भारतीय मजदूरको भर

Share:
  
नेपालीलाई आकर्षित गर्न नसक्दा इँटा उद्योगका भारतीय मजदूरले वार्षिक करोडौं रुपैयाँ लैजाने गरेका छन्।

इँटा कारखानामा काम गर्दै भारतीय मजदूर।
कञ्चनपुरको शिवशंकर इँटा उद्योगका १५० जना मजदूरमा १० जना बाहेक सबै भारतीय छन्। नजिकैको केदार इँटा उद्योगका २०० मजदूरमा त एकै जना नेपाली छैनन्। काँचो इँटा बनाउने, स्टकिङ्ग गर्ने (भट्टामा पकाउन मिलाएर राख्ने), फायर म्यान (पकाउने) र अनलोडर (तयारी इँटा निकाल्ने) जस्ता प्राविधिक काममा यहाँका इँटा उद्योगहरू भारतीयमै निर्भर छन्। एकाध नेपाली छन् भने पनि इँटा बोक्ने भरिया मात्र।

महाकाली इँटा व्यवसायी संघका अनुसार, कञ्चनपुरका २८ इँटा उद्योगका ४ हजार २०० मजदूरमा ९० प्रतिशत भारतीय छन्। कैलालीका इँटा उद्योगको अवस्था पनि त्यस्तै छ। सेती इँटा व्यवसायी संघका अनुसार, त्यहाँका २२ इँटा उद्योगका ३ हजार ३०० मजदूरमा २ हजार ९७० जना भारतीय छन्।

केही पहाडी जिल्ला र पूर्वी तराई बाहेक सबै ठाउँका इँटा उद्योगको अवस्था महाकाली र सेतीको जस्तै छ। इँटा व्यवसायी महासंघका अनुसार देशका ७०० इँटा उद्योग भारतीय कामदारमै निर्भर छन्। महासंघका केन्द्रीय सचिव शंकरबहादुर चन्द भन्छन्, “इँटा उद्योगमा काम गर्ने एक लाख ५ हजार मजदूरमध्ये ८० प्रतिशत भारतीय छन्।”

आकर्षक कमाइ

नेपाली मजदूर स्वदेशमा काम नपाएर भारत र तेस्रो मुलुक जानु परिरहेको बेला भारतीय मजदूरले भने नेपालमा आकर्षक आम्दानी गरिरहेका छन्। इँटा उद्योगका मजदूरको पारिश्रमिक नेपाल सरकारले मजदूरका लागि तोकेको ज्यालाभन्दा तीन गुणा बढी छ। काम भने दैनिक ६ घण्टा मात्रै गर्दा पुग्छ, घाम झुल्किनु र घाम अस्ताउनुअघिका तीन/तीन घण्टा।

काँचो इँटा बनाउने मजदूरले दैनिक रु.५०० देखि रु.७०० सम्म पाउँछ। काँचो इँटा भट्टीसम्म पुर्‍याउने लोडरको पनि दैनिक रु.६०० देखि रु.८०० सम्म आम्दानी हुन्छ। स्टकिङ्ग गर्नेले मासिक रु.१२ हजारदेखि रु.१५ हजार र फायरम्यानले मासिक रु.१५ हजार तलब पाउँछ। तलब बाहेक उनीहरूले आवास सुविधा पाउँछन्। तयारी इँटा निकाल्ने अनलोडरको कमाइ पनि दैनिक रु.७०० देखि रु.९०० सम्म हुन्छ।

घरमै पेश्की

पुसदेखि जेठसम्म मात्र चल्ने इँटा उद्योगलाई मजदूर पाउन सजिलो छैन। “हात जोडेर आइदिनुस् भन्नुपर्छ” महाकाली इँटा उद्योग व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुडाल भन्छन्। दक्ष मात्रै होइन अदक्ष मजदूर पनि नेपालमा नपाइने हुँदा इँटा उद्योगका मालिक मजदूर खोज्न भदौतिरै भारत जान्छन्। अनि, अगुवाहरूमार्फत भेटिएका मजदूरलाई पेश्की दिन्छन्, आउने ग्यारेण्टीका लागि। नेपाल इँटा व्यवसायी महासंघका सचिव चन्दका अनुसार, प्रति मजदूरलाई कम्तीमा रु.२० हजार पेश्की दिने चलन छ।

केदार इँटा उद्योगका म्यानेजर कविराज लेखक कैयौंले पेश्की समेत खाइदिने बताउँछन्। एउटा उद्योगको पेश्की बुझ्ेर अर्को उद्योगमा काम गर्ने प्रवृत्ति पनि उल्लेख्य छ। पेश्की बराबरको काम नसकी भाग्ने पनि धेरै नै हुँदा नेपाली उद्योग व्यवसायीहरूको लाखौं रुपैयाँ डुब्ने गरेको छ। इँटा उद्योगतर्फ नेपालीलाई आकर्षित गर्न नसकेका कारण नेपाली व्यवसायीले कैयौं झ्ञ्झ्ट बेहोर्नुपरेको छ भने नेपालीले स्वदेशमै रहेको आकर्षक रोजगारको अवसर गुमाइरहेका छन्। इँटा व्यवसायी महासंघका सचिव चन्दका अनुसार यो क्षेत्रमा रोजगारी छ भनेर नेपालीलाई बुझ्ाउन नसकेकाले उद्योगहरू भारतीयमा भर पर्नुपरेको हो।

इँटा उद्योगका लागि चाहिने प्राविधिक सीप नेपालीलाई सिकाउनु प्रमुख चुनौती रहेको व्यवसायीहरूको भनाइ छ। सरकारी तथा गैरसरकारी क्षेत्रले तालीम दिए त्यो समस्या समाधान नहुने होइन। नेपालीहरूलाई यो उद्योगमा आकर्षित गर्दै सीप सिकाउने हो भने एक लाख भन्दा बढीले रोजगारी मात्र पाउँदैनन्, करोडौं रुपैयाँ मुलुक बाहिर जानबाट पनि रोकिन्छ।

बच्चु बिक

comments powered by Disqus

रमझम