१६-३१ असार २०६९ | 30 June-15 July 2012

उत्कृष्ट उमावि

Share:
  


हिमाल खबरपत्रिका ले विगतदेखि अपनाउँदै आएको मापदण्डका आधारमा यसपटक पनि देशभरका ३३८३ उच्च माध्यमिक विद्यालयमध्येबाट उत्कृष्ट १८ को छनोट गरेको छ। कक्षा १२ को परीक्षामा २९ जना भन्दा बढी विद्यार्थी सहभागी गराएर लगातार पाँच वर्ष ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने उमावि यो सूचीमा परेका छन्। उत्कृष्टको यो सूचीको क्रम भने पछिल्लो वर्षको नतिजाले निर्धारित गरेको छ। निश्चय नै शिक्षाको स्तरीयता विद्यालयहरुले अन्तिम परीक्षामा ल्याउने उत्तीर्ण प्रतिशतबाट मात्र मापन हुँदैन। तर परीक्षामुखी हाम्रो शिक्षा प्रणालीमा परीक्षाफल नै मूल्यांकनको कम विवादित र बढी भरपर्दो आधार हुने गरेकाले हिमाल ले यो विधि अपनाएको हो।

गत वर्ष उत्कृष्ट १८ मा परेका बझाङ बगाडगाउँको जनप्रिय र रौतहट गौरको महर्षि वाल्मीकि उमावि यो वर्ष ८० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले सूचीबाट बाहिरिएका छन्। काठमाडौं पकनाजोलको एनसीसीएस र बानेश्वरको ग्लोबल कलेज अफ म्यानेजमेन्ट पहिलो पटक सूचीमा परेका छन्। निरन्तर पाँच वर्ष ८० प्रतिशतभन्दा बढी उत्तीर्ण दर भए पनि २०६४ को परीक्षामा २८ जना मात्रै विद्यार्थी सहभागी भएकाले बूढानीलकण्ठ उमावि सूचीमा पर्न सकेन। 

यसैगरी मोरङको कलेज अफ बिजनेस स्टडिज्, सिरहाको एभरेष्ट इन्टरनेशनल, काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूल, कास्कीको गण्डकी बोर्डिङ स्कूल, कास्कीकै करुणानिधि एजुकेशन फाउण्डेसन, भक्तपुरको ख्वप उमावि, ललितपुरको नाइटिङ्गेल उमावि, सर्लाहीको पद्मरत्न विद्या मन्दिर, दार्चुलाको राष्ट्रिय उमावि, काठमाडौंको रिलायन्स इन्टरनेशनल एकेडेमी र सर्लाहीको सर्लाही क्याम्पस चार वर्ष ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भए पनि एक वर्ष त्यो भन्दा कम उत्तीर्ण भएकाले उत्कृष्ट १८ मा पर्न सकेनन्। 


प्रसादी एकेडेमी उमावि, मानभवन, ललितपुर

१४ वर्ष पहिले स्थापना भएको प्रसादी निरन्तर उत्कृष्टमा रहँदै आएको छ। कलेजका संस्थापक विक्रम राई एकल कार्यक्रम, एकल व्यवस्थापन र विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावनाको विकास गराउन सकेकोले सफलता हासिल गरेको बताउँछन्।

गण्डकी आवासीय उमावि, लामाचौर, पोखरा

कलेजका भाइस प्रिन्सिपल शिवलाल धिताल दक्ष शिक्षक, शान्त वातावरण र निष्पक्ष प्रवेश परीक्षामा जोड दिएको बताउँछन्।

एनसीसीएस उमावि, पकनाजोल, काठमाडौं

शैक्षिक तालिका अनुसार पढाइने, नियमित आन्तरिक परीक्षा तथा अतिरिक्त कक्षा सञ्चालन आदि नै सफलताको कडी भएको कलेजका प्रबन्ध निर्देशक सन्तोष मास्के बताउँछन्।

नामग्याल उमावि, गोकर्ण, काठमाडौं

नामग्याल उमावि हिमाल को मापदण्ड अनुसार निरन्तर उत्कृष्टमा परेको छ। पूर्ण आवासीय र अतिरिक्त पढाइले गर्दा उत्कृष्ट नतिजा दिन सकेको नामग्यालका प्रधानाध्यापक लेखनाथ हुमागाईं बताउँछन्।

