अन्तर्राष्ट्रिय उडान भर्ने दुवै ‘बोइङ–७५७’ जहाज २१ वर्ष पुराना भइसकेका र पटकपटक ग्राउण्डेड हुने गरेकाले नेवानिलाई आफ्नो सेवा नियमित र भरपर्दो बनाउन नयाँ जहाज आवश्यक छ । तर, निगम नेतृत्व आफूलाई उपयुक्त जहाज ल्याउनुसाटो बढ्ता कमिशन पाइने लोभले तत्काल अनावश्यक, खर्चिलो र बजारसमेत नभएको वाइडबडी (चौडा) जहाज खरिद गर्न खोजिरहेको छ । नेवानिसम्बद्ध केही अधिकारी त अहिलेको योजनाअनुसार वाइडबडी जहाज ल्याउने हो भने वर्षदिनभित्रै निगम बन्द गर्नुपर्ने अवस्था देख्न थालिसकेका छन् । एक अधिकारी भन्छन्, “अबको ६ महिनापछि कर्मचारीलाई तलबसमेत खुवाउन नसकेर संस्था बन्द गर्नुपर्ने स्थिति आउनेछ ।”
अर्बौंको नोक्सानी
नयाँ जहाज खरिदका लागि ‘बिजनेश प्लान’ समेत बनाएको नेवानिले त्यसको पुनरावलोकन गर्न र खरिद परामर्शदाता नियुक्त गर्न गएको २५ वैशाख २०६६ मा ‘सेन्टर फर एशिया प्यासिफिक एभिएशन, इण्डिया’ (कापा) सँग सम्झैता गरेको थियो । यसका लागि उसले करिब १ लाख २० हजार अमेरिकी डलर खर्चेको पनि थियो । अध्ययनपछि कापाले ४ असार २०६६ मा नेवानिलाई बुझएको १२ पृष्ठको प्रतिवेदनमा नेवानिको बिजनेश प्लानलाई अपरिपक्व भन्दै त्यसअनुसार नयाँ जहाज खरिद गरिए निगमले वार्षिक २ करोड अमेरिकी डलर (रु.१ अर्ब ५० करोड) नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिइएको छ ।
त्यसैगरी अमेरिकी जहाज निर्माता कम्पनी, बोइङले यसै वर्ष गरेको अर्को एक अध्ययनले पनि नेवानिले अहिलेकै बिजनेश प्लान अनुसार जहाज ल्याएमा सन् २०१० मा २ करोड २१ लाख डलर (रु.१.६६ अर्ब) र २०१४ मा १ करोड ८९ लाख डलर (रु.१.४२ अर्ब) गरी पाँच वर्षमा ४ करोड १० लाख डलर (रु.३.०८ अर्ब) घाटा व्यहोर्नुपर्ने देखाएको छ । बिजनेश प्लान युरोपसम्म सीधा उडान गर्न वाइडबडी जहाज नै ल्याउनेमा केन्द्रित छ भने दुवै अध्ययनको निचोड अहिलेको अवस्थामा वाइडबडी खरिद गरे निगम धरासायी बन्न सक्छ भन्ने छ । अन्तर्राष्ट्रिय उड्डयनमा सुपरिचित कापाको सुझवलाई समेत बेवास्ता गर्दै नेवानि नेतृत्व जसरी भएपनि वाइडबडी जहाज ल्याउने योजनामा छ । माओवादी नेतृत्वको सरकारका बेलाका निगमका प्रबन्ध निर्देशक (एमडी) तथा हाल कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार नयाँ जहाज ल्याउने प्रमुख योजनाकार हुन् । उनकै बिजनेश प्लानअनुसार दुईवटा वाइड र पाँच वटा न्यारो बडीका जहाज किन्ने योजनामा अमेरिकी कम्पनी बोइङ र युरोपेली कम्पनी एअरबसको टेण्डर बुझ्ेको नेवानिले भित्रभित्रै वाइड बडीको एअरबस किन्ने निश्चित गरिसकेको बुझ्एिको छ ।
