१ वैशाख २०७० | 14 April 2013

धुन्चेमा हिमाली छात्रावास

Share:
  

बिहानको घण्टीसँगै रसुवाको सदरमुकाम धुन्चेको हिमाली छात्रावासका २१ विद्यार्थी बिहानको नित्यकर्म सकेपछि पढ्न बस्छन्। शिक्षा मन्त्रालयको अनुदानमा धुन्चे उच्च मावि व्यवस्थापनले दुई वर्षदेखि चलाइरहेको यो छात्रावासका ९ र १० कक्षाका सबै विद्यार्थी स्थानीय तामाङ समुदायका हुन्। उनीहरूको रेखदेखमा छात्रावासले दुई शिक्षक र एक शिक्षिका खटाएको छ।

छात्रावासका इन्चार्ज बीमबहादुर थापाले भने अनुसार नै छात्रावासको वातावरण राम्रो छ, विद्यार्थीका लागि सुत्ने, भान्सा र पढ्ने छुट्टाछुट्टै कोठा छन्। छात्रावासमा कम्प्युटर, इन्टरनेट र टेलिभिजन सुविधा छ। कक्षा ९ की दीपा तामाङ (१६) भन्छिन्, “यहाँ पैसा तिर्नु नपर्दा आर्थिक समस्याबाट बचिएको छ, पैसा नभएर पढ्न पाइँदैन कि भन्ने चिन्ता र डर हराएको छ।”

छात्रावासकी शिक्षिका रामकुमारी थापा विद्यार्थीको अनुशासनलाई निकै ध्यान दिइएको बताउँछिन्। रसुवा उमावि तथा क्याम्पसका प्राचार्य वीरबहादुर गुरुङचाहिं छात्रावासले निरन्तरता पाउनु सबैभन्दा ठूलो चुनौती भएको धारणा राख्छन्। अहिलेसम्म छात्रावासको क्षमता बढाउँदै २०० विद्यार्थीलाई त्यहाँ राख्न अनुदान दिने सरकारको उद्देश्य छ।

फुर्पा तामाङ, रसुवा


पूर्वशिविरमा वृक्षरोपण

भुटानी शरणार्थी तेस्रो मुलुक गएपछि खाली भएको झापा गरामनीको गोलधाप शिविर अहिले हराभरा बनेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम 'युएनडीपी' को सहयोगमा संचालित 'समुदायमा आधारित विकास कार्यक्रम' ले नर्सरी लगाएपछि दुई वर्षअघिसम्म उराठलाग्दो देखिने यो ठाउँ हरियो बनेको हो। भुटानी शणार्थीलाई शिविरमा राख्दा नेपाल सरकार र युएनडीपीबीच शरणार्थी हटेपछि ती ठाउँमा वृक्षरोपण गर्ने सहमति भए अनुसार झापा र मोरङका शिविर रहेका ठाउँलाई हरियाली बनाउन लागिएको कार्यक्रमका प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ सूर्य खनालले बताए।

गोलधाप शिविर रहेको १८ मध्ये १३ हेक्टरमा सिसौ, मसला, कदम, सेतो सिमल, शिरीष, जुलेबीलगायतका रूख हुर्काइएको छ भने बाँकीमा स्थानीय बासिन्दा पार्क बनाउने योजनामा छन्। तिनैमध्येका एक वीरेन्द्र घिमिरे त्यो ठाउँलाई पर्यटकीय स्थल बनाउन ताल र पार्क बनाउनुपर्ने बताउँछन्। उता, झापाकै खुदुनावारीको पूर्व शिविरमा वृक्षरोपण गरिए पनि टिमाई भने स्थानीयको विरोधले अझै उजाड छ।

