पूँजीको गुणात्मक विस्तार गर्दैछु

Share:
  

संविधानसभाको अवसानसँगै काठमाडौंको 'सोसियल लाइफ' मा कम देखिन थालेका उद्योगपति राजेन्द्र खेतान ले वर्षको एकतिहाइ समय विदेशमा बिताउन थालेका छन्। जुन उनकै शब्दमा दुनियाँको आर्थिक जगतमा भएका नवीन प्रविधि तथा विकासलाई नजिकबाट हेर्न र त्यसबाट सिक्नका लागि हो। आगामी दुई वर्षमा आफूलाई त्यसरी परिष्कार गरेपछि स्वदेश वा विदेशमा केही नयाँ योजनामा छन्, उनी। प्रस्तुत छ, हात्तीसारस्थित खेतान समूहको कर्पोरेट अफिसको 'स्काइ लाउन्ज' मा उनीसँग राजनीति, उद्योग, वाणिज्यदेखि लगानीका संभावनाबारे भएको झण्डै दुई घण्टा लामो कुराकानीको संक्षेप।

तस्वीर: मीनरत्न बज्राचार्य
मुलुकबाहिर धेरै समय बस्नुको कारण के हो?

४० वर्ष उमेर पुगेपछि व्यापारमा आफ्नो सक्रियता कम गर्दै युवाहरूलाई प्रबर्द्धन गर्न लाग्छु भनेर पहिलेदेखि भन्दै आएको हुँ। आफू युवा भएकै कारण नेपाल उद्योग वाणिज्य महासंघ, मारबाडी सेवा समितिलगायत धेरै ठाउँमा सक्रिय हुन नपाएको पीडाले मलाई युवाहरुलाई अघि बढाउनुपर्छ भन्ने लागेको हो। हाम्रो घरानाका पार्टनर र ६० हजार शेयरधनीहरूलाई पनि नेतृत्वमा ल्याउने मेरो सोच छ। अब आफैं बोर्डमा या कार्यकारी रहनुभन्दा सहयोगी बन्दा प्रभावकारी होला भन्ने महसूस भएको छ।

संविधानसभाको अवसानपछि तपाईं सार्वजनिक हुन कम भएको हो?

४० वर्ष उमेर पुगेपछि सक्रियता कम गर्ने मेरो पूर्व योजना नै थियो। संविधानसभा हुँदासम्म ४० वर्ष लागे पनि एउटा बैठक नछुटाई सक्रिय रहें। संविधानसभा विघटन भएपछि भने फ्रेस हुन पनि सक्रियता कम गरें।

संविधान बनाउन फेरि संलग्न हुने हो कि?

संविधान बनाउने राष्ट्रिय दायित्व बाँकी नै छ भन्ने मलाई पनि थाहा छ। तर, राजनीतिक झण्डा भने बोक्दिनँ। त्यसबेला पनि राष्ट्रिय योगदान पुर्‍याउनेलाई मन्त्रिपरिषद्ले छान्ने २६ जनाको कोटामा पारेकाले मात्र गएको हुँ। त्यस्तै अवसर आए फेरि पनि योगदान गर्छु।

देशको प्रमुख व्यावसायिक घराना भए पनि पछिल्लो समय तपाईंहरूको व्यवसाय विस्तार सुस्त बनेको छ नि!

हामी व्यवसायको संख्या हेर्दैनौं, विशिष्ट क्षेत्रमा काम गर्छौं। पहिले हामी खाद्य तथा पेय र वित्तीय क्षेत्रमा मात्र थियौं। खाद्य तथा पेयबाट हामी विस्तारै हात झिक्दैछौं भने वित्तीय बाहेक अरू सेवा क्षेत्रमा जान सकिन्छ कि भन्ने पनि हेर्दैछौं। तर; राजनीतिक, ट्रेड युनियन र वर्तमान अर्थ–राजनीतिका कारणले तत्काल त्यता जाने सम्भावना छैन। पूँजीको लाभ र पूँजीबाट कमाइको लाभ दुई वटा बीच तुलना गर्दा पर्खेर हेर्नुपर्ने अवस्था छ। जग्गाको मूल्य उच्च हुनु शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी विस्तार गर्न नसक्नुको अर्को कारण हो। यो बीचमा नियमनसँग जोडिएका र राजनीतिक खोल ओढेका केही मान्छेहरूले शिक्षा, स्वास्थ्यलगायत सेवा प्रदायकलाई दुःख दिने, दबाब सिर्जना गर्ने क्रम बढाएकाले पनि व्यवसाय विस्तार गर्न नचाहेको हो।

गोर्खा ब्रुअरीको शेयर बेचेको झण्डै ४ अर्ब रुपैयाँ आइडल बस्यो नि हैन?

ब्याङ्कमा बचत बस्नु पनि राष्ट्रिय लगानी नै हो, हामीलाई घाटा भए पनि। शेयर बेचेर पैसा आउँदा ब्याङ्कको ब्याज ११/१२ प्रतिशत थियो भने अहिले ६/७ प्रतिशत मात्रै छ। तर, सम्पत्ति बेलैमा बेच्न सकिएन भने प्रयोगमा आउँदैन। त्यसैले तरलता राख्नु काबिलियत नै भएकाले म त्यही मार्गमा छु।

म्यानुफ्याक्चरिङ क्षेत्रका उद्योग सफलताको उच्च बिन्दुमा पुगेका बेला किन छोड्नुभएको?

हामी शुरूमा असफल भएर सफल भएका हौं। सरकारको आग्रहमा नेपाल मेटल, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागोलगायतका कम्पनीमा लगानी गर्‍यौं, व्यवस्थापन नियन्त्रणकर्ता सरकार हुने गरी। त्यसैले ती उद्योग फेल भए। पछि हामीले आफैं फुड एण्ड वेभरेज शुरू गर्‍यौं, सफल भयो। नाफा हुँदै शेयर बिक्री गर्नु फाइदा हुने भएकाले बिक्री गरेका हौं।

त्यसरी मुलुकको औद्योगिक क्षमता सुदृढ हुन्छ र?

आफैं उत्पादन गरेर वस्तु बेच्नेहरू मझौला र सानामा आइसके। अहिले पूँजीलाई कसरी गुणात्मक विस्तार गर्ने भन्ने सोच आइरहेको छ। जस्तै कसैको क्षमता छ भने उसले १० वटा लाइसेन्स लिन्छ र त्यसको नेटवर्क बनाएर कुनै ठूलो कम्पनी वा बहुराष्ट्रियलाई बिक्री गर्छ। किनभने नेपालीले बहुराष्ट्रियसँग प्रतिस्पर्धा गर्ने अवस्था छैन।

तपाईं अहिले कसरी पूँजीको गुणात्मक वृद्धि गरिरहनुभएको छ त?

अहिले म पर्खेर मात्र बसिरहेको छु। लाइसेन्स हुनेसँग नगद छैन भने म त्यस्ताको लाइसेन्स किनिदिन्छु र सञ्चालन गर्न सकिन्छ भने चलाउँछु पनि। त्यस्ता ८/१० वटा लाइसेन्स भए पछि नेटवर्क बनाएर कुनै बहुराष्ट्रियलाई बिक्री गर्छु। बहुराष्ट्रियले बिजनेस छ भने घाटाको कम्पनी पनि किन्छ। तर, स्कोप भने हुनै पर्छ।

बहुराष्ट्रिय नै बन्ने चाहिं तपाईंको चाहना छैन?

मेरो हजुरबुबा ब्याजमा पैसा दिनुहुन्थ्यो। त्यो बेलाको ब्याङ्क नै थियो, त्यो। मेरो रगतमा पनि ब्याङ्किङ नै छ। मेरो चाहना रु.१००० करोडको पहिलो ब्याङ्क खोल्ने छ। लक्ष्मी ब्यांकलाई आगामी ७/८ वर्षभित्र त्यत्रै बनाउने मेरो अभियान हो। त्यो सफल भएपछि कुनै अन्तर्राष्ट्रिय ब्यांकसँग हामी जोडिन सक्छौं। हामीसँग क्षमता, पूँजी र टीम भए पनि भोलि वाणिज्य ब्यांकहरू सरकारीकरण गरिने नियम आए भने के गर्ने भन्ने चिन्ता छ। तथापि नेपाल राष्ट्र ब्याङ्कले वित्तीय प्रणालीको स्थायित्वका लागि प्रतिबद्धता देखाएकोले भोलिप्रति विश्वास गर्ने आधार भने छँदैछ।

तपाईंसँग रहेको पूँजी कहाँ लगानी भएको छ?

शेयर बजार, जग्गासहित निक्षेप बजारमा लगानी गरेको छु। अहिले यी तीनवटै क्षेत्र पूँजीका लागि सुरक्षित क्षेत्र हुन्। तीनवटैबाट प्रतिफल पाएको पनि छु। तुरुन्तै तरल बनाउन सकिने क्षेत्रमा मात्र म पूँजी लगानी गर्छु। ताकि, राम्रो प्रतिफल आउने क्षेत्रमा तुरुन्तै लगानी गर्न सकियोस्। बुद्धले ध्यानबाट जीवनको गुह्य पत्ता लगाए जस्तै म पनि एउटा क्षेत्रको खोजीमा छु जसले कायापलट गर्न सकोस्। अहिले देखेसम्म त्यो क्षेत्र भनेको ब्याङ्किङ नै हो।

तपाईंहरूको नेटवर्थ कति पुगेको छ अहिले?

करीब रु.१००० करोड।

नेपालीलाई विदेशमा व्यवसाय विस्तारमा कानूनी बन्देज भए पनि पछिल्लो समय व्यवहारमा सरकार नरम देखिन्छ। यसको फाइदा तपाईंले कत्तिको उठाउनुभएको छ?

सोझै भन्दा, छैन। तर बुझ्नुपर्ने कुरा के हो भने नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण अहिले छैन। सरकारी क्षेत्रबाट व्यवसायीलाई दुःख दिने काम हुन्छ। स्थायित्व त छैन नै। यसको असर ममाथि पनि परेको छ। तर यसको मतलब पूँजी नै बाहिर लगेको छुइनँ। मैले नलगे पनि देशबाट पूँजी बाहिर गइरहेकै छ। जुन स्वाभाविक हो। राष्ट्रियता र स्वाभिमानले मात्रै पूँजी, सेवा (शिक्षा, स्वास्थ्य, पर्यटन) को प्रयोग, प्रेम र पारिवारिक आवश्यकतालाई भूगोलभित्र सीमित गर्न सक्दैन। पछिल्ला वर्षहरुमा असाध्यै धेरै पूँजी बाहिर गएकैले वीरगञ्ज, विराटनगर जस्ता सीमा क्षेत्रका बजार त सुक्खा भइसके। अहिले म गैरआवासीय नेपाली कन्फरेन्सहरूमा जाँदा एनआरएनको रूपमा यस्ता साथी पाउँछु जसलाई म काठमाडौंमा दिनहुँ जसो भेट्थें। पूँजी मात्र होइन बौद्धिक तथा स्वाभिमानी मानिस पनि हामीले गुमाइरहेका छौं।

कति जति पूँजी बाहिरियो होला?

कुनै सिद्धान्तबाट हिसाब गर्दा पनि यो निकाल्न सकिन्न। व्यक्तिको तकियामुनि कति पूँजी थियो या उसको घरको लकरमा कति सुन थियो भन्ने थाहा हुने कुरै होइन। जस्तै गएको २० वर्षमा युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता मुलुकमा १५ लाख नेपाली बसोबासकै लागि गए भनिन्छ। उनीहरूले एक लाखको दरले मात्र लगे भने पनि खर्बौं विदेशिएको छ।

तपाईं चाहिं आफ्नो व्यापार देश बाहिर विस्तार गर्नुहुन्न?

अवसर त सबैले खोज्छन्। हातखुट्टा बाँधेर वा आफ्नो बुद्धिमा बिर्को लगाएर कोही पनि बस्दैन। असुरक्षामा बस्ने रहर पनि कसैको हुँदैन। खुला आकाश र खुला हावा सबैले खोज्छन् नै। मेरो भित्री रहर चाहिं यो देशको संक्रमण चाँडो अन्त्य भएर यहीं बस्न सकियोस् भन्ने नै हो।

प्रस्तुतिः किरण नेपाल, प्रभात भट्टराई

comments powered by Disqus

रमझम