गरीबी निवारणमा उल्लेखनीय प्रगति

Share:
  

पाँच प्रतिशत भन्दा न्यून आर्थिक वृद्धि र अति सुस्त प्रतिव्यक्ति आय वृद्धिका बाबजूद नेपालले गरीबी न्यूनीकरणमा पछिल्ला दिनमा हासिल गरेको उपलब्धि सराहनीय छ। वास्तविक गरीबी मापन गर्ने विश्व ब्याङ्कको प्रति दिन सवा डलरको आम्दानी मापदण्डमा आधारित गरीबी २००३ को ५३.१ प्रतिशतबाट झ्रेर सन् २०१० मा २४.८ प्रतिशतमा झ्रेको छ। यसैगरी २०११ को नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार नेपालमा २४.२ प्रतिशत गरीब छन्। २००४ मा गरिएको अघिल्लो सर्वेक्षणमा कुल जनसंख्याको ३०.८ प्रतिशत गरीब भएको देखिएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेण्ट इनिसियटिभ (ओपीएचआई) द्वारा जारी बहुआयामिक गरीबी सूचक (एमपीआई)–२०११ ले पनि नेपालमा गरीबीको स्तर कम हुँदै गएको देखाएको छ। एमपीआई–२०११ का अनुसार ४४.२ प्रतिशत जनता गरीब छन् जुन, २००६ मा ६४.७ थियो। एमपीआई–२०११ का अनुसार नेपाल प्रति वर्ष ४.१ प्रतिशतका दरले गरीबी घटाउन सफल छ। एमपीआई, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा आधारित छ। शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायत विभिन्न दश सूचकमा आधारित एमपीआईका आधारमा नेपाल गरीबी न्यूनीकरणतर्फ विश्वकै उत्कृष्ट प्रगति गर्ने मुलुकहरूमा परेको छ।

बहुआयामिक गरीबीको क्षेत्रगत वर्गीकरण देखाइएको प्रस्तुत चार्ट अनुसार पश्चिमाञ्चलमा सबैभन्दा थोरै (३३.४ प्रतिशत) जनसंख्या गरीब छन् भने सर्वाधिक मध्यपश्चिमाञ्चलमा ५९.१ प्रतिशत।

बहुआयामिक गरीबीलाई उपक्षेत्रगत रूपमा हेर्दा अझै चाखलाग्दा तथ्य उजागर हुन्छ। जसअनुसार मध्यपहाडी क्षेत्रमा गरीबी न्यून २९.३ प्रतिशत र पश्चिमी हिमाली क्षेत्रमा सबैभन्दा बढी ७१.४ प्रतिशत भएको देखिन्छ। त्यस्तै पश्चिम तराई, पश्चिम पहाड, पूर्वी तराई र मध्य तराई क्षेत्रको बहुआयामिक गरीबी मात्रै राष्ट्रिय बहुआयामिक गरीबी ४४.२ प्रतिशत भन्दा तल छ भने पश्चिम हिमाल, मध्य–पश्चिमको पहाडी क्षेत्र तथा सुदूरपश्चिमको पहाडी क्षेत्रको माथि छ।

बहुआयामिक गरीबी मापनबाट प्राप्त महत्वपूर्ण तथ्यांक भनेको नेपालको तराई क्षेत्रमा घटेको गरीबी हो। गरीबीको न्यून दर भएका उच्च तीन क्षेत्रहरूमा पर्ने पश्चिम तराई, सुदूरपश्चिम तराई र पूर्वी तराईमा २००६ देखि २०११ को बीचमा २८ प्रतिशतले भन्दा बढीले गरीबी घटेको छ। गरीबीमा देखिएको उच्च गिरावटले बढ्दो रेमिट्यान्स आप्रवाह, व्यापारिक गतिविधि, लगानी तथा तुलनात्मक रूपमा राम्रो आधारभूत सेवालाई प्रतिबिम्बित गर्छ।

अब प्रश्न उठ्छ, नेपालमा गरीबी उच्च दरमा घट्नुमा केको योगदान छ त? अध्ययन अनुसार सम्पत्ति स्वामित्वमा भएको वृद्धिको सर्वाधिक योगदान छ। यसपछि विद्युत् सुविधा उपभोग गर्ने घरधुरीको संख्यामा भएको वृद्धि, राम्रो सरसफाइ एवं पोषणस्तरको बढोत्तरीले काम गरेको छ। र, यी सबैमा भएको सुधारका पछाडि रेमिट्यान्सले मुख्य भूमिका खेलेको छ। नेपालका ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स भित्र्याउँछन्। यस्तै ग्रामीण क्षेत्रमा बन्दै गरेका बाटाघाटाहरूले सम्पत्तिको स्वामित्व बढाउँदै लगेका छन्। सँगै सडकले उत्पादन क्षेत्र र बजारलाई जोड्दै वस्तुको मूल्य घटाउन सहयोग गरेको छ भने ग्रामीण ज्यालादरमा पनि वृद्धि गराएको छ। यसका अलावा वैदेशिक सहयोग एवं अनुदानका कारण बढेको सामाजिक खर्च, सक्रिय नागरिक समाज र घरायसी तथा राजनीतिमा समेत महिलाहरूको सहभागिता बढ्नु पनि गरीबीको दर घट्नुको कारण हुनसक्छ।

गरीबी न्यूनीकरणमा देखिएको उल्लेखनीय प्रगतिलाई कसरी जोगाउने? अबको यक्ष प्रश्न यही हो। यसका लागि नेपालले रेमिट्यान्स, सामाजिक खर्च तथा दाताहरूको सहयोग एवं अनुदानमा मात्रै भर पर्नुहुँदैन। गरीबीलाई आर्थिक वृद्धि र रोजगारी दर जस्ता आर्थिक सूचकसँग जोड्न सक्नुपर्छ। गरीबी न्यूनीकरणलाई दीर्घकालीन बनाउनका लागि अर्थतन्त्रमा देखिएका संवेदनशील समस्याहरू जस्तै पूर्वाधार अपर्याप्तता, राजनीतिक अस्थिरता, श्रम समस्यालाई समाधान गर्दै आर्थिक वृद्धितर्फ लम्कनुपर्छ। बलिया आर्थिक पूर्वाधारसहितको उच्च आर्थिक वृद्धिले नै आम मानिसको आय वृद्धि गर्छ र श्रम बजारमा नवप्रवेशीहरूलाई रोजगार सृजना गर्न सक्छ। यससँगै पारिवारिक सामाजिक खर्च र राम्रो पोषण उपलब्ध हुनेछ र मुलुक दीर्घकालीन रूपमा नै गरीबी न्यूनीकरण गर्न सक्षम हुनेछ।

comments powered by Disqus

रमझम