मिथिलामा माफियाराज

Share:
  
- रामेश्वर बोहरा, जनकपुरमा
मिथिलाञ्चलको केन्द्र जनकपुर दुई 'माफिया' को चंगुलमा पर्दा विरोध गर्ने कोही देखिंदैनन्।

जीवनाथ चौधरी, सञ्जय साह
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट धरौटीमा छुटेका ९ कर्मचारी जिल्ला विकास समिति धनुषामा हाजिर हुँदा भिडन्त हुनसक्ने आशंकामा ११ चैतमा प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली तैनाथ गरियो। भ्रष्टाचार अभियोगमा निलम्बित ती कर्मचारीमध्ये एक सहलेखापाल जीवनाथ चौधरीलाई 'भ्रष्टाचारी' भन्दै फोरम (लोकतान्त्रिक) का सञ्जय साह समूहले हाजिर नगराउन धम्की दिएपछि प्रहरीले सुरक्षाको त्यो बन्दोबस्त गर्नुपरेको थियो। उस्तै आरोपको निलम्बनबाट त्यसअघि फुकुवा भएका इन्जिनियर लक्ष्मीनारायण महतो, लेखा अधिकृत मदनमोहनलाल कर्ण र सातजना गाविस सचिवलाई निमित्त कार्यालय प्रमुख विनोद ठाकुरले हाजिर गराउँदा साह समूहले जिविस कार्यालयमै पसेर कुटपिट गरेकाले प्रहरी यो पटक सजग भएको थियो। तर, त्यो दिन भने चौधरी समूहले दलबलसहित आएर हाजिर गर्‍यो, जुन बेला कार्यालयका निमित्त प्रमुख भूमिश्वर पोखरेल 'सुरक्षा' खोज्दै त्यहाँबाट हिंडिसकेका थिए।

२० फागुनमा धनुषाका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीलाई कार्यकक्षमै गएर साह सम्बद्ध कार्यकर्ताले हुलहुज्जत गरे, २१ फागुनमा हुने १९औं जिल्ला परिषद् नगर्न भन्दै। तीमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडे पनि २१ फागुनदेखि अनिश्चितकालीन जनकपुर बन्द भनियो। त्यसपछि, जिल्ला सुरक्षा समितिले मुजेलियास्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा परिषद् गर्न 'सुरक्षा दिन नसकिने' भनेकाले जिविस हलमा सारियो। तर, जिल्ला प्रहरी प्रमुख र आफ्नै अघि परिषद् हलमा स्थानीय विकास अधिकारीमाथि दुर्व्यवहार हुनथालेपछि प्रजिअले 'भाग्न' संकेत दिए। अनि, गृहमन्त्रालयको छानबिन टोली नआउँदासम्म उनी तीन दिन कार्यालय जान नसकेर प्रजिअ निवासमै लुके। साहको बाहेक सबै दलहरू परिषद्को पक्षमा भए पनि उद्घाटन कार्यक्रम गर्नै ३० फागुन कुर्नुपर्‍यो। तर, अझ्ौ बन्दसत्र भएको छैन भने ती स्थानीय विकास अधिकारी यहाँ बस्न नसकेर काठमाडौं पुगेका छन्।

१८ वैशाख २०६९ बिहान सवा दशबजे जनकपुरको रामानन्द चोकमा 'मिथिला–राज्य संघर्ष समिति' को शान्तिपूर्ण धर्नामा बम विष्फोट हुँदा जनकपुरस्थित सीताकुण्डका महन्त विमल शरण, कलाकार रञ्जु झासहित पाँचजना मारिए भने करीब दुई दर्जन घाइते भए। प्रहरीको पाँच मिटर नजिकै रोकिएको मोटरसाइकलमा गराइएको विष्फोटको जिम्मा १५ मिनेटभित्रै 'जनतान्त्रिक तराई मुक्तिमोर्चा' का अध्यक्ष 'राजनमुक्ति'ले लिए, भारतीय मोबाइलबाट फोन–एसएमएस गरेर। र, तीन पटकसम्म इमेलबाट विज्ञप्ति नै पठाए। ती राजनमुक्तिको निकटता जिविसका कर्मचारी जीवनाथ चौधरीसँग रहेको खुला सत्य जस्तै छ। अहिले त्यो विष्फोटको जिम्मा अर्काे समूहले पनि लिएको छ, मुकेश चौधरीको 'तराई जनतान्त्रिक पार्टी मधेश'ले। मुकेश सञ्जय साह निकट रहेको जनकपुरको अर्को खुला सत्य हो। विष्फोट भएकै दिन मुकेश र साहबीचको टेलिफोन–वार्ताको टेप प्रहरीको हातमै भए पनि 'प्रमाण नपुगेको' भनिरहेको छ, प्रहरी।

