१२-१८ असार २०७३ | 26 June - 2 July 2016

अंग्रेजलाई जागीर मिल्दैन

Share:
  
- ज्ञानमणि नेपाल
महाराज चन्द्रशमशेरले रेजिडेन्टको मुखबाट आफ्नो स्वार्थको कुरा खुस्काए, तर उनको प्रस्तावमा भने सीधै मुन्टो बटारे।

वि.सं. १९६३ मंसीरमा महाराज चन्द्रशमशेर अंग्रेज रेजिडेन्ट जेम्यानर्स स्मिथसँग संवाद हुँदा केही कुरामा स्पष्ट हुन चाहेका थिए। पहिलो त त्यस साल श्री ५ मुमा बडामहारानीहरू तीन धाम जगन्नाथ, रामेश्वर र हरिद्वार जाने योजना थियो। त्यसको लागि हिन्दूस्थान लागेपछि ब्रिटिश सरकारले यातायात, बसोबास आदिको सुरक्षा प्रबन्ध मिलाइदिनुपर्ने हुन्थ्यो। त्यसबेला महाराजको पनि वायसरायसँग भेट मुलाकात गर्ने विचार थियो। यसमा ब्रिटिशका तर्फबाट राजकीय सम्मान नदिइने हो कि भन्ने चिन्ता उनलाई थियो।

अघि महाराज जङ्गबहादुरलाई राजकीय सम्मानै दिएको थियो, १९ तोपकै सलामी पनि उनले पाउँथे। वीरशमशेरले त्यस्तो सम्मान नपाउँदा ठूलो आघात अनुभव गरेका थिए। महाराज चन्द्रको बुझाइमा, यही अपमान बोधका कारण सर वीरशमशेरको चाँडै मरण भएको थियो। चन्द्रले चाहिं लर्ड कर्जनसँग भेट गर्न जाँदा भने बमोजिमै सम्मान पाएका थिए। अब यसपालि जाँदा नयाँ वायसरायले साविक बमोजिम सम्मान दिने हुन् कि होइनन् र अर्को उपहार कोसेलीपात लिएरजानुपर्ने हो कि भन्ने कुरामा रेजिडेन्टमार्फत स्पष्ट हुन चाहन्थे, उनी।

रेजिडेन्टले सम्मानको हकमा पहिले पाएसरह नै हुने र कोसेलीपात पनि केही लैजानु नपर्ने स्पष्ट पारिदिए। रेजिडेन्टले पाँच गोरखा रेजिमेन्टको एक जना गोरा कप्तानले लेखेको चिठी महाराजलाई पढ्न दिए।चिठीमा लेखिएको थियो– 'मलाई नेपाली पल्टनमा जागीर खान बहुतै मन लागेको छ, पहिलेदेखि हिमचिम भएकोले गोरखाप्रति मेरो ज्यादै माया ममता छ। तलब यतिउति भन्दिनँ जति दिए पनि मेरो मञ्जुरी छ।' पत्र पढिसकेपछि महाराजले ठाडै सीधै अस्वीकार गरिदिए, अंग्रेजलाई ल्याएर नेपाली फौजमा जागीर दिए यहाँ ठूलो विरोध हुनेछ भन्दै।

रेजिडेन्ट स्मिथले यो ब्रिटिश सरकारको राय मुताविक होइन, उनको व्यक्तिगत विचार हो, उनको गोरखालीप्रति ज्यादै मोहब्बत भएकाले यहाँ जागीर खान चाहेका हुन् भनेर जतिसुकै सिफारिश गरे पनि महाराजले मञ्जुर गरेनन्।स्मिथको तर्क थियो– नेपालीहरू ज्यादै शूरवीर भएबाट पहाडको युद्धमा उनलाई तालीम दिइरहनु पर्दैन, तापनि आफ्नो पल्टनलाई चुस्तदुरुस्त पारिराख्नका लागि लडाईंको गाह्रो–साँघुरो भोगेका युद्धमैदानमा लडेका, देखेका काविल मान्छे चाहिन्छन्। त्यस्ता केही मान्छेलाई पल्टनमा राख्नैपर्छ। रेजिडेन्टले कर्णेल रोजको भनाइलाई देखाएर प्रभाव पार्न खोजे पनि महाराज सहमत भएनन्।

रेजिडेन्टमध्ये उन्नाइसौं शताब्दीको अन्त्यमा आएका ब्रायन हड्सनले चाहिं यहाँ खुट्टै घुमाएर मनोमानी चलाएका थिए। उनले पढेलेखेकादेखि साधारण मान्छेसम्मलाई हातमा लिए। आठ–दश जनालाई त उनले गोप्य काम गर्न तलबै दिएर राखेका थिए। दरबारदेखि जनस्तरसम्म पहुँच बनाएका हड्सन साम, दाम, दण्ड, भेद प्रयोग गरेर यहाँको राष्ट्रवादी शक्तिलाई पन्साउँदै भेदनीतिको बीजारोपण गरेरै गए।

जंगबहादुरले अनेक तकल मिलाएर आफूखुशी गर्न नदिएर रेजिडेन्टलाई ठीक ठाउँमा ल्याउने प्रयत्न गरेका थिए। तैपनि तिनीहरूमध्ये कसैले कैद जस्तो भयो डुल्न फिर्न पाऊँ भन्ने, कसैले शिकार खेल्न जान पाऊँ भन्ने, कसैले देश भ्रमण गर्न खुला गरियोस् भन्ने, कसैले नेपालमा ब्रिटिशको तलबभत्ता खाने रिजर्भ पल्टन राख्न अनुमति दिइयोस् इत्यादि प्रस्ताव राख्थे। पछि पश्चिमोत्तरमा ककनी र पूर्वोत्तरमा नगरकोट घुम्न, रमिता हेर्न छूट दिइएको थियो। अहिले स्मिथले नेपाली फौजमा काविल अंग्रेज अफिसर भर्ना गरियून् भन्ने माग राखेका थिए।


सन् १९०७ नभेम्बर २५ तारिख मुतावीक ७३ साल मार्ग १० गते रोज १ का दिन दिउंसो३ बजे रजिडंट जेम्मानर्स साहेब सिंहदरबारमाप्राइभेट मुलाकात् गर्न आउंदा कुरा भयाको ....

(शिकारको र श्री ५ मुमा बडामहारानीको तीन धाम जाने कुरा पछि)

श्री ३– यो पाली म कलकत्ता जांदा भायेसरायेलाई तोफाको मालहरू ली जाउं की कसो, अघि सन् १९०४ मा लार्ड कर्जन साहेबसँग भेट् गर्न जादा ली गयाको थिईन. येही गर्नु पर्ला की अथवा अघिका प्राइमिनिष्टरहरू जानु हुँदाको सावीक झ्ै तोफाहरू साथ ली जाउ ...

रजि– लैजानु पर्दैन, अघी लार्ड कर्जनलाई भेट गर्न जानुहुंदा जस्तो हीसाबसंग जानुभयोथ्यो सोही हीसाबसंग जानु होला.....

श्री ३– आनर इत्यादि सबैकुरा पनि वहि बमोजिमै हुनेहोला

रजि– सो सबै लर्ड कर्जनलाई भेट गर्न जानुहुंदाको वखतमा झै हुनेछ यौटा ५ गोर्खा पल्टन्को कप्तानले मलाई लेखेको चीठी हेर्नुहवस्– (चीठी सबै पढी बक्सीयो. तेस्मा मलाई गोर्खालीहरूको साह्रै मोहबत् लाग्छ. नेपालको फौजको इलम गर्ने काममा नोकरी पाया यती उती तलब चाहींछ भंदीन जति भया पनि नोकरी कबुल गर्छु मैले अघीदेखि सीपाहीकै पेसा गरेको छु. सीपाही आफ्ना काममा मेरो तन् मन् गयाको छ भन्या मजबुनको चीठी रहेछ।)

श्री ३– (चीठी पढी सकी बक्सेपछि) यो कुरा मंजुर गर्न सक्दीन. अंग्रेजलाई ल्याई फौजको नोकरी दियें भने यांहाकाहरूले धेरै हौरा मचाउनेछन्–

रजि– यो चीठी नीज अफीसरले आफ्नै मुनासीवले लेखेको हो गोर्खाली सीपाहीमाथी नीजको वहुतै मोहवत रहेछ

श्री ३– मैले यो कुरा मंजुर गर्न सक्दीन

रजि– फौज बेस गरी तालीम हुनालाई कवाजको कीतावैको भरले मात्र हुँदैन. लडायी गरेका वा लडायी देखेकोले तालीम् गरे फौज बहुतै होसीयार हुंछ तर कर्नेल रोजले के भन्थे भने गोरखालीहरूलाई पहाडको लडायींमा उस्तो तालीम गर्नु पर्दैन आफ्नै जन्मैदेखी जान्ने जस्ता हुंदा रहेछन् भन्थे

रजि– तपायींसंग यक् जोडा मोहनाल् चरा छ की भया १ जोडा दीनु हुछ की श्री ३– होला (भन्या हुकुम् भै वरफवासमा चराहरू राखेको ठाउंमा पछि जानेवेलामा लगी देखाइ बक्सीयो. मोहनाल् रहेनछ. डांफेमात्र रहेछ)

रजि– डांफे १ जोडा पनि दीनुहुंछ की

श्री ३– हुन्छ पठाई दिंछु. मोहनाल् पनि झिकाई पठाई दीउंला

रजि– तपायींका सायरमाइनरहरूले लीने हतियारहरू १ सेट गभरमेंट इंडीयाबाट मागी पठायाको रहेछ सो १ सेट पाइएला की

श्री ३– हुन्छ पठाइ दिउला

comments powered by Disqus

रमझम