'जनयुद्ध' को पहिलो निशाना

Share:
  

युद्धमा जनता पुस्तकबाट
निरन्तर शिक्षकः आक्रमणको एक महिनापछि नै शिक्षण पेशामा फर्किएका नरजित बस्नेत, २०५२ सालमा

१ फागुन २०५२ मा 'जनयुद्ध' सुरुआत गरेको माओवादीका कार्यकर्ताले १३ दिनपछि पीपल गाविस रुकुमका शिक्षक नरजित बस्नेतको निर्ममतापूर्वक हातखुट्टा काटे, चन्दा नदिएको र कांग्रेस समर्थक भएको आरोप लगाउँदै। १७ वर्षअघिको त्यो घटना सम्झ्ँदा अहिले पनि स्थानीयको आङ सिरिङ्ग हुन्छ भने बस्नेतलाई त्यही बेलाको पीडामा पुर्‍याउँछ। त्यो घटनाबाट आतङ्कित बनेका बस्नेत र उनको परिवार सदरमुकाममै विस्थापित जीवन बिताउने निर्णय गर्दै त्यसपछि गाउँ फर्केन। धेरै मानिस गुहारेर सदरमुकाम नजिकैको सरस्वती निमाविमा जागिर सारेका बस्नेत भन्छन्, “अझै पनि आक्रमण गर्न सक्ने डर भएकाले गाउँ नफर्केको हुँ।”

बस्नेतको बायाँ हात छैन भने दायाँ हात, बायाँ गाला र टाउकोमा खुकुरीको डाम अझै देखिन्छ।शारीरिक रूपमा असक्त भए पनि विद्यालय भने उनी नियमित रूपमा गइरहेका छन्, बाँकी भएको दायाँ हातले चक समाएर कालोपाटीमा लेख्न गाह्रो भए पनि।

यसरी भयो आक्रमण

अहिले

पीपल–७ मा रहेको आफन्तको घरको छाना छाउन सहयोग गरेर साँझ् एक्लै घर फर्कंदा खोलाछेउमा माओवादी हतियारधारीले उनीमाथि आक्रमण गरे। सात जनाको समूहमा रहेका माओवादी कार्यकर्ताको खुकुरी प्रहारबाट उनको बायाँ हात घटनास्थलमै छिन्यो। त्यसपछि उनी बेहोस भए। राति अबेरसम्म घर नआएपछि खोजीमा हिंडेका आफन्तले बाटोभन्दा ५० मिटर तल खोलामा उनलाई बेहोस अवस्थामा फेला पारे। आफन्त र गाउँलेको सहयोगमा जिल्ला अस्पताल पुर्‍याउँदा त्यहाँ उपचार हुननसक्ने बताइएपछि हेलिकप्टरबाट काठमाडौं शिक्षण अस्पताल पुर्‍यायो।

स्थानीय देउचन बस्नेत भन्छन्, “मर्‍यो भनेर खोलामा फालिए पनि नरजित बाँचे, त्यसैमा हामी खुशी छौं।” शान्ति पछि रु.१ लाख २५ हजार राहत सहयोगबाहेक नरजितले अहिलेसम्म सरकारबाट कुनै सहयोग पाएका छैनन्।

धनवीर दाहाल, रुकुम


विदामा लापर्वाही

अष्ट्रेलियामा माघेसंक्रान्ति मनाउँदै मगर महिला।

२९ फागुनमा सरकारले ग्याल्बो ल्होछारको सार्वजनिक विदा दियो। जबकि, शेर्पा समुदायले एक महीनाअघि २९ माघमै त्यो पर्व मनाइसकेका थिए। सामान्यतः ग्याल्बो ल्होछार सोनाम ल्होछार (माघ २९) को एक महीनापछि परे पनि १२ र १८ वर्षमा यो सधैंभन्दा एक महीना अगाडि वा पछाडि पर्ने सम्बद्धहरू बताउँछन्। सरकारले यो थाहा नपाउँदा र सम्बद्धहरूसँग पनि छलफल नगर्दा एक दिन अनावश्यक विदा भएको बताउँदै नेपाल शेर्पा संघका अध्यक्ष पेमाछिरी शेर्पा भन्छन्, “शेर्पा समुदायसँग छलफल गरेको भए यस्तो हुँदैनथ्यो।”

सल्लाह नगरी विदा घोषणा गर्ने सरकारको प्रवृत्तिले मगर समुदाय पनि असन्तुष्ट छ। २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारले १ माघलाई थारूसँगै मगरको पनि राष्ट्रिय पर्व भनेकोमा बाबुराम भट्टराई सरकारले त्यो हटाइदियो। गृह मन्त्रालयले सार्वजनिक गरेको २०७० को सार्वजनिक, पर्व एवं सट्टा विदामा मगर समुदायको विदा नै उल्लेख नभएको नेपाल मगर संघका महासचिव नवीन रोका मगर बताउँछन्।

