थोरै मात्र भिन्न पहल गर्ने हो भने, भान्साको फोहोर घरमै व्यवस्थापन गर्न सकिन्छ। काठमाडौं महानगरपालिकाले सड्ने/गल्ने फोहोरलाई जैविक मल बनाउने तरिकाबारे नगरवासीलाई तालीम दिंदै आएको छ। यसका विधिबारे जानकारी दिन सानो पुस्तिका पनि निकालेको छ।
नेपाल–जापान कृषि आदानप्रदान कार्यक्रम चलाउँदै आएको लाजिम्पाटस्थित अर्ग्यानिक लाइफले पनि तीन दिनमै फोहोरलाई जैविक मलमा परिणत गर्ने तरिका सिकाउँदै आएको छ। “महानगरपालिकाले सुझाएको विधिबाट मल बनाउन तीनदेखि पाँच महीना लाग्छ तर हामी तीन दिनमै मल बनाउने तरिका सिकाउँछौं”, अर्ग्यानिक लाइफका संस्थापक दीपक लोहनी भन्छन्। महानगरपालिकाको विधिमा हप्तैपिच्छे जोडन (ईएम) थप्नुपर्ने, दुर्गन्ध आउने जस्ता समस्या पनि रहेको उनको तर्क छ। अर्ग्यानिक लाइफले जापानको 'खान्तन युहो' (सजिलो मल) र नेवारी परम्पराको 'साःग' (मल खाडल) विधिलाई जोडेर फोहोर व्यवस्थापनको उपाय निकालेको छ।
यसरी बनाउने
यही विधिबाट खाडल खनेर पनि मल बनाउन सकिन्छ। गहुँको छ्वाली, पराल र गाई/भैंसीका गोबरलाई पनि जैविक मलमा रुपान्तरण गरी रासायनिक मल किन्ने पैसा जोगाउन सकिन्छ। “घरमा बगैंचा हुनेले बजारबाट मल किन्नै पर्दैन”, लोहनी भन्छन्, “घरेलु प्रयासले नै गुणस्तरीय मल बन्छ।”
नयाँबजार, काठमाडौंका हरिबहादुर आलेले नर्सरीमा भान्साकै फोहोरबाट तयार पारिएको जैविक मल लगाएका छन्। “तरकारी र फलफूलका बोक्रा, उब्रेको दाल–भात आदिलाई एउटा भाँडोमा हालेर त्यसमा जैविक जीवाणु झोल हालेर मल बनाइरहेको छु”, उनी भन्छन्।
सेप्टिक ट्यांकी र फोहोर राख्ने डिब्बाको चलनले फोहोर व्यवस्थापनको पुर्ख्यौली चलनलाई असर पारेको बताउनेहरू पनि छन्। खाद्य तथा कृषि विज्ञ मदन राई सेप्टिक–ट्यांकीले वातावरणीय चक्रलाई बिगार्न शुरु गरेको तर्क गर्छन्।
प्रस्तुतिः सजना बराल