यौन मनोविज्ञानको कथा

Share:
  

यायावर

लेखकः ब्रजेश

प्रकाशकः अर्किड बुक्स

पृष्ठः २०९+११,

मूल्यः रु.२९५ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें। अतृप्त, असफल, अपूर्णको कुशल पूर्णचित्र। (कतै हाम्रा) राजनीतिक सम्बन्ध वैकुण्ठको बिहेझै यौन पूर्णता नपाएका त भएनन्, जसबाट नयाँ जन्मँदैन?”

खारिएका र संयमित राजनीतिज्ञ आचार्यले यायावर को मुख्य पात्रको अतृप्त जीवनमा नेपाली राजनीतिको झ्ाल्को देखे र ट्वीट गरे। त्यत्तिका गहकिला व्यक्तिले एउटा उपन्यासका बारेमा एकै वाक्य लेखे पनि लाख हुन्छ। एकजनाले त यस पङ्क्तिकारसित भने नै, “अरूका कुरा सुन्दा फरक छवि बनेको थियो मनमा, नीलाम्बरजीको ट्वीट पढेपछि यायावर किनें।”

नेपाली उपन्यासलाई पाठकका हातमा पुरुर्‍याउने सचेत र सङ्गठित प्रयासको कुरो उठ्दा पल्पसा क्याफे को नाम छुटाउन मिल्दैन। पत्रपत्रिकामा त्यसरी नै विज्ञापन गर्न सबैले नसके पनि सामाजिक सञ्चार र अन्य माध्यममा किताबहरूको प्रचार गर्ने क्रम अझ् बढेको छ। किन हो, कतिलाई त्यो कुरा मन नपरेको देखिन्छ तर केही व्यक्तिहरू भने आक्रामक विज्ञापनले कुनै खास किताबलाई मात्र होइन मुलुकमै पठन संस्कृति हुर्काउन बल पुग्छ भन्ने सोच्छन्। ब्रजेश पनि अहिले ट्वीटरका नाङ्लामा आफ्नो किताब फिंजाएर बसेका जस्ता देखिएका छन्। उनको नाङ्लामा के छ त?

यायावर मूलतः यौन मनोविज्ञानको कथा हो तर, यौन उपन्यास होइन। धादिङको कुनै गाउँमा जन्मे–हुर्केको विवाहित पात्र वैकुण्ठ पचास वर्ष पुगिसक्दा पनि कुमार छ। उसमा यौनको चाहना र क्षमता दुवै छ तर पनि ऊ सम्भोग गर्न सक्दैन। झ्ाण्डै पत्यार नलाग्दा प्रसङ्गहरूबाट अघि बढेको उसको कथा तर्कपूर्ण र पत्यार लाग्दो हुँदै जान्छ र पाठक मुख्य पात्र (र, अझ् बढी त उसकी 'लो प्रोफाइल' पत्नी) प्रति सहानुभूतिशील हुँदै जान्छ। कालो राम खलनायक हो, तर त्यसभन्दा पनि ठूलो खलनायक यौन सम्बन्धलाई दिइएको अति र अनावश्यक महत्व हो। त्यसो नभएको भए निर्दोष जुनेलीमा आत्मघाती अपराधबोध हुने थिएन र यस्ता उपन्यासको आवश्यकता पनि पर्ने थिएन। अन्त्यमा भन्नै कर लाग्छ, ब्रजेशले यौन मनोवैज्ञानिक आख्यानमा एउटा खाँबो गाडेका छन्।

तर यायावर त्यति मात्र पनि होइन। एउटा पचास वर्षको मान्छेले नापेको करीब चालीस वर्षको टाइम लाइनलाई पनि यसले न्याय गरेको छ। वैकुण्ठले किशोरावस्थामा देखेको २०३६ सालताकाको काठमाडौंको सामाजिक र राजनीतिक चित्रण एकदमै सजीव छ। यायावर ले देखेको केशरप्रसाद नामक पात्रको घरको व्यवस्था र बिहे हुन नसकेकी छोरीको अवस्था प्रकारान्तरले दोहोरिइरहने उपकथाहरू हुन्। मान्छेमा चोखोपनको दम्भ कहिले जातको हुन्छ, कहिले अरू नै कुराको। तर मान्छेलाई लाग्ने भोकको स्वभाव सधैं एउटै हुन्छ। पाठकले त्यसका फ्रेममा आफूले देखे–चिनेका अरू कथाहरूलाई ठ्याक्कै जडान गर्न सक्छन्।

सिनेमा लेखनको लामो अनुभवले ब्रजेशको लेखनमा दृश्यात्मकता थपेको छ। कहीं त्यो 'अति' पनि छ। “झ्यालको कुनै छिद्रबाट छिरेको घामले भित्तामा एउटा सानो उज्यालो बनायो। त्यसमा पारिपट्टिको घरको चित्र देखियो, उल्टो।” यसको एउटा उदाहरण हो। बक्स क्यामेराको सिद्धान्त यही हो, चाहँदा सिनेमामा देखाउन सकिने कुरा हो। तर यथार्थमा त्यस्तो हुँदैन भन्ने कुरा लेखकले बिर्सेका छन्। उपन्यासको थालनी बिल्कुल फिल्मी छ। अनावश्यक रूपमा दोहोरिने 'ननभेज शाकाहारी' ठट्टाले उपन्यासलाई त्यस्तै हलुका पारेर लैजाने हो कि भन्ने डर हुन्छ तर पछि त्यो पनि हराएर जान्छ।

उपन्यास छाडा छैन तर छाडा शब्द र आशयहरूको भने यथेष्ट प्रयोग भएको छ। त्यसैले होला, गम्भीर पाठक शिवानी सिंह थारूले लेखिन्, “स्याँफ्याँ गर्दै यायावर किन्न गएँ। पढें। पढ्दादेखिनको अहिलेसम्म अनुहारमा उरन्ठ्याउलो मुस्कानको राज्य चलिरा'छ। धन्न आमाले अर्थ लाउन सक्दिनन्।”

केदार शर्मा

comments powered by Disqus

रमझम