२५ चैत्र २०६९ | 7 April 2013

महावीर क्याफेको स्वाद र सेवा

Share:
  

रेड वाइन ग्रिल चिकन

म्याग्दीका दुर्गम गाउँमा ताररहित इन्टरनेट सेवा पुर्‍याएर प्रतिष्ठित म्यागासासे पुरस्कार पाएका महावीर पुनले केही साथीहरूको सहयोगमा काठमाडौंको ठमेलस्थित सगरमाथा कम्प्लेक्समा खोलेको क्याफे बौद्धिक जमघटको थलो बनेको छ। महावीर सेन्टर फर नेपाल कनेक्सन क्याफे मा ताररहित वेबक्याम प्रविधिबाटै अन्नपूर्ण र धौलागिरि हिमश्रृंखलाको ताजा दृश्य हेर्दै परिकारहरूको स्वाद लिन पाइन्छ।

६ महीनाअघि खुलेको यो क्याफेमा नेपाली र कन्टिनेन्टल खाना तथा इटालियन लाभाजा कफीको स्वादमा पारखीहरू लोभिन थालिसकेका छन्। म्याङ्गो स्वीट र स्पाइसी चटपटे स्वादको मेक्सिकन परिकार 'नाचोस विथ म्याङ्गो साल्सा' यहाँको चल्तीको परिकारमा पर्छ। चिकन, पोर्क र विफमा अर्डर अनुसार चिप्स क्रनसहित पाइने यो परिकारको स्वाद बिल्कुलै भिन्न छ। विभिन्न मसलाहरू एक घण्टासम्म मिक्स गरेर बनाइएको सस र पोट वाइनको घोलसहितको 'रेड वाइन ग्रिल चिकन' अर्को फरक स्वादको परिकार हो। त्यस्तै कफी फ्लेवरमा उपलब्ध इटालियन स्वादको 'कफी स्पागेटी'ले पनि जिब्रोको स्वाद फेर्छ भने कटेज चिजलाई ग्रिल गरेर लेमन ड्रेसिङ गरिएको 'फार्म हाउस भेज सलाद' ग्राहकले रुचाएको डिसमा पर्छ। रु.१०० देखि रु.६०० सम्मका परिकार रहेको मेनुमा 'बियर कार्ट्ड ओनियन', 'गार्लिक फ्राइज', 'क्रिस्पी चिकन बर्गर', 'पोर्क चप' आदि स्वादिला परिकार समेटिएको छ।

खानेकुरा बेच्नु मात्र हैन, काठमाडौंमै जन्मे–हुर्केका वा बाहिरबाट आएर बसेकाहरूलाई गाउँघरबारे जानकारी दिन र विदेशी पर्यटकलाई घुमघामसँगै नेपालमै केही गर्छु भन्ने भावना जगाउनु क्याफेको उद्देश्य रहेको महावीर बताउँछन्। अर्थात्, यी सबैथरीका लागि 'कनेक्सन प्वाइन्ट' हो यो रेस्टुरेन्ट।

म्याग्दीको मोहरे, खोप्रा र जोमसोममा जोडिएको अत्याधुनिक वेबक्यामले क्याफेको भित्ताको स्त्रि्कनमा दृश्य देखाउँछ। यो क्याफेमा गएर 'लाइभ' हिमाली दृश्य हेर्दै खाइदिए मात्रै पनि महावीरको सत्कार्यमा होस्टेमा हैंसे हुनेछ।

अनुशील

नाचोस विथ म्याङ्गो साल्सा रु. ३५०

रेड वाइन ग्रिल चिकन रु. ५००

कफी स्पागेटी रु. ३५०

फर्म हाउस भेज सलाद रु. २५०

बियर कार्ट्ड ओनियन रु. १५०

गार्लिक फ्राइज रु. १२५

क्रिस्पी चिकन बर्गर रु. ३५०

पोर्क चप रु. ५५०

सम्पर्क फोन : ९८४१३२३७५४

comments powered by Disqus

रमझम