कमल रिमाल, विराटनगर


राडीपाखीबाट उत्साहित

रुकुम तकसेराकी सरोजकुमारी बुढा (५८) ले अल्लोको धागो र भेडाको ऊनबाट काम्लो, कम्बल र राडीपाखी बनाउन थालेको करीब पाँच दशक भयो। पतिको निधनपछि उनलाई परिवार पाल्न यही पुरानो पेशाले सहयोग पुर्‍याइरहेको छ, बाग्लुङसँग सीमा जोडिएको त्यो गाउँ र रुकुमकै हुकाम, मैकोट, कोल, महत तथा काक्री गाउँका अरू मगर जातिका महिलालाई जस्तै।

एक महीना लगाएर रु.२ हजारदेखि रु.५ हजारसम्मको कच्चा पदार्थबाट बनाइने कम्बल बजार पुर्‍याउँदा रु.५ हजारदेखि रु.६ हजारसम्ममा बिक्री हुन्छ। पहिले कम्मल र राडीपाखी जस्ता परम्परागत उत्पादन बेच्न बाग्लुङ हुँदै पोखरा पुग्नुपर्ने उनीहरूलाई सदरमुकाम मुसिकोटमा 'रुकुमेली कोसेली घर' खुलेपछि तथा त्यहाँबाट गाउँमा साना जीप आउन थालेपछि सजिलो भएको छ।

यी उद्यमी महिलालाई सघाउन केही गैरसरकारी संस्थाले जिल्लामा 'लघु उद्यम विकास कार्यक्रम' थालेका छन्, जसले पहिलो वर्षमै तकसेराका २६ महिलालाई राडीपाखी बुन्न चर्खा, तानलगायत सामग्री वितरण गरेको छ। त्यो कार्यक्रमका उद्यम विकास अधिकृत राजन गौतम तकसेरा, हुकाम, राङसी र मैकोटमा छिट्टै अल्लो प्रशोधन भवन बनाउने तयारी भइरहेको बताउँछन्। अहिले नै कम्बल, काम्लो र राडीपाखीबाट वार्षिक करीब रु.१ करोड भित्र्याइरहेका यी गाउँका महिला यस्ता कार्यक्रमबाट सहयोग पाउँदा अरू हौसिएका छन्।

आदर्श के.सी, रुकुम


गाउँ झिलीमिली

ताप्लेजुङको इखाबु गाविसस्थित ६५ किलोवाट क्षमताको मेकवा तेङवा लघु जलविद्युत्।
ताप्लेजुङको सदरमुकाम फुङलिङ चकमन्न अँध्यारोमा डुब्दा जिल्लाकै दुर्गम भनिने तापेथोक, लेलेप, इखाबु, हाङदेवा, साँवा, सिनाम, पाथीभरा झिलिमिली हुन्छ। २५० किलोवाटको डिजल प्लान्टबाट निकालिएको बिजुली फुङलिङका १४,९७४ बासिन्दाले प्रयोग गर्न नपाएको दुई महीना भइसक्यो, डिजल प्लान्टको जेनेरेटर बिग्रिएपछि। उता ती गाउँमा भने नेदरल्याण्ड सहयोग नियोगअन्तर्गतको ग्रेट हिमालय ट्रेल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लगायतका संस्थाको सहयोगमा सञ्चालित लघु जलविद्युत्बाट निरन्तर बिजुली बत्ती बलिरहेको छ।

सदरमुकामभन्दा ती गाउँमा विद्युत् महसुल पनि सस्तो छ। सदरमुकाममा प्रतियुनिट रु.२७ छ भने ती गाउँमा प्रतियुनिट रु.१० मात्र। गाउँको विवाह, ब्रतबन्धमा रात भरी बिजुली बत्ती बालेर कार्यक्रम गर्दा रु.५०० तिर्दा पुग्ने तापेथोकका रोशन लिम्बु बताउँछन्। लिम्बुका अनुसार रु.२०० समुदायको कोषमा र रु.३०० राति खट्ने विद्युत्का कर्मचारीलाई दिने नियम बसाइएको छ।

