चाभेजमय काठमाडौं

Share:
  
- गुणराज लुईंटेल
संसारको कुनै पनि कुनाको तानाशाहको सुखमा सुखी र दुःखमा दुःखी हुने भावधारा छुटिरहेको छ, काठमाडौंमा।

नेपाली कम्युनिष्ट नेताहरूको रुझ्ान देखेर कुनै बेला 'रूसमा पानी पर्दा काठमाडौंका कम्युनिष्टले छाता ओढ्छन्' भनिन्थ्यो। यही मेसोमा तानाशाही व्यवस्था संचालकहरूका बनिबनाउ किंवदन्ती सुन्दा–सुन्दा सबैलाई कानूनको शासनभन्दा त्यस्तै व्यवस्थाले सुख दिन्छ, एउटा व्यक्तिले कानूनी शासन मिचेर आफूखुशी गरेका पहलबाट प्रगति हुन्छ भन्ने लाग्न थालिसक्यो।

भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको मृत्युपछि उनको आत्माले शान्ति पाओस् भन्ने कामना गर्नु र उनका परिवार तथा समर्थकको पीडा महसूस गर्नु अवश्य पनि मानवीय भावना हो। तर, उनको मृत्युमा काठमाडौंको एकथरी बौद्धिक तप्कामा देखिएको सिंगो नेपाललाई दुःखी बनाउनेगरिको पीडा यस्तो मानवीय भावनाबाट मात्र प्रेरित नभई एउटा तानाशाहले खडा गरेका कथित स्वर्गको बयानले भिजेको थियो। ठूला अखबारहरूले चाभेज नहुँदा यो संसारमा आउने आपत्तिहरूको वर्णन गरिरहँदा एमाले अध्यक्ष झ्लनाथ खनालले शोक वक्तव्य जारी गरे। निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई त असाध्यै दुःखी हुँदै श्रद्धाञ्जली अर्पण गर्न माइतीघर मण्डलमै पुगे। धन्न, सरकारको तर्फबाट राष्ट्रिय शोक दिवस घोषणा गरेनन्।

मिथ्या देवत्वकरण

केही वर्षयता काठमाडौंमा लोकतान्त्रिक मुलुक वा त्यस्ता नेता भन्दा तानाशाहहरूबाट प्रेरणा लिने उत्साह बढेको देखिन्छ। यसले तानाशाही सपना सँगालेका पार्टीहरूलाई त उत्साहित नै बनाएको हुँदो हो, तर कानूनी शासन, मानवअधिकार, बहुलता र वैयक्तिक स्वतन्त्रताको अवधारणालाई अवश्य पनि बलियो बनाइरहेको छैन।

हो, चाभेजले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई संयुक्त राष्ट्रसंघको सभाबाटै 'सैतान' भने। यसबाट 'अमेरिकी साम्राज्यवाद'को विरोधलाई आफ्नो मुख्य उद्देश्य बनाएका संसारभरिका कम्युनिष्टहरूसँगै हामी पनि उत्तेजित बन्यौं होला। हामीकहाँ पनि अधिकांश कम्युनिष्ट पार्टीले छिमेकी भारतको विरोधलाई शक्तिसञ्चयको माध्यम बनाइआएकै छन्। तर, लोकप्रिय शासनका निम्ति देशभित्रै आफ्ना जनताको सुविधाको लागि कसले के–के गरेको छ भन्ने पक्ष महत्वपूर्ण हो। आफ्ना नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अमेरिकाले जस्तै सम्मान गरे मात्र कुनै तानाशाहको हुँकारको अर्थ हुन्छ।

धेरैजसो तानाशाहले सत्ताको खुट्किलो चढ्दा गरीबीको रामनामी ओढेका हुन्छन् र विदेशी साम्राज्यवाद तथा विस्तारवाद विरुद्ध ढोल पनि पिट्छन्। तर, सत्तामा पुगेपछि सबभन्दा बढी चाकडी तिनैको गर्छन्। शासन व्यवस्थाको मुख्य ध्येय लोककल्याणकारी शासन हुनुपर्नेमा अधिकांश तानाशाहले गरीबलाई सुख दिने नाममा विरोधी सखाप पार्छन् र आफैं नयाँ महासामन्त बन्छन्। यस्ता 'बाघ'को मुख हेर्न मन लागे नेपालीहरूले आफ्नै घरेलु बिरालो हेरे पुग्छ।

चाभेजबाट प्रेरणा

चाभेज पूरा दिन टेलिभिजनमा आएर रुने–हाँस्ने गरेर सर्वसाधारणको मन वहलाउँथे। प्रेस स्वतन्त्रताका त उनी बापवैरी नै थिए। उनको आलोचना गर्ने ३० भन्दा बढी रेडियो र टेलिभिजन बन्द भए। आलोचना गर्ने प्रेसले कागज किन्न समेत चाभेजको स्वीकृति पाएनन्। भ्रष्टाचारको कारबाहीमा त्यो पर्‍यो, जसले चाभेजको आलोचना गर्‍यो। ती संचारमाध्यमहरू बन्द भए, जसले चाभेज समर्थकहरूको भ्रष्टाचारका मुद्दा उठाए।

संचारमाध्यमकै कारण चाभेजको जस्तो आदर्श शासन गर्न पाइएन भन्ने सोच नेपालमा पनि नभएको होइन। त्यस्तो शासनको वाधक न्यायालय पनि उताकै पोल्टामा गइसकेको छ। बुसलाई गाली गरेको वा अमेरिकी कम्पनीलाई देश निकाला गरेको कुरामा ताली पिट्ने त्यो खेमाले चिनियाँ, क्युवाली वा इरानी कम्पनीहरूले भेनेजुएलामा गरेको दादागिरीको खबर पढ्दा हुन्छ, जसलाई चाभेजले खुला छुट दिए। उनको सार्वभौमसत्ताको भाषणको गुदी त्यस्तो थियो।

एकजना भेनेजुएली नागरिकले गोप्य नाम 'पान्चो ४९' मार्फत 'यस कारणले म ह्युगो चाभेजलाई सम्झ्न्न' शीर्षकमा यस्तो लेखेका छन्– 'तिमीले अमेरिकीलाई धक्का मारेर निकाल्यौ तर क्युवाली, रूसी, चिनियाँ र इरानीलाई सर्वस्व लुटायौ। हामीकहाँ क्युवाली अफिसरले भेनेजुएली सैनिक अधिकृतलाई आदेश दिन्छ।' चाभेजले अमेरिकी कम्पनीहरू बन्द गरेको कम्युनिष्ट वा समाजवादी भएर होइन, तिनीहरूले रोजगारी दिइरहे भने आफ्ना विरोधीहरूलाई सहयोग पुग्ला भन्ने डरले हो। चाभेजले कहिल्यै विरोध सहेनन्, आफ्नो राजनीति नस्वीकार्ने सर्वोच्च अदालतकी न्यायाधीशलाई समेत बर्खास्त गरे।

नेपाल पनि धेरै अर्थमा चाभेजमय छ। एमाओवादीका नेता उनको नक्कल गर्न लालायित छन्। एउटा बौद्धिक तप्का त्यो रहरको मलजलमा लागिपरेको छ। आफूलाई आवश्यकता परेअनुसार राजनीतिक निर्णय गर्दै मुलुकमा लागू गराइरहेका नेताहरू स्वयं चाभेजका अनुयायी जस्ता देखिन्छन्। आफूलाई मिल्ने गरी दैनिकजसो संविधान पुनर्लेखन जो गराउँथे, उनी।

comments powered by Disqus

रमझम