जनकपुरका यी घटनाले अपराध र गुण्डाराजसामु मिथिलाञ्चलको केन्द्र जनकपुरका राजनीतिक दल, प्रहरी–प्रशासन, कर्मचारीतन्त्र र आम नागरिक सबै निरीह बनेको देखाउँछन्। चैत दोस्रो साता जनकपुरमा भेटिएका विभिन्न क्षेत्रका जिम्मेवार र अगुवाले यो शहरमा राजनीति र राज्यसंयन्त्रबाट हैन, गैरकानूनी र अपराधी गिरोहबाट शासित रहेको बताए। अनि, 'शासन' गर्ने दुई गिरोहका प्रमुख गैरकानूनी रूपमा अथाह कमाएर राजनीतिमा आएका सञ्जय साह र त्यसैगरी सम्पत्ति जोडेर शक्तिशाली बनेका नायव सुब्बा स्तरका कर्मचारी जीवनाथ चौधरी देखिए। उनीहरूको आतङ्क सामु निरीहता देखाउँदै जनकपुरमा भेटिएका राष्ट्रिय राजनीतिमै प्रभावशाली एकजना नेता भन्छन्, “उनीहरूबारे बोल्न लगाएर किन मलाई नै असुरक्षित पार्न खोज्नुहुन्छ?”

सञ्जयको विगत

धनुषाको लोहना–७ को सामान्य परिवारका सञ्जय साह (३५) २०५४ मा कांग्रेस नेता स्मृतिनारायण चौधरीमार्फत राजनीतिमा आएका हुन्। त्यसअघि उनी आमाबुबासँगै कवाडी संकलन पेशामा थिए। प्रमाणपत्र तह उत्तीर्ण साह २०५४ को स्थानीय निर्वाचनमा एमालेका रामचरित्र साह जिविस सभापति बनेपछि भने ठेकेदारीमा लागे, सभापतिसँगको 'जातीय निकटता' बाट जिविसको चुङ्गीकर ठेक्का पाएपछि। प्रहरीलाई रिझाउँदै सडकमा ढाट लगाएर 'कर' उठाउन पाएपछि मालामाल बनेका उनले जिल्ला विकास समिति, सडक विभागका निर्माणसम्बन्धी ठेक्कासँगै प्रहरीको रासन ठेक्का पनि हात पारे।

पैसाले उनलाई गुण्डा पाल्न सक्ने बनायो भने तिनै गुण्डाको डर–त्रास देखाउँदा थप ठेक्का दिलायो। सबै ठेक्का नभ्याउने भएपछि उनी अरूलाई ठेक्का दिलाउन पनि लाग्न थाले। त्यहीबीच, गुण्डागर्दीको अभियोगमा धनुषा प्रहरीले चारपटक पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाए पनि धरौटीमा छुट्न सफल भए। यसरी मन र बल बढ्दै जाँदा ठेक्काको काम नगरी कागजी प्रक्रिया पूरा गरेर रकम लिन सक्ने बने। एसपी विश्व जबरा धनुषाको प्रहरी प्रमुख हुँदा साहको बल बढेको यहाँका राजनीतिकर्मी बताउँछन्।

