१८ चैत्र २०६९ | 31 March 2013

हेटौंडाका उद्योगी तनावमा

Share:
  

एकीकृत माओवादी निकट अखिल नेपाल औद्योगिक मजदूर संघले हेटौंडा औद्योगिक क्षेत्रका ६० सहित ७५ वटै उद्योगमा एकमहीने अल्टिमेटमसहित चारबुँदे मागपत्र पेश गरेको छ।

मागपत्रमा न्यूनतम वेतन रु.१२,४०० हुनुपर्ने, मजदूर परिवारलाई निःशुल्क स्वास्थ्य र शिक्षा, श्रमसम्बन्धी ६ वटा ऐन (श्रम ऐन, ट्रेड युनियन ऐन, सामाजिक सुरक्षा ऐन, राष्ट्रिय मजदूर आयोग ऐन, बोनस ऐन र बेरोजगार भत्ता ऐन) को पालना, ठेक्का, करार, ज्यालादारी प्रथा बन्द गरी स्थायी नियुक्तिलगायतका माग छन्।

तर, माग पूरा गर्न नसकिने खालका भएको उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरे बताउँछन्। सरकारले निर्णय गरे आफूहरु कार्यान्वयन गर्न तयार रहेको, तर नसक्ने उद्योगले बन्द गरेर जान पाउनुपर्ने उनको भनाइ छ। बढ्दो लोडसेडिङ र गिर्दो निर्यातका कारण उद्योगहरु आफैं धरासायी हुँदै गएका बेला मजदूर संघबाट आएको यस्तो मागले हेटौंडाका उद्योगीहरुलाई तनावमा पारेको घिमिरेको भनाइबाट सहजै बुझिन्छ। “यो व्यवसायीलाई तनाव दिने प्रयास हो”, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठ भन्छन्, “बन्द निषेधित क्षेत्र बनाउने बेलामा अल्टिमेटमसहितको मागपत्र आएको छ।”

एमाओवादीनिकट युनियनका संयोजक रामशरण घिमिरेले भने माग पूरा गराइछाड्ने बताए। मासिक ५००० केभीए विद्युत् र प्रतिघण्टा ६० हजार लिटर पानी आपूर्ति क्षमताको २८२९ रोपनीमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा अहिले परीक्षण उत्पादन शुरु गरेका र त्यस्तो तरखरमा रहेकासहित ७० उद्योग छन्। २०२० सालमा स्थापित यो औद्योगिक क्षेत्रमा १३ वटा उद्योग बन्द छन्। यहाँ ५००० मजदुर/कर्मचारी कार्यरत छन्।

रामशरण पुडासैनी, मकवानपुर


मौरीबाट मालामाल

रातको अन्तिम प्रहरमा पनि सतासी–७, झापाकी सरु दाहाललाई भ्याईनभ्याई छ। उनी जालीदार टोपीले टाउकोदेखि घाँटीसम्म छोपेर प्रायः राति नै मौरीका घारका प्वाल टाल्छिन्। साढे ६ हजार रुपैयाँ गोटामा वर्षमा सरदर ४० घार मह बेच्दै आएकी सरुको परिवारको मूल आयस्ता पनि यही हो। “आठ महीनामा डेढलाख रुपैयाँको ६०० लिटर मह बेचें”, सरुले भनिन्, “सात वर्षअघि साढे ६ हजारमा दुई घार किनेको, ५० घार भएका छन्, मनग्ये हुँदो रहेछ।”

सरुकी छिमेकी देवी दाहालको परिवार पनि मौरीबाटै उँभो लागेको छ। कामबाट काम सिकेकी उनी अहिले मौरीपालन प्रशिक्षक र मौरीपालक कृषक समूहकी व्यवस्थापक हुन्। आफ्नै ४२ घार मौरी बाहेक यी दुई कामबाट मासिक रु.८००० आयस्ता हुने गरेको देवीले बताइन्। पाँच वर्षअघि मौरीपालन व्यवसायमा हात हालेका पश्चिम झापाको सतासी क्षेत्रका ५२ घरका महिलाले समूह नै खडा गरेका छन्। सदस्यहरुबाट प्रतिलिटर रु.२५० का दरले मह संकलन गर्ने समूहले प्रशोधन, प्याकिङ्ग र लेबलिङ्ग गरेर रु.४०० का दरले बेच्ने गरेको छ।

