रु.१० अर्बको कारोबार पुर्‍याउँदैछौं

Share:
  

कृषिको आधुनिकीकरणमा संलग्न औद्योगिक समूह निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया (४१) गोप्य 'चेम्बर' को साटो खुला र पारदर्शी 'फ्लोर' मा काम गर्न रुचाउँछन्। त्यही कारण हुनुपर्छ, चिन्नेहरू उनलाई फराकिलो कार्यशैली र मानसिकताका व्यवसायी ठान्छन्। भारतको बैङ्गलोरबाट औद्योगिक इञ्जिनियरिङमा स्नातक गरेका बगरिया सन् १९९५ मा शुरू गरेको डटपेन उद्योग सफल नभएपछि धेरैले ध्यान नदिएको कृषि सम्बद्ध उद्यममा होमिए। विभिन्न ठाउँको घुमघामले आफ्नो सोचाइको क्षितिज फराकिलो बनाएको ठान्ने बगरियासँग प्रभात भट्टराई र रमेश कुमारले नेपालमा कृषि उद्योगको संभावनाबारे गरेको कुराकानीको सार–संक्षेपः

तस्वीर: ऋषिराम कट्टेलcaption]
तपाईंहरूको लगानीको मुख्य क्षेत्र कुन हो?

हाम्रो लगानीको मुख्य क्षेत्र कृषि तथा पशुपक्षीसँग सम्बन्धित उद्योग हो। कृषिका ब्याकवार्ड, फरवार्ड क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण भविष्यका योजना हुन्। पशुपक्षीलाई चाहिने खुराकबाट शुरू गरेर जनावरका आहारको उत्पादनमा प्रवेश गर्‍यौं। तीन वर्षअघि भटमासलगायतका वस्तुबाट तेल निकाल्ने र पिनालाई जनावरको आहार बनाउने चक्रीय उत्पादनमा गयौं। निकट भविष्यमै भटमासबाट ब्राण्डेड तेल उत्पादन शुरू गर्दैछौं र तेलका लागि पुग्ने गरी भटमासको व्यावसायिक खेतीको गृहकार्य गरिरहेका छौं।

परम्परागत कृषिको व्यवसायीकरणमाथिको लगानीबाट प्रतिफल चाहिं कत्तिको आउँछ?

केही वर्षअघि प्रतिकिलो रु.७ पर्ने मकैको अहिले रु.२५ पर्छ। विगत १० वर्षमा लागतको तुलनामा किसानले कैयौं गुणा प्रतिफल पाएका छन्। प्रभावकारी रूपमा काम गर्दा नाफा बढ्ने हुनाले कृषिलाई प्राथमिकता दिएका हौं। हामी आफैंले खेती गर्ने नभई प्रविधि हस्तान्तरण, उत्पादन खरीद, गुणस्तरीय उत्पादनका लागि सहयोग, मलखाद तथा भण्डारण र किसानलाई वित्तीय सुविधामा सहयोग गर्छौं। कृषि व्यवसायलाई नाफामूलक क्षेत्रका रूपमा देखाइदिंदा खण्डित भूमिमा पनि दश जना किसान मिलेर काम गर्छन्। जस्तो कि नेपालमा वार्षिक अर्बौंको कारोबार हुने पोल्ट्री व्यवसायको श्रेय निजी व्यवसायीमा जान्छ। आजको दिनमा सबैभन्दा धेरै नाफा भएको क्षेत्र कृषिमा हामी जस्ता कम्पनी अरू पनि आए व्यवसायीकरणलाई थप बल पुग्थ्यो।

मुलुकको उद्योग/व्यवसाय संकुचित भएको बेला तपाईंको व्यवसाय विस्तार कसरी सम्भव भयो?

सन् १९९६ को नेपाल–भारत व्यापार सन्धिपछि मुलुकको औद्योगिक वृद्धि ह्वात्तै बढेको हो। तर, त्यो नेपाल र भारतको भन्सार र करको दरबीचको फरकको नाफामा मात्र सीमित रह्यो। त्यतिबेला विस्तारित उद्योगहरू स्थानीय कच्चा पदार्थ उपयोगका लागि नभई भारतीय बजारमा आपूर्ति गर्न आएको देखिन्छ। पछि भारत सरकारले सुविधा नदिएपछि नेपालका त्यस्ता उद्योग बन्द भए। तर, पछिल्ला पाँच वर्षमा खुलेका उद्योगहरू नेपाली कच्चा पदार्थमा आधारित वास्तविक उद्योग हुन्। स्वदेशी खनिज पदार्थ, कृषि उत्पादन र पर्यटन नेपालका सम्भावना भएका उद्योग हुन्। विदेशबाट झ्िाकाइएको कच्चा पदार्थको सामान्य प्रशोधनबाट हुने उत्पादनको मूल्य अभिवृद्धि कम हुँदा देशले फाइदा लिन सक्दैन, जुन देखियो पनि। लोडसेडिङ, पूर्वाधारको अभावका बेला काम गर्न तुलनात्मक फाइदा हुने क्षेत्र खोज्न सक्नुपर्छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमाथिको लगानी सबै हिसाबले राम्रो हो। अरू देशको नीति हेरेर फाइदाका लागि मात्र गरिएको लगानी दीर्घकालीन हुँदैन।

पशु आहार बाहेक कृषिमा अरू सम्भावना के छन्?

कृषिमा लगानीको अथाह सम्भावना छ। कुल गार्हस्थ उत्पादनमा ३५ प्रतिशतको हिस्सा रहेको कृषिभित्र प्रशोधन उद्योगमा ठूलो सम्भावना छ। अर्को ठूलो सम्भावना भण्डारणमा छ। ठूलो परिणाममा गरिएको मकैखेती थन्क्याउने बेला वर्षायाम शुरू हुन्छ। त्यतिबेला किसानलाई पैसा चाहिएको हुन्छ, बजारमा भाउ हुँदैन, घरमा राख्ने ठाउँ हुँदैन। केही समय राखेर बिक्री गर्दा उचित मूल्य पाइने जान्दाजान्दै पनि कम मूल्यमा बेच्नुपर्ने बाध्यता हुन्छ। बिक्री नगरी घरमै राखेमा 'क्वालिटी' र 'इनर्जी' गुम्दा बजार भाउ पनि घट्छ। मकै, गहुँ, धान, तोरी भण्डारण गर्न नेपालगन्ज, भैरहवा, बुटवल, चितवन, वीरगन्ज, विराटनगर, इटहरी, बिर्तामोड जस्ता ठाउँमा गोदामघर स्थापना गर्न सकिन्छ। खाद्यान्नका साथै जडीबुटी, अलैंचीलगायतका मूल्यवान वस्तुको भण्डारणको पनि सम्भावना छ।

प्रविधि हस्तान्तरणका लागि कसरी काम गर्नुभएको छ?

कुन मौसममा के खेती गर्ने, कुन मलखाद र कस्तो प्रविधिको प्रयोग गर्ने बारे जानकारी दिनुका साथै किसानको उत्पादन खरीद गरिरहेका छौं। मकैको उत्पादन बढाउन वीरगन्ज वरिपरि काम गरिरहेका छौं। एउटा छुट्टै टीम बनाएर अर्को वर्षसम्म संगठित रूपमा काम गर्नेछौं।

दुग्ध उत्पादन पनि अवसरको ठूलो क्षेत्र हो। नश्ल सुधार हुन नसक्दा औसत दूध उत्पादन २–३ लिटरमा खुम्चिएको छ। निजी क्षेत्र नश्ल सुधारमा काम गर्न इच्छुक भए पनि वातावरण सहज छैन। नेपालमा गुणस्तरीय गाईको उत्पादन पर्याप्त छैन। एकपटक विदेशबाट गाई आयात गरेर मात्र हुँदैन, बेला बेलामा नश्ल सुधार पनि आवश्यक छ। त्यसकारण यसमा काम गर्ने योजना छ।

देशभर ५०० वटा स्थानीय कृषि उत्पादन बिक्री गर्ने आउटलेट स्थापना गर्ने तपाईंहरूको योजना कहाँ पुग्यो?

निम्बसको ब्राण्डमा गुणस्तरीय तरकारी, फलफूल, मासु तथा दूध एकै थलोबाट उपलब्ध गराउने यो ठूलो र महत्वाकांक्षी परियोजना हो। स्थानीय कृषि उत्पादन नबिग्रने गरी राख्न विशेष खालको फ्रिज चाहिन्छ। यस्तो आउटलेटमा माइनस २० डिग्री सेन्टिगे्रडमा मासु राख्नुपर्छ, तर अहिले नियमित विद्युत् छैन। जेनेरेटर चलाउन डिजलसमेत नपाउने अवस्था छ। आउटलेट चलाउन वस्तुको मूल्य बजारको भन्दा बढी हुनुभएन। यस्ता कठिनाइका बाबजुद आगामी आ.व.भित्र काठमाडौंमा २० आउटलेटबाट काम शुरू गर्दैछौं।

निम्बसलाई पब्लिकमा लैजाने योजना कहाँ पुग्यो?

केही वर्ष निजी कम्पनीका रूपमा चलिसकेकालाई पब्लिकमा लैजान मूल्यांकनलगायत विविध अप्ठ्यारा छन्। तर, हामी स्टेकहोल्डरसम्म साधारण शेयर छिट्टै ल्याउँदैछौं।

त्यतिबेला निम्बसको पूँजीगत अवस्था कस्तो होला?

रु.५० लाखको चुक्ता पूँजीबाट शुरू गरेको हाम्रो कम्पनी स्वाभाविक रूपमा बढ्दै गएको छ। तर धेरै ठूलो प्राथमिक शेयर निष्कासन गर्दैनौं। बजारबाट ठूलो रकम उठाउने भन्दा पनि व्यवसायमा सर्वसाधारणलाई साझेदार बनाउने हाम्रो उद्देश्य हो। अहिलेसम्म सफल व्यापार गरिरहेको र कृषि उद्योगमा सरोकारवालाहरू धेरै भएकाले निजी कम्पनीलाई पब्लिक लिमिटेडमा परिणत गरी उदाहरणीय बन्न सकिने आशा छ। तर, कत्रो कम्पनी र कति पूँजीको शेयर निष्कासन भन्ने निर्क्योल भएको छैन।

निजी कम्पनीहरू पब्लिकमा जान हिच्किचाउनुको कारण नीतिगत मात्रै हो कि अन्य अप्ठ्यारा पनि छन्?

पब्लिकमा गइसकेपछि कागजी झमेला बढ्छ। हामीकहाँ जसरी व्यवसाय चल्दै आएको छ त्यसले पनि केही अप्ठ्यारो परेको हो। किनभने, बेलाबखत आयकरदेखि विभिन्न ऐन परिवर्तन हुँदै आएका छन्। पब्लिकमा जाँदा कम्पनीको १५ वर्षअघिको कारोबारलाई आजको आँखाबाट हेर्दा समस्या आउन सक्छ। नाफाको सुनिश्चितता नभई आफ्नो हालीमुहाली भएको कम्पनीलाई पब्लिकमा लगेर किन टाउको दुखाउने भन्ने प्रश्न धेरैमा छ। कम्पनी मूल्यांकनको प्रश्न त छँदैछ।

मूल्यांकनको हिसाबले तपाईंको कम्पनी कहाँ छ?

कम्पनीलाई उसको कुल सम्पत्तिका हिसाबले मात्र हेर्नुहुँदैन। हामीले अनुत्पादक क्षेत्रमा लगानी गरेका छैनौं, प्रतिफल पनि राम्रो छ। कम्पनीको मूल्यांकन कति भनेर मैले भन्नुभन्दा पनि आम रूपमा हेर्दा थाहा हुने कुरा हो।

निजी क्षेत्रमाथि पारिवारिक कारोबार भन्दा माथि उठ्न नसकेको र धेरै वटा ब्यालेन्स सिट बनाएर राज्यलाई ठगिरहेको आरोप छ नि!

केही कम्पनीले बदमासी गरे भन्दैमा सबैलाई एउटै डालोमा राख्न मिल्दैन। बरु, सुधारका लागि के गर्ने भन्ने छलफल हुनुपर्छ।

कृषि बाहेक अन्य क्षेत्रमा पनि हात हाल्ने विचार छ कि?

सिमेण्टलगायतका वस्तुको प्याकेजिङ उद्योग र पेन्टिङको कच्चा पदार्थ उत्पादन शुरू गरेका छौं। भर्खरै अविनास ह्याचरीका गुणचन्द्र विष्टसँगको साझेदारीमा नेपाल ग्याँस खरीद गर्‍यौं। हामी एलपीजी ग्याँससँगै पेट्रोलियम क्षेत्रमा जान खोजिरहेका छौं। तर आयल निगमलाई सरकारले दिंदै आएको सहुलियतका विषयमा स्पष्टता नभई पेट्रोलियममा जान सकिंदैन। यसबाहेक आधारभूत आवश्यकता मानिने शिक्षा क्षेत्रमा लगानी गर्ने गृहकार्यमा छौं।

तपार्इंलाई सम्भावना भएको उद्यमीका रूपमा चिनिन्छ। व्यावसायिक उडान कहाँसम्म पुग्ला?

मलाई व्यवसायमा रुचि छ। आज जति गरिरहेको छु, भोलि अझै राम्रो गरौं भन्ने त भइहाल्छ। धान्नै नसक्ने सपना देखेको छैन, तर मनमा भने हरेक क्षेत्रले निम्बसलाई व्यावसायिक, व्यवस्थित, प्रविधिगत कम्पनीका रूपमा हेरेर सँगै काम गर्न निर्धक्क विश्वास गरुन् भन्ने छ। दुई वर्षअघि हामीले सन् २०१५ मा निम्बस वार्षिक रु.१० अर्बको कारोबार गर्ने कम्पनी बन्ने घोषणा गरेका थियौं। अहिलेसम्मको अवस्था हेर्दा त्यो पूरा हुने देखिन्छ।

comments powered by Disqus

रमझम