अथाह पैसा कमाएपछि उनी सक्रिय राजनीतिमा आए, संविधानसभा निर्वाचनमा 'मनी' र 'मसल' को बलमा मधेशी जनअधिकार फोरमको टिकटमा धनुषा–४ बाट निर्वाचित पनि भए। फोरम विभाजनपछि विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) तर्फ लागेका उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्री नै बने। राज्यमन्त्री हुँदा 'रु.५० करोडभन्दा बढीको नक्कली बिल बनाएर अनियमितता गरेको, सडक मर्मतको नाममा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुर धनुषामा रु.५ करोडभन्दा बढीको अख्तियारी पठाई कामै नगरी अनियमितता गरेको, सांसद्/सभासद् क्षेत्र विकास कोषको चार वर्षको रकम रु.४० लाख पनि विद्यालयमा कम्प्युटर र खेलकुद सामग्री वितरणको नक्कली बिल बनाई भ्रष्टाचार गरेको' उजुरी परेको छ, राष्ट्रिय सतर्कता केन्द्रमा। ८ पुसको त्यो उजुरीका आधारमा केन्द्रले छानबिन–कारबाही प्रक्रिया अघि बढाउन ३० फागुनमा अख्तियारलाई पत्राचार पनि गरेको छ। उजुरीमा '१०–१२ वर्षअघिसम्म १० धुर जग्गा मात्र भएका उनको सम्पत्ति रु.५ अर्बभन्दा बढी पुगेको, उनी र उनको आफन्तको नाममा जनकपुर, विराटनगर, हेटौंडा, वीरगञ्ज लगायत शहरमा जग्गा रहेको, ६ वटा पजेरो गाडी तथा विभिन्न ब्याङ्क–वित्तीय संस्थामा करोडौं बचत रहेको' उल्लेख छ।

९ फागुन २०६९ मा सञ्जय साहलाई पार्टीमा भित्र्याउँदै मजफो लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार।
हत्या, अपहरण, विष्फोटलगायत घटनामा मुछिएका उनीमाथि १७ चैत २०५७ मा धिरापुर, महोत्तरीका तत्कालीन गाविस अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पुलाई अपहरण गरी रु.१० लाख फिरौती लिएको आरोप छ। जनकपुर–१४ मुजेलियाका आफ्नै ड्राइभर नन्दुकुमार राउतको हत्या गरेको मुद्दामा धनुषा जिल्ला अदालतबाट उनले सफाइ पाए पनि पुनरावेदन अदालत जनकपुरमा त्यो अझ्ै विचाराधीन छ। नक्कली भारुको कारोबार, हातहतियार ओसारपसारमा पनि उनी मुछिएकै छन्।

सधैं सरकारमा रहने फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारको संरक्षणले साहलाई उन्मुक्ति पाउन सजिलो भयो। त्यही कारण २०६८ पुसदेखि २०६९ पुससम्म काठमाडौं उपत्यकाका प्रहरीलाई ठेक्का लिएर रासन नखुवाउँदा पनि उनले कारबाही बेहोर्नु परेन। प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि गच्छदार नै बीचमा उभिइदिए। बीचमा गच्छदारबाट फुटेर 'मधेश क्रान्ति फोरम' खोलेका उनी ९ फागुनमा पुनः गच्छदारकै पार्टीमा फिर्ता भएका छन्।

जीवनाथको उदय

२०२७ सालमा महोत्तरीको नैनही–२ बासोपट्टीमा जन्मेका जीवनाथ चौधरी २०४६ सालतिर सानोतिनो किराना पसल गर्न बाबुसँगै जनकपुर छिरेका हुन्। रामानन्द युवा क्लबमार्फत कांग्रेस नेताहरूसँग सम्बन्ध जोडेका आइकम पढेका उनले २०४९ को स्थानीय निर्वाचनमा कांग्रेसका रामसरोज यादव जिविस सभापति बनेपछि जिविसमा सहलेखापाल पाए। जिविसका ठेक्कामा सञ्जय साहका 'पार्टनर' बनेका चौधरीको हैसियत विस्तारै कसलाई जिविसको ठेक्का दिलाउने भन्नेसम्म बन्न पुग्यो। र त्यही कारण सञ्जयसँग सम्बन्ध बिग्रियो। २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनताका रामानन्द युवा क्लबको अध्यक्ष भएकाले राजनीतिक प्रभावसमेत बढाउन पाए। अहिले उनको रामानन्द चोकमा सुविधासम्पन्न होटल सीता प्यालेस र अर्को महल छ। क्यासिनो सञ्चालन गर्ने गरी उनको साततले नयाँ भवन बन्दैछ, शहरभित्रै करीब ६ बिघा जग्गा समेत छ। जनकपुरमा उनको ठूलो 'रियलस्टेट' कारोबार पनि छँदैछ।

जनकपुरमा लामो समय बसेका एक प्रहरी अधिकारी चौधरीको आर्थिक उन्नति अपराधकर्मबाट भएको बताउँछन्। उनका अनुसार, चौधरीले जनकपुरको पश्चिमी भेगका विभिन्न मठ–मन्दिर–कुटीका महन्त र तिनको नाममा रहेको गुठीको जग्गा कब्जा गरेका छन्।