तोरी, चिउरी, लिची आदि तेलहन–वनस्पति फुल्ने मौसममा मेरिफेरा जातको एक घार मौरीले दुई सातामै १५ लिटरसम्म मह दिने सरु दाहाल बताउँछिन्। “बालीनाली नाश गर्ला भन्ने भएन, घार बाहेक पाल्नको लागि लगानी पनि गर्नु परेन”, सरु भन्छिन्, “मौरी पाल्नु साँच्चै सजिलो छ।”

गोपाल गडतौला, झापा


गभारोले कफी नष्ट

चार वर्षअघि २५ सय कफीका बिरुवा लगाएका अर्घाखाँची धारापानी―६ बाजाखर्कका गोविन्दप्रसाद भुसाल गभारो कीराले अधिकांश बोट खाइदिएपछि चिन्तित छन्। “समयमै उपचार गर्न नसक्दा २४ सयभन्दा धेरै बोट कामै नलाग्ने भए, अरू खेती छाडेर कफीमा लाग्दा बर्बाद भयो”, भुसाल भन्छन्।

अर्घाखाँचीमा कफी खेती गरिरहेका अधिकांश किसान गभारोबाट भुसाल जस्तै पीडित छन्। कफी व्यवसायी संघ अर्घाखाँचीका कोषाध्यक्ष पुष्करनाथ बञ्जाडेका अनुसार, फल दिइरहेका पाँच लाख कफी बोटमध्ये साढे दुई लाख गभारोले नष्ट गरिदिएको छ। बञ्जाडे भन्छन्, “गभारोलाई समयमै नियन्त्रण गर्न सकिएन भने यहाँका सबै बोट मर्नेछन्।” किसानहरूका अनुसार, गभारोबाट मुक्ति दिन अहिलेसम्म कुनै सरकारी र गैरसरकारी संस्था अघि सरेका छैनन्।

२०५७ सालदेखि यहाँ व्यावसायिक कफी खेती गर्ने क्रममा ११६५ किसानले २२ गाविसमा ४३ वटा समूह बनाएर करीब पाँच लाख कफीका बोट लगाएका थिए। गभारोले २०६६ देखि बिगार्नु अघिसम्म यहाँबाट वार्षिक १३ टन कफी बाहिर जान्थ्यो, जसबाट जिल्लामा रु.७० लाख भित्रिन्थ्यो। यहाँको कफी कोरिया, जापान र अमेरिकासम्म पुग्छ।

प्रेमनारायण आचार्य, अर्घाखाँची


वाइवाई सुप आयो

चौधरी ग्रुप अन्तर्गतको सिजी एक्जिमले वाइवाई सुप को उत्पादन तथा बिक्री शुरू गरेको छ। नेपालभित्र उत्पादित पहिलो सुप वाइवाई सुप गुणस्तरीय प्याकेजिङका साथै स्वस्थ र पोषिलो रहेको कम्पनीको दाबी छ। चिकेन, मसरुम तथा मिक्स भेजिटेवल्स गरी तीन स्वादमा उपलब्ध वाइवाई सुप को बजार मूल्य रु.६० तोकिएको छ।

नयाँ क्लिनिक प्लस

क्लिनिक प्लस ले आफ्नो नयाँ उत्पादन क्लिनिक प्लस एभर स्याम्पु बजारमा ल्याएको छ। मिल्क प्रोटिन फर्मुलायुक्त स्याम्पुले कपाललाई जरैदेखि बलियो बनाउने र ९८ प्रतिशतसम्म कपाल झार्न कम गर्ने कम्पनीको दाबी छ। यसको प्रयोगबाट हुर्किंदै गरेका छोरीका आमाहरूलाई सन्तानको कपाल झ्ार्ने चिन्ताबाट मुक्ति मिल्ने कम्पनीको विश्वास छ।

आईएमईले ल्यायो सामे ट्रयाक्टर आईएमई समूहले इटालियन निर्माता सामे डच फारद्वारा भारतको तमिलनाडुमा निर्माण गरेको सामे ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ। सामे डच फार विश्वको पहिलो डिजल ट्रयाक्टर निर्माता कम्पनी हो। विदेशबाट रेमिट्यान्स भित्र्याउने पहिलो स्वदेशी कम्पनी आईएमईले ट्रयाक्टर व्यवसायतर्फको आफ्नो अग्रसरतालाई 'देशभित्रको बाँझो खेत रहन नदिन' भनी अर्थ्याएको छ। समूहले यसअघि भारतको आइशर कम्पनीका ट्रक, टि्रपर र ट्रेलरहरूको बिक्री शुरू गरेको थियो।

एलजी को भ्याकुम क्लिनर

चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले स्वदेशी बजारमा बिक्री वितरण गर्दै आएको एलजी का घरायसी उपकरणको सूचीमा नयाँ प्रविधिको 'ब्यागलेस' भ्याकुम क्लिनर थपिएको छ। यसले सफासुग्घर घरमा बस्ने ग्राहकको चाहनालाई पूरा गर्ने कम्पनीले जनाएको छ। एसएनडी सिरिजमा १८०० वाटको भिसी–२११८ र २००० वाटको भिसी–२१२० गरी दुई मोडलका ब्यागलेस भ्याकुम क्लिनर हलुका तौलका कारण सहजै सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।

जेसीबी ग्राहक भेला

नेपालका लागि जेसीबी कन्स्ट्रक्सन र हेभी उपकरण बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनगढीमा ग्राहक भेला सम्पन्न गरेको छ। ५ चैतमा सम्पन्न भेलामा सेती र महाकाली अञ्चलका जेसीबी ग्राहक सहभागी थिए। नेपालको कन्स्ट्रक्सन र हेभी उपकरण बजारमा ६० प्रतिशत हिस्सा जेसीबी ले ओगटेको कम्पनीको दाबी छ।

रोयल कान्तिपुर मलमा

रोयल फूट वेयर ले गोङ्गबुस्थित कान्तिपुर मलमा पहिलो शो–रुम स्थापना गरेको छ। गत वर्ष सञ्चालनमा आएको कम्पनीले स्वदेशी कच्चा पदार्थ, श्रम र सीपको प्रयोग गरी जुत्ता चप्पल उत्पादन गर्दै आएको छ। न्यूनतम रु.१ हजार ८५ देखि रु.५ हजार १९९ सम्मका जुत्ता/चप्पल उत्पादन गर्दै आएको कम्पनीले दैनिक ५०० जोर उत्पादन गरी १५० जनालाई रोजगारी दिएको छ।

डियाजियो बार एकेडेमी

हुर्कंदो बार कल्चरसँगै यस सम्बन्धी अध्ययनको अवसर मुलुकभित्रै जुरेको छ। अन्तर्राष्ट्रिय कम्पनी डियाजियोसँगैको साझ्ोदारीमा ग्लोबल ट्रेडिङ कन्सर्न (जीटीसी) ले नेपाल डियाजियो बार एकेडेमी सञ्चालनमा ल्याएपछि यो अवसर जुरेको हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकमा रहेका डियाजियोका एकेडेमीहरूबाट पछिल्लो दुई वर्षमा १० हजारभन्दा बढी बार टेन्डरहरूले तालीम लिइसकेका छन्। नेपालमा एकेडेमी सञ्चालन भएपछि दक्ष बार टेन्डरहरू उत्पादन हुने डियाजियो र जीटीसीले जनाएका छन्।

हमाद मा १० एयरलाइन्स

कतारमा हालै निर्माण गरिएको हमाद इन्टरनेशनल एयरपोर्ट को आगामी १ अप्रिलमा १० देशका राष्ट्रिय ध्वजावाहकको उपस्थितिसँगै आंशिक उद्घाटन गरिने भएको छ। नेपाल एयरलाइन्स, एयर अरेबिया, एयर इण्डिया एक्सप्रेस, विमान बङ्गलादेश, फ्लाई दुबई, इरान एयर, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स, आरएके एयरवेज, सिरियन एयर र यमन एयरवेजले उक्त विमानस्थलमा उडान गर्न लागेका हुन्। साताको २२२ जहाजले उडान गर्ने अपेक्षा गरिएको सो विमानस्थलबाट कतार एयरवेजले पनि सन् २०१३ को अन्त्यदेखि सेवा शुरू गर्ने जनाएको छ।

किष्ट ब्याङ्क र भिवोर विकास ब्याङ्क आपसमा गाभिने भएका छन्। ८ चैतमा यस सम्बन्धी औपचारिक सम्झौता भई प्रक्रिया अघि बढेको हो। किष्ट ब्याङ्कका प्रबर्द्धक राजेन्द्र शाक्यको शेयर भिवोर ब्याङ्कका लगानीकर्ता ज्योति समूहले खरीद गरी दुई ब्याङ्क गाभ्न लागिएको हो। हाल किष्टका ५१ र भिवोरका ६ शाखा छन्। दुवै ब्याङ्कका प्रतिनिधि सम्मिलित मर्जर कमिटीले सम्पत्ति दायित्व मूल्याङ्कन गरी बढीमा ६ महीनाभित्र मर्जर सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

comments powered by Disqus

रमझम