१ वैशाख २०७० | 14 April 2013

सही नेता छानौं

Share:
  

हिमाल (२५ चैत) मा प्रकाशित 'मिथिलामा माफियाराज' शीर्षकको समाचार पढेपछि चुनावमा मतदाताले सही छनोट नगरे भोलिका दिनमा अनेक समस्या आउने निश्चित छ। गुण्डागर्दीमा संलग्नहरूलाई जनताले चुनेर पठाएपछि कसरी समाजको विकास हुन्छ?

रमेश साहनी, इमेलबाट

मंगलालाई सलाम

हिमाल (२५ चैत) मा प्रकाशित एचआईभी नियन्त्रणमा मंगला शीर्षकको समाचार पढेपछि उनको समाजसेवालाई मनैदेखिको सम्मान! सँगै बस्दा र सँगै खाँदैमा एचआईभी सर्दैन भन्ने जान्दाजान्दै पनि शिक्षित भनाउँदाहरूले पनि संक्रमितलाई घृणाका दृष्टिले हेर्ने गरेका छन्। विद्यालयमा अध्ययनरत एचआईभी एड्स भएका निर्दोष बालबालिकालाई निष्कासित गरेको समाचार आइरहेका बेला संक्रमितहरूको सेवामा जुटेकी मंगलादेवीको समाजले कदर गर्नै पर्छ।

मिलन बम, इमेलबाट

प्रशंसनीय काम

हिमाल (२५चैत) मा प्रकाशित 'ललितपुरबाट शुरू भो' शीर्षकको सकारात्मक शैक्षिक समाचारका लागि हिमाल लाई धन्यवाद। गुणस्तरीय विद्यार्थी उत्पादनले सिंगो मुलुकको विकासमा टेवा पुर्‍याउने निश्चित छ। सामाजिक सेवाका लागि 'टिच फर नेपाल'ले गरेको प्रयासले राम्रा शिक्षकको अभावमा विद्यार्थीले भोग्नु परेका समस्या समाधानमा ठूलो मद्दत पुग्नेछ।

मिलन पौडेल, इमेलबाट

हाम्रो दुर्भाग्य

हिमाल (२५चैत) मा प्रकाशित पाइँदैनन् गाई शीर्षकको समाचार पठनीय लाग्यो। उन्नत नश्लको गाई समेत नपाइने मुलुकलाई कृषिप्रधान भन्न सुहाउँदैन। उन्नत जातको गाई पालन तथा बीउविजन प्रयोग नहुँदा उल्लेख्य उपलब्धि हुनसकेको छैन। उन्नत नश्लका गाई तथा कृषि प्रविधिमा परिवर्तन गराउन नसकिएसम्म मुलुकको समग्र कृषि प्रणालीमा सुधार आउन सक्दैन।

शशि भट्टराई, इमेलबाट

यथार्थपरक अवस्था

हिमाल (२५ चैत) मा प्रकाशित 'बालविवाह दोष टिभीलाई' शीर्षकको समाचारले नेपालको वास्तविकता दर्साउँछ। सानैमा विवाह गरी बच्चा जन्माउँदा धेरै महिला प्रजनन् स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित छन्। जनचेतनाको अभावमा महिलाले थुप्रै समस्या भोग्नु परेको छ। यस्ता समस्याले आमा र बच्चा दुवैको ज्यान जोखिममा पारेको छ।

लक्ष्मी चौलागाई, इमेलबाट

खेलाडीलाई हौसला

हिमाल (१८चैतमा) प्रकाशित 'खेलेरै गाडी' शीर्षकको समाचारबाट अरू सबै कुरा छाडेर खेलकुद क्षेत्रमा समर्पित खेलाडीहरूका लागि हौसला मिलेको छ। मुलुकको खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दिइएको पुरस्कार कमाइ नै हो। त्यसैले लगनशील भएर लाग्दा हरेक क्षेत्रमा राम्रो गर्न सकिन्छ भन्ने उदाहरणीय समाचार सम्प्रेषणका लागि हिमाल लाई धन्यवाद। यस्ता पुरस्कार र समाचारले खेलाडीको मनोबल बढाउने पक्का छ।

अनिता भण्डारी, अष्ट्रेलिया

नमेटिने चोट

हिमाल (१८चैत) मा प्रकाशित 'जनयुद्धको पहिलो निशाना' शीर्षकको समाचारले जनयुद्धको सम्झ्ना गरायो। १० वर्षे 'जनयुद्ध' का क्रममा निर्ममतापूर्वक मारिएका व्यक्ति मात्र होइन अङ्गभङ्ग बनाइएका रुकुमका नरजित बस्नेत जस्ता व्यक्तिले नगरेको गल्तीको सजाय भोग्दै आएका छन्। जनयुद्धको निसानामा परेका घाइतेले नमेटिने चोटका लागि सानो राहत रकमलाई न्याय भनेर चित्त बुझाउनु परेको छ।

गोपाल के.सी., इमेलबाट

comments powered by Disqus

रमझम