१८ चैत्र २०६९ | 31 March 2013

खेलेरै गाडी

Share:
  
- सन्त गाहा मगर
खेलेर कमाएको पैसाले किनेको गाडी चढ्ने नेपाली खेलाडीको संख्या बढ्दो छ।

तस्वीर: मीनरत्न बज्राचार्य
संगीना वैद्य।

लामो समय नेपाली समाजले नगनेको खेलकै आम्दानीबाट आधा दर्जनले कार किनेर चढ्न थालेपछि खेलाडीप्रतिको हेराइ पहिले जस्तो छैन। अहिले फूटबलका उपेन्द्रमानसिंह, हरि खड्का, अनिल गुरुङ, सागर थापा, सन्दीप राई र तेक्वान्दोकी संगीना वैद्य खेलेको पैसाले किनेको कार चढ्छन्।

खेल व्यावसायिक हुने क्रमसँगै खेलाडीको आम्दानी ह्वात्तै बढेको छ। पोखराको सहारा क्लबबाट मासिक रु.८ सय पारिश्रमिकमा व्यावसायिक फूटबल खेल्न शुरू गरेका अनिल गुरुङ (२६) काठमाडौंको ब्रिगेड व्वाइज हुँदै सन् २००९ मा भारतको सिलोङ लाजोङ पुगे, तीन सिजनका लागि रु.६३ लाख पाउने गरी। त्यही कमाइबाट डेढ वर्षअघि रु.२६ लाखमा हुण्डाई कम्पनीको आई–ट्वान्टी कार किनेका गुरुङ अहिले मनाङमर्स्याङदी क्लबबाट पनि मासिक रु.७५ हजारको हाराहारीमा पारिश्रमिक बुझछन्। अबको उनको योजना पोखरामा घरघडेरी जोड्ने छ।

तस्वीरहरुः बिक्रम राई
सागर थापा।

मनाङमर्स्याङ्दीबाट तीन महीनाको रु.४५ सय पारिश्रमिक पाउँदा मक्ख परेका नेपाली फूटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह (३९) ले भारतको गोवाको सलगोकर क्लबबाट खेल्दा मासिक एक हजार अमेरिकी डलरसम्म लिए। अखिल नेपाल फूटबल संघ (एन्फा) बाट उत्कृष्ट खेलाडीलाई दिइने टोयोटाको यारिस कार पाएका सिंह भन्छन्, “फूटबलबाट नामसँगै दाम पनि कमाएँ।”

उपेन्द्रमान सिंह।

झापाको मुनाल क्लब हुँदै काठमाडौंको रानीपोखरी कर्नर टीम (आरसीटी), भारतको मोहन बगान, टोलिङ्गी अग्रगामी र महिन्द्रा युनाइटेड, मेक्सिकोको एटलान्टा सिउडेड डे र बंगलादेशको मुक्ति योद्धा संगस्यादबाट व्यावसायिक फूटबल खेलेका हरि खड्काले राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै गोल (१३) गरेको रेकर्ड अझ्ै कायम छ। विभागीय क्लब नेपाल पुलिसमा अहिले टीम म्यानेजर रहेका खड्काले व्यावसायिक फूटबल खेल्दा मासिक दुई हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाए। उनी टोयोटाको यारिस चढ्छन्।

तस्वीर: सुदर्शन रञ्जित
अनिल गुरुङ ।

ललितपुरको फ्रेन्ड्स क्लबबाट मासिक रु.२५ सय पारिश्रमिक लिएर व्यावसायिक फुटबल शुरू गरेका राष्ट्रिय टोलीका कप्तान सागर थापा (२८) अहिलेका महँगा फुटबलरमा पर्छन्। नेपालमै मासिक एक हजार अमेरिकी डलरको हाराहारीमा कमाइरहेका उनले हुण्डाइको आई–ट्वान्टी किनेका छन्। सन् २०११ को साफ च्याम्पियनसीपमा बंगलादेशविरुद्ध उत्कृष्ट गोल गरेपछि सरकारबाट रु.१ लाख पुरस्कार पाएका थापा भन्छन्, “एन्फाका पदाधिकारीको विवादले दुई, तीन वर्ष लिग नरोकिएको भए यहीं धेरैले मासिक रु.१ लाख पारिश्रमिक पाउँथे।”

एन्फा एकेडेमीबाट १० वर्षको उमेरदेखि फूटबल तालीम पाएका सुनसरी दुहबीका सन्दीप राई (२३) २०६७ मा भारतको मोमेडन स्पोर्टिङबाट खेले, एक सिजनको भारु १२ लाखमा। त्यही कमाइबाट कियाको पिकान्टो कार किनेका राईले ललितपुरको थ्रीस्टार क्लबबाट पनि अहिले मासिक रु. ७५ हजारको हाराहारीमा पारिश्रमिक पाइरहेका छन्।

सन्दीप राई

तेक्वान्दो खेलाडी संगीना वैद्य (३६) लाई सरकारले कार किन्न भन्सारसहित अरू कर पनि छुट दिएपछि वैद्य अर्गनाइजेसनले रु.३८ लाख पर्ने टोयोटाको यारिस कार उपहार दियो। सन् २००४ को एथेन्स ओलम्पिकमा सहभागी वैद्य सन् १९९६ को एसियन च्याम्पियनसीपकी गोल्ड मेडलिस्ट हुन्। राष्ट्रिय खेलकुद परिषद्की वरिष्ठ प्रशिक्षक वैद्यले टुपीएम चाउचाउ, नबिल ब्याङ्क, धारा तेल, स्टील रडको विज्ञापनमा अभिनय गरेकी छिन् भने ज्योति ग्रुपको ब्राण्ड एम्बासडर पनि बनिन्।

comments powered by Disqus

रमझम