११ चैत्र २०६९ | 24 March 2013

प्रहरीप्रति जनविश्वास घट्दो

Share:
  

नागरिक सुरक्षाको प्रमुख दायित्व बोकेको प्रहरीप्रति नै आम मानिसको विश्वास घट्दो क्रममा रहेको तथ्य हिमाल को पछिल्लो सर्वेक्षणमा देखिएको छ। राजधानीसहित प्रमुख १२ शहरहरू धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, वीरगञ्ज, जनकपुर, विराटनगर, धरान र दमकमा २९ फागुनमा गरिएको सर्वेक्षणले अधिकांश पीडितहरू प्रहरीकहाँ उजुरी नै गर्न नजाने गरेको पाइएको छ। पछिल्लो एक वर्षको अवधिभित्र तपाईं वा आफन्तको बगली मारिएको छ/छैन, घरमा चोरी/लुट भएको छ/छैन, जबर्जस्ती चन्दा मागिएको छ/छैन, कुटाइ खानु परेको छ/छैन, सार्वजनिक यातायातमा दुर्व्यवहार सहनु परेको छ/छैन, दुर्वचन सहनु परेको छ/छैन, ठगी भएको छ/छैन जस्ता १८ प्रश्नसहित सर्वेक्षण गरिएको थियो।

सर्वेक्षणमा समेटिएका ३७४ जना उत्तरदातामध्ये ३१० जना अर्थात् ८२.९ प्रतिशतले एक वर्षभित्र कुनै न कुनै किसिमको आपराधिक घटनाको सिकार हुनु परेको बताएका छन्। तर, त्यसरी पीडित हुनेमध्ये ३१.१ प्रतिशत अर्थात् ९५ जनाले मात्र प्रहरीकहाँ उजुरी दिएका छन्। उजुरी दिन नजानेमध्ये ५३.४ प्रतिशतले कारबाही होला भन्ने विश्वास नभएर तथा प्रहरीमा जाँदा झ्न् बढी लफडा होला भनेर नगएको बताएका छन्। यस्तै त्यति सानो कुरामा के जानु भनेर चुप लागेर बस्नेको संख्या ४०.५ प्रतिशत छ। यसबाट समाजले अपराधलाई सामान्य रूपमा स्वीकार्ने क्रम बढेको देखिन्छ। दण्डहीनता मौलाउन सक्ने घातक चित्र पनि यसले प्रस्तुत गरेको छ।

प्रहरीमा रिपोर्ट लेखाउनेहरूमध्ये पनि बहुसंख्यकले न्याय पाउन नसकेको बताए। ३३.७ प्रतिशतले रिपोर्ट लेखाए पनि केही गरेन भन्ने जवाफ दिएका छन् भने १८.९ प्रतिशतले वास्तै नगरेको बताएका छन्। प्रहरी जनताको साथबाट टाढिंदै गएको संकेत यसले गरेको छ। गुण्डागर्दीमा संलग्न व्यक्तिहरूले राजनीतिक नेतृत्व तथा प्रहरीको संरक्षण पाएको टिप्पणी भइरहेको समयमा आएको सर्वेक्षण नतिजाले गुमेको जनविश्वास पुनः आर्जन गर्नु सुरक्षा संयन्त्रको प्रमुख चुनौती रहेको देखाएको छ।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम