११ चैत्र २०६९ | 24 March 2013

मानव सुरक्षा बहस

Share:
  

ह्युमन सेक्युरिटी इन नेपालः कन्सेप्टस्, इस्युज एण्ड च्यालेञ्जेज्

सम्पादकः विष्णुराज उप्रेती, राजन भट्टराई, गेजा शर्मा वाग्ले

प्रकाशकः नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिज र साउथ एशिया रिजनल कोअर्डिनेसन अफिस अफ एनसीसीआर, काठमाडौं

मूल्यः रु.४००,

पृष्ठः २९६+२०

सं युक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का विशेष सल्लाहकार डा. मेहबुब अल हकले सन् १९९४ मा पहिलो पटक औपचारिक बहसमा ल्याएको विषय हो– मानव सुरक्षा। त्यसअघिसम्म मानव सुरक्षालाई राज्यको दायित्वको रूपमा मात्र हेरिन्थ्यो। हालै प्रकाशित ह्युमन सेक्युरिटी इन नेपाल लाई यस विषयको नेपाल दृष्टि मान्न सकिन्छ। झट्ट सुन्दा सुरक्षासँग असम्बन्धित लाग्ने खाद्यान्न, स्वास्थ्य, अर्थ, राजनीति, समुदाय, वातावरण, व्यक्तिगत सुरक्षाका बृहत् विषय पुस्तकमा समेटिएको छ।

पुस्तकमा पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुने नाबालकको संख्या दलित समुदायमा प्रति हजारमा ९५ छ भने नेवार समुदायमा दलितको भन्दा आधा कम अर्थात् ४३। यस्तै, पहाडमा भन्दा तराईमा नाबालक (छोरी बढी) मृत्युदर बढी छ। राष्ट्र ब्याङ्कका गभर्नर डा. युवराज खतिवडाले पोभर्टीः अ थ्रेट टु ह्युमन सेक्युरिटी मा यस्तो जातीय, भौगोलिक र लैङ्गिक असमानतालाई आर्थिक सुरक्षाको चुनौती भनेका छन्। उनले आर्थिक सुरक्षाको प्रमुख औजारको रूपमा प्रस्तुत गरेको कृषि क्षेत्र अहिले महिला, वृद्ध–वृद्धा र केटाकेटीमा निर्भर छ।

यमुना घले र निर्मलकुमार विश्वकर्माको आलेख 'फुड सेक्युरिटीः अ फण्डामेन्टल बेसिस फर ह्युमन सेक्युरिटी' ८० प्रतिशत युवा रोजगारी र अवसरका लागि पलायन भएपछि कृषि क्षेत्र वृद्धवृद्धाको भरमा परेका प्रति केन्द्रित छ। कृषि प्रधान भनिए पनि ४३ जिल्ला खाद्यान्नमा आत्मनिर्भर नभएको र ग्रामीण क्षेत्रमा अझै पनि जमिनदारहरूको शोषण, दमन रहेको लेखकद्वयको निचोड छ। सम्पादकमध्येका एक राजन भट्टराईले ह्युमन सेक्युरिटीः कन्सेप्ट एण्ड क्रिटिसिज्म आलेखमा विश्वभर आतंकवादबाट मारिनेमध्ये ७५ प्रतिशत एशियाली रहेको उल्लेख छ। उनले दक्षिण एशियाका भारतमा ३२, पाकिस्तानमा ११, बंगलादेशमा ९ तथा नेपाल र श्रीलंकामा एक/एक गरी ५४ आतंकवादी समूह रहेको तथ्यांक दिएका छन्।

आधारभूत स्वास्थ्य सेवा समेत नपाइरहेका नेपालीहरूको जीवनशैली आगामी दिनमा ठूलो स्वास्थ्य चुनौती बन्ने चेतावनी दामोदर अधिकारीले दिएका छन्, हेल्थ एण्ड ह्युमन सेक्युरिटी लेखमा। उनले बाल तथा मातृ स्वास्थ्य, एचआईभी/एड्स तथा सरुवा रोगहरूलाई थप चुनौती भनेका छन्। यसैगरी, बटुकृष्ण उप्रेतीको लेख क्लाइमेट चेन्जः ए च्यालेञ्ज टु ह्युमन सेक्युरिटी मा वातावरणीय चुनौतीको सामना गर्न ठूलो लगानी चाहिने बताएका छन् भने गेजा शर्मा वाग्लेले राजनीतिक असुरक्षाको जवाफदेहिता राज्यले लिनुपर्ने उल्लेख गरेका छन्।

एघार लेख संग्रहित किताबमा आशा भन्दा निराशा र खतराका प्रसंग बढी छन्। समस्याका लामा–लामा कथाहरूमा समाधानका उपायहरू हराए पनि मानव सुरक्षा भावनात्मक र मनोवैज्ञानिक विषय पनि हो भन्ने स्थापित गर्न सक्नु पुस्तकको सशक्त पक्ष हो। राजनीतिक स्थिरता नभई राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय समस्यासँग जुध्न नसकिने कुरा पुस्तकले बुझाउँछ। अन्तिम लेख ह्युमन सेक्युरिटी इन नेपालः होयर टु नाउ मा सेल्ली कार्ल्टनले नेपालमा मानवीय सुरक्षा खोज्नुभन्दा पहिला राजनीतिक गतिरोध हटाउनुपर्ने बताएकी छन्।

सन्त गाहा मगर


जर्साबको प्रयोग

खेलौना (उपन्यास) लेखकः राजेन्द्र थापा

प्रकाशकः याम्बुरी बुक प्वाइन्ट

मूल्यः रु.२५०,

पृष्ठः१७८+३

गीतकार, स्तम्भकार र गुलावप्रेमी जर्नेल भनेर चिनिएका राजेन्द्र थापा अहिले 'उत्तेजक उपन्यासकार' को नयाँ चर्चामा छन्। सेवा निवृत्त यी जर्नेलले कविता, गजल र मुक्तकमा पनि धेरै पाठक कमाएका छन्। यस्ता लेखक 'पल्प फिक्सन राइटर' हुन पुगेकोमा कतिपय प्रशंसक बेखुशी पनि होलान्, 'बूढाले यो के गरेको' भनेर।

हुन पनि, यो पटक उनले नेपाली साहित्यको श्रीवृद्धिको साटो फटाफट बिक्री हुने यौन उपन्यासको उद्यम गरेका छन्। उनको पहिलो उपन्यास खेलौना चर्चित मोडेल स्मिता थापाको 'मलाई लोग्ने हैन, लोग्नेमान्छे चाहिन्छ' भन्ने भनाइ अनुसारको काल्पनिक विवरण हो। यसले युधीर थापाका उपन्यासभन्दा 'डकु–नोवेल' हुनुको र पात्र–परिवेशको मात्र भिन्नता राख्छ। मोडेल स्मिताको विचारोत्तेजक भनाइ पनि साहित्यकार सीता पाण्डेले धेरै अगाडि बहसमा ल्याएकै विषय हो। अर्थात्, यो उपन्यास थापाद्वयका लागि नवीन प्रयोग भए पनि नेपाली समाजका लागि न नयाँ हो न त अपेक्षित। यस्ता उपन्यासको उपभोग र आपूर्तिमा कुनै अभाव नरहेको अवस्थामा राजेन्द्र थापाका काँटका लेखकहरूबाट नेपाली साहित्यले अर्कै किसिमको अपेक्षा गरेको छ।

comments powered by Disqus

रमझम