सन्त गाहा मगर, ताप्लेजुङ


बारामा नक्कली डाक्टर

कतै दर्ता नगरी औषधि पसल खोल्ने, बिरामी जाँच्ने र औषधि बेच्ने नक्कली डाक्टरको बिगबिगी भारतसँग सीमा जोडिएका बाराका दक्षिणी गाउँमा पछिल्लो समय निकै बढेको छ। ती गाउँमा सक्रिय नक्कली डाक्टर भारतीय छन्।

यो जिल्लामा सञ्चालनमा रहेका ४०० एलोपेथी र आयुर्वेदिक औषधि पसल तथा ल्याबमध्ये सात वटा मात्र जिल्ला प्रशासनमा दर्ता छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत प्रेम जैसवाल कलैया क्लिनिक, हकिम पोलिक्लिनिक, शिवम् डेन्टल सिमरा, जेनरल पोलिक्लिनिक कलैया, तराई सिमरा हस्पिटल प्रालि सिमरा, निम्स हस्पिटल प्रालि सिमरा, अविनय स्वास्थ्य सेवाबाहेक कसैको दर्ता नरहेको बताउँछन्। यो तथ्याङ्कले सदरमुकाम कलैया र अरू बजारमा पनि नक्कली औषधि पसल सञ्चालन भइरहेको देखाउँछ।

गत मंसीरमा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले अनुगमन गर्दा सदरमुकाम कलैयाको हकिम फार्मेसीले अनुमति विना सुत्केरी गराइएको पाए पनि त्यसलाई कारबाही भएको छैन। नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय सदस्य तथा बालरोग विशषज्ञ डा. रवीन्द्र कुमार सिंह भने दर्ता नभएका औषधि पसलले बिरामी जाँच्न र औषधि बेच्न नपाउने बताउँछन्।

फार्मेसी विषय अध्ययन गरेकालाई मात्र औषधि पसल सञ्चालनको अनुमति दिने नियम छ भने ती पसल राजस्व कार्यालयमा दर्ता गर्नैपर्ने कानूनी व्यवस्था छ।

प्रकाश लम्साल, बारा


जताततै चोरीका गाडी

चोरीका गाडीको चेसिस र इन्जिन राखेर ब्लुबुकमा चाहिं पुरानै नम्बर 'रि–पञ्चिङ' (टेम्परिङ) गर्दै १६ गाडीले राजस्व छली गरेको स्याङ्जामा भेटिएको छ। केन्द्रीय विधि विज्ञान प्रयोगशालाको टोलीले स्याङ्जाका ३३ सवारी साधनमा परीक्षण गर्दा ती गाडीमा नयाँ इन्जिन वा चेसिस राखेर पुरानै नम्बर रि–पञ्चिङ गरिएको पुष्टि भयो, जसलाई अहिले कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ।

स्याङ्जाका प्रहरी प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौर प्रहरीको पहुँच कम भएका ग्रामीण क्षेत्रमा चोरीका गाडीको सामान प्रयोग हुने गरेको बताउँछन्। बुटवलमा त्यसरी नम्बर टाँस्ने कारखाना नै फेला पारेपछि प्रहरीले यो गिरोहबारे अनुसन्धान गर्दा भारतका विभिन्न ठाउँबाट चोरीको गाडी सीमासम्म ल्याइने र पार्टपुर्जा छुट्याएर नेपाल भित्र्याउने गरिएको पत्ता लाग्यो। यातायात व्यवस्था कार्यालयको स्वीकृतिमा मात्र गाडीको इन्जिन तथा चेसिस परिवर्तन गर्न पाइने नियम छ।

त्यसपछि प्रहरीले रूपन्देहीमा २० वटा गाडीको इन्जिन र चेसिस त्यसैगरी पञ्चिङ गरिएको फेला पार्‍यो भने त्यस्तै गरिएको हुनसक्ने आशंकाले बाग्लुङका पनि ४२ सवारी साधनको जाँच गरियो। जसको रिपोर्ट आउन बाँकी छ।

राजस्व अनुसन्धान कार्यालय बुटबलका प्रमुख धर्मेन्द्र मिश्रले प्रहरीले बुझाएका सबै गाडी अनुसन्धानमै राखिएको र यातायात व्यवस्था कार्यालयको इञ्जिनियर टोलीलाई ती गाडीको भौतिक परीक्षण गर्न अनुरोध गरिएको बताए। परीक्षणले बदमासी भएको देखाए तिनलाई 'भन्सार ऐन २०६४' अनुसार कारबाही हुन्छ। जसमा सवारी जफत हुने वा सवारीको मूल्य बराबरको बिगो तिराइने उल्लेख छ।

माधव बराल, पोखरा


छोराको सम्झानामा सहयोग

अस्पताल अनुगमनमा आएको साइमन परिवार।
दुर्गम क्षेत्रका नेपालीले उपचार नपाई मर्नुपरेको दुर्दान्त अवस्था देखेपछि ती दुःखीको उपचारमा डाक्टरी पढाइ सकेर लाग्ने प्रतिबद्धता आफ्नो डायरीमा सन् २००३ मा उतारेका अमेरिकी नागरिक निक साइमनको सन् २००४ मा इण्डोनेसियामा पौडी खेल्दा मृत्यु भयो।

एक दशकअघि छोराले गरेको त्यही प्रतिबद्धता पूरा गर्न 'निक साइमन इन्स्टिच्युट' (एनएसआई) मार्फत पाँच वर्षदेखि लागेका छन्, साइमनका बुबाआमा जिम र मेरिलिन। त्यो इन्स्टिच्युटले कालीकोट, बझाङ, डोटी, अछाम, गुल्मी, कपिलवस्तु र दोलखाका स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरण, औषधि र संचार उपकरण सहयोग गरिरहेको छ।

चैतको दोस्रो साता कालीकोटमा भेटिएका जिम साइमनले भने “स्वास्थ्य सेवा नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर दुर्गम जिल्लाका अस्पतालहरूलाई सहयोग गरेका हौं, सहयोग गर्न पाउँदा हामी असाध्यै खुशी छौं।”

साइमन इन्स्टिच्युटले आफ्नै खर्चमा दुई वर्षदेखि कालीकोट जिल्ला अस्पतालमा एमडी र एमबीबीएस गरेका एक एक जना डाक्टर, एक स्टाफ नर्स, एक ल्याव टेक्निसियन र केही मेडिकल सहयोगी राखेको छ। त्यो बाहेक इन्स्टिच्युटबाट वार्षिक रु.१० लाखदेखि रु.१५ लाखसम्म सहयोग पाएको अस्पतालका डाक्टर अमोघ बस्नेतले बताए।

तीला भण्डारी, कालीकोट


'नर्सिङ केयर' कै आशा

मस्तिष्क पक्षघातबाट तीन महीनादेखि अचेत नेपाली कांग्रेसका नेता चक्र वास्तोलाको अवस्थामा सामान्य सुधार भएको छ।

थापाथलीस्थित नर्भिक हस्पिटलको भीआईपी कोठा नं ८०२। मस्तिष्क पक्षघातले तीन महीनादेखि अचेत कांग्रेस नेता चक्र बास्तोलालाई ९ दिनदेखि उपचारमा यहाँ राखिएकाले पार्टीका नेता/कार्यकर्ताको बाक्लो उपस्थिति छ। भारतको गुँडगाउँस्थित मेदान्त अस्पतालमा करीब तीन महीनाको उपचारपछि १६ चैतमा एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइएका उनलाई 'नर्सिङ केयर' मा राखिएको छ। बास्तोलाकी भान्जी सरिता प्रसाई मेदान्त अस्पतालकै डाक्टरहरूको सल्लाहमा त्यस्तै सुविधा भएकाले यहाँ ल्याइएको बताउँछिन्।

