नेपाली पढाउने सरले आएर कालोपाटीमा धमाधम उत्तर लेखिदिनुभयो । हामी पास भयौं । जिल्लास्तरीय जाँच थियो, अरू विषय बिगारे पनि नेपालीमा विद्यार्थी फेल भए सरहरूलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गरिएको पछि मात्र थाह भयो । त्यसबेला अलिअलि हाम्रो मातृभाषा बुझने र बोल्नेलाई मात्र हामी ‘हाम्रो’ सर ठान्थ्यौं–भन्थ्यौँ, अरू सरहरू ‘अरू’ हुन्थे । गाउँभरि सबै जातकाले दुङमाली भाषा नै बोल्थे । हाम्रा लागि नेपाली भाषा ‘खसे पुक’ (खस कुरा) थियो ।

मेरो लागि नेपाली, अङ्ग्रेजी, गणित सबै उस्तै थिए । त्यसमाथि एकताका हामीलाई संस्कृत पनि पढाइटोपलियो जस्तो लाग्छ । पाँच कक्षासम्म के के पढेँ भनेर अहिले सम्झ्ँदा हात लाग्यो शून्य हुन्छ । र पनि, नेपाली भाषाको चाम्रो चिउरा चपाउने असली कसरत गर्नै बाँकी रहेछ, जुन जसोतसो पाँच कक्षा छिचोलेर अर्कै माहोलमा पुगेपछि शुरु भयो । मजैले तर्सायो, नेपालीको भूतले । कक्षामा प्रायः सबै साथी नेपाली मातृभाषी थिए । तिनको चुरीफुरी नै अर्को । आफू भने सधैँ अक्क न बक्क । तर जसरी पनि ‘खसे पुक’ जान्नैपर्ने बाध्यता आइलाग्यो । कनीकुथी बोल्नै पर्दा कसैले बेस्कन घाँटी अँठ्याए जस्तो हुन्थ्यो, आवाजविहीन जिब्रो खाली हल्लने मात्र । अनि साथीहरू खिसी गर्थे, मास्टरहरू हाँस्थे । हामी लाज र लघुताभासले भुतुक्क हुन्थ्यौं । जानेका कुरा पनि मुखैमा अड्किन्थे । कक्षामा सधैं चुपचाप बस्थ्यौं । मातृभाषामा उटपट्याङ अर्थ लाग्ने नेपाली शब्दहरू आउँदा अचानक हाँसिन्थ्यो । अङ्ग्रेजी, विज्ञान र गणित पढाउने सरहरू तराईका साह र मण्डल थरका हुनुहुन्थ्यो । अरू साथीका लागि उहाँहरूको नेपाली पनि हाँसोको विषय बन्थ्यो ।

तैपनि अरू दुङमाली साथीहरूको भन्दा मेरो नेपाली राम्रो रहेछ । त्यसैले उनीहरू धेरैजसो मामलामा मलाई अगाडि सार्थे । धेरैको प्रेमपत्र पनि लेखिदिएँ । लेखेर स्वाद मानी–मानिकन वाचन गरिदिएपछि मात्र चिठी खामबन्दी हुन्थ्यो । नेपाली लवज राम्रो बनाउन रातभर पाठ्यक्रमका कविताहरू सस्वर वाचन गर्थें । एउटा वादविवाद प्रतियोगितामा पहिलो भएपछि भने मेरो आत्मविश्वास बढेर आयो । पुरस्कारमा गोटाको रु.१ पर्ने तीनवटा कापी पाएपछि ‘खसे पुक’को शक्ति थाहा पाएँ ।

यति हुँदासम्म पनि, साथीहरूसँग गफगाफ गर्दा बीचबीचमा दुङमाली पसिहाल्थ्यो । कतिपयले जिस्क्याउँथे, “हामीलाई’नि सिकाउ न तिम्रो भाषा, तिमीलाई’नि सजिलो, हामीलाई’नि मजा !” तर म त बिस्तारै घरमा पनि ‘खसे पुक’ नै बोल्न थालेको थिएँ । शायद म जीविकोपार्जनको लागि गाउँबाट बाहिरिने तयारीमा थिएँ, मेरी बोजुको मातृभाषालाई कुप्लुक्क पार्ने दुङमालीको ठाउँमा म पर्वते नेपालीलाई ठेल्दै थिएँ । अब त गाउँमै पनि हामीमुनिका पुस्तालाई सानैदेखि नेपालीमा बानी पार्ने प्रयत्न शुरु भइसकेको थियो । मातृभाषाको सङ्कुचनसँगै क्रमशः सम्पर्क, सम्बन्ध र सम्भावनाहरूको दायरा फराकिलो हुँदै थियो ।