तस्वीर: ईश्वरचन्द्र झा
१८ वैशाख २०६९ मा मिथिला आन्दोलनका क्रममा जनकपुरको रामानन्द चोकमा आयोजित शान्तिपूर्ण धर्नामा गराइएको बम विस्फोट।
गुठीको जग्गा हडप्न चौधरीले रत्नसागर गुठीका महन्त वैकुण्ठ दास र उनका सहयोगी दीपेन्द्र ठाकुरसँग 'साँठगाँठ' गरे। गुठीको जग्गा हडप्ने 'भूमाफिया'का रूपमा चिनिने वैकुण्ठलाई पनि जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लालकिशोर झाको हत्याको आरोप छ। ११ कात्तिक २०६७ मा जनकपुर–७ जानकीनगरस्थित सडकमा गोली हानी हत्या गरिएको त्यो घटनामा वैकुण्ठलाई जिल्ला अदालतले सामान्य तारेखमा रिहा गरे पनि पुनरावेदनमा त्यो मुद्दा अझै विचाराधीन छ। महोत्तरीस्थित मटिहानी–स्थानका महामहन्त (महन्तहरूका पनि महन्त) जगन्नाथ दासका भान्जा झाले जनकपुरमा रहेको मटिहानी–स्थानको जग्गा कब्जा भएकोमा विरोध गरेका थिए। गुठीको जग्गा विवादमा जनकपुरमा सीताकुण्डका दुई जना महन्त, आन्तरिक राजस्व कार्यालयका कर्मचारी कुमार निरौला र नगरपालिकाका एकजना ओभरसियरको हत्या भइसकेको छ। चौधरीलाई छाडेर दीपेन्द्र सञ्जय 'क्याम्प' पुगेपछि जनकपुरमा यी दुईबीच ज्यान लिने तहको टक्कर शुरू भएको छ।

रामानन्द चोकको विष्फोटमा समेत मुछिएका चौधरीलाई धनुषा प्रहरीले दुई पटक सार्वजनिक अपराधमा मुद्दा चलाए पनि धरौटीमा छुटे। सशस्त्र समूहमा 'लगानी' गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ। जिविसको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको भन्दै १८ जना कर्मचारीसँगै गएको १० भदौमा तीन महीना निलम्बनमा परेका उनी अख्तियारमा रु.३ लाख धरौटी बुझाएपछि छुटेका थिए।

फेरिएको जनकपुर

मिथिलाञ्चलको केन्द्र जनकपुरको लामो सांस्कृतिक र राजनीतिक इतिहास छ। जनकपुरका प्राध्यापक डा. सुरेन्द्र लाभ इतिहासमा काठमाडौंपछिको राजनीतिक र वैचारिक केन्द्र जनकपुर रहेको सम्झ्ँदै भन्छन्, “तर अहिले जनकपुर ठीक/बेठीक छुट्याउन नसक्ने भइसकेको छ।” महेन्द्रनारायण निधि, महावीरप्रसाद सिंह, सरोज कोइराला र पाण्डवराज घिमिरे जस्ता लोकतान्त्रिक योद्धालाई आदर्श मान्नेहरू बाहुबलबाट शक्ति र सम्पत्ति आर्जन गर्ने 'आइडल' भएको देखेर दुखित छन्।

जनकपुरको दुरवस्था नगरक्षेत्रका सडक हेर्दा पनि देखिन्छ। मध्यचैतमै कतिपय सडक ढल फुटेर हिलाम्मे छन्, जताततै परेका खाल्डाखुल्डीले सडक हिंड्न लायकसमेत देखिंदैन। जिविस, नगरपालिका, सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभागबाट वर्षेनि सडक–ढल निर्माणमा करोडौं रुपैयाँ निकासा भए पनि त्यो कहाँ लगानी भयो भनेर सोध्ने हिम्मत कोही गर्दैनन्। कारण ठेक्कापट्टा तिनै 'शासन' गर्नेहरुको हातमा छ। “कागजमै सबै योजना पूरा हुन्छन्” जिविसका एक कर्मचारी भन्छन्, “सर्भे नै नगरी पनि बजेट सिद्धिन्छ।”

अझ् असुरक्षालाई कारण देखाउँदै स्थानीय विकास अधिकारी नै जिल्लामा नबस्दा आ.व. २०६८/६९ मा धनुषा जिविसको विकास बजेट रु.३६ करोड २८ लाखमध्ये १९ करोड ६ लाख मात्र खर्च भएको छ। खर्च भएकोमा पनि आर्थिक वर्षको अन्तिम पाँचदिनमै रु.८ करोड निकासा गरिएको छ। यो तथ्याङ्कले त्यहाँको अनियमितताको आकार स्पष्ट पार्छ।

एकजना बुद्धिजीवी जनकपुरलाई 'विदेहको नगरी बनेको' बताउँछन्, अर्थात् देह नभएको, केही नदेख्ने, नबोल्ने र प्रतिक्रिया नजनाउने।


बिग्रँदै युवाशक्ति

तस्वीर: रामेश्वर बोहरा
११ चैतमा धनुषा जिविसमा सञ्जय साह र जीवनाथ चौधरी पक्षबीचको सम्भावित भिडन्त रोक्न तैनाथ प्रहरी।

गुण्डागर्दी र अपराधकर्मबाट रातारात धनी बनेकाको सिको गर्दै चाँडै धनी बन्ने महत्वाकांक्षा जनकपुरका आम युवामा चुलिएको छ। त्यही महत्वाकांक्षाले अपराधमा लागेर कैयौं युवा 'इन्काउण्टर'मा मारिएका छन् र कैयौं अपराधी बनेका छन्। महत्वाकांक्षा पूरा नहुँदा निराशहरू सीमापारि गएर लागूऔषध (मेडिकल ड्रग्स) लिन्छन् र फर्केर त्यसैको नशामा अपराध गर्छन्। धनुषाका प्रहरी प्रमुख एसपी बसन्त पन्त भन्छन्, “सशस्त्र समूहहरूले गोलीकाण्ड र बम विष्फोटमा त्यस्तै युवा प्रयोग गर्छन्।”

यसपालिको एसएलसी परीक्षामा जनकपुरका परीक्षाकेन्द्रबाट दैनिक बरामद चिटले एउटा गाडी भरिएको एसपी पन्त सुनाउँछन्। “मैले विद्यार्थीलाई नपढाएको ठ्याक्कै तीन वर्ष भयो, पढाउन कक्षामा जाँदा कोही विद्यार्थी हुँदैनन्” जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्राध्यापक डा. भोगेन्द्र झा भन्छन्, “अब त हाजिर गर्न र तलब बुझ्न पनि ग्लानि हुन्छ।” कुनै बेला दैनिक ६ पिरियडसम्म पढाएका झा क्याम्पसमा 'मास चिटिङ' मौलाएको र सजिलै पास हुने भएकाले बिहारबाट परीक्षा दिन आउनेको समेत भीड लाग्ने गरेको बताउँछन्।


आतंक र त्रासमा उद्योग–व्यवसाय

जनकपुर अपराधको छायाँमा परिसकेको अर्को उदाहरण हो, यहाँको उद्योग–व्यवसायको दुरवस्था। व्यवसायीमा 'ज्यान जोगाउने' र व्यवसायमा टिकिराख्ने बाहेक अर्थोक आकांक्षा देखिंदैन। सातआठ वर्षयता कुनै नयाँ उद्योग–व्यवसाय शुरू भएका छैनन्, बरु व्यवसायीले लगानी कटौती गर्दैछन्। “माओवादी युद्धकालमा बिग्रेको वातावरण २०६२/६३ को जनआन्दोलनपछि सुधि्रएला भन्ने आशामा बस्दा मधेश आन्दोलन भयो, मधेश आन्दोलनपछि सशस्त्र समूहहरूको हिंसा–आतंक शुरू भयो, त्यसपछि शान्ति प्रक्रियामा आएको माओवादीबाट सिर्जित श्रम समस्या र सशस्त्र समूहको आतंकले वातावरण बन्न सकेन” नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्मल चौधरी भन्छन्, “स्थायित्व आउला, वातावरण बन्ला र लगानी विस्तार गरौंला भन्ने आशमै वर्षौं बित्यो।”

हिन्दूहरूको महत्वपूर्ण तीर्थाटन जनकपुर धार्मिक पर्यटकीय नगरीका रूपमा चर्चित थियो। जनकपुर चुरोट कारखाना, कागज, चामल र प्लाइउड उद्योग खुलेसँगै यहाँको औद्योगिक–व्यापारिक विस्तार तीव्र बन्दै गयो। तर, माओवादी विद्रोहसँगै शुरू भएको असुरक्षा र श्रमशक्ति विदेशिने क्रमले त्यसमा ब्रेक लाग्यो। त्यसबेला माओवादीको मात्रै त्रास थियो, अहिले त्यस्ता दर्जनौं 'भूमिगत समूह'हरू छन्। “अझ्ा बजारले पहाडे समुदायको साथ गुमाएको छ” चौधरी भन्छन्, “बजारमा किनमेल गर्ने जुन क्षमता पहाडे समुदायको हुन्थ्यो, त्यसको अभाव छ। आन्दोलनका क्रममा असामाजिक तत्वहरूले लगाएको साम्प्रदायिक नाराले जनकपुरलाई सुनसान बनायो।”

तीनजना व्यवसायीको हत्या, केहीको हत्या प्रयास, अपहरण, धम्की र चन्दा आतंक भइरहँदा व्यवसायीले असुरक्षा महसूस गरेका छन्। व्यवसायीहरू भन्छन्– हाम्रो सुरक्षा भगवान भरोसा! राजनीतिको आवरणमा मौलाएको अराजकता र अपराधले त्रास झन् बढाएको छ। र, तिनकै कारण जनकपुर बन्द–हड्ताल अत्यधिक हुने शहर बनेको छ।


गुठीः अपराधको जड

करीब दुईसय वर्षअघि भारतबाट आएका दुई जना साधुले राम र जानकी मन्दिर भएको अहिलेको जनकपुर पत्ता लगाएका थिए, त्यसबेला यो ठाउँ जंगल मात्र थियो। त्यससँगै साधुसन्त आएर बस्न थाले र अहिलेको जनकपुर रहेको परिक्रमा क्षेत्र शुरू गरियो। साधुसन्त आउँदा बस्ने ठाउँ नभएकाले कुटी बनाउन थालियो, जातीय प्रचलन अनुसार राजपूत, भूमिहार, कुम्हार, तेली, कायस्थ, आदिको छुट्टाछुट्टै। अनि ती जातका भक्तजनहरूले आ–आफ्ना कुटीलाई दान गर्न थाले भने कतिले मन्दिर–कुटीका नाममा जग्गा नै राखिदिए। मन्दिरको स्याहार गर्न र प्राप्त जग्गामा खेती गर्न महन्तहरूले केही जग्गा दिएर मान्छे राखे। बसोबास बढ्न थालेपछि मन्दिर वा गुठीमा 'कुत' बुझाउने गरी जग्गा वितरण गर्न थालियो। यो क्रममा खालि र पर्ती जग्गा समेत मठ–मन्दिरकै सम्पत्ति बने। त्यसका निम्ति लठैतहरू राखिए। तर, अहिले त्यस्तै लठैतले महन्तहरूकै करोडौंको जग्गा कब्जा गर्न थालेका छन्।

यस्तो समस्या बढ्न थालेपछि सरकारले ती जग्गा गुठी संस्थानको मातहतमा ल्याएर जातीय, सामुदायिक गुठी नियन्त्रणमा लिए पनि संस्थानकै कर्मचारी र महन्तहरूको मिलेमतोमा त्यस्ता जग्गा पुनः हडप्न शुरू भयो। यसरी गुठीको जग्गामा स्थानीय समुदायको नियन्त्रण गुम्यो, महन्त र भूमाफियाहरूकै हालीमुहाली भयो। र, जनकपुरका मठमन्दिर तथा गुठीमा आपराधिक मनोवृत्तिका मानिसहरूको बोलवाला बढ्न थाल्यो। र गुठीकै जग्गाका निम्ति जनकपुरको अपराधीकरण भयो। अहिले भारतबाट आउने अपराधी समेत यहाँका महन्तको चेला बनेर नेपाली नागरिकता लिन थालेको यहाँका राजनीतिकर्मीहरु बताउँछन्। जग्गा हडप्न महन्तहरूले नै आपराधिक समूह पालेका र तिनले राजनीतिक संरक्षण पाएका छन्।

comments powered by Disqus

रमझम