निगमका केही अधिकारीका अनुसार, कंसाकारले २७०–२८० सीट क्षमताको ‘ए–३३०’ को खरिद अर्डर केही दिनभित्रै एअरबसलाई दिने जानकारी कर्मचारीलाई गराइसकेका छन् । कापाले आफ्नो योजनाअनुकूल सुझव नदिएकोले १९ भदौमा उनले ‘वाइड बडीको जहाज खरिदबारे अध्ययन गर्न’ नेवानिका उप प्रबन्ध निर्देशक राजुबहादुर केसीको अध्यक्षतामा छुट्टै समिति बनाए ।
निगमका प्रबन्ध निर्देशक केबी लिम्बु कापाले तथ्य र यथार्थपरक विश्लेषणका आधारमा रिपोर्ट दिएकाले त्यसैअनुसार जानुपर्ने बताउँछन् । उनी भन्छन्, “जहाज खरिदको टेण्डर नै बुझ्सिकेको अवस्थामा कुन जहाज खरिद गर्ने भनेर समिति गठन गर्नुको कुनै औचित्य छैन ।” निगमको कार्यकारी अधिकारबारे कंसाकार र लिम्बुबीच चलिरहेको विवादले पनि जहाज खरिद प्रकरणमा असर पारेको छ । सर्वोच्च अदालतले १८ जेठ र ५ भदौमा लिम्बु नै कार्यकारी रहेको निर्णय सुनाए पनि विवाद अझ्ै किनारा लागेको छैन ।
कमिसनको खेल
कंसाकारले हिमाल सँगको कुराकानीमा केसीको समितिले प्रतिवेदन नबुझएकाले प्रक्रिया अघि नबढेको बताए पनि १९ असोजमा नेवानि कर्मचारी युनियनको बैठकमा उनले ‘म वाइड बडीको ए–३३० जहाज ल्याएरै छाड्छु; केही दिनभित्रै त्यसको अर्डर दिँदैछु, ल्याउन नसके बरु राजिनामा दिन्छु’ भनेका थिए । उनले यसो भन्नुको पछाडिको आधार भनेको, केसीको समितिले उनलाई गोप्य रूपमा वाइड बडीको एअरबस ल्याउने सुझवसहित बुझइसकेको प्रतिवेदन बनेको छ (हे.प्रतिवेदनको अंश) । कंसाकार अहिलेसम्म बाहिर प्रतिवेदन नै नआएको भन्दै भित्रभित्रै जहाजको खरिद अर्डर दिने तयारीमा छन् ।
नेवानिको आवश्यकता, बजार र यात्रुको अवस्था तथा कापाको रिपोर्टले समेत नेवानिलाई वाइड बडी होइन, न्यारो बडीको जहाजको खाँचो देखाएका छन् । “नेवानिलाई वाइड बडीको जहाज चाहिएकै छैन, अहिलेको आवश्यकता न्यारो बडीको जहाज हो”, प्रबन्ध निर्देशक लिम्बु भन्छन्, “त्यसअनुसार जान सकियो भने क्षेत्रीय रुट नेटवर्कलाई बलियो पारी मार्केटमा कन्फिडेन्स बढाउन सकिन्छ, त्यसपछि आफ्नै किसिमका ब्राण्डेड प्यासेन्जर पनि तयार हुन्छन् । अवस्था सुध्रियो र बजार विस्तार हुँदा मात्र वाइड बडीको जहाज ल्याउन सकिनेछ ।”
नयाँ जहाज ल्याउन सरकारको जमानीमा कर्मचारी सञ्चय कोषले नेवानिलाई रु.१० अर्ब ऋण दिने निर्णय गरेको छ । नेवानिका लागि एअरबसका विमान किन्न युरोपेली युनियनको टोलीले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर दबाब दिएको छ भने बोइङको जहाज किन्न आग्रह गर्दै अमेरिकी अधिकारीहरूले पनि उनलाई भेटेका छन् । नेवानि स्रोतका अनुसार, कंसाकारको टिमले चाहिँ बोइङको प्रस्ताव अस्वीकृत गरी वाइड बडीको एअरबस ल्याउने निक्र्योल गरेको छ । स्रोत भन्छ, “बोइङले बीचमा एजेण्ट नराखी सीधै कारोबार गर्ने र एअरबसले एजेण्टमार्फत काम गर्ने भएकाले कमिसनको खेलमा यस्तो गरिएको हो ।” यस प्रकरणमा आफूसँग दुइटा बोइङ रहेको नेवानिजस्तो सानो संस्थाले दुईथरी जहाज राखेर त्यसको मर्मत, इन्जिनियरिङदेखि जनशक्तिको खर्च धान्नै नसक्ने कापाको सुझवलाई पनि बेवास्ता गरिएको छ ।
सम्भावना छोटो रुटमै
नेवानिको नेतृत्वमा आएदेखि नै कंसाकारले संस्थालाई उँभो लगाउन युरोपको सीधा उडान सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन् । त्यसका लागि शुरुमा पुरानो जहाज भाडामा ल्याउने तयारी गरेका कंसाकार कर्मचारीबाट व्यापक विरोध खेप्नुपरेपछि नयाँ जहाज खरिद गर्नतिर लागेका हुन् ।
कंसाकारको बिजनेश प्लानमा उक्त जहाजले सातामा तीन पटक लण्डनको उडान भर्ने उल्लेख छ । तर, अति नै प्रतिस्पर्धी बनिसकेको युरोपेली हवाई बजारमा प्रतिस्पर्धा गर्ने कुनै योजना र आधार उक्त प्लानमा देखिँदैन । युरोपमा नेवानिको बजार अध्ययन समेत गरिएको छैन । कापाको रिपोर्टमा प्रस्टै भनिएको छ, “नेवानि विदेशीबीच परिचित छैन, यसका यात्रुमध्ये २८ प्रतिशतभन्दा कमैमात्र विदेशी छन् । यो अवस्थामा वाइड बडीको जहाज ल्याएर युरोप चलाउँदैमा के हुन्छ ?”
नेवानिसँग युरोपमा सीधा हवाईसेवा सञ्चालन गर्दाको तीतो अनुभव छ । करिब डेढ दशक काठमाडौंबाट युरोपका फ्य्राङ्कफर्ट, लण्डन र पेरिस उड्दा प्रतिउडान करिब रु.२ करोडको उच्च सञ्चालन खर्च भएकोले थेग्नै नसकिने भन्दै सन् २००१ देखि नेवानिले युरोपका सबै उडान बन्द गरेको थियो । त्यसपछि क्रमैसँग एशियाका ओसाका, सांघाई, कोलम्बो, ढाका, कराँची, रंगुन, मुम्बई, बैङ्गलोरलगायत शहरमा सञ्चालित उडानसमेत बन्द गरिए । क्रमशः गिर्दो साख र विश्वसनीयताले विदेशी मात्र नभई नेवानि नेपाली यात्रुको रोजाइमा समेत पर्न छाडिसकेको छ ।
नेवानि अहिले क्वालालम्पुर, दुबई, हङकङ, बैंकक र दिल्लीको अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । अब यी उडानलाई थप भरपर्दो बनाउँदै भारत र चीन जस्ता उदीयमान बजारमा ध्यान केन्द्रित गर्नुपर्ने प्रबन्ध निर्देशक लिम्बुको भनाइ छ । “धेरै टाढा सोच्नै पर्दैन, चीन र भारत नै अहिलेका सबैभन्दा इमर्जिङ मार्केट हुन्”, प्रबन्ध निर्देशक लिम्बु भन्छन्, “यी दुई देशमा हामीले पर्याप्त उडान गर्न सक्यौं भने नेवानिको बजार त्यसै राम्रो बन्छ । त्यसपछि बजारमा एकखाले कन्फिडेन्स बिल्ड अप हुन्छ र क्षेत्र विस्तार गर्न सक्छौं ।”
साढे दुईदशक पहिले चार बोइङ, तीन एभ्रो, १० ट्वीनअटर र दुई पिलाटस पोर्टर जहाज भएको नेवानिसँग अहिले दुइटा ७५७ बोइङ र तीनवटा ट्वीनअटर मात्र चालु अवस्थामा छन् । नेवानिका पटकपटक ग्राउण्डेड भइरहने दुइटा बोइङ धेरैजसो खाली नै उड्छन् ।
नेवानिलाई अहिले जहाजको खाँचो त छ तर, जहाज भएर पनि अघि बढ्न नसकेको विगतबाट उसले पाठ सिक्नैपर्छ । गएको २२ भदौमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले नेवानिका अधिकारीहरूलाई बोलाएर गरेको छलफलमा अधिकांश सदस्यले नयाँ जहाज खरिद गर्दैमा नेवानिको अवस्था नसुध्रने बताएका थिए । सङ्कटग्रस्त अवस्थामा पुगिसकेको नेवानिलाई अघि बढाउन निगम नेतृत्वले अहिले कार्यान्वयन गर्न खोजेको वाइड बडीको जहाज ल्याउने महŒवाकाङ्क्षी र निगम हित विपरित योजना त्याग्दै यथार्थपरक कार्ययोजना अनुसार चल्न र लङ हलभन्दा शर्ट हलमै उडान थप, विस्तार र भरपर्दो बनाउन ध्यान दिनुपर्नेछ ।
‘अनुकूल प्रतिवेदन’
हिमाल लाई प्राप्त प्रतिवेदनमा भनिएको छ, “युरोप र हङकङमा वाइड बडी विमानबाट उडानहरू सञ्चालन भएमा उच्च प्रतिफल प्राप्त हुने देखिएको र निगमको रुट नेटवर्कमा वाइड बडी विमान सञ्चालन गरिँदा विद्यमान बजारमा निगमको साख पनि बढ्न जाने भएकाले यही जहाज ल्याउनुपर्ने समितिको राय छ ।” कापाले यसअघि नै वाइड बडीको जहाज खरिद गरेमा निगमले वार्षिक रु.१.५ अर्ब नोक्सानी व्यहोर्नुपर्ने प्रतिवेदन बुझएको थियो । जहाज खरिदका लागि बोइङ र एअरबस कम्पनीसँग टेण्डरसमेत बुझ्सिकेको अवस्थामा पछिबाट ‘जहाज छनोट गर्ने’ भन्दै कंसाकारले समिति गठन गरेका थिए ।
कापाको रिपोर्ट भन्छः
– राष्ट्रिय ध्वजावाहकको समग्र रणनीति के हो ? उसले आफूलाई नाफा कमाउने या देशको अर्थतन्त्रलाई टेवा दिने कस्तो बनाउन खोजेको हो ? उद्देश्य प्रस्ट छैन ।
– दुइटा बोइङ–७५७ रहेको नेवानिले एअरबस खरिद गर्नासाथ ऊसँग दुईथरीका जहाज हुनेछन् । नेवानिजस्तो सानो कम्पनीलाई मर्मत, तालिम, पार्टपुर्जा र पाइलटको व्यवस्थापन गर्न अप्ठ्यारो र निकै महँगो हुनेछ ।
– युरोप र अस्ट्रेलियाको बजार निकै प्रतिस्पर्धी छ । मागको आधारमा रुटको योजना गर्नुपर्ने भएपनि प्रतिस्पर्धीको कुनै विश्लेषण छैन ।
– मार्केटिङ र वितरण रणनीतिबारे बिजनेश प्लान मौनजस्तै छ ।
– प्रशस्त सम्भावनाहरू भएको भारतीय बजारमा ध्यानै गएको छैन ।
– नयाँ विमान ल्याउनासाथ सबै समस्या समाधान भइहाल्छन् भन्ने सोचाइको कच्चा र अपरिपक्व बिजनेश प्लान छ ।
– बिजनेश प्लानमा बजार ४० प्रतिशतले बढ्ने उल्लेख गरिनुको आधार छैन ।
– युरोपेलीहरू सीधा उडान मन पराउँछन् भनिएपनि आधार प्रस्ट छैन ।
– लण्डनमा हप्ताको तीन उडान गर्ने भनिएको छ, तर हप्तामा ५६ उडान गर्ने इमिरेट्स जस्ता एअरलाइन्ससँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने योजना छैन ।
– अष्ट्रेलियामा धेरै यात्रु छन् भनिए पनि अष्टे«लियाभरका शहरपिच्छे हेर्दा त्यो नहुनसक्छ । विदेशी र विद्यार्थीको आवतजावत निश्चित सिजनमा मात्र बढी हुने पक्षलाई ध्यान दिइएको छैन ।
– नेवानि विदेशीबीच परिचित छैन, यसका विदेशी यात्रु २८ प्रतिशतभन्दा कमै छन् । यो अवस्थामा वाइड बडी ल्याएर के गर्ने ?
किन नथप्ने बोइङ–७५७ ?
१०५० वटा बोइङ ७५७ मध्ये बोइङ ७५७–२०० ९१४ वटा, ७५७–२०० पीएफ ८० वटा र ७५७–२०० एम एउटा छन् । बोइङले उत्पादन गरेको एक मात्र ७५७–२०० एम नेपाल एअरलाइन्स (तत्कालीन शानेवानि)ले खरिद गरेको थियो । ब्रिटिश एअरवेज, एअर चाइना, डेल्टा एअरलाइन्स्, अमेरिकन एअरलाइन्स्ले बोइङ ७५७–२०० विमानबाट नै आफ्ना उडान सञ्चालन गर्दै आएका छन् ।
निगमले पुराना बोइङ विस्थापित गर्दै फ्रान्सको एअरबस ल्याउने तयारी गर्दै गर्दा एउटा स्वाभाविक प्रश्न उब्जन्छ, के निगमले अहिले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध बोइङ ७५७ बाटै जहाजको अभाव पूर्ति गर्न सक्दैन ? जानकारहरू यो विकल्पलाई उपयुक्त मान्छन् । यसका पछाडि थुप्रै कारण छन् । पहिलो त, बोइङ ७५७ कै उडानका लागि प्रशिक्षित पाइलट भएको नेवानिले यही जहाज ल्याउँदा छुट्टै पाइलट नियुक्ति वा तिनको प्रशिक्षण खर्च गर्नुपर्दैन । यो जहाज अहिले पनि संसारभर उडिरहेकाले उडानमा प्रयोग भइरहेका सेकेण्ड ह्याण्ड जहाज उपलब्ध हुन पनि सम्भवतः त्यति गाह्रो हुनेछैन, जसको मूल्य पनि कम हुनेछ । हाम्रो रुट नेटवर्कमा उपयुक्त जहाज पनि बोइङ ७५७ नै हो ।
हिजो बोइङ ल्याउँदा ठूलै खेल र धाँधली नभएको होइन, तर, यसबीचमा सेतो रङका, चिटिक्क परेका ‘गण्डकी र कर्णाली’सँग नेपाली आत्मीयता जोडिएको छ । फेरि त्यही जहाज ल्याउँदा यसको बजारका लागि त्यति ठूलो मेहनत पनि गर्नुपर्ने छैन । जहाज ल्याउँदा हुने सबैभन्दा ठूलो खेल कमिसनको हो । तर, बोइङ ७५७ नयाँ नबन्ने र सेकेण्ड ह्याण्ड ल्याइने भएकाले यसमा कमिसनको खेल पनि ज्यादा हुँदैन ।