लुम्बिनी र ग्वार्को

Share:
  
- कनकमणि दीक्षित

शाक्यमुनि गौतम बुद्ध तथा बुद्ध धर्मतर्फ राष्ट्रिय मूल प्रभाव कति कम संवेदनशील छ भन्ने कुरा विभिन्न उदाहरणबाट प्रष्ट हुन्छ। यसको सबैभन्दा प्रष्ट प्रस्तुति लुम्बिनीको सन्दर्भमा प्रकट हुन्छ, जुन क्षेत्रमाथि हामी राष्ट्रवादी खोल लगाएर अगाडि बढ्न उद्यत छौं।

लुम्बिनी पूरै नेपाल तथा विश्व समुदायको सम्पदा स्थल हो, र यसको आध्यात्मिक महत्वलाई सुरक्षित गर्ने हो भने यसले नेपाली जनमानसलाई मनको शान्ति दिन्छ र मध्य नेपाल तराई मात्र नभई पूरै राज्य अर्थतन्त्रको ठूलो आयस्रोत बन्दछ। तर प्रथमतः हामीले आफ्नो हातमा परेको सम्पदा चिन्ने चेष्टा गर्नुपर्‍यो।

'बुद्ध नेपालमा जन्मेको' भन्ने कुरामा धेरै चर्को स्वरमा बोल्नुपर्ने आवश्यकता छैन, मात्र तर्क र तथ्य पेश गरे पुग्दछ। ऐतिहासिक बुद्धमध्ये शाक्यमुनि मात्र होइन, क्रकुछन्द र कनकमुनिको थलो वर्तमान नेपाल थियो भने कश्यप् बुद्धको थलो वर्तमान सिमानाको दक्षिणतर्फको थियो।

सम्राट अशोकले सिद्धार्थ गौतम जन्मेको प्रमाणित गर्दै २२६२ वर्ष अगाडि लुम्बिनीमा शिलालेखसहित स्तम्भ नै ठड्याएका हुन्। प्राचीन भारतका ज्ञाता इतिहासविद् रोमिला थापरका अनुसार, सम्राट अशोकले 'आफू स्वयं' यहाँ आएको जनाउन स्तम्भमा पाली भाषा कुँद्न लगाएका थिए। सम्राट अशोकले नै प्रमाणित गरिदिएको हुनाले सिद्धार्थ गौतम आजको नेपालको भूभागमा जन्मेको विचार पेश गर्दा हामी धेरै उत्तेजित हुनै पर्दैन।

कुनै बहस चलेको छ भने शुद्धोदनको दरबार रहेको शाक्यहरूको राजधानी कपिलवस्तु कहाँ छ भन्ने हो। यसमा कसै कसैले पिप्रहवा भन्ने गरे पनि आजसम्मका प्रमाणले वर्तमान नेपालको तिलौराकोटलाई नै प्राचीन कपिलवस्तु दर्साउँछ। र पनि, नेपालका 'लुम्बिनी अभियन्ता' हरूले यस क्षेत्रको पुरातात्विक उत्खनन्बारे थप सोधखोज गरेकै बेस। किनकि, त्यसले लुम्बिनी र कपिलवस्तु मात्र होइन; तिलौराकोट र सगरहवादेखि रामग्रामसम्मका 'बुद्धस्थल' को अझै गहिरो इतिहासको अध्ययन गरेर हाम्रो सम्पदाको 'प्रयोग' अझ् प्रभावकारी हुन सक्दछ।
ऐतिहासिक बुझाइ कमजोर हुँदा लुम्बिनी क्षेत्रको अपहेलना हुन पुगेको छ।

लुम्बिनीमा संसारभरिका बौद्धमार्गी खेमा र उपखेमाहरूलाई प्रतिस्पर्धाको मैदान बनाइदिएको जस्तो लाग्छ, र यहाँ देख्दाखेरि पुरानो शैलीका तर सिमेन्ट–कंक्रिटको गुम्बा बनाउने होडबाजीमा निम्त्याएका छौं। लुम्बिनी उद्यान वरपर गौतम बुद्धको बेलाको जस्तो रैथाने रूख बिरुवा नभई सर्वत्र आयातीत सिसौ लगाएका छौं। लुम्बिनी परिसरमा निर्मित लाम्चो तलाउमा पर्यटकहरूको लागि भनेर मोटरबोट सञ्चालन गरिएको छ, जसको आवाजले आध्यात्मिक स्थल, तीर्थयात्रु र साधकहरूको अनादर गरेको छ। जबकि, लुम्बिनी परिसरभित्र मोटरगाडी नभई मात्र रिक्सा चलाउन अनुमति छ। स्थानीयवासीहरूलाई आय आर्जनको फाइदा हुने गरी हातले खियाउने डुङ्गा सञ्चालन गरेको भए पनि नहुने थिएन।

हालैको इतिहास पनि सम्झ्नुपर्ने हुन्छ। लुम्बिनीमा शान्तिदीप छ, लामो तलाउको एक छेउमा। यो सन् १९८६, अन्तर्राष्ट्रिय शान्ति वर्षको उपलक्ष्यमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रबाट उद्घाटन गरिएको हो। त्यतिबेला संयुक्त राष्ट्रसंघ निष्त्रि्कय संस्था जस्तो थियो र अन्तर्राष्ट्रिय वर्षको योजना अगाडि सारेर तत्कालीन महासचिव ह्यावियर पेरेज दे क्वेयारले काम देखाउन लागिपरेका थिए। यसै अवसरमा नेपाललाई शान्तिको अग्रदूत बनाउन तत्कालीन पञ्चायत सरकारले यस ठाउँमा निरन्तर दीप प्रज्वलन गर्ने काम गरेको हो। शान्ति द्वीप त वास्तविकता भइसक्यो, तर यसको उत्पत्ति सम्झेको बेस।

हामीकहाँ बौद्ध दर्शन बारे संवेदनशीलता कति थोरै हुन्छ भन्ने बुझन पाटन शहरको पूर्वतर्फ रहेको ग्वार्कोको स्तूपलाई नियाले पुग्दछ। पाटन वरिपरि रहेका घाँसले सुसज्जित स्तूपहरूले हामीलाई दुई–तीन हजार वर्षअघिको संस्कारतर्फ डोर्‍याउँछ, जतिबेला बुद्धत्व प्राप्त व्यक्तिहरूको अस्तु छोप्न ढुंगामाटोको स्तूप बनाइन्थ्यो। पाटनको चार कुनाका स्तूपहरू यस्ता पुराना शैलीका पुरानो सुरुआतका प्रतिनिधि स्तूपहरू हुन्। स्वयम्भू, बौद्ध तथा श्रीलंका, बर्मा, भारत र अन्यत्र यही 'ओरिजिनल' आकारलाई सुसज्जित गर्ने काम भएको हो।

हामीले आफ्नो मौलिक इतिहास, वास्तुकला र सम्पदाको वास्तविक गर्व गर्ने हो भने लुम्बिनीलाई सकेसम्म ऊबेलाको लुम्बिनीकै आकार र वातावरणमा छोड्नुपर्दछ। यस्तै यी पाटनका बौद्ध स्तूपहरूलाई पनि झ्ल्लर र सिमेन्ट, इँटाले खल्बल्याउने काम नगरी दुईहजार वर्ष अघिदेखि जस्तो रहँदै आयो, त्यस्तै छाडिदिनुपर्दछ।

ग्वार्कोको पूर्वी स्तूपमा कुनै स्थानीय धर्मावलम्बी ठालुको अगुवाईमा सिमेन्ट–कंक्रिट हस्तक्षेप भएको छ, र दुई हजार वर्ष यसै रहेको स्तूपको आकार बदलिएको छ। यस्तो विरुप अवस्थालाई सदियौंदेखिका धर्मावलम्बी तथा इतिहास र बौद्धिक आध्यात्मको कदर गर्दै उक्त स्तूपलाई पुरानै आकार फिर्ता दिनु उचित हुनेछ। यसबाट आधुनिक युगमा बौद्ध दर्शनप्रति पुरानै लगाव रहेको प्रमाणित हुनेछ।

comments powered by Disqus

रमझम