नामको मात्र पानी

Share:
  
- हरिहर गुरागाईं

कार्बोहाइड्रेट, प्रोटिन, खनिज, भिटामिन जस्तै मानव शरीरलाई आवश्यक पर्ने अर्को महत्वपूर्ण तत्व हो– पानी। एक जना वयस्क मानिसको शरीरमा करीब ६० प्रतिशत पानी हुन्छ। शरीरमा पानीले तापक्रम सन्तुलनदेखि विभिन्न रासायनिक प्रतिक्रियाहरूको माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। त्यही कारण, शरीरमा पानीको कमीसँगै कमजोरी महसूस हुन थाल्छ। अधिक कमीबाट मानिसको ज्यानै जान्छ।

यति महत्वपूर्ण पानी आपूर्तिमा भने हदैसम्मको लापरबाही छ। अरू त अरू, धेरैको रोजाइमा पर्ने प्रशोधित भनिएको बोतल वा जारको पानी समेत सफा पाइँदैन, हामीकहाँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०६८/६९ मा परीक्षण गरेको ३३१ प्रशोधित पानीको नमूनामध्ये ११३ (३५.३४ प्रतिशत) र ७० वटा धाराको पानीमध्ये ३८ वटा (५४.२९ प्रतिशत) न्यून गुणस्तरहीन थियो। त्यस्तै, सूक्ष्म जीवाणुको जाँच गरिएका ३९२ मध्ये १५३ (३९.०३ प्रतिशत) वटा नमूनामा विभिन्न रोगका जीवाणु पाइएको थियो।

होशियार हुनुपर्ने कुरा

पानी उमाल्ने र छान्ने धेरै पहिलेदेखि चलिआएको घरायसी प्रशोधन विधि हो। ठूलो परिमाणमा पानी प्रशोधन गर्न अहिले मेशिनको प्रयोगसँगै क्लोरिनेसन र सोडिस (सोलार डिस्इन्फेक्सन) प्रविधिको चलन बढेको छ। यीमध्ये उमाल्ने, क्लोरिनेसन र सोडिस सस्तो प्रविधि हुन्। कम्तीमा पाँच मिनेट उमाल्दा पानीमा रहेका रोगका सबैजसो कीटाणु मर्छन्। त्यस्तो पानी खाँदा जैविक खतरा हटे पनि रासायनिक जोखिम भने सकिंदैन, आर्सेनिक, लीड, क्याडमियमलगायतका रसायन नाश नहुने भएकोले। यी रसायन शरीरमा विभिन्न रोग निम्त्याउनुका साथै ज्यानै लिन सक्ने गरी घातक हुन्छन्। पानीमा यस्ता रसायन रहे–नरहेको प्रयोगशाला परीक्षणबाट मात्र थाहा हुन्छ।

सोडिस प्रविधिमा पानीलाई पारदर्शी बोतलमा केही खाली रहने गरी भरेर बेस्सरी हल्लाइन्छ। त्यसपछि सूर्यको किरणमा तीन/चार घण्टा राख्दा बोतलको खाली ठाउँको हावामा भएको अक्सिजनलाई घामको युभी–विकिरणले ओजोनमा परिवर्तन गर्छ। ओजोनले रासायनिक प्रतिक्रियामार्फत कीटाणु मारेर पानीलाई सफा बनाउँछ। विश्व स्वास्थ्य संगठनले अफ्रिकी महादेशका विभिन्न ठाउँमा सफल प्रयोग गरेको यो प्रविधि ऊर्जा संकट भएको हाम्रो जस्तो मुलुकमा निकै लाभदायक देखिन्छ।

क्लोरिनेसन प्रविधि अन्तर्गत हामीले खाने धाराको पानीमा सामान्यतया ०.१ देखि ०.५ मिलिग्राम फ्रि क्लोरिन प्रतिलिटर पानीमा हालेर निर्मलीकरण गर्न सकिन्छ। यो मात्रा पुर्‍याउन प्रतिलिटर पानीमा १ मिलिग्राम सोडियम हाइपो क्लोराइट हाल्नुपर्छ। हाल बजारमा विभिन्न ब्राण्डका सोडियम हाइपो क्लोराइटका घोलहरू पाइन्छ।

दैनिक दुई लिटर

शरीरको तौल, पसिनाको मात्रा, परिश्रमको स्तरदेखि वातावरणको आर्द्रतासम्मका कुराले मानव शरीरमा पानीको आवश्यकता निर्धारण गर्छ। सामान्यतः एक जना वयस्कले पिसाबबाट ५००–१४००, पसिनाबाट ४५०–९००, सास फेर्दा करीब ३५० र दिसाबाट करीब १५० गरी दैनिक १४५०–२८०० मिलिलिटर पानी निष्कासन गर्छ। यसका लागि २००–३०० मिलिलिटर पानी रासायनिक प्रतिक्रियामार्फत शरीरले नै उत्पादन गर्छ भने बाँकी खाद्य/पेय वा पानीको रूपमा शरीरमा आपूर्ति हुन्छ।

दही, दूध, स्याउ, अंगुर, सुन्तलालगायतमा पानीको मात्रा ८० प्रतिशतभन्दा बढी हुन्छ। गेडागुडी, चिउरा र अरू स्न्याक्सफुडहरूमा २० प्रतिशतभन्दा कम पानी हुन्छ। नेपाली शैलीको मिहिनेत गर्ने एक जना वयस्कलाई दैनिक सरदर १ देखि २ लिटर पानी चाहिन्छ।

६०% एक जना वयस्क मानिसको शरीरमा हुने पानीको मात्रा।

२ लि. पानी एक जना वयस्क व्यक्तिका लागि दैनिक आवश्यक।

१४५०-२८०० मिलिलिटर एक जना वयस्कको शरीरबाट दैनिक निष्कासन हुने पानी।

५४% गुणस्तरहीन धाराको पानी।

३५% गुणस्तरहीन प्रशोधित पानी।

३९% नमूनामा विभिन्न रोगका सूक्ष्म जीवाणु ।

comments powered by Disqus

रमझम