कतिसम्म भएछ भने, धेरैपछि आएर गोरखापत्र को ‘नयाँ नेपाल’ पातोले मसँग मातृभाषाको परीक्षा लिँदा फेल भएछु । लेख्य परम्परा नभएको दुङमाली ‘पुक’ बोल्दा मलाई जति मीठो र सहज लाग्थ्यो, गोरखापत्र का लागि एउटा लेख सिध्याउन त्यति गाह्रो भयो । अन्त्यमा, नेपालीमै सरसर्ती लेखेर दुङमालीमा उल्था गरेँ । लेख दुङमाली, भाव नेपाली रह्यो । स्कूले जीवनको त्यो अप्ठ्यारो ठ्याक्कै उल्टिन पुगेछ । यसमा अभ्यासको अभावले काम गरेको थियो । दुङमाली भाषाको वर्ण निर्धारणमा सहभागी भएपछि मातृभाषाको त्यो लेखमा भएको भाषिक र व्याकरणीय त्रुटि थाहा पाएँ ।

अभिव्यक्तिमा मातृभाषा

२०६७ मङ्सिरमा जलेश्वरको एक कार्यक्रममा सीके लालले आफ्नो मातृभाषामा बोलेको क्षण मेरो स्मृतिमा सधैँ नाचिरहन्छ । नेपाली, अङ्ग्रेजी र हिन्दीमा राम्रो पकड भएका सीके सरको मातृभाषा मैथिलीको अभिव्यक्तिमा बेग्लै तागत थियो । त्यसैगरी, सभासद्द्वय रामशिला ठाकुर र इन्द्रावती अधिकारी दनुवारले मसँग गरिरहेको ‘कनीकुथी नेपाली’ले त्यतिखेर पल्टा खायो जब बीचैमा मोबाइलको घण्टी बज्यो । फोनमा बोल्दा उहाँहरू दुवैले मातृभाषाको वाक्पटुता र कमाल देखाउनुभएको थियो ।

दोस्रो भाषा अर्थात् पछाडि करले सिकेको भाषामा आफूलाई भन्न मन लागेको र थाहा भएको कुरा पनि चाहेअनुरुप भन्न सकिँदैन । अर्कोतिर अर्थको अनर्थ नलागोस् भन्ने पिरलो उत्तिकै हुन्छ । राजनीतिक जीवनसँगसँगै नेपाली भाषाको व्यावहारिक अभ्यास थालेका सभासद्द्वयले अझ्ै सिक्दै गरेको बताउनुभयो । यो ‘सिक्ने’ क्रममा हामी अङ्ग्रेजीतिर कसरी लहसिएका छौं भन्ने वर्णन कसैले गरिरहनुपर्दैन । मेरो आफ्नो अवस्था चाहिँ कस्तो छ भने, अङ्ग्रेजीमा अभिव्यक्त गर्नुपर्ने बाध्यतामा फँस्दा पनि व्यवहारमा बिरानो भइसकेको उही मातृभाषाले साथ दिन खोजिरहन्छ । विदेशीहरू लट्टे पड्के झै अङ्ग्रेजी बोलेको सुन्दा मलाई दुङमालीमा धाराप्रवाह हुन मन लाग्छ । अनि फेरि बोजुलाई सम्झ्न्छु ।

छोराले बोलाएपछि उहाँ मलाया घुम्न जानुभयो । एयरपोर्टमा ओर्लिएपछि एउटा भीमकाय गोराले के–के, के–के सोधेछ । बोजुले अन्दाजकै भरमा आफ्नो कुरा राख्दा पहिला जानी–नजानी नेपालीमा बोल्नुभएछ । गोराले बुझेन । अनि दुङमाली भाषामा भन्नुभएछ । गोराले अझै बुझेन । बिर्सिसकेको मगर भाषा पनि प्रयोग गर्नुभएछ । गोराले फेरि पनि बुझेन । अब त झवाँक चल्यो, बोजुलाई । उहाँ दुङमालीमा कड्किनुभएछ, “यत्रो मलेवा शहरमा बस्ने साहेपलाई म पाखादेखि झ्रेकी बूढी मान्छेले यत्रो कुरा भन्दा पनि अझ् सोधिरहने ?” अनि चाहिँ गोराले हाँस्दै बाटो देखाइदिएछ । बोजु भन्नुहुन्थ्यो, “मलाई त दुङमाली नै सजिलो ।”

comments powered by Disqus

रमझम