१२-१८ असार २०७३ | 26 June - 2 July 2016

विद्यार्थी लीला

Share:
  

रामेश्वर बोहरा

पहिलो संविधानसभाको कार्यकालमा संविधानसभासँगै व्यवस्थापिका–संसद्भित्र आशलाग्दो र प्रभावकारी उपस्थिति देखाएकी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) की युवानेतृ, पूर्व सभासद्/सांसद् लीला न्याइच्याईं (३६) असार पहिलो साता चीनको कुन्मिङस्थित युनान विश्वविद्यालयमा भेटिइन्। दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका पत्रकारमाझ्ा विश्वविद्यालयले गरेको छलफलमा चिनियाँ र अंग्रेजी दुवै भाषामा पत्रकारको जिज्ञाशा मेटाएकी लीला युनान विश्वविद्यालयमा विद्यावारिधि गर्दै रहिछन्। “राजनीतिबाट केही समय विश्राम लिएर विद्यार्थी भएकी छु” उनले हिमाल सँगको संक्षिप्त भेटमा भनिन्, “अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्दैछु।”

हिंसात्मक विद्रोह छाडेर माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि गठन भएको अन्तरिम व्यवस्थापिका–संसद् र पहिलो संविधानसभाको सदस्य बन्नु लीलाको राजनीतिक जीवनकै 'सरप्राइज' थियो। पहिलोपटक सभासद् बन्नुअघि २५ वर्षीया लीला भक्तपुरको बालविकास माविमा पढाउँथिन्। नारायणमान विजुक्छे (रोहित) समूहका कार्यकर्ता बुबा बद्रीको प्रभावले ६ कक्षा पढ्दादेखि मावि स्तरीय विद्यार्थी संगठन 'विद्यार्थी हित समिति' मा आबद्ध भएकी, २०५४ मा भक्तपुर बहुमुखी क्याम्पसमा नेमकिपा सम्बद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संगठनबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लडेकी र २०५५ मा संगठनको केन्द्रीय सदस्य बनेकी लीलाको राजनीतिक पृष्ठभूमि सक्रिय तर सामान्य कार्यकर्ताको मात्र थियो।

संविधानसभा–व्यवस्थापिकामा रहँदा लीला उदाउँदो राजनीतिकर्मीका रुपमा परिचित बनिन्। विद्यावारिधिको लक्ष्य पनि उनको अर्को 'सरप्राइज' हो त? त्रिभुवन विश्वविद्यालयबाट लाइब्रेरी साइन्समा सर्वोत्कृष्ट हुँदै स्नातकोत्तर गरेकी लीला भन्छिन्, “यो त सरप्राइज कसरी हुनु, म एक वर्षदेखि यहाँ पढिरहेकी छु।”

अर्थशास्त्र र अंग्रेजी साहित्यकी विद्यार्थी लीलाको रोजाइमा पीएचडीका निम्ति आर्थिक महाशक्ति बन्ने बाटोमा अघि बढेको चीनकै विश्वविद्यालय पर्नु र विषय पनि अन्तर्राष्ट्रिय सम्बन्ध छान्नु नेपालको भूराजनीतिलाई गहिराइमा पुगेर बुझ्ने प्रयास हुनसक्छ। राजनीतिलाई नै लक्ष्य बनाएकी लीला त्यसबाट अलग रहन चाहन्नन्।

रामेश्वर बोहरा


अभ्यासी अमित

मेरुदण्डको ट्युमर निकाल्न गरिने शल्यक्रिया सहज र कम खर्चिलो बनाउने विधिको सफलतापूर्वक प्रयोग गरेको भन्दै नेपालका न्यूरो सर्जरी विशेषज्ञ डा. अमित थापा (३८) पुरस्कृत भएका छन्। वर्ल्ड स्पाइनल कोलम सोसाइटीद्वारा गत वैशाखमा भारतको गुडगाँवमा आयोजित 'वर्ल्ड स्पाइन सेभेन' सम्मेलनमा थापाले उपलब्धि हासिल गरेका हुन्।

सम्मेलनमा थापाले हड्डी उठाएर ट्युमर निकालिने शल्यचिकित्साबाट धेरै हड्डी काटेर फाल्नुपर्ने, बिरामीलाई पीडा र खर्च पनि बढी हुने उपचारको साटो सानो प्वाल बनाई त्यहींबाटै ट्युमर निकाल्नु धेरै फाइदा हुनेबारे कार्यपत्र प्रस्तुत गरेका थिए। थापाको यो कार्यपत्र सम्मेलनमा प्रस्तुत कार्यपत्रमध्ये प्रथम ठहरिएको थियो।

“सानो प्वाल बनाएर पनि हड्डीको ट्युमर निकाल्दा बिरामीलाई धेरै फाइदा हुन्छ”, धापासीस्थित ग्राण्डी इन्टरन्यासनल हस्पिटलका न्यूरो सर्जरी विशेषज्ञ डा. थापा भन्छन्। “शल्यक्रियापछि स्क्रु राख्ने झन्झट हुँदैन, बिरामी दोस्रो दिनमै घर जान सक्छन्।”

भैरहवा घर भएका र अल इण्डिया इन्ष्टिच्यूट अफ मेडिकल साइन्सबाट न्यूरो सर्जरीमा एमसीएच गरेका डा. थापा अहिले छारे, पार्किन्सस् लगायतका रोगलाई शल्यक्रिया मार्फत उपचार गर्ने विधिको खोजी गरिरहेका छन्। “बिरामीलाई सहज र कम खर्चिलो बनाउन मेरो अध्ययन केन्द्रित छ”, काठमाडौं मेडिकल कलेजको न्यूरो सर्जरी विभाग प्रमुख समेत रहेका उनी भन्छन्।

रामु सापकोटा

comments powered by Disqus

रमझम