मीना शर्मा, काठमाडौं


फोहोरबाट इँटा

युएन तथा युएसएआईडी लगायत अन्तर्राष्ट्रिय निकायको नेपालस्थित कार्यालयमा २० वर्षभन्दा बढी काम गरेका अमेरिकाको ओरिजन शहरका बासिन्दा जइसे ब्रिनेट (७०) काठमाडौंको फोहोर व्यवस्थापनमा लागेका छन्। रोटरी क्लबको सहयोगमा दुई वर्षअघि गोङ्गबु बसपार्क छेउबाट फोहोर व्यवस्थापन अभियान शुरू गरेका ब्रिनेट अहिले अनामनगरमा काठको धूलो, पुराना पत्रिका र कागजबाट इँटा र ब्रिकेट बनाइरहेका छन्।

“प्रयास गर्दा फोहोरलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने देखाउन र सिकाउन खोजेको हुँ”, ब्रिनेट भन्छन्। औद्योगिक प्रदर्शनीमा इँटा बनाउने आधुनिक मेसिन देखेपछि काठ र कागजको धूलोबाट पनि इँटा बनाउन सकिने विश्वासले रु.१० हजारमा त्यो मेसिन किने। त्यही मेसिनबाट बनेका इँटा अनामनगरको मण्डला थिएटरलगायत अरू केही घरमा प्रयोग भइसकेका छन्।

उनको यो नयाँ उद्योगले तीन नेपालीलाई रोजगारी दिएको छ। त्यहाँ उत्पादन भइरहेको इँटाको प्रयोगले अधिक गर्मी हुने तराईमा शीतल पार्ने र हिमालमा न्यानो बनाउने ब्रिनेटको दावी छ।

गोविन्द लुइँटेल, काठमाडौं


दुई दिनमा चारथरी रिपोर्ट

असाध्य पेट दुखेपछि पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेललाई १९ माघमा भारत सिलिगढीको आनन्दलोक अस्पताल पुर्‍याउँदा बायाँ मिर्गौलामा १३ एमएमको पत्थरी रहेको परीक्षण रिपोर्ट आयो। त्यहीं दिएको औषधि पाँच साता खाएपछि प्रगति बुझन उनी २८ फागुनमा बिर्तामोडको बजरंग मेडिकल एण्ड डाइग्नोस्टिक सेन्टरमा पुगे, त्यसले मिर्गौलामा ३.८ एमएमको पत्थरी रहेको रिपोर्ट दियो। त्यति समयमै त्यो रूपमा पत्थरी घटेको पत्यार नलागेपछि बिर्तामोडको हिमालय डाइग्नोस्टिक क्लिनिकमा परीक्षण गराए, जसले ११.४ एमएमको पत्थरी रहेको रिपोर्ट दियो। त्यो रिपोर्ट झ्नै अविश्वसनीय लागेपछि तत्कालै बिर्तामोडको मनमोहन मेमोरियल अस्पतालमा परीक्षण गराए। उसले ८.८ एमएमको पत्थरी रहेको रिपोर्ट दियो। त्यो पनि विश्वास नलागेपछि २९ फागुनमा भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा परीक्षण गराए, उसले १४ एमएमको पत्थरी रहेको बतायो। (हे रिपोर्टहरू) दुई दिनबीचको जाँचमा चारथरी परिमाण आएपछि उनी ४ चैत्रमा झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढी पुगे, उजुरी लिएर।

उजुरी पाउनासाथ प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले त्यस सम्बन्धमा दुई साताभित्रै छानबिन गर्ने कार्यादेश दिंदै जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेश दाहालको संयोजकत्वमा चिकित्सक सम्मिलित तीन सदस्यीय समिति गठन गरेपछि भने पोखरेलको चिन्ता केही घटेको छ।

“नाम चलेकै अस्पतालका रिपोर्टले मलाई तनाव दिएको छ”, पोखरेल भन्छन्, “कुन रिपोर्ट मानेर औषधि खानु भन्ने अन्योल भएपछि औषधि नै खान छाडें।”

गोपाल गडतौला, झापा


इँटाभट्टाका लागि वन फँडानी

लालझाडीबाट काठ ल्याउन गएका सर्वसाधारण।

भारतमा खुलेका इँटाभट्टाहरूको असर नेपालको कञ्चनपुरको संरक्षित लालझाडी वनक्षेत्रमा परेको छ। दक्षिणी कञ्चनपुरका लक्ष्मीपुर, श्रीपुर, रौतेलीविचवा, कालिका, परासनलगायतका गाविसबाट दैनिक सयौं मानिसले सीमापारिका इँटा उद्योगका लागि काठ लैजाने गरेको वनकर्मीहरू बताउँछन्। उनीहरूका अनुसार, काठ तस्करीमा साइकल, डल्लप (गोरु–राँगा गाडा) र ट्रयाक्टरसमेत प्रयोग हुने गरेको छ। “एक–दुई जना भए पो रोक्नसक्नु”, रामनगर रेञ्जपोष्ट सुख्खरघाटका सहायक वन अधिकृत शत्रुघन ठाकुर भन्छन्, “हूलका हूल हुन्छन्, भात पकाउन घर लगेको भन्छन्।”

लालझाडी वन पसिरहेका साइकलहरू समातेको केहीबेरमै एक हूल मानिस आएर ढुङ्गामुढा गर्दा मुश्किलले ज्यान जोगाएको तीतो अनुभव सहायक वन अधिकृत ठाकुरले सुनाए। त्यस क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले 'यो त वनकर्मीको काम हो' भन्दै रोक्ने पहल गरेको छैन। बिहान जंगल पसेको समूह दिउँसो र दिउँसो पसेको समूह साँझ्मा काठ लिएर फर्किने गरेको वनकर्मीहरू बताउँछन्। वाइसेविचवा–१ डाँडाघारीको जनहित वन संरक्षण समितिका अध्यक्ष रहेका दिनेश चौधरी एउटै साइकलबाट दुई क्विन्टलसम्म काठ तस्करी भइरहेको बताउँछन्।

*बच्चु विक, धनगढी *


लडाकूको सडकमा बास

२०५७ मा तत्कालीन विद्रोही माओवादीको लडाकू सेनामा भर्ती भएकी जयकला उपाध्याय 'कामना' (२६) लाई अहिले दाङ, घोराहीका होटल र पसलहरूमा माग्दै गरेको भेटिन्छ। पाँच वर्ष लागेको पार्टी पटक पटक सत्तामा पुग्दा उनको भने खुला आकाशमुनि बास छ।

बाहुनकी छोरी लडाकू बनेर रातबिरात हिंडेकी भन्दै घरपरिवारबाट अपहेलित भएकी जयकला रुकुम खारा आक्रमणमा गोली लागी घाइते भएपछि पार्टीबाट पनि हेलामा परेको बताउँछिन्। खुट्टा र कम्मरमा लागेको गोली निकाल्न नसक्दा कामै गर्न नसक्ने गरी असक्त बनेको र त्यही कारण माग्नु परेको पीडा पोख्दै उनी भन्छिन्, “पहिले रोल्पातिरै मागेर खाएँ। आजभोलि दाङमा माग्दैछु।”

झ्ुत्रो र मैलो कपडा लगाएर माग्दै हिंडेको देखेर जयकलालाई कैयौंले 'बौलाही' समेत भन्छन्। तनावले आफूमा केही बौलाहापन देखिएको हुनसक्ने बताउँदै उनी भन्छिन्, “म बौलाही हैन, भएको भए यसरी कुरा गर्न सक्थें र!” 'मर्नुभन्दा बहुलाउनु निको' भनेर बाँच्नकै लागि माग्नुपरेको उनको भनाइ छ।

गणेश आचार्य, दाङ


भेटियो ८०० वर्ष पुरानो कला

राष्ट्रिय अभिलेखालयबाट चोरिएको ८०० वर्ष पुराना कलाकृति नेपालप्रेमी विदेशीहरूले लिलामी हुनबाट जोगाए पनि फिर्ता गराउन पहल भएको छैन।

काठमा गरिएको ८०० वर्ष पुरानो पेन्टिङ

न्युयोर्कको रकफेलर प्लाजास्थित अनलाइन लिलामी कम्पनी क्रिस्टिजले गत फागुनमा डाक बढाबढमा राखेको नेपाली कलाकृतिको नाम र तस्वीर (हे. तस्वीर) ले सबभन्दा पहिले झ्स्कनेमा हार्वर्ड विश्वविद्यालयको 'डिपार्टमेन्ट अफ हिस्ट्री अफ आर्ट एण्ड आर्किटेक्चर'का सह–प्राध्यापक जिनाह किम र क्यालिफोर्निया विश्वविद्यालयको 'ग्रुप इन बृद्धिस्ट स्टडिज'का निर्देशक अलेक्जेण्डर वोन रोसपाट थिए। त्यो देख्नासाथ उनीहरूले बहुमूल्य कलाकृतिको विश्वव्यापारी क्रिस्टिजसँग सोधखोज मात्र गरेनन्, ती चार 'आइटम' नेपालबाट चोरी भएको पुरातात्विक महत्व आकलन गर्नै नसकिने पेन्टिङ भएको पनि सम्झाए।

हुन पनि, क्रिस्टिजले बिक्रीमा राखेका ती कलाकृति शिव धर्मसंग्रह, भागवत पुराण र विष्णु धर्मको खजुरको पातका पाण्डुलिपिका गाताका लागि बनाइएको पेन्टिङ थिए। 'हिमालयन आर्ट'का आधिकारिक विज्ञहरूको विरोधपछि क्रिस्टिजले शुरू मूल्य ५० हजार अमेरिकी डलर तोकिएका ती कलाकृतिलाई गत साता लिलामीको सूचीबाट हटायो। नेपाली कला इतिहासकै सर्वाधिक पुराना ती पेन्टिङहरू १२औं शताब्दीका हुन्। सन् १९७० को 'नेपाल–जर्मन मेनुस्त्रि्कप्ट प्रोजेक्ट' को अभिलेख र चार वर्षअघि प्रकाशित सावित्री मैनालीको पुस्तक 'हिन्दू मिनियचर पेन्टिङ अफ काठमाडौं' अनुसार पनि ती पेन्टिङहरू निर्विवाद रूपमा नेपालकै सम्पत्ति हुन्।

फर्काउन सकिन्छ

क्रिस्टिजको बिक्री सूचीमा देखिएका चारमध्ये रातो पृष्ठभूमिको पेन्टिङमा शिव, उमा र नन्दी (बसाहा) छन्। एउटामा नेवारी, एउटामा पुरानो नेवारी र अर्कोमा मैथली स्त्रि्कप्ट तथा सबैमा संस्कृत भाषा छन्। हार्वर्ड क्यालिफोर्निया विश्वविद्यालयका कलाविज्ञहरूले ती अमूल्य पेन्टिङहरूलाई लिलामीबाट रोकिदिए पनि तिनलाई नेपाल फिर्ता ल्याउने सिंगो प्रक्रिया बाँकी छ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसँग यसबारे जानकारी माग्दा राष्ट्रिय अभिलेखालयका प्रमुखसँग बुझन भनियो। ६ चैतमा राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नाललाई भेट्दा “तपाईंलाई यस्तो सूचना दिने व्यक्ति को हो?” भन्दै उल्टै र्‍याखर्‍याख्ती पारे।

तर, अभिलेखालय प्रमुख दर्नालले त्यसै दिन क्रिस्टिजको भारत र दक्षिणएशिया बिक्री विभाग प्रमुख सन्ध्या जैन पटेललाई इमेल लेखेर ती कलाकृति लिलाममा राख्न ल्याउने व्यक्तिको नाम र ठेगाना सोधेका छन्। उनले फिर्ता गराउन सहयोगको आग्रह गर्दै असहयोग गरे इन्टरपोलमा जाने चेतावनी पनि दिएका छन्। क्रिस्टिजले ती पेन्टिङहरू १९८९ र १९९० को बीचमा पेरिसको निजी संकलकबाट प्राप्त गरेको जनाएको छ। विदेश पुर्‍याइएका प्राचीन स्मारक र पुरातत्वसम्बन्धी ऐतिहासिक वा कलात्मक वस्तुहरू फिर्ता गराउने बाटो इन्टरपोलले खोल्नेमा शंका छैन। नेपाल 'प्रतिबन्धित तथा संरक्षित वस्तु आयात, निर्यात तथा ओसारपसार सम्बन्धी महासन्धि १९७०' को पक्ष राष्ट्र भएकाले पनि यो काममा इन्टरपोलको सहयोग लिन सक्छ। तर, अभिलेखालयका प्रमुख दर्नालको ठाडो शैलीले ती पेन्टिङ नपाउने संभावना बढ्ने जानकारहरू बताउँछन्।

उनीहरूका अनुसार, आफ्नो देशको पुरातात्विक वस्तु हो भन्ने पहिचान भइसकेपछि पुरातत्व विभागले गृह मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दछ। त्यसपछि, नेपाल प्रहरीको इन्टरपोल शाखाले सम्बन्धित देशको इन्टरपोलमा अनुरोध गरेर वस्तु र वस्तु चोर्ने व्यक्तिसम्म पुग्न सकिन्छ। यसरी इन्टरपोललाई पत्राचार गर्दा सम्बन्धित वस्तुको तस्वीर, आकार, प्रकारका साथ वस्तु आफ्नै देशको हो भन्ने प्रमाण समेत पठाउनुपर्छ। प्राचीन स्मारक ऐन २०१३ को दफा १२ मा कुनै प्राचीन स्मारकलाई नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, विरुप पारे वा चोरी गरे त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिम रकम असुलउपर गरी रु.२५ हजारदेखि रु.१ लाखसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ। पुरातत्व विभागले यो प्रक्रिया पुर्‍याउँदा ती पेन्टिङहरू फिर्ता हुने धेरै सम्भावना छ।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम