२५ चैत्र २०६९ | 7 April 2013

हजुरबुबालाई अन्तिम बिदाइ

Share:
  
- चन्द्रमाया खरेल
भुटानबाट नेपालको शरणार्थी शिविरहुँदै अमेरिका पुगेका हजुरबुबालाई अन्तिम बिदाइ गर्दा हाम्रो दिमाग र मन झण्डै रित्तो भए।

९ मार्च २०१३, अमेरिकी शहर लुइभेलको चिसो बिहान। सधैंभन्दा आज मेरो लागि फरक परिस्थिति भएकाले 'मर्निङ वाक्' गइनँ। घरमा पाठपूजा लगाउँदै हामी ९४ वर्षीय हजुरबुबा नन्दलाल खरेलको अन्तिम क्षण पर्खंदै छौं।

चिकित्सकहरू भन्छन्, “उहाँ अब सदाका लागि हामीलाई छाडेर जाँदै हुनुहुन्छ, संभवतः भोलि बिहानसम्म।”

पुराना सम्झ्ना

हजुरबुबा मृत्युशैच्चयामा हुनुहुन्छ, मेरो दिमागमा भने भुटान, त्यहाँदेखि नेपालसम्मको यात्रा र नेपालको करीब १८ वर्षे शरणार्थी जीवन सिनेमाको रिल जस्तै घुमिरहेका छन्। प्रजातन्त्र प्राप्तिका लागि भुटानमा संघर्ष शुरू हुनासाथ राज्यको आँखामा पर्नुभएका बुबा नरपति एकाएक बेपत्ता हुनुभयो। सेनाले गोली ठोकेका र महिलाहरूलाई बलात्कार गरेका समाचारहरू सुनिएकै बेला गाउँमा दिनदिनै सेना घुम्दा डरले सीमा नाघ्थ्यो। म आमाको सुरक्षाका लागि चिन्तित हुन्थें भने आमा मेरो लागि। तर, त्योभन्दा बढी चिन्ता हामीलाई बुबाकै हुन्थ्यो। बेलुकी भएपछि बुबाको सम्झ्नामा उहाँको कमिजलाई अँगालो मार्दै यहाँ बुबाका हात, जीउ हुन्थ्यो भन्दै म रुन्थें। त्यसपछि घरमा रुवावासी मच्चिन्थ्यो।

एक दिन आएको बुबाको चिठी हाम्रो लागि आशाको किरण बन्यो र त्यसैलाई पछ्याउँदै हामी भुटानको अथाह सम्पत्ति छाडेर हिंड्यौं। भारत आएपछि बुबासँग भेट भयो, त्यो हाम्रा लागि सबैभन्दा खुशीको क्षण थियो। सन् १९९२ को त्यो बेला उहाँ, हजुरबुबा र परिवारसहित ९० हजार भुटानी शरणार्थी जस्तै हामी नेपाल पुग्यौं।

नेपालको शरणार्थी जीवनमै हामीले हजुरआमालाई गुमाएपछि हजुरबुबा एक्लो हुनुभयो। हजुरबुबाले हजुरआमालाई असाध्यै सम्झ्ँदाका क्षण मेरा लागि पीडादायक र हृदयस्पर्शी बन्थे। शरणार्थी जीवनमै मेरो विद्यालय र कलेजको अध्ययन पूरा भयो। यही क्रममा भुटानी शरणार्थीहरूका लागि तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भयो र हामी वृद्ध हजुरबुबालाई डोर्‍याउँदै अमेरिका आयौं।

हजुरबुबाको बिदाइ

५ मार्चमा पूजापाठ गरिसकेपछि हजुरबुबालाई असजिलो महसूस भएको थियो। घरमा भएका प्राथमिक स्वास्थ्य जाँच्ने यन्त्रले मैले तत्कालै उहाँको सामान्य जाँच गर्दा शरीरमा अक्सिजनको मात्रा कम देखियो भने रक्तचाप सन्तुलित थिएन। त्यसपछि आकस्मिक सेवामा फोन गर्दा तुरुन्तै एम्बुलेन्स आयो। उनीहरूले तत्कालै हजुरबुबालाई अस्पताल पुर्‍याए। अनि, दमको रोगी हजुरबुबाको स्थिति गम्भीर रहेको बताए। उहाँको फोक्सोले कार्वनडाइअक्साइड बाहिर कम फालेकाले उनीहरूले फोक्सोमा पाइप हाल्ने कि भने पनि मामाघरका हजुरआमाको त्यही विधि अपनाउँदा असफल भएकाले हामीले मानेनौं।

त्यसपछि चिकित्सकहरूले उपचार अन्त्य भएको घोषणा गर्दै उहाँलाई आराम दिन अक्सिजनको मात्रा घटाए। अनि, कुनै धार्मिक विधि छ भने गर्नुहोस् भनेपछि अस्पतालमै हामीले पुरेत लग्यौं र वैतरणीलगायत विधि गरायौं। अस्पतालले मृत्यु पर्खिरहेकालाई राख्ने हस्पिसमा सम्पर्क गरेपछि हाम्रा अघि दुई विकल्प आए, हस्पिसमा पठाउने या घर लैजाने। हामीले घर लैजाने निर्णय लियौं। तर, घरमै पनि उहाँको जिम्मा हस्पिसले नै लियो।

भुटानबाट नेपालमा शरणार्थीहुँदै अमेरिका आइपुग्ने शरणार्थीमध्ये हजुरबुबा नै सबैभन्दा ज्येष्ठ हुनुभएकोले त्यहाँ वरिपरि रहेका ३० घरका नेपालीको भीड उहाँलाई हेर्न लाग्ने नै भयो। अपरान्ह धार्मिक विधि चलिरहँदा हजुरबुबा बित्नै लागेको खबरले रुवावासी शुरू भयो। तर, त्यो बेलालाई दुखद् नबनाउन छिमेकीहरूले कीर्तनलाई चर्काे बनाए पनि हजुरबुबाको मृत्यु टरेन।

हस्पिसका चिकित्सकले पनि मृत्युको घोषणा गरेपछि हामी भोलिपल्टको अन्त्येष्टि पर्खिन थाल्यौं। भोलिपल्ट हामी हजुरबुबाको अन्त्येष्टिका लागि समय लिन स्थानीय फ्यूनरल होम पुग्दा इन्द्रचोकमा किनिएको नेपाली ढाकाको दौरा–सुरुवाल र टोपी लगाएको हजुरबुबाको शव बक्समा राखिएको थियो। यो फ्यूनरल होम चर्च नै भए पनि उनीहरूले हिन्दू विधि गर्न सहयोग पुर्‍याए। दुईहजार डलर (करीब रु.१ लाख ७४ हजार) तिरेपछि अन्त्येष्टिका लागि हामीले त्यही दिउँसो ४ बजे समय पायौं।

आउनेहरूले श्रद्धाञ्जली दिएपछि हजुरबुबाको शव चर्चको गाडीमा राखियो। शवयात्रा मुख्य सडकमा नपुग्दासम्म एकोहोरो शंख बजिरह्यो भने शवयात्री चढेका २५० जति गाडीमा शवयात्रा जनाइने झ्ण्डा राखिएको र आकस्मिक अवस्था जनाउन बत्ती बालिएकाले सडकमा सबैले बाटो छाडे। त्यहींको विद्युतीय शवदाह गृहमा शवयात्रा पुगेर केही घण्टाको धार्मिक विधि सकिएपछि हजुरबुबाको शव राखिएको बाकस बन्द गरियो र विद्युतीय शवदाह गृहभित्र राखियो। यसरी, केही मिनेटमै हामीले हजुरबुबालाई अन्तिम बिदाइ गर्‍यौं।

comments powered by Disqus

रमझम