सही स्कूल छानौं

Share:
  
सयौं पूर्वप्राथमिक स्कूलमध्ये उपयुक्त छान्नु सजिलो पक्कै होइन।

तस्वीर: बिक्रम राई
स्कूलहरूमा धमाधम भर्ना खुल्दा शहरी अभिभावकहरू सन्तानलाई स्तरीय विद्यालयमा भर्ना गराउन स्कूलहरू धाउन, तिनका जानकारी पुस्तिका संकलन गर्न, पत्रपत्रिकामा प्रकाशित विद्यालयका विज्ञापन हेर्न र आफन्तसँग सल्लाह लिन व्यस्त छन्। अभिभावकहरूको यो धपेडी आफ्ना जेहेन्दार सन्तानका लागि राम्रो स्कूल छनोट गर्न हो।

केही दशकअघिसम्म हजुरबा/हजुरआमा, काका/काकी अनि ठूलोबुबाका छोराछोरी एउटै छानामुनि बस्ने चलन थियो। तर हिजोआज शहरिया अभिभावकसँग बच्चाका लागि त्यस्तो सुरक्षित थलो छैन। अधिकांश बाबुआमा दिनभर काममा व्यस्त हुँदा घरमा बच्चाको रेखदेख गर्ने कोही हुँदैनन्। प्रतिस्पर्धा अब्बल बनाउन औपचारिक शिक्षामा प्रवेश गर्नुभन्दा तीन–चार वर्षअघिदेखि घरमै बस्ने अभिभावकले पनि सन्तानलाई पूर्वप्राथमिक स्कूलमा पठाउन थालेका छन्। वृजवाटर स्कूलकी शिक्षिका दीप्ति आचार्य भन्छिन्, “शिक्षकमा धैर्य हुँदा मात्र बच्चाले चाहेको तरिका र मात्रामा आफ्ना विचार अभिव्यक्त गर्न सक्छ। त्यसका लागि उनीहरूलाई परीक्षण गर्न र अनुभव बाँड्न दिनुपर्छ।”

पूर्वप्राथमिक शिक्षा उच्च नाफामूलक व्यवसाय बनेकाले त्यसको लोभमा जो–कसैको छिमेकमा च्याउ उम्रेसरी पूर्वप्राथमिक स्कूलहरू खुलिसकेका हुनसक्छन्। जान्ने हो भने तीबाट उपयुक्त छान्नु त्यति गाह्रो छैन।

सन् १९८७ मा सीता सिंहले मिक्किज् इन्टरनेशनल स्कूल शुरू गर्दा काठमाडौं उपत्यकामा त्यस्ता अरू दुईवटा मात्रै पूर्वप्राथमिक स्कूल थिए। तर, गएको दशकमा यो संख्या कैयौं गुणा बढेको छ। सिंह भन्छिन्, “दर्ता प्रक्रिया सामान्य भएकाले जो–कोहीले सजिलैसँग पूर्वप्राथमिक स्कूल खोल्न सक्छन्। धेरैले यसलाई व्यवसाय नै बनाएका छन्।”

उच्चकोटिका अभिभावकहरूले पर्याप्त खेल्ने ठाउँ, सुरक्षित वातावरण र स्तरीय शिक्षकलाई पूर्वप्राथमिक स्कूल छनोटका प्रमुख आधार बनाउने गरेका छन्। तर बढ्दो प्रतिस्पर्धाका कारण धेरैजसो नयाँ पूर्वप्राथमिक स्कूलले गुणस्तरीय शिक्षाभन्दा पनि आकर्षक भौतिक संरचनामा ध्यान दिएको पाइन्छ। “स्कूलले जस्ता किसिमका कोर्सको प्रस्ताव राखे पनि अभिभावकले भर्ना गर्नुभन्दा पहिले त्यहाँ आफ्ना बच्चाका लागि बोझीलो हुने खालको पाठ्यक्रम छ कि छैन हेर्नु आवश्यक हुन्छ”, काव्य स्कूलका नवराज बास्कोटाको भनाइ छ।

शिक्षक/शिक्षिकाले तालीम पाए/नपाएको र पाठ्यक्रमबारे विचार पुर्‍याउनुपर्ने सिंहको सुझाव छ। अभिभावकले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय शिक्षक–विद्यार्थीको अनुपात हो। “सानो उमेरका बालबालिकालाई व्यक्तिगत हेरचाह आवश्यक हुन्छ। एउटा शिक्षकले एकै पटक धेरै बालबालिकामाथि ध्यान दिन सक्दैनन्”, सरिता इन्द्र पूर्वप्राथमिक स्कूल विराटनगरकी मधु राई भन्छिन्।

पूर्व प्राथमिक स्कूल भनेकै बालबालिकाले खेल्ने ठाउँ हो। जहाँ परम्परागत घोकन्ते शैलीको शिक्षणभन्दा फरक ढंगबाट अन्तरक्रियात्मक विधिद्वारा बालबालिकालाई अक्षर, अंक, रंग र आकारप्रकार सम्बन्धी आधारभूत कुराहरू सिकाइन्छ। गुरुकुल नेशनल स्कूलकी एकेडेमिक डाइरेक्टर विनिता शर्मा आफूहरूले व्यावहारिक ज्ञानसँगै बालबालिकाको संस्कार विकासमा पनि जोड दिएको बताउँछिन्। “बच्चाहरूलाई रटाएर होइन व्यावहारिक रूपमा सिक्ने वातावरण दिनुपर्छ”, उनी भन्छिन्, “त्यसैले योगालगायतका अतिरिक्त क्रियाकलापसहित व्यक्तित्व विकास पनि सिकाउँछौं।”

ओलम्पिया स्कूलका निर्देशक शिरीष खड्का आफूहरूले नेपालमै पहिलो पटक स्मार्ट क्लास सञ्चालनमा ल्याएको र त्यसबाट विद्यार्थीले खेल्दै पढ्न तथा पढ्दै खेल्न पाएकाले सिकाइ धेरै प्रभावकारी भएको बताउँछन्। कक्षामा रहेको स्मार्ट बोर्डको रिमोर्ट विद्यार्थीलाई दिइने हुँदा कुनै प्रश्नको जवाफ उनीहरूले रिमोर्ट थिचेरै दिनसक्छन्। “भौतिक सुविधाको अतिरिक्त हामी मनोवैज्ञानिक परामर्शदाताद्वारा विद्यार्थीको अवस्था जाँच गरी समस्या समाधान गर्छौं”, खड्का भन्छन्, “शैक्षिक सत्रको अन्त्यमा हामी प्रत्येक विद्यार्थीको शैक्षिक सर्टिफिकेटसँगै समग्र गतिविधिको डिजिटल सिडी प्रोफाइल बनाई अभिभावकलाई उपलब्ध गराउँछौं, त्यसले बालबालिकाबारे अभिभावकलाई सबै जानकारी हुन्छ।” ओलम्पिया स्कूल 'शून्य दण्ड' मान्यतामा चलेकाले विद्यार्थीले डर, त्रास तथा भयरहित वातावरणमा सिक्न पाउने उनको भनाइ छ।

केही पूर्वप्राथमिक स्कूलले विद्यार्थीमा विशेष क्षमता निर्माण गर्ने उद्देश्यले महत्वाकांक्षी पाठ्यक्रम विकास गरेका छन्। चार वर्षको बच्चाले दुनोट जानेन तर सामाजिक र भावनात्मक सीप तथा साथी बनाउन सिकेको छ भने चिन्ता लिनुपर्दैन भन्ने ती विद्यालयको सोच छ।

“बालबालिकामा सिक्ने क्षमता फरक खालको हुन्छ। त्यसैले एकैसाथ धेरै भार लिनुपर्‍यो भने सिकाइ प्रक्रियामा रमाउन सक्दैनन्”, मनोवैज्ञानिक शिक्षिका हिमा प्रधान भन्छिन्। यी विषयलाई ध्यानमा राखेर आफ्नो बजेट निर्धारण गर्ने, केही कक्षाको पढाइ बुझने र केही महत्वपूर्ण शिक्षकसँग कुराकानी गरेका आधारमा राम्रा तीन वटा पूर्वप्राथमिक स्कूल छान्न सकिन्छ।

पूर्वप्राथमिकको तयारी

धेरैजसो स्कूलले इटालियन चिकित्सक एवं शिक्षक मारिया मन्टेसरीद्वारा विकास गरिएको मन्टेसरी पाठ्यक्रम पछ्याएका छन्। तर प्रिमियर इन्टरनेशनल पूर्वप्राथमिक स्कूल र यूलेन्स जस्ता अन्तर्राष्ट्रिय 'ब्याक्कालुरेट किन्डरगार्टेन' कार्यक्रमबाट सम्बन्धन पाएका केहीले भने निश्चित क्रियाकलाप समेट्ने छुट्टै पाठ्यक्रम तयार पारेका छन्।

प्रिमियर इन्टरनेशनलकी पवित्रा लिम्बूका अनुसार, “स्वयंसेवी रूपमा नेपाल बसेका विदेशीहरू आफ्ना बालबालिकालाई अन्तर्राष्ट्रिय 'ब्याक्कालुरेट किन्डरगार्टेन' मा राख्न चाहन्छन्। जसले गर्दा अभिभावकहरू बसाइँ सरेर एक देशबाट अर्को देशमा जाँदा पनि बालबालिकालाई भर्ना गर्न सजिलो हुन्छ। नेपाली अभिभावकहरू उच्च शुल्क तिरेर भए पनि आफ्ना सन्तानलाई विश्वव्यापी रूपमा बिकाउ शिक्षा दिन लालायित छन्।

यस्ता कार्यक्रमले बालबालिकालाई सामाजिक र भावनात्मक आधार दिने मात्रै नभई प्राथमिक र माध्यमिक तहमा अघि बढ्नका लागि सहयोगी हुने गरेको अध्ययनले देखाएको छ। गाउँका अभिभावकले आफ्ना सन्तानलाई काठमाडौंको जस्तो सुविधा दिन नसक्ने हुँदा सरकारले पूर्वप्राथमिक विद्यालय विस्तारमा ध्यान दिएको छ। यसका लागि ७५ वटै जिल्लामा ३० हजारभन्दा बढी बाल विकास केन्द्र खोलिसकेको छ।

जाँच्ने तरिका

फर्म भर्नुअघि विद्यालयको भ्रमण गरी समग्र वातावरण बुझ्ने।

खेल्नका लागि सुरक्षित इन्डोर र आउड डोर भए/नभएको निश्चित गर्ने।

स्तरीय शिक्षकहरू भए/नभएको निश्चित गर्ने।

घर वा कार्यालय नजिकको स्कूल छनोट गर्ने। शौचालयको अवस्थाबारे ध्यान दिने।

स्कूलबस वा भ्यानमा विद्यार्थीलाई कसरी राखिएको छ र स्टाफले ख्याल गरे/नगरेको विचार गर्ने।

आत्मविश्वास, आत्मबल विकास र बालबालिकाबीच सिक्न मनपराउने खालको पाठ्यक्रम भएको विद्यालयमा ध्यान दिने।

comments powered by Disqus

रमझम