१ वैशाख २०७० | 14 April 2013

वनस्पति दिवस र गोदावरी उद्यान

Share:
  
- दीपक अर्याल
राणाशासक चन्द्रशमशेर युरोपबाट फर्केपछि गोदावरी उद्यानको प्रारम्भिक काम शुरू भएको हो।

विसं २००० को आसपासमा ताकाहिदे काजामीद्वारा लिइएको वागमती नदी सहितको शिवपुरी डाँडाको तस्वीर। यसको तल्लो भाग यो समयसम्म उजाड नै देखिन्थ्यो ।
राष्ट्रिय वनस्पति दिवस (२९ चैत) आउँदै गर्दा नेपालमा वन जोगाउने औपचारिक, अनौपचारिक प्रयास कहिलेदेखि शुरू भए भन्ने जिज्ञासा आउनु स्वाभाविक छ। हुन त, गोदावरीस्थित बोटानिकल गार्डेन निजीकरण गर्ने प्रयासको विपक्षमा डा. तीर्थबहादुर श्रेष्ठ (हिमाल) र दयानन्द बज्राचार्य (नागरिक दैनिक) का लेखले त्यसबारे कैयौं तथ्य उजागर गरेकै छन्। यो लेखमा चाहिं तिनमा उल्लेख नभएका ऐतिहासिक पक्षको चर्चा गरिएको छ।

३ असार २०१८ मा गोदावरी वनस्पति उद्यान स्थापना गर्ने निर्णय भयो, त्यसपछि डा. हरक्लट नामका एक विदेशीको सल्लाहमा विभिन्न थरीका उद्यान (बगैंचा) क्रमशः बनाउन थालियो, जस्तै, पूर्णाङ्क– बन्धु गृह (फर्न हाउस), जीवन्ती बन्धु गृह (अर्चिड हाउस), ग्रीन हरित गृह (ग्रीन हाउस), अनुसन्धान शाला (रिसर्च ल्याब्रोटोरी), जल उद्यान (वाटर गार्डेन), पाषाण उद्यान (रक गार्डेन), पुष्प बाटिका, हर्बेरियन आदि। त्यो उद्यान बनाउनुको उद्देश्यबारे २०१९ सालमा प्रकाशित 'शाही वनस्पति उद्यानको परिचय' पुस्तकमा भनिएको छ, “देशमा फिंजिएका महत्वपूर्ण एवं लुप्तप्रायः अनेक वनस्पतिक परिवारको संकलन, तिनको सुसंरक्षण तथा सम्बर्द्धन गर्नु हो।”

गोदावरीमा त्योभन्दा अघि पनि उद्यान सम्बन्धी केही काम भने भएकै थिए। जसको पुष्टि १६ असार १९८२ मा प्रकाशित गोर्खापत्र को यो समाचारले गर्छ। समाचारमा भनिएको छ, 'नेपाल चारभंज्याङ् भित्रमा धेरै डाँडा काँडाहरू खाली भै रहेको र लकडी (काठ पात दाउरा आदि) को पनी मूल्य वढ्दै गएकोले र केही काल्मा सो लकडी (काठ पात दाउरा) हरूमा कमी हुन जाने समेत यस्तो पछीसम्मको विचार श्री ३ महाराज चन्द्रशमशेर जङ्ग वहादुर राणा प्रभूवाट राखिवक्सी आफ्ना प्रजाहरूलाई त्यस तकलिफबाट उद्धार गराई वक्सनलाई र आफ्ना मुलुकमा केही किसिमको कमी न होओस भन्ने मन्सुवाले प्रभूवाट गोदावरीमा एक 'फरेस्ट नर्सरि' (जंगलमा लाउने विरूवाहरू तयार गर्ने ठाउँ) खोलाई बक्सेको छ। एस नर्सरीबाट भिन्न भिन्न प्रकारका वृक्ष वोट विरूवाहरू तयार गरी सो खाली पडी रहेका नाङ्गा डाँडामा सारिने मन्साले यो नर्सरि खडा भएको हो।'

त्यसबेलाको उद्देश्य अनुसार यो नर्सरीले उपत्यका वरिपरिको डाँडालाई हरियाली नबनाए पनि गोदावरी बोटानिकल गार्डेनका लागि आधार तयार पारेको भने मान्नै पर्छ।

महेशचन्द्र रेग्मीले (सन् १९७८ मा) लेखे अनुसार, जंगलका काठ, दाउरा बेचेर तत्कालीन सरकारले प्रशस्तै कमाउँथ्यो। किनभने, वन पैदावार नै तत्कालीन सरकारको आम्दानीको प्रमुख स्रोत थियो। त्यही स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले १९८४ तिर देशैभरी 'काठमहल' का नाममा कार्यालय खोल्यो। त्यही ताका रेल्वे नेटवर्क विस्तारका लागि भारतलाई ठूलो परिणाममा काठ आवश्यक पर्दा नेपालले काठ निर्यात गर्न पायो। भारतलाई काठ बेच्न सरकारले पूर्व र पश्चिममा केन्द्र नै स्थापना गरेको थियो।

आम्दानीको महत्वपूर्ण स्रोत वन संरक्षणका लागि भने सरकारले कुनै उल्लेखनीय काम गरेको थिएन, गोदावरीमा उद्यान बनाउनुअघि। चन्द्रशमशेर युरोप भ्रमणबाट फर्केपछि सरकार वन संरक्षणतर्फ केही लागेको देखिन थाल्यो, युरोपको वन संरक्षणबाट प्रभावित भएर हुनसक्छ। युरोप भ्रमणले चन्द्रशमशेरलाई पारेको प्रभाव गोर्खापत्र मा त्यसबेला प्रकाशित समाचारहरूमा पनि देख्न सकिन्छ। किनभने, त्यसपछि गोर्खापत्र ले वन विज्ञान, जीव विज्ञान, टेक्नोलोजी (गाडी), कृषिबारे समाचारहरू दिन थाल्यो। उन्नत कृषि प्रणाली तथा फरेस्ट नर्सरीको अवधारणा अनुसार गोदावरी उद्यान बनाउन शुरू भएको पनि त्यसपछि नै हो।

comments powered by Disqus

रमझम