हल्का आँसु बगिरहेको आँखा बेलाबेला खोल्ने तर कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा छन्, अहिले बास्तोला। बेलाबेलामा उनले हाइ काढेको बाहिर सिसाबाटै देख्न सक्छन्, उनलाई भेट्न त्यहाँ पुग्नेहरूले। पेटमा प्वाल पारेर पसाइएको पाइपबाट एक पटकमा दुई सय ग्राम झोलपदार्थ उनलाई खुवाइएको छ। डाक्टरहरू उनका यी क्रियाकलापलाई 'कोमा' भन्दा राम्रो अवस्था मान्छन्। सरिता भन्छिन्, “होसमा नआउनु नै अहिलेको मुख्य समस्या हो।”

उनको उपचारमा वरिष्ठ न्यूरोसर्जन डा. बसन्त पन्त र डा. पंकज जलन लागिरहेका छन्। स्नायुरोग विशेषज्ञका अनुसार उनको मस्तिष्कमा जमेको रगतमध्ये ६० प्रतिशत सफा भइसके पनि उनलाई गम्भीर मस्तिष्कघात भएकाले यति नै समयमा निको हुन्छ भन्न सकिने अवस्था छैन।

मेदान्त अस्पतालमा बास्तोलाको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाली कांग्रेसको पहलमा भारत सरकारले बेहोरे पनि त्यहाँबाट एयर एम्बुलेन्समा काठमाडौं ल्याउँदाको र अन्य गरी करीब रु.३० लाख परिवारको खर्च भएको छ। १४ पुसमा विराटनगरमा बास्तोला समाजको कार्यक्रममा सहभागी भएको बेला अचानक बान्ता गरेपछि ६८ वर्षीय बास्तोलालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। त्यहाँका डाक्टरहरूको सल्लाहमा उनलाई त्यही दिन सिलिगुढीस्थित न्यूरो अस्पताल लगियो, त्यहाँ मस्तिष्कको शल्यक्रिया भए पनि थप उपचार गर्नुपर्ने देखिंदा तीन दिनपछि मेदान्त अस्पताल पुर्‍याइयो। मेदान्तमा डा. केएन झा, डा. आदित्य गुप्ता र डा. सुनिल दुवेको टोलीले उनको उपचार गरेको थियो।

'सफल' परराष्ट्र मन्त्री

झापाको सम्पन्न परिवारमा जन्मिएका बास्तोलाको सन् १९६७ मा वीपी कोइरालासँग बनारसमा पहिलो भेट भएको थियो। त्यसपछि अध्ययनका लागि लण्डन पठाउने बाबुआमाको चाहना विपरीत उनले बीपीको सहयोगी भएर बनारसमै बस्ने निधो गरे, जुन निर्णयले उनलाई कांग्रेसको सक्रिय राजनीतिमा पुर्‍यायो। शुरूदेखि नै बौद्धिक चिन्तन र विमर्शमा रुचि राख्ने बास्तोलाका समकालीन रहे, प्रदीप गिरी र शैलजा आचार्य। त्यही क्रममा उनको बीपीकी भान्जी (शैलजा आचार्यकी बहिनी) मधुसँग २०३९ मा विवाह नै भयो।

बीपीले मुलुकका राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै विषयका सबै खालका छलफलमा बास्तोलालाई राखेकै हुन्थे। त्यसो हुनुमा उनको अंग्रेजी भाषामा 'कमाण्ड' मात्र कारण थिएन, विश्वसनीयता अर्को महत्वपूर्ण कारण थियो। नेपाली कांग्रेसको नेतृत्वमा २०३० सालमा भएको 'जहाज अपहरण' मा संलग्न उनी त्यही अभियोगमा जेल जीवन बिताएपछि २०३६ मा आममाफी पाएर छुटे।

२०४७ मा प्रजातन्त्र पुनर्स्थापनापछि बास्तोला भारतका लागि नेपालको राजदूत, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्री भए। उनको परराष्ट्र मन्त्रीत्व नेपालकै सफलमध्ये एक रहेको कांग्रेसनिकट विश्लेषक पुरञ्जन आचार्य बताउँछन्।

रामजी दाहाल

comments powered by Disqus

रमझम