एसओएस हर्मन माइनर उमावि, पोखरा, कास्की

प्रिन्सिपल मोहनमुरारी खनाल समयमै पढाइ सक्ने, अनुभवी शिक्षक र सीमित विद्यार्थी राखेर पढाउने गरेकोले सफलता मिलेको बताउँछन्।


वीरेन्द्र सैनिक आवासीय उमावि, भक्तपुर

बन्द, हडतालको असर नपर्ने तथा अनुशासित वातावरणमा पढाइ हुने भएकाले कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका उपप्रशासक हरि पौडेल बताउँछन्।

गोर्खा इन्टरनेशनल पब्लिक उमावि, घोराही, दाङ


शिक्षा नै प्रकाश हो भन्ने नारा रहेको यो विद्यालय पश्चिम नेपालको शैक्षिक मेरुदण्ड बनेको उमाविका शिक्षक विष्णुप्रसाद भण्डारी बताउँछन्।

सेन्टमेरिज उमावि, जावलाखेल, ललितपुर

अतिरिक्त क्रियाकलाप र कडा अनुशासनमा जोड दिंदै आएको सेन्टमेरिज निरन्तर उत्कृष्ट उमाविमा पर्न सफल भएको छ।


काठमाडौं मोडेल कलेज, बागबजार, काठमाडौं

कलेजका निर्देशक ध्रुव भट्टराई विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित गर्न काउन्सिलिङ गर्नुका साथै अनुशासन र शान्त वातावरणमा जोड दिएको बताउँछन्।


एसओएस हर्मन माइनर उमावि, ठिमी, भक्तपुर

अनुभवी शिक्षक र अनुशासित वातावरणमा पढाइने हुँदा कलेजले निरन्तर राम्रो नतिजा ल्याउन सफल भएको यस उमाविका प्रशासक शिव पौडेल बताउँछन्।


सगरमाथा उमावि, पोखरा, कास्की

चुस्त प्रशासन तथा शिक्षक–विद्यार्थीबीचको मैत्रीपूर्ण वातावरणमा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्ने कलेजका प्रिन्सिपल धनबहादुर थापा बताउँछन्।


युनाइटेड एकेडेमी उमावि, कुमारीपाटी, ललितपुर

धेरै विद्यार्थी पढ्ने युनाइटेड उमावि निरन्तर हिमाल को उत्कृष्टमा पर्न सफल भएको छ।


नेपाल प्रहरी आवासीय उमावि, साँगा, काभ्रे

व्यवस्थापन प्रमुख राजुबाबु श्रेष्ठ स्तरीय शिक्षाका लागि अनुशासन, प्रयोगशालाको सुविधा, बन्द हडताल मुक्त वातावरण आवश्यक भएको बताउँछन्।


ग्लोवल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर

अनुभवी तथा पूर्णकालीन शिक्षक, नियमित पढाइ र विद्यार्थीको मिहिनेतले गर्दा कलेजले निरन्तर राम्रो नतिजा ल्याउन सफल भएको प्रिन्सिपल नरबहादुर विष्ट बताउँछन्। 


नेशनल स्कूल अफ साइन्सेस, लैनचौर

कलेजका प्रिन्सिपल डा. माधवप्रसाद बराल अनुभवी शिक्षक, कुशल व्यवस्थापन र विद्यार्थीको लगाव नै सफलताको सूत्र भएको धारणा राख्छन्।



लिटिल एन्जेल्स उमावि, हात्तीवन, ललितपुर


२०५५ मा स्थापना भएको लिटिल एन्जेल्सले शान्त वातावरणमा स्तरीय शिक्षालाई जोड दिएको संस्थापक उमेश श्रेष्ठ बताउँछन्।


अर्किड साइन्स कलेज, भरतपुर, चितवन

कलेजका प्रधानाध्यापक देवेन्द्र ढकाल विद्यार्थीको अनुगमन, ल्याब सुविधा र अतिरिक्त कक्षाले कलेजलाई निरन्तर उत्कृष्ट ठहर्‍याएको बताउँछन्।


मेरील्याण्ड उमावि, विराटनगर, मोरङ

बाह्रै महीना अतिरिक्त कक्षा सञ्चालन र अनुशासनले विद्यार्थीले परीक्षामा राम्रो नतिजा ल्याउने गरेको कलेजका प्रशासक मिलन चौलागाईं बताउँछन्।

comments powered by Disqus

रमझम