कारण र परिणाम

Share:
  
- जैनेन्द्र जीवन
बहुदलीय प्रणालीबाटै वाम एजेण्डा लागू गर्ने कि शास्त्रीय कम्युनिष्ट व्यवस्थाका लागि संघर्ष गर्ने भन्ने प्रश्न एमाओवादी फुटको प्रमुख कारण हो।
p26

वैचारिक रूपले यान्त्रिक, संकीर्ण र जडसूत्रवादी, राजनीतिक रूपले विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी', एकीकृत नेकपा (माओवादी) फुटेर 'नेकपा–माओवादी' बनेकोमा संस्थापनका तर्फबाट पुष्पकमल दाहालले मोहन वैद्यको पक्षप्रति जनाएको प्रतिक्रिया यस्तो थियो। कतिपयले त रिमको उक्साहटमा राजावादीसँग मिलेर मोहन वैद्यहरूले पार्टी फुटाएकोसम्म पनि भने। तर, वैद्य पक्षको भनाइ 'प्रचण्डहरूले पार्टीलाई नवसंशोधनवादी धार र संसदीय भासमा जाकेर क्रान्तिप्रति गद्दारी गरेकाले अलग्गिएको र अब जनविद्रोहमार्फत जनक्रान्ति गर्ने' भन्ने छ।

२०६१ को चुनवाङ विस्तारित बैठकद्वारा पारित मूलधारका राजनीतिक दलसँग सहकार्य गर्ने कार्यदिशा अनुसार सात संसद्वादी दलसँग भारतमा भएको १२ बुँदे सहमति, त्यसपछि भएका विस्तृत शान्ति सम्झौता लगायत शान्ति र संविधान पक्षका सबै सहमतिप्रति वैद्य खेमा कहिल्यै सकारात्मक थिएन। १२ बुँदेताका भारतीय जेलमा रहेका वैद्य र उनका सहयोगीले शुरूमा अल्मलिएर घटनाक्रमको सही आकलन गर्न सकेनन्। त्यसपछि १२ बुँदेका एक सूत्रधार बाबुराम भट्टराईलाई पाखा लगाएर अध्यक्ष पुष्पकमल दाहाललाई आफूतिर ल्याउने करीब पाँच वर्ष लामो प्रयास सफल नभएकोले अन्ततः अलग्गिएका छन्।

माओवादी फुटमा गूटगत द्वन्द्व र व्यक्तिगत मनोमालिन्यसँगै वैद्यको जडसूत्रवादी सोच तथा दाहालको कार्यशैलीको खास भूमिका छ। आफ्नै राजनीतिक कार्यदिशा नभएका दाहाल कहिले भट्टराईको बहुदलीयता, शान्ति र संविधान त कहिले वैद्यको जनविद्रोह र परिआए जनयुद्ध भन्ने परस्पर विरोधी कार्यदिशामा यताउता गर्दै दुवैलार्र्ई एकअर्का विरुद्ध उपयोग गरेर पार्टीभित्र सर्वशक्तिमान भइरहे। तर, दाहालको खुला छलफलबाट सर्वस्वीकार्य समाधान निकाल्नुको साटो व्यक्ति वा समूह हेरेर आश्वासन बाँड्ने कपटी शैली र पार्टीको सम्पूर्ण स्रोतसाधनमाथि एकलौटी नियन्त्रण गर्ने व्यवहारबाट वाक्कदिक्क भएपछि वैद्यहरूले नयाँ पार्टी जन्माउने उपक्रम थाले। दाहालले भट्टराईलाई साइजमा राख्न लामो समयसम्म वैद्यको कार्यदिशामा सहमति जनाइरहे। यता संगठनमा कमजोर भए पनि भारतले मन पराएका र तुलनात्मक रूपमा 'लोकप्रिय' भट्टराई प्रधानमन्त्रीमा दाहालका ठूला प्रतिद्वन्द्वी थिए।
वैद्यको जनविद्रोहमा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिकूलता र प्रधानमन्त्री बन्ने आफ्नो प्रयत्नमा असफलता हात लागेपछि दाहाल भट्टराईको लाइनमा ढल्किए। यसैको परिणाम थियो, २८ चैतमा माओवादी लडाकू शिविर नेपाली सेनाको नियन्त्रणमा आउनु। माओवादीले सोचेजस्तो लाभकारी हुन नसकेको सेना समायोजनलाई दाहाल र भट्टराईको गद्दारीको रूपमा अर्थ्याउँदै क्षुब्ध बनेका वैद्यहरू त्यही विन्दुबाट छुट्टै पार्टी बनाउने निष्कर्षमा पुगेका हुन्।


नेपालका कम्युनिष्टहरू अन्तर्कलह र टुटफुटमा अरूभन्दा अगाडि छन्, राजनीतिक सुधार कि शास्त्रीय साम्यवाद भन्नेदेखि गूटगत र व्यक्तिगत विवादमा फुट्छन्। एमाओवादीको फुटमा दाहालबाट पूरा हुन नसकेको नेत्रविक्रम चन्दको महत्वाकांक्षा, रामबहादुर थापा र सीपी गजुरेलका इखदेखि देव गुरुङले नपाएको अर्थ मन्त्रालयसम्मका कथाव्यथा जोडिएको छ। 'जनयुद्ध' पछि एकता केन्द्रबाट आएका नारायणकाजी श्रेष्ठहरूको हालीमुहाली पनि वैद्यहरूको असन्तुष्टिको कारण रह्यो। कुनै जमानामा विश्वभरका कम्युनिष्ट सोभियत र चिनियाँ खेमामा बाँडिन्थे, सोभियत संघको पतन र चिनियाँ कम्युनिष्ट पार्टीको पूँजीवादीकरणपछि त्यो स्थिति रहेन। नेपालका कम्युनिष्ट 'भारतलाई हेर्ने दृष्टिकोण' मा पनि विभाजित हुँदैआएका छन्। आफैंले भारतीय दलाल भन्ने गरेको बाबुराम पक्षसँग कहिले भारतविरोधी त कहिले भारतनिकट हुन खोजेका दाहालले पछिल्लो समय भारतसँग स्थायी गठबन्धन गरेर राष्ट्रघात गरेको आरोप वैद्य समूहको छ र यही 'राष्ट्रिय आत्मसमर्पणवाद' को विरोधमा उसले भारत विरोधी सडक संघर्षको सहारा लिने लगभग पक्का छ। तर, नेपालमा बिकाउ भए पनि अत्यधिक प्रयोग भएको यो राजनीति असफल हुनसक्छ। जहाँसम्म शहरी विद्रोह छ, त्यो अढाई वर्ष अगाडि माओवादी एकीकृत छँदै जनताबाट अस्वीकृत भइसकेको हो। यसबीच बरु माओवादीसँग क्रूद्ध जनसंख्या थपिएको छ। त्यही बुझेर होला, वैद्यले अहिलेलाई 'जनयुद्ध' सम्भव नदेखेका!

p27

वैद्यको पार्टी अब आफ्ना समर्थक र आमजनताको असन्तुष्टिलाई भजाएर समाज, सडक र राष्ट्रिय राजनीति तताउँदै कि शक्तिशाली भएर आउनेछ, कि एमाले फुटेर बनेको माले झै अस्वीकृत भएर बिलाउनेछ। यो फुटबाट भट्टराईलाई खासै असर नपर्ने हुनाले उनी लगभग प्रतिक्रियाविहीन छन्। दाहाल–भट्टराई खेमामा रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताको एकल जातीय राज्यप्रतिको विरोध र वैद्य समूहमा ठूलो संख्यामा एकल जातीय राज्य पक्षधरको उपस्थितिले पनि माओवादीभित्रको धु्रवीकरणमा केही तलमाथि पार्न सक्छन्। तत्काल भने दुवै पक्षले अनिर्णित कार्यकर्ता तान्दै पार्टीका साधनस्रोत कब्जा गर्नेछन्, जसको रिहर्सल भृकुटीमण्डपमा भइसकेको छ। वैद्य पक्षले पुराना नेता–कार्यकर्ताको ऐयासी जीवनशैलीको भण्डाफोर गर्दा दाहाल–भट्टराई पक्षलाई रक्षात्मक हुन कर लाग्छ। दाहालको लाजिम्पाट दरबारले धेरै पत्रिकाका पृष्ठ ढाकिइरहनेछन्, २०५५ सालतिर एमाले र माले नेताका महलका फोटाले झै। आ–आफ्नो कार्यदिशा लागू गर्दै जाँदा विभाजित पक्षको वास्तविक परीक्षण शुरू हुने र त्यसमा सफलता–असफलताले दुवै पार्टीको आकार निर्धारण गर्नेछ। वैद्यहरूको जनविद्रोह र जनयुद्धको कार्यदिशा सफल हुन उनीहरूको आफ्नै ऊर्जाका साथै देशभित्र र बाहिरको वस्तुगत परिस्थितिले महत्वपूर्ण भूमिका खेल्नेछ। वैद्य समूहमा 'जनयुद्ध' को विरासत बोकेका कार्यकर्ताको जमात छ भने दाहालको पार्टीमा ५–६ वर्षमा वर्गोत्थान भएका र नवप्रवेशीहरूको। डेढसय सदस्य भएको केन्द्रीय समितिका ३० प्रतिशत सदस्य मात्र वैद्यतिर लागेका छन्।

माओवादी विभाजनले आम जनतालाई तत्काल खासै असर नपारे पनि राष्ट्रिय राजनीतिमा संविधानसभा/व्यवस्थापिका–संसद् पुनर्स्थापनाको संभावनालाई प्रतिकूल प्रभाव पार्नेछ। विधानतः वैद्यको पार्टीले सदनभित्र दलको हैसियत नपाउने र दाहालको पार्टीले उनीहरूको सदस्यता खारेज गर्न शक्ति लगाउने हुनाले यसै पनि संसद्वादका विरोधी वैद्यहरू सदन पुनर्स्थापनाको विपक्षमै उभिनेछन्। केही गरी निर्वाचन भइहाल्यो भने वैद्यहरू सक्रिय बहिष्कार गर्न या पहिले फुटेर गएका मणि थापा, मातृका यादवलगायतका स–साना समूहसँग मोर्चा बनाएर सहभागी हुन सक्छन्, जसको उद्देश्य आफू जित्नु भन्दा पनि दाहालहरूलाई हराउनु हुनेछ। कारणः एमाओवादीले चुनाव जितेमा आफ्ना धेरै नेता–कार्यकर्ता उतैतिर फर्केर जाने डर छ भने हारेमा 'बुर्जुवा' लोकतन्त्रबाट निराश उनीहरूका धेरै कार्यकर्ता आफूतिर आउने आश।

comments powered by Disqus

रमझम