११ चैत्र २०६९ | 24 March 2013

पार्वतीहरू प्रति

Share:
  
- डा. सरोज धिताल

प्रिय पार्वती,

तस्वीर: बिलाश राई
यसरी तिमीलाई सम्बोधन गर्दा म आफैं पनि अलिअलि हाँसिरहेको छु। खासमा, तिम्रो नेम–ट्यागमा एकसरो आँखा पुगेको बाहेक मैले नाम सोधेकै थिइनँ। त्यो छोटो यात्रामा तिमीलाई भन्दा पनि तिमीभन्दा पारि अरू नै केही देखिरहेको थिएँ म। तिमी एउटा सुन्दर झयाल भएकी थियौ त्यतिबेला, जसबाट म देखिरहेको थिएँ– विभिन्न पेशाका तिम्रो पुस्ताका अब्बल युवालाई। हेरिरहेको थिएँ म मेरो देशको आशालाई।

यतिबेला म तिम्रो नाम सम्झ्न खोजिरहेको छु, तर सकिरहेको छैन। त्यसबेला एकैछिन कुरा गर्दा मलाई लागेको थियो– तिमी हिमाललाई असाध्यै माया गर्ने, पहाडको काखमा बेस्सरी रमाउने पर्वतकी छोरी हौ। त्यसैले, तिमीलाई सम्झ्न खोज्दा मनमा लगातार यही नाम आइरहेको छ– पार्वती!

अघिल्लो दिन पानी परेकाले होला, हामी उड्दा आकाश सफा थियो। देब्रेपट्टि झयाल छेउको सीटमा बसेको थिए म। जहाजले भुईं छोडेको एकैछिनपछि देखिन थालेका हिमालहरूले मलाई बेस्सरी तान्यो। त्यति स्पष्ट हिमाल चुचुराहरू विरलै देख्न पाइन्छ यो वातावरणीय विनाशको जमानामा। हिमालबाट आँखा हटाउनै नसकी म एक–एकको तस्वीर खिंचिरहें। दाहिनेपट्टिको आधाजसो सीट सिने–कलाकारहरूको टोलीले ओगटेको थियो। तीमध्ये केहीको नाम मजस्तो उतिसारो फिल्म नहेर्ने मान्छेलाई पनि थाहा थियो।

जनताले चिनेका मानिसहरूको व्यवहारले धेरै प्रभाव पारिरहेको हुन्छ समाजमा। कलाका धनी 'सेलिब्रेटी'हरूले के बोल्छन्, कसो बोल्छन् भन्नेमा सबैको चासो हुन्छ। ती 'सेलिब्रेटी'हरूको झुण्डबाट आइरहेको आवाजलाई वास्ता नगरी बस्न म पनि सकिरहेको थिइनँ। तिनीहरूको ठूलो स्वर र हाँसोबाट मलाई अलिअलि र्झ्को लागिरहेको थियो। मलाई मानिस हाँसेको असाध्यै मन पर्छ, तर किन–किन आज अपच लागिरहेको थियो, तिनका कुरा धेरै सतही र छिपछिपे लागिरहेका थिए।

मेरो नजिकै अर्कोतिरको सीटमा एकजना चर्चित नायिका बसेकी थिइन्। वरिपरिकाले वास्ता नगरेको जस्तो लागेर शायद उनको अहं घाइते थियो। उनमा रहेको दम्भ अनेक उपायले प्रदर्शित हुन खोजिरहेको जस्तो लाग्थ्यो। अप्रत्यक्ष रूपमा आफ्नो कलाकारिताबारे कुरा गरिरहिन् वरपरका मानिसले सुन्ने गरी, ठीकै थियो। तर अचानक एउटा साँच्चै अपाच्य हुने कुरा भनिदिइन्, “बरु नेपाललाई ब्रिटिशहरूले लिइदिएको भए अहिले यस्तो बिजोग देख्नुपर्ने थिएन! इण्डियाको पार्ट भइन्थ्यो। कति छिटो प्रगति गरिरहेको छ इण्डियाले!”

यस्तो अभिव्यक्ति पहिले कहिल्यै नसुनेको हैन, त्यसैले बुरुक्कै उफ्रिहाल्नुपर्ने कुरा थिएन। तर युवा पुस्ताकी जल्दीबल्दी कलाकारको मुखबाट यस्तो कुरा निस्कँदा नमज्जा लाग्ने नै रहेछ। देब्रेपट्टिको झयालबाट निरन्तर देखिइरहेको हिमश्रृंखलाले भने यो खिन्नतालाई चिर्दै चूपचाप जीवनको सत्यतर्फ डोर्‍याइरहेको थियो। तिमी बेलाबेलामा आउँथ्यौ, केही चाहिन्छ कि भनेर सोध्दथ्यौ। अर्को सीटमा खोकिरहेकी बूढीआमाको ढाड सहलाइदिन्थ्यौ। आफ्नो काममा तिम्रो त्यो तन्मयले मलाई आकर्षित गरिरह्यो। केही बेरपछि तिमी मेरोछेउमा उभियौ र हिमालतिर देखाउँदै सोध्यौ, “सर, चिन्नुहुन्छ ती चुचुराहरूलाई?”

पाठशालामा जाँच दिन लागेको बच्चाले झै मैले चिनेका वा अड्कल काटेका टाकुराहरूको नाम लिएँ। तिमी एक–एक टाकुराबारे बताउन थाल्यौ। बीच–बीचमा अरू काम पनि गरिरहेकी थियौ। सुन्दर मुस्कानका साथ अरू यात्रुसँग कुरा गर्थ्यौ, तिनका आवश्यकताको ख्याल राख्थ्यौ र फर्किन्थ्यौ। तिमीले ती हिमाल, पहाड–पर्वत र खोलानालाबारे बताइरहँदा म तिम्रो ज्ञानको प्रचुरतामा नतमस्तक हुँदै थिएँ। त्योभन्दा बढी प्रभावित पारिरहेको थियो मलाई तिम्रो स्वरमा छचल्किरहेको प्रकृति–प्रेमले। त्यतिखेर तिमी एउटा सुन्दर कवितामा परिणत हुँदै गएजस्तो लाग्थ्यो। तिम्रो बाबुको पुस्ताको मानिस म त्यतिखेर बच्चा जस्तो भएँ। तिमीप्रति एउटी शिक्षिका वा अभिभावकको सम्मान पलाइरह्यो।

“सरलाई म एउटा कुरा सजेस्ट गरुँ है!”

“भन्नुस् न।”

“फोटो लिंदा जूम नगरी लिनु बेस हुँदोरहेछ। बरु पछि क्रप गर्दा भइहाल्छ। पहिला नै जूम–इन गर्दा मधुरो हुँदोरहेछ फोटो।”

“थ्याङ्क यू!”

काठमाडौंमा जहाज ओर्लिन लाग्दा तिमी फेरि व्यस्त भयौ। म त्यही जहाजभित्रका उही पुस्ताका दुई सुन्दर युवतीबारे सोच्न थालें। एउटी– चर्चित नायिका, अर्की– हरेक दिन खतरासँग खेल्दै यात्रुहरूको ख्याल राख्ने तर, खासै चर्चा नपाउने विमान परिचारिका।

जुनसुकै पेशामा पनि थरीथरीका मानिस हुन्छन्। आत्मकेन्द्रित भएर छिपछिपे जीवन बिताउने जहाँ पनि हुन्छन्। आफ्नो अहम् भन्दा धेरै फराकिलो भएर जीवनको मूल्य बढाउने पनि जुनसुकै पेशामा हुन्छन्। सामाजिक उत्तरदायित्वबोधमा लपक्क भिजेर सकारात्मक परिवर्तनका लागि निरन्तर लागिपरेका अति सुन्दर मन भएका धेरै कलाकारहरू मैले चिनेको छु। तीप्रति पनि मेरो मनमा त्यत्तिकै सम्मान छ, जति सम्मान तिमीप्रति जन्मिन सक्यो त्यो छोटो यात्रामा।

पार्वती! फेरि म तिमीलाई भेट्छु कि भेट्दिनँ, भेटेर पनि चिन्छु कि चिन्दिनँ, थाहा छैन। तर यति मलाई थाहा छ– तिमी देशकी आशा हौ। तिम्रो पुस्ताका, जुनसुकै पेशाका असल मानिसहरू यो देशका आशा हुन्।

अघिल्लो पुस्ताको एउटा पाको मान्छे म तिमीलाई प्रणाम गर्छु!

comments powered by Disqus

रमझम