११ चैत्र २०६९ | 24 March 2013

लोप हुँदै स्थानीय बीउ

Share:
  
उत्पादन बढाउने नाममा किसानहरू उन्नत र 'हाइब्रिड' बीउतिर लागेपछि रैथाने बीउ लोप हुँदैछन्।

तस्वीरः तुफान न्यौपाने
तोरी नउम्रेपछि चिन्तित किसान।
बेतहनी–५ बाँकेका पटेश्वरीप्रसाद बर्माले खेतमा लगाएको उन्नत जातको धान एक/दुई वर्ष राम्रै फले पनि अहिले गाँधी र गभारो कीराले दुःख दिन थालेको छ। त्यही कारण सरकारको सिफारिसमा थोरै जग्गामा धेरै फल्ने उन्नत जातको बीउ लगाएका बर्मा जस्ता किसान अहिले दिक्क छन्। कृषक उपकार बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष बर्मा भन्छन्, “रोग र कीराले धेरै नै सताउने हुँदा हाइब्रिड बालीको बीउ काम नलाग्ने रहेछन्, स्थानीय बीउ छाड्दा अहिले पछुताउनु परेको छ।”

बढ्दो परनिर्भरता

धानसँगै मकै, कोदो, गहुँ, तोरी, जौ, उवा, केराउ, चना, दालका स्थानीय जात पनि अहिले हराउँदै छन्, हाइब्रिडकै कारण। कालानमक, श्यामजीरा, माला, कजजीरा, झिनुवा, अनदी, बिरमफूल जस्ता वासनादार र स्वादिष्ट धानको चामल भेट्न मुश्किल पर्नुको कारण त्यही हो। कुभिण्डो, घिरौंला र सानो करेला पाउन अहिले गाह्रो भइसकेको छ भने तरकारी र भटमासका स्थानीय जात पनि सजिलै भेटिन्नन्। हाइब्रिड एक पुस्ता मात्र काम लाग्छ भन्ने बल्ल बुझन थालेका किसान अहिले बीउविहीन पनि हुँदैछन्। स्थानीय बीउ मासिंदा किसानहरूसँग विकल्प सीमित भएको छ भने परनिर्भरता पनि बढाएको छ। खुला सीमाका कारण भारतबाट धान, मकै र तरकारीको हाइब्रिड बीउ निर्वाध भित्रिरहेको बताउँदै मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशक वीरेन्द्र हमाल प्रश्न गर्छन्, “कुनै दिन भारतले बीउको निर्यात रोकिदियो भने किसानले के लगाउने?”

रैथाने जातका बालीमा पुस्तौंसम्मलाई काम लाग्ने प्रजनन् क्षमता हुन्छ भने क्षेत्रगत विशेषता पनि हुन्छ। मध्यपश्चिम क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुराका वैज्ञानिक रामदास चौधरी नयाँ जातमा रोग कीराको प्रकोप लाग्ने सम्भावना बढी हुने बताउँछन्। चौधरी भन्छन्, “प्राकृतिक अवस्था फेरिनेबित्तिकै उन्नत र हाइब्रिड बाली असफल हुनेभएकाले स्थानीय जात नै चाहिन्छ।” नयाँ जातमा रोग कीराको प्रकोप बढ्दा उत्पादन क्षमता र जातीय गुण (जेनेटिक क्यारेक्टर) मा ह्रास आउने पनि उनको भनाइ छ।

उन्नत जातका बाली आफैंले विकास गर्ने हो भने रैथाने बालीबीच क्रस गराउनुपर्छ, त्यसका लागि पनि रैथाने बाली संरक्षण गर्नैपर्छ। तर, तरकारी र धानसँगै स्थानीय जातका सेतो, पहेंलो र रातो मकैलाई रामपुर, अरुण–२ जस्ता उन्नत मकैले विस्थापित गरिसकेका छन्।

गत वर्ष बारा, नवलपरासीलगायत जिल्लामा फल नभएको मकैका घोगा फल्नु अवैध रूपमा भित्रिएका भारतीय बीउ मुख्य कारण हुन्। तराईका जिल्लामा भारतीय बजारबाट अनधिकृत बीउ ल्याउने चलनले योभन्दा पनि ठूलो समस्या ल्याउन सक्छ। 'कुनै सूचित बीउबिजन निकासी वा पैठारी गर्दा तोकिए बमोजिम दस्तुर र विवरणसहित स्वीकृति लिनुपर्ने' बीउबिजन ऐन २०४५ विपरीत भइरहेका यी काम हानिकारक छ। कृषि विकास कार्यालय बाँकेका बाली विकास अधिकृत हसमुल्लाह खान सरकारी निकायले सिफारिस गरेको बीउमा समस्या आउँदा किसानले सरकारसँग दाबी गर्न पाउने भएकाले त्यस्तो बीउ मात्रै प्रयोग गर्नु राम्रो हुने बताउँछन्।

हराउँदै जुम्ली मार्सी

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जुम्लाबाट हुलाकमार्फत दैनिक दुई मानाका दरले मार्सी धानको चामल पुर्‍याउने गरिएको इतिहासले नै देखाउँछ, स्थानीय जातको मार्सी चामलको महत्व। त्यसबेला जुम्लाको बडाहाकिम कार्यालयका सिपाहीका नाति कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक डिल्लीबहादुर शाही चन्दननाथ–३ र चन्दननाथ–१ नामका उन्नत धानको अतिक्रमणले जुम्लामा मार्सीको उत्पादन घटाएको बताउँछन्। करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ। यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउँछन्।

रैथाने बाली संरक्षणमा काम गर्दै आएको वर्ल्ड भिजन इन्टरनेशनलको क्षेत्र विकास कार्यक्रम जुम्लाका शिव ढुंगेल छनोट र भण्डारण राम्रोसँग गर्न सकेमा स्थानीय जातको बीउ नै उपयुक्त हुने बताउँछन्। रोग र कीरासँग प्रतिरोध गर्ने क्षमता पनि स्थानीय बालीमै हुने बताउँदै वर्ल्ड भिजनका सन्देश न्यौपाने भन्छन्, “उन्नत जातमा रोग कीरा लाग्ने भएकाले रासायनिक मल पनि हाल्नुपर्छ, त्यो सितिमिति यहाँ नपाइने हुँदा पनि स्थानीय नै उपयुक्त हुन्छ।”

तुफान न्यौपाने, नेपालगञ्ज

comments powered by Disqus

रमझम