आएको मौका

Share:
  
- रुपा जोशी
चिरपरिचित साझा बस १० वर्षे निन्द्राबाट ब्युँझिएर पुनः सञ्चालनमा आएको मौकामा काठमाडौंको अनियन्त्रित ट्राफिक, मनमौजी बटुवा र अराजक मिनीबसतन्त्रलाई ठाउँमा ल्याउने चौका हानौं।

तस्वीर: देवयानी सिवाकोटी
गजबको कुरा, अबको एक महीनाभित्र काठमाडौंका सडकमा साझा बस हुँइकिनेछन्। साझाका हरिया टिलिक्क परेका ठूल्ठूला बसले यात्रु सेवा थाल्नेछ। हामीलाई चाहिएकै यस्तै सवारी साधन थियो– एउटै बसले धेरै यात्रु टिपेर सडकको चापलाई कम गर्ने मास ट्रान्जिटको साधन। बारम्बार नआउने यस्तो मौका छोप्न नसके गुमिहाल्छ।

हामीले कोटेश्वर–सूर्यविनायक हाइवे संचालन हुनुअगावै चालकलाई लेन अनुशासन बताउने मौका गुमायौं। पैदल यात्रीलाई पनि कसरी र कहाँबाट सडक काट्ने भनेर बताउन चुक्यौं। पदयात्रीलाई महानगरका व्यस्त जङ्कशन छिचोल्न सजिलो होस् भनेर पिलिक–पिलिक गर्ने बत्ती त जडान गर्‍यौं, तर त्यो बत्ती हरियो छ भने गाडीको पालो छ र रातो छ भने पैदलयात्रीले सडक पार गर्नुपर्छ भनेर बुझाउन सकेनौं। हाम्रो जस्तो आधुनिक सुविधा थपिंदो राजधानीमा यस्ता कुरा बुझने–बुझाउने मौका कमै आउँछ, जुन हामीले चुकायौं।

नत्र, बेस्सरी प्रचार–प्रसार गरेर अहिलेजस्तो जहाँबाट मन लाग्यो त्यहींबाट असुरक्षित तवरले सडक काट्न पाइँदैन/हुँदैन भनेर उतिबेलै बुझाउन सकिन्थ्यो। योसँगै गाडी चालकलाई पनि जेब्राक्रसिङमा पैदल यात्रुको हक लाग्छ भनेर बुझाउने अवसर गुम्यो। परिणाम, जेब्राक्रसिङ र ट्राफिक लाइट दुवै कुराले दिने संकेत भन्दा प्रहरीका डण्डाकै इशारा अनिवार्य हुनपुग्यो। त्यसैले, अब साझा बसले राजधानीको सडक सभ्यता उकास्ने कामबारे सोच्नुपर्छ।

सबैभन्दा पहिले त बिसौनी बाहेक अन्यत्र बस नरोक्ने बानी बसाल्नु अत्यावश्यक छ। यसले ठाउँ कुठाउँ ढ्याग–ढ्याग गर्दै माइक्रो बस र टेम्पो रोक्न सिकेका यात्रु तथा जहाँ पायो त्यहींबाट यात्रु टिप्न पल्केका चालकमा विस्तारै थिति बसाउँछ। त्यसपछि बसाउनुपर्छ, पालो कुर्ने बानी। सार्वजनिक यातायातका साधन तँछाड–मछाड नगरिकन क्यू सिस्टममा पालैसित चल्नुपर्छ।

यात्रुले पनि पहिला असक्त, वृद्धवृद्धा, बालबालिका र महिलालाई प्राथमिकता दिने बानी बसाउनुपर्छ। एउटा ढोकाबाट पस्ने र अर्कोबाट निस्कने गर्नासाथ तँछाड–मछाड स्वतः कम हुनजान्छ। डाक्टरको क्लिनिक, अस्पतालको ओपीडी वा मन्दिर हामीले यस्तै गरिरहेका छौं। शारीरिक रूपमा असक्त, बिरामी, बालबालिका, गर्भवती आदिलाई सीट छाडिदिन सिक्नुपर्छ। बसभित्रका आँखा पर्ने ठाउँमा त्यस्तो कुरा सम्झाउने सूचना राखिनुपर्छ। आफ्नो पालो कुर्ने धैर्य र आफूभन्दा कमजोरको ख्याल गर्ने बानीले हामीलाई अझ् शिष्ट बनाउँछ। समाजमा यस्तो थिति बस्यो भने त्यसको असर हाम्रा नेतामा पनि पर्दो हो।

उपत्यका बाहिर चल्ने साझा बसले एउटा अर्को नयाँ बानी बसाल्न मद्दत पुर्‍याउने मौका छोप्नैपर्छ। त्यो हो, आफ्नो कारण उत्पादन भएको फोहोरको भार अरूलाई नपार्ने। कुनै पनि राजमार्गको दायाँ–बायाँ किनारमा प्लास्टिकका झ्ोला, मिनरल वाटरका बोतल, चाउचाउ र बिस्कुटका खोल छरपस्ट देखिन्छन्। यी सबै बसका झयालबाट फुत्त–फुत्त फालेर जम्मा भएका फोहोर हुन्।

यात्रुहरू पहाडी सडकमा यस्तो गर्न अझ् सजिलो मान्छन्। स्थानीयवासी पनि जाँगर चलेको बेला फोहोर भीरबाट झारिदिने गर्छन्– आफूले नदेखेपछि जेसुकै होस्। यसो गर्नेलाई सजिलै भएको होला, तर जथाभावी मिल्काइएका प्लास्टिक अपत्यारिलो तरिकाले महासागरमा पुग्छन्। यी चिजले सागरको वातावरण बिगार्ने कुरा त छँदैछ, तीमध्ये कतिपय प्लास्टिक समुन्द्री जीवजन्तुको पेटमा पुग्छन्। पचाउन नसकिने चिजले ती निर्दोष प्राणीलाई दिने यातनाको कल्पना गरौं।

साझा बसले यात्रुलाई बसको झयालबाट त्यस्ता सामान फाल्न नदिन प्रोत्साहित गर्नुपर्छ। यसको लागि विशेषगरी लामो दूरीका बसमा यस्ता सामान हाल्ने भाँडो अथवा सुइरो राखे पुग्छ। त्यसरी संकलित प्लाष्टिक बेचेर साझाले अलिकति पैसा पनि जम्मा गर्न सक्छ। यस्तो आयले साझालाई धेरै मद्दत गर्ने होइन, तर त्यो थिति बसाल्ने रमाइलो तरिका हुन्छ।

हरियो रङ स्वच्छ वातावरणको प्रतीक भएकाले पनि साझा बसले यस्तो पहल गर्नु बढी उपयुक्त हुन्छ। साझा बसले यस्तो काइदाको पहल थाल्दा यात्रुबाट उत्साही सहयोग पाउने आशा अवश्य राख्दा हुन्छ। नेपाली सडकमा फेरि साझा यातायात कुद्ने कुराले यस्तो अवसर पनि ल्याएको छ। लौ मौका छोपौं!

comments powered by Disqus

रमझम