अब वेबिनार

Share:
  
सेमिनारका लागि अब सहभागीहरू इन्टरनेट जोडिएको कम्प्युटर अगाडि माइक र वेबक्याम लिएर बसे पुग्छ।

वरिपरि बसेका सहभागीहरूमध्ये एकजना अगाडि आउँछन् र प्रोजेक्टरबाट केही देखाउँछन्। उनले त्यसबारे सविस्तारमा बताएपछि सहभागीहरूले जिज्ञासा र विचार राख्छन्। जहाँ गरेको भए पनि अहिलेसम्मको सेमिनार यसरी नै चलेको छ। कालोपाटीमा लेखेर शुरू भएको सेमिनार कार्डबोर्ड पेपरमा चित्र वा अक्षर लेख्ने परिपाटी पछि ओभरहेड प्रोजेक्टरको प्रयोगसम्म आइपुगेको हो। मल्टिमिडिया प्रोजेक्टरमार्फत प्रस्तुति र सहभागीहरूले बसेकै स्थानबाट माइकमार्फत विचार राख्ने परिपाटी केही वर्षअघिबाट विस्तृत भएको हो, नेपालमा पनि।

मानिसको व्यस्तता र इन्टरनेटको विकासले यो चलनलाई पनि पुरानो बनाउन लागेको छ। अब आइपुगेको छ– वेबिनार। अर्थात् इन्टरनेटबाटै सेमिनार। वेबसाइट र सेमिनार शब्दबाट वेबिनार बनेको हो। वेबिनारमा सेमिनारमा जस्तो जहाँ हुने हो, त्यहीं पुग्नुपर्दैन। एक–दुई घण्टाको सेमिनारका लागि काठमाडौं बाहिरबाट हजारौं खर्च गरेर आउनु व्यावहारिक पनि थिएन। अथवा, विभिन्न ठाउँमा आफ्ना कर्मचारी रहेका बिजनेस हाउस, संचारमाध्यमलगायतले दिनानुदिनको संयुक्त भेटघाट गर्न पनि सक्दैन। यसको भरपर्दो र सजिलो विकल्प हो, बेविनार।

करीब डेढ दशकअघि सन् १९९८ मा बेविनारको सफल प्रयोग गरियो। अहिले त विभिन्न सुविधाहरू थपेर बेविनारलाई व्यापक बनाइएको छ। पहिले वेब कन्फ्रेन्स भनिएको यो सामूहिक छलफलको विधिलाई अहिले सेमिनार जस्तै सुविधाका कारण वेबिनार भनिन्छ। फोन वा स्काइपीको प्रयोगलाई हेर्दा वेबिनारलाई कन्फ्रेन्स कल पनि भन्न सकिएला। तर, यसमा धेरैभन्दा धेरै व्यक्तिहरूसँग एकैपटक कुराकानी गर्न सकिन्छ। यसर्थ, वेबिनारलाई सबै सुविधा भएको सेमिनार भन्न सकिन्छ।

तीन वर्षअघि एडोबले शुरू गरेको एडोब युथ भ्वाइसेजमा सहभागी हुँदा मैले वेबिनार शब्द सुनेको मात्र थिएँ। त्यसपछि एडोब युथ भ्वाइसेज कार्यक्रमको लिड एजुकेटरसम्मको यात्रा तय गर्दा अहिले हामी विश्वका १७ लिड एजुकेटर प्रत्येक साता वेबिनारमै भेटघाट गर्छौं। पालैपालो पावरप्वाइन्ट प्रिजेन्टेसन गर्छौं। हामी एडोबले बनाइदिएको एउटा वेबसाइटमा युजरनेम लेखेर वेबिनारमा सहभागी हुन्छौं। अहिले डिजिटल सचेतना बढाउन लागिपरेका यस्ता धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले वेबिनारलाई व्यापक बनाइरहेका छन्।

नेपालभित्रै पनि वेबिनारको प्रशस्त सम्भावना छ। वेबिनारमार्फत पत्रपत्रिका, रेडियो, टेलिभिजनले आफ्ना स्थानीय संवाददातासँग हरेक दिन सम्पादकीय बैठक गर्न सक्छन्। कर्पोरेट बिजनेस हाउसहरूले विभिन्न ठाउँमा रहेका आफ्ना एजेन्टहरूसँग यसबाटै छलफल गर्न सक्छन्। तालीम दिने संस्थाहरूले पनि वेबिनारको सदुपयोग गर्न सक्छन्। छुटेकाहरूले वेबिनारको रेकर्डिङ हेर्न सक्छन्। यसले खर्च त जोगाउँछ नै मल्टिमिडियाको प्रयोगबाट धेरै सजिलो पनि हुन्छ। वेबिनारका केही सुविधाका लागि पैसा तिर्नुपर्ने हुन सक्छ, तर धेरै कुरा सित्तैंमा प्रयोग गर्न पाइन्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम