स्वप्न र भग्न बगैंचा

Share:
  
- मिलन बगाले
स्वप्न बगैंचालाई जस्तै अरू भग्न बगैंचालाई पुनर्जीवन दिन कोही त अघि सर्ने नै छन्।

तस्वीर: मीनरत्न बज्राचार्य
केशरमहलको स्वप्न बगैंचा (गार्डेन अफ ड्रिम्स) लाई टाइम पत्रिकाले विश्वका १० वटा घुम्नैपर्ने ठाउँमध्ये पारेको छ।

स्वप्न बगैंचाका विशेषताबारे टाइम का पत्रकार करेन लेह लेख्छन्, “अस्तव्यस्त ट्राफिक र घुमेर सामान बेच्ने व्यापारीबाट छुटकारा चाहन्छौ तथा राजधानीभित्रै शान्त वातावरणको आनन्द लिन खोज्छौ भने यो उत्कृष्ट गन्तव्य हुन सक्छ।” घाँसे मैदानमा टहलिंदै पढ्न यो ठाउँ उपर्युक्त भएको पनि उनको राय छ। तर, 'अस्तव्यस्त ट्राफिक र घुमन्ते व्यापारीबाट बच्न' भनिनुले नेपालको राजधानी पर्यटक–मैत्री नरहेको मात्रै होइन, पर्यटक लुक्न र भाग्न बाध्य रहेको भन्ने जनाउँछ।

इञ्जिनियर किशोरनरसिं राणाको नक्सांकनमा फिल्ड मार्शल केशरशमशेरले सन् १८९५ मा ६ वटै ऋतुको विशेषता झ्ल्काउने गरी यो बगैंचा बनाएका थिए। युरोपको 'एड्वार्डियन गार्डेन' देखेपछि केशरशमशेरले आफ्नो दरबारमा त्यस्तै बगैंचा बनाउन चाहे। जुवाको खालमा पिता चन्द्रशमशेरसँग रु.१ लाख जितेपछि उनको आत्मविश्वास बढ्यो र किशोरनरसिंलाई बगैंचाको नक्सा बनाउन लगाए। त्यही नक्सा अनुसार बनेको बगैंचामा केशरशमशेरले लेखपढ गर्ने गरेको 'पेवेलियन' अझै छ।

२००७ सालको राजनीतिक परिवर्तनपछि यो बगैंचा सबैलाई खुला गरिए पनि भित्र जान पाइन्छ भन्ने धेरैले थाहा पाएनन्। यसरी लगभग साढे चार दशक बित्दा धेरै ठाउँबाट ल्याइएका दुर्लभ फूलका बिरुवा लोप हुँदै गए। शिक्षा मन्त्रालय र अष्ट्रेलिया विकास नियोगको पहलमा सन् २००० मा जीर्णोद्धार थालिएपछि सन् २००७ देखि यो बगैंचाले पुनर्जीवन पाएको हो। स्वप्न बगैंचाले पुनर्जीवन पाएर विश्वमै चर्चित बने पनि राजधानीका अरू धेरै बगैंचाको हालत झ्न्झ्न् बिग्रँदै गएको देख्न सकिन्छ। सर्वसाधारणले प्रयोग गर्ने भएकाले होला, स्वप्नलाई जस्तो अरू बगैंचालाई पुनर्जीवन दिन कोही अघि नसरेका।

धेरै राजधानीवासीलाई पायक पर्ने रत्नपार्क सरसफाइ तथा स्याहार नपाएर हेरिनसक्नु बनेको छ। ४२ रोपनी क्षेत्रफलको यो बगैंचा सन् १९६५ मा बनेको हो। मानिसहरूको चापले साँघुरो लाग्न थालेको रत्नपार्क ओइलाएका फूलपात र धूलोले ढाकिएका रूखहरूले झ्न् कुरुप बनाएको छ।

सांस्कृतिक महत्वको बालाजु उद्यान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमीको आदेशमा महानगरपालिकाले चलाएको डोजरको चोटले घाइते छ। जयप्रकाश मल्लले २१ धारा हालेर बनाएको यो उद्यानमा रणबहादुर शाहले अर्को धारा थपेका थिए। १५३ रोपनीको यो उद्यान राजधानीकै ठूला मध्येको हो।

थापाथली―कुपण्डोल पुलमुनि प्रस्तावित 'युएन पार्क' सुकुम्बासीका छाप्राले भरिएको छ। भइरहेकै पार्कहरू बेवास्तामा परिरहेको बेला प्रस्तावितका लागि कसैको टाउको लुकाउने छानो भत्काउने प्रयास जस्तै पार्क देख्नासाथ ठूला स्तम्भ बनाउने हुँकार गरिहाल्ने नयाँ शासकहरूको प्रवृत्ति पनि आलोच्य छँदैछ। तर, स्वप्न बगैंचाले पुनर्जीवन पाएकाले अरूको पनि दिन फिर्नेछ भन्ने आशा गर्ने ठाउँ छ। सुन्दर शहर बनाउन भग्न बगैंचा स्याहार्न अघि सर्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम