वास्तुमाथि बकबक

Share:
  
- मिलन बगाले
बाथले गोडा सुन्निएका हजुरबा–आमाहरू बनिसकेको घरको मोहडादेखि भर्‍याङसम्मका वास्तुका कारण बेस्सरी पिरिएका छन्।

तस्वीर: बिलाश राई

–घरको वास्तु नै मिलेनछ...।

–के भएर मिलेनछ?

–भर्‍याङ पूर्वतिर हुनुपर्थ्यो, उत्तर परेछ। बरु सुत्ने कोठा उत्तरतिरै भए राम्रो हुन्थ्यो।

–ज्या...।

छतमा घाम तापेर बसेकी छिमेकी हजुरआमाले आफ्नै घरबारे गुनासो गर्नुभयो। बिहानको घाम पर्ने उहाँको कोठा भएको भागमा भर्‍याङ पनि रहेनछ।

–वास्तु नमिलेको कुरा कसले भन्यो?

–टिभीले।

लौ, टिभीले पो बिगारेको रै'छ यतिका वर्षदेखि बसेको आमैको घरको वास्तु। केही वर्षयता शहरमा सप्रेका वास्तुशास्त्र मिले–नमिलेको गणित सुनाउने टिभी कार्यक्रमहरूले नक्सा मगाएर घरको जोखानासमेत हेर्न थालेपछि यस्तो परिणाम अवश्यंभावी नै थियो।

यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ। केही वर्षअघिसम्म शास्त्रको ठेलीमा च्यापिएको यही वैदिक वास्तुशास्त्रलाई अहिले टेलिभिजनहरूले 'यस्तो भए शुभ, उस्तो भए अशुभ' भन्दै घर–घर पुर्‍याएका हुन्। यो अवस्थामा घर–भवन बनाउँदा आर्किटेक्ट इन्जिनियरहरूको भन्दा पण्डितहरूको सल्लाह–सीप बढी दामी हुन जानु स्वाभाविकै हो।

वैदिक निर्माण संस्कारमा पुनर्जागरण ल्याउन कम्मर कसेको प्रतीत हुने यी वास्तुशास्त्री पण्डितमध्ये कतिले विज्ञानसम्मत शुभ―अशुभ देखाइरहेका छन्, त्यो खोज्ने कसले? त्यसो त, उनीहरूले भनेकै पुगी पनि रहेको छ। जस्तो, नयाँबानेश्वरस्थित दक्षिण फर्केको संविधानसभा भवनको वास्तु मिलेन, संविधान बनेन। प्रधानमन्त्री निवास बालुवाटारको वास्तु मिलेको भए पो कुनै प्रधानमन्त्री 'माईका लाल भएर' धेरै महीना टिक्थे। धेरै टिके पो राम्रो काम गर्न भ्याउनू!

यसरी वास्तु नमिलेकैले हनुमानको फिर्फिरे पुच्छरले पूराका पूरा लंका जलाएको कथा अहिले शहरका बडाबडा भवनलाई उल्याउने बिम्ब समेत बन्न थालेका छन्। चिनियाँ आर्किटेक्टले ठूल्ठूला सभा–सम्मेलन गर्ने प्रयोजनका लागि डिजाइन गरेको बानेश्वरको सेतो घरभित्र वास्तु देवता नबसेकैले नेपालले नयाँ संविधान नपाएको नभई त्यो काम गर्छु भनेर तम्सनेहरूको इच्छाशक्ति भत्किएर त्यसो भएको भन्ने तर्क त्यसै कमजोर भएको छ। तर, भवन बनाउनु भनेको विज्ञानसम्मत कला हो र त्यसका केही मानक सिद्धान्तहरू छन्।

देवघरको मूल्यमान्यता फरक छ। देवीदेवताका आराधना गरिने भवनमा वैदिक वास्तुशास्त्रका मूल्यमान्यता अक्षरशः लागू गर्न सक्दा तिनको सौन्दर्य बढ्नेमा शंका छैन। तर, मान्छे बस्ने घर शुभ–अशुभका कथाको आधारमा मात्र ठडिन गाह्रै पर्छ। विज्ञानसम्मत त्यो कलामा संस्कार पनि मिलाउन सक्दा घरधनीको मनमा शान्तिको वोनस थपिनु बेग्लै करा हो।

दिशा र कोणको कतिपय शुभ–अशुभ हाम्रो हावापानीसँग मेल नखाने खालका पनि छन्। काठमाडौं लगायतका शहरी क्षेत्रमा असाध्यै सा–सानो टुक्रा जग्गामा घर बनाउनुपर्ने बाध्यतालाई स्वागत गरेका छौं, हामी गोर्खालीले। जाबो तीन आना जमिनमा सिमेन्ट र छडसँगै शुभ–अशुभको आशंका पनि छिराउँदा बाथले थलिएका वृद्धवृद्धाको कोठा चिसो कुनातिर परेर भर्‍याङ चाहिं दिनभर घाम ताप्ने ठाउँमा पर्न सक्छ। अर्को कुरा, सडकतिर चर्पी र च्यापिएको कुनोतिर शयनकक्ष परेको घरलाई शुभ मान्न पनि सकिन्न।

हाम्रा पितापुर्खाले लामो समयको अभ्यासबाट हावापानी सुहाउँदो वास्तुकला रचेका छन्। हिमाल, पहाड, तराई र काठमाडौं उपत्यकामा ठाउँ अनुसार सिर्जना भएका वास्तुकला अमूल्य छ। उधुम गर्मी हुने मधेशमा थारू पुर्खाहरूले साना र शीतल घर बनाउन सिकाए भने हिमालकाहरूले माटोको छाना हुने घर। त्यसैगरी, पहाडतिर घुमाउने र काठमाडौं उपत्यकाका पाखायुक्त छानाका भएका घरहरू युगको परीक्षामा अब्बल सावित भइसकेका छन्। त्यसैले, घर बनाउँदा वैदिक वास्तुशास्त्रको सम्मान र पुर्खाले आर्ज्याको लोक वास्तुकलाको जगेर्ना गर्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम