चिठी– एउटा विद्रोहीका नाममा

Share:
  
- डा. सरोज धिताल

प्यारो भाइ,

धेरै भयो तिमीसँग भेट नभएको। कस्तो भयौ, के सोचिरहेका होलाउ भन्ने मनमा लाग्छ। कल्पनामा भने आज पनि उस्तै देखिरहेको छु– यथास्थितिप्रति असन्तुष्ट, अन्यायविरुद्ध आक्रोशले भरिएको, परिवर्तनका लागि छटपटिएको एकजना 'एङ्ग्री योङ् म्यान'!

कुनै 'थि्रलर' फिल्मको दृश्य जस्तो नाटकीय परिस्थितिमा हाम्रो भेट भएको थियो, कुनै बेला। त्यसपछिका डेढ दशकमा धेरै कुरा बदलिइसकेका छन्। धीमा होला परिवर्तनको गति, तर पनि डेढ दशकअघि जस्तो अब केही रहेन।

'अधिराज्य'बाट 'गणतन्त्र'मा बदलिइसकेको छ, देश। पछाडि पारिएका जनसमुदायहरू सशक्तिकृत भएका छन्। 'निषेधित' र 'खतरनाक' ठानिएका धेरै कुराबारे छलफल हुन थालेका छन्। युवाहरूमा जाँगर, सीप र सृजनाको बाढी आएको छ। नयाँ सम्भावनाहरू देखिएका छन्। अर्कोतिर यति धेरै समय बितिसक्दा पनि गणतन्त्रले संविधान पाएको छैन, सामान्य विकासका कामहरू समेत हुनसकेका छैनन्। जनताबीच अनावश्यक र हानिकारक विभाजनका सम्भावना बढ्दा महत्वपूर्ण विषयहरू ओझेलमा परेका छन्। गणतन्त्र–स्थापना जस्तो ऐतिहासिक कोसेढुङ्गा समेत फोहोरले पुरिएर अदृश्य भए जस्तो छ।

यसबीचमा त्यस्ता परिवर्तन भएका छन्, जो तिमीले नचाहेका मात्र होइन, शायद चिताएका पनि थिएनौ। तिमीले ऊबेला अत्यन्त सम्मान गरेका नेताहरूमध्ये कति पदलोलुप र भ्रष्टाचारको आरोप खेप्न बाध्य छन्। अरू कतिको छवि क्रान्तिकारीबाट अपराधीमा परिणत भएको छ। तिमी जस्तालाई माध्यम बनाएर जनतालाई देखाइएका सपनाहरू यथार्थमा अनूदित हुन सकेनन्। असंख्य निर्दोषहरूको जीवनको बलि चढाएर प्राप्त 'परिवर्तनहरू' पनि तिमीले देखेको सपना भन्दा फरक हुँदा तिम्रो पनि मन दुःखेको अनुमान गर्न सक्छु।

म सुन्छु, तिम्रा प्रेरणाका स्रोत, आस्थाका धरोहर करिष्मायुक्त कतिपय मानिस यतिबेला घृणाका पात्र भएका छन् रे! अनि तिमी सांगठनिक रूपमा अलग भएको मात्र हैन, नयाँ सशस्त्र क्रान्तिको तयारीमा जुटेका छौ रे! उस्तै स्खलनको पुनरावृत्ति नहोला भन्नेमा कसरी विश्वस्त हुन सक्छौ मैले बुझन सकेको छैन।

तिमीभित्रको आक्रोशको ज्वाला र छट्पटी त्यतिबेला बुझथें र यतिबेला पनि बुझछु। तर परिवर्तनका लागि तिमीले छानेको साधनबारे ऊबेला प्रश्न गर्थें, अहिले पनि गरिरहेको छु। म चिन्तित छु– तिमी जस्ता होनहार युवाका भविष्यबारे, परिवर्तनका निम्ति देश र जनताले तिरिरहेको चर्को मूल्यबारे, परिवर्तनकामी शक्तिको खण्डीकरण, क्षयीकरण र दिग्भ्रमबारे।

तिम्रो र मेरो विचारको भिन्नता र दूरीसित हामी दुवै अपरिचित थिएनौं, छैनौं। तैपनि हामीबीच एकअर्काप्रति स्नेहभाव कायम छ। जुन मलाई सुन्दर र अनुपम लाग्छ। त्यही स्नेहमा उभिएर म तिमीलाई सम्बोधन गरिरहेको छु। विभिन्नताका बीचमा समानता देखिनुलाई कुनै न कुनै रूपमा आशाको बत्ती बलिरहेको भनेर बुझेको छु।

जुनसुकै युगमा पनि सामाजिक रूपान्तरणको आवश्यकता भइरहेकै हुन्छ। जतिसुकै विकसित समाज पनि यथास्थितिमा अड्किरहन सक्दैन। परिवर्तनको अर्थमा बुझदा क्रान्तिकै आवश्यकता पनि सर्वकालिक हुन्छ। कुनै कीर्तिमान राख्न जतिसुकै मूल्य तिर्न सकिएला। तर कहिल्यै नरोकिने परिवर्तनको सिलसिलामा, त्यो अविरल यात्रामा मानव जातिले हरेक पाइलामा कहिलेसम्म चर्को मूल्य तिरिरहन सक्ला? पहिले पनि भन्ने गर्थें, मानव इतिहासमा देखा परेका हरेक सशस्त्र क्रान्तिको मूल्य कम्तीमा पनि तीन पुस्ताले तिर्नु परेको छ। तिमी फेरि सशस्त्र क्रान्तिको निम्ति आतुर भएको कुरा साँचो हो भने, हाम्रो समाज, देश र जनताले यति ठूलो मूल्य कहिलेसम्म तिरिरहने?

प्रिय भाइ! इतिहासका पानाहरू प्रायः हिंसा र षड्यन्त्रका विवरणले भरिएका हुन्छन्। यिनका गौरवगाथा साहित्य र कलाका आकर्षक विषयवस्तु बनिरहेका हुन्छन्। तर दुःखको कुरा– क्रान्ति र समाज रूपान्तरणका निम्ति 'उपयोग' गरिने भनिएका यी 'साधन'हरू साधनकै रूपमा मात्र मानिसको लगाममा रहँदैनन्। जसले मानवचेतनामा भाइरस झै पसेर उसको स्वत्वलाई खल्बल्याउन थाल्छन्। यसबाट छुटकारा पाउन गाह्रो हुन थाल्छ। कुनै पनि सशस्त्र र भूमिगत क्रान्तिको मुख्य चरण सम्पन्न भएपछि क्रान्तिकारीको पङ्क्तिभित्र एक–आपसमै हुने गरेको षड्यन्त्रको प्रयोग र हिंसाको ताण्डव पनि इतिहासमा कुरुप अक्षरमा कुँदिएका छन् नि, हैन? सम्भवतः तिमीले पनि तिनको अनुभव गरिरहेका होलाउ। मलाई लाग्छ, अब पनि सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति भनेर हिंसा र षड्यन्त्रको अनावश्यक र अत्यधिक प्रयोग भइरहनु एक अर्थमा पश्चगमन हो।

हामी प्रायः के कुरा बिर्सन्छौं भने कुनै पनि घटनाक्रम, वस्तु र गतिविधिलाई बुझने कुरामा हरेक व्यक्तिको छुट्टै दृष्टिकोण हुन्छ। हरेकले अर्काको दृष्टिकोण बुझने प्रयत्नमा हुने हो मानिसबीचको सम्बन्ध र संस्कृतिको विकास। बसेको ठाउँबाट देखेको मात्रै सही र अरूले देखेको गलत भन्ने कुराले अतिवाद जन्मन्छ। अतिवादबाट सिर्जित बहिष्करणले हानि पुर्‍याइसकेको छ।

तिमीले नयाँ यात्रा थालेकै हो भने, शुभकामना छ– अतिवाद, हिंसाप्रियता र बहिष्करणको त्यो कामुक आकर्षणबाट मुक्त भई जीवनप्रेमको ऊर्जाले भरिएर उज्यालोको दिशामा निरन्तर उन्मुख रहोस्।

comments powered by Disqus

रमझम