११ चैत्र २०६९ | 24 March 2013

'नन्पि्कक्शन् लाहुरे'

Share:
  

'लाहुरे' बन्ने प्रतिस्पर्धाको डोको दौडमा सहभागी तन्नेरी।

धेरै वर्षदेखि वृत्तचित्र महोत्सवहरूको चलन बसेको कारण नेपालमा वृत्तचित्र पनि हलको ठूलो पर्दामा यदाकदा हेर्न पाइएको छ, जस्तै किरणकृष्ण श्रेष्ठको 'भेडाको ऊनजस्तो' र टोनी हागनको 'उहिलेको नेपाल'। अहिले आएर वृत्तचित्रलाई एकैसाथ मुलुकभर ८ शहरका १० हलमा रिलिज गर्ने सुकाम गरेका छन् 'को बन्छ लाहुरे' का निर्माताहरूले। 'हामी कुनाका मान्छे', 'सेभिङ्ग डोल्मा', 'बी होम्स च्याप्स' आदि वृत्तचित्रका प्रख्यात सर्जक केसाङ छेदेन्द्वारा प्रस्तुत 'को बन्छ लाहुरे' ले ब्रिटिश–गोर्खामा भर्ती हुन प्रतिस्पर्धारत युवकहरूको कथा–व्यथा देखाउँछ।

'लाहुरे' शब्दको साधारण अर्थ हो– थातथलो छाडेर कामको खोजीमा विदेशिने पहाडिया नेपाली। तर, यो शब्दको उत्पत्तिको कथा बलभद्र कुँवरलगायत नेपाली योद्धाहरू ब्रिटिश औपनिवेशिक सेनामा सामेल हुनुभन्दा पनि अगाडिका पञ्जाबका महाराज रञ्जित सिंहको फौजमा सामेल भएताकाको 'लाहोर' शहरसँग सम्बन्धित छ। आज 'लाहुरे' भन्नाले ब्रिटिश र भारतीय फौजमा भर्ती हुने नागरिक मात्र नभई फर्कने गरी कामको खोजीमा भारत, खाडी, मलेसिया, कोरिया जताततै श्रम गर्न गएकाहरुलाई समेत जनाउँछ।

छातीमा नम्बर लेखेर पालो कुर्दै ।
'को बन्छ लाहुरे'ले बडो मार्मिक र सूचनामूलक ढंगले ब्रिटिश गुर्खा फौजमा जान लागिपरेका युवकहरूलाई पछ्याउँछ। छेदेन्को क्यामेरालाई पोखरास्थित बेलायती भर्ती क्याम्पभित्र खिच्न दिएकोले फिल्म शक्तिशाली बनेको छ। 'डोको दौड' लगायतका प्रतिस्पर्धाको क्रममा बेलायती र नेपाली अफिसरबीचको वार्तालाप, उम्मेदवार युवकहरूको मनोगत द्वन्द्व, शारीरिक कसरत, छनोट भएकाको उमंग, 'फेल' भएकाहरूको आँसु; सबै पर्दामा प्रस्तुत छन्। विदेशी फौजमा सामेल हुने नेपाली युवाबारे नेपाली दर्शकहरूको लागि समेत भनेर यसअघि वृत्तचित्र बनाइएको थाहा छैन।

७८ मिनेट लामो वृत्तचित्रमा समेटिएको हाँसो, आँसु, चिन्ता र आकांक्षाहरुले सफल कथानक चलचित्रले जस्तै दर्शकको मस्तिष्कलाई तान्दछ। दुई वर्ष अगाडि यो वृत्तचित्र खिच्दा ८००० को दरखास्त परेको थियो, तर छनोट भए १७८ मात्र। “यत्रो जमातमा छनोटमा नपर्दाको कुल मानसिक चोटलाई पनि कैद गरेको छु”, निर्देशक छेदेन् भन्छन्।

केही महीनाअघि काठमाण्डू इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ्)मा अन्तर्राष्ट्रिय पुरस्कार र दर्शक पुरस्कार दुवै जितेको 'को बन्छ लाहुरे'ले नेपालको अर्थतन्त्र र भूराजनीतिसँग सम्बन्धित पाटाहरू पनि नियाल्न बाध्य तुल्याउँछ। तुलनात्मक रूपमा राम्रो कमाई हुने ब्रिटिश–गोर्खामा भर्ती हुन खोज्नु त वास्तविकता हो नै, तर आधुनिक युगमा पनि रोजगारीको सम्भावना कति साँघुरो छ, यहाँ छर्लङ्ग हुन्छ। नेपाली नागरिक हुँदाहुँदै, र 'नेपाल आमा' को गीत गाउँदा गाउँदै विदेशी पल्टनमा भर्ती हुने राष्ट्रिय बिडम्बना र बाध्यता दुवैले दर्शकलाई घच्घच्याउँछ।

फिल्ममा 'इण्डियन' र 'माओवादी' जस्ता शब्दहरू सेन्सरले 'ब्लीप' गर्न लगाएबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदै गएको भान हुन्छ, 'बधशाला' फिल्मलाई देखाउनै नदिने धृष्टता पनि भई नै सक्यो।

'को बन्छ लाहुरे'का पात्र जेहेन्दार, लक्ष्य बोकेका, उत्साहित एक–एक नेपाली केटोप्रति माया पलाउन बाध्य गराउँछ दर्शकका हृदयलाई। कुनै कथानक चलचित्र भन्दा कम छैन यसको यस्तो खुबी। दुई दशकअघि तुलसी घिमिरेले बनाएका थिए कथानक चलचित्र 'लाहुरे'। यो साल आयो ठूलो पर्दामा 'नन्पि्कक्शन् लाहुरे'!

कनकमणि दीक्षित

comments powered by Disqus

रमझम