खासगरी हिजोआज सुनिने गरेका ‘पृथ्वीनारायण शाहले विभिन्न जातजातिका राज्य खोसेका थिए, त्यसैले अब हामी ती सबै राज्य सम्बन्धित समुदायलाई नै फिर्ता गर्न लागेको छौं’ भन्ने जस्ता सस्ता र भड्किला नारा कसले किन चर्काइरहेको छ भन्ने प्रश्नमा अखण्ड नेपालका हिमायतीहरू विशेष रूपमा घोत्लिनुपर्ने भएको छ । यस अवस्थामा नेपाली इतिहासको तथ्यपूर्ण ज्ञानका आधारमा पृथ्वीनारायणले कुन–कुन जात वा समुदायका के–के नाम गरेका राज्य के–कस्तो परिवेशमा खोसे छन् त ? त्यससम्बन्धी ऐतिहासिक प्रमाण के छन् भन्ने प्रश्नलाई सबैभन्दा पहिले सम्बोधन गर्नुपर्ने भएको छ । यो प्रसङ्गमा कुनै पार्टीले प्रस्ताव गरेका वा कुनैले घोषणा समेत गरिसकेका ‘राज्य’का ऐतिहासिकता तथा पृथ्वीनारायणको एकीकरण अभियानको वास्तविकताबारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।
नेवारले नै नचाहेको ‘नेवाः राज्य’
बाग्मती क्षेत्रको विशाल उपत्यका र त्यस वरिपरि फैलिएको राज्यमा ९० प्रतिशतभन्दा बढी नेवार मातृभाषा भएका जनताको बसोबास थियो । तर पनि तत्कालीन मल्ल राजाहरूले यो भूभागलाई कहिल्यै ‘नेवाः राज्य’ भनेर जातीय पहिचान बोकाउन चाहेनन् । एकीकृत नेपाल मण्डल टुक्रिनुअघि यक्ष मल्लको पालासम्म यहाँका शासकले आफूलाई प्राचीन शासकहरूले झैं नेपाल देशकै नायकको रूपमा चिनाउने गरेका थिए । लिच्छविकालका अभिलेखमा देशको नाम र जनताको पहिचान दिने क्रममा ‘नेपालमुक्ति’, ‘नेपालमण्डल’, ‘नैपाल’ (नेपालवासी) आदि शब्दको प्रयोग हुने गरेको पाइन्छ । मल्लकालमा प्राचीन नेपालको बृहद् सीमा खुम्चिए पनि अधिकांश मल्ल शासकहरू नेपाल देशकै अधिपतिको रूपमा आफूलाई चिनाउन चाहन्थे; त्यसमै गौरव गर्थे । नेपाल नाम जोडिएका उनीहरूका उपाधिमा ‘नेपालमण्डलेश्वर’, ‘नेपालेश्वर’, ‘नेपाल प्रतापभाष्कर’, ‘नेपाल चक्रवर्ती’ जस्ता शब्दावली हुन्थे । केही राजाहरूले मात्रै ‘भक्तपुराधिपति’ वा ‘ख्वपःदेशाधिराज’ (भक्तपुर), ‘मणिग्वलाधिपति’ (पाटन), ‘काष्ठमण्डपाधिपति’ (काठमाडौं), ‘दोलखाधिपति’ (दोलखाका नेवार खलककै राजा इन्द्रसिंहदेव) जस्ता स्थानीय राज्यसँग जोडिएको उपाधि लिएका थिए ।
यो ऐतिहासिक आधारमा हेर्दा अधिकांश नेवार समुदायकै जनता बसोबास गरेका र नेवार शासकहरू नै रहेका क्षेत्रमा समेत ‘नेवाः राज्य’ झ्ल्काउने नाम उपयोगमा ल्याउने प्रयास कहिल्यै भएको देखिँदैन । यस्तो ऐतिहासिक तथ्य हुँदाहुँदै गोरखाका राजा पृथ्वीनारायण शाहले नेवाः राज्य खाए भन्नुको अर्थ के हुनसक्ला ? उपत्यकाका राजाहरूलाई यस हिमवत् प्रदेशको प्राचीन गौरवपूर्ण भूराजनीतिक नाम ‘नेपाल’ नै प्रिय भए जस्तै एउटा बलियो राष्ट्र बनाउन गोरखाबाट एकीकरण अभियान आरम्भ गरेका पृथ्वीनारायण शाहले पनि यस राज्यलाई नेपालकै रूपमा चिनाउन प्रयास गरेको देखिन्छ । उनी मूलतः गोरखाका राजा भए पनि उनले आफ्नो अधीनमा पारेका राज्य वा भू–भागलाई ‘गोरखा अधीनस्थ’ आदि भनेर गोरखाको परिचय स्थापित गर्न खोजेको कतै पाइँदैन । गोरखा शब्दको प्रचार त युद्धमैदानमा गोरखाली सैन्य शक्तिसँग जुधेका अङ्ग्रेजहरूबाट भएको हो— ‘गोरखा सैनिक’, ‘गोरखा जाति’, ‘गोरखा राजनीतिक शक्ति’ र ‘गोरखा आर्मी’ आदि विशेषणमार्फत ।
ऐतिहासिक अस्तित्वविहीन ‘ताम्सालिङ’
नेवाः जस्तै ‘ताम्सालिङ राज्य’ पनि कुनै कोणबाट इतिहाससम्मत देखिँदैन । काठमाडौं उपत्यकालाई वरिपरिबाट आक्रमण र आर्थिक–सामरिक नाकाबन्दी गर्दै नेवार मल्लद्वारा शासित राज्यहरू कब्जा गर्ने क्रममा गोरखाली सैन्यको दोलखा, नुवाकोट, पाँचगाउँ, बनेपा, धुलिखेल, पनौती, नकदेश, साँगा, पाँगा, नाला, नाल्दुम, महादेवपोखरी, ठिमी, साँखु, चाँगु, थली, कीर्तिपुर, फर्पिङ, बोडे आदि दर्जनौं ठाउँमा मल्ल राजाका संयुक्त वा बेग्लाबेग्लै सैन्य शक्तिसँग मात्र झ्डप र रक्तपातपूर्ण मुठभेड भएको थियो । गोरखाली सैन्यले नेपालमण्डल कब्जा गर्ने क्रममा ताम्सालिङ नामक राजनीतिक इकाइको बचाउका निम्ति कहीं कतै कुनै तामाङ राज्य इकाइ वा समुदाय देखापरेको प्रमाण पाइएको छैन । बरु; हिजोआज तामाङको रूपमा चिनिने त्यसबेलाका ‘मूर्मि’ वा ‘मूलमि’ हरूले उपत्यका आक्रमणका बेला गोरखाली सैन्यलाई नै प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याएको देखिन्छ । वास्तवमा ‘ताम्सालिङ’ एउटा पुरानो नाम वा शब्द होइन । यसको निर्माण ‘तामाङ’ समुदायको नाममा तिब्बती वा त्यसको प्रभावको तामाङ भाषिकाको ‘सा’ (माटो वा भूमि) र ‘लिङ्’ (इलाका, क्षेत्र वा प्रदेश) जस्ता शब्द जोडेर गरिएको देखिन्छ । नेपालको जातीय पहिचानको लिखित वा लौकिक परम्परामा आधारित ऐतिहासिक भूगोलमा पुरानो ‘मूर्मि’ वा नयाँ ‘तामाङ’ नामको छुट्टै प्रदेश वा राज्यको कहीं कतै उल्लेख पाइँदैन । त्यस नामको समुदायको स्वतन्त्र, अर्ध–स्वतन्त्र वा अरू कुनै किसिमको छुट्टै अस्तित्वको कुरा त कता हो कता, दाबासम्म भएको देखिँदैन । त्यसैले पृथ्वीनारायण शाह वा उनका उत्तराधिकारी ‘ताम्सालिङ’ राज्य जबर्जस्त खोसेर अधीनस्थ गरेको भन्नु काल्पनिक अभियोगबाहेक केही लाग्दैन ।
सेन अधीनस्थ ‘लिम्बुवान’ र ‘किराँत’
गोरखाका पृथ्वीनारायण शाहका बाबु समेत नजन्मँदै ‘लिम्बुवान’ र ‘किराँत’ भनिएका प्रदेश पहिले मकवानपुरका मुकवानी सेन तथा पछि चौदण्डी र विजयपुर नामले चिनिएका सेन राज्यअन्तर्गत थिए । यो पूर्ण प्रमाणित ऐतिहासिक कुरा हो । लिम्बु र राई (किराँत) का स्थानीय नायकहरू सेन राजाअन्तर्गत त्यस क्षेत्रका प्रशासक, भारदार र अमात्यको रूपमा काम गर्दथे, जसलाई ‘राय’ वा ‘दिवान’ उपाधिले सम्मानित गरिन्थ्यो । त्यसै हुनाले पृथ्वीनारायण शाहले नौलाख किराँतसहितको हिन्दूपतिको सेन राज्य आफ्नै भूमिमा उत्पादित च्याँगा र पाँगा जस्ता साधारण लुगा लगाएर जितेको प्रसङ्ग राज्य सञ्चालन निर्देशिका (दिव्योपदेश)मा उठाएका हुन् ।
पृथ्वीनारायणले आफ्नै ससुरालीको राज्य मकवानपुर र सेनअन्तर्गत रहेका विजयपुर (मोरङसमेत) र चौदण्डी (माझ् किराँत) आदि क्षेत्र विजय गरिसकेपछि राई लिम्बुहरूको बसोबास रहेको माझ् किराँत, पल्लो किराँत मात्र नभई लेप्चाहरूको बाहुल्य भएको वर्तमान सिक्किमको केही भू–भाग समेत अधीनस्थ गरेका थिए । माझ् किराँत, पल्लो किराँत, सिक्किमका लेप्चा र भोटे शासकले आफ्ना क्षेत्रबाट गोरखाली आक्रमणको असफल सामना गरेका थिए । यस अर्थमा ऐतिहासिक पहिचानको प्रयासलाई राई, लिम्बु र लेप्चाहरूले सजिलै छाडेको देखिँदैन ।
यस्तो यथार्थ भए पनि पृथ्वीनारायण शाहको गोरखाली सैन्यले जितेका पूर्वका किराँत प्रदेशहरू सबै सेनहरूकै राज्यअन्तर्गत थिए र तिनलाई चौदण्डी र विजयपुरको रूपमा चिनिन्थ्यो । त्यहाँ किराँत, लिम्बुवान् वा लेप्चा नामका राज्य अस्तित्वमा थिएनन् । गोरखालीको नेपाल एकीकरण अभियान थालनी हुनुभन्दा सयौं वर्षअघिदेखि नै गुहारको रूपमा निम्त्याइएका सेनहरूको शासनलाई किराँत, लिम्बुहरूले स्वीकारेका थिए भने उता सिक्किमतिरका अर्काथरी किराँत लेप्चाको राज्यमा भोटे शासकले हात लगाएका थिए । सिक्किम बलियो हुँदा लिम्बुवान र किराँत क्षेत्रसम्म कब्जा गर्ने र समय–समयमा आक्रमण गरी दुःख दिइरहने हुनाले माझ् र पल्लो किराँतका राई, लिम्बु, किराँतीहरूले मकुवानी सेनहरूसँग उनीहरू नै अन्तर्गत रहने गरी सम्झैता गरेर मकुवानीको सैन्य सहयोगमा सिक्किमको थिचोमिचो र आक्रमणबाट त्राण पाएका थिए ।
यस प्रसङ्गमा स्मरणीय कुरा के छ भने, सिक्किमले अनेकौं विद्वान् र अवतारी लामाहरूलाई लिम्बुवान पठाएर धार्मिक–सांस्कृतिक प्रभुत्व कायम गर्ने प्रयास गरी डिकीछोलिङलगायतका प्रसिद्ध बौद्ध गोम्बा स्थापित गराएको थियो । लिम्बुहरूले विना पारिश्रमिक झरा स्वरुप त्यस्ता गोम्बाको रेखदेख, सरसफाई, छाना छाउने आदि काम गरिदिनुपर्दथ्यो । त्यसै हुनाले सेनहरूसँग गुहार मागेर सिक्किमको राजनीतिक तथा सांस्कृतिक थिचोमिचोबाट उम्कन लिम्बुवान तथा माझ् किराँतका लिम्बुहरूले सेनको शासन स्वीकारेका थिए । यस किसिमले पृथ्वीनारायणको आक्रमणताका स्वतन्त्र र छुट्टै राजनीतिक अस्तित्वको लिम्बुवान तथा खम्बुवान पूर्वमा थिएनन् । उक्त इलाकामा राई–लिम्बु आदि किराँतको बसोबास मात्र थियो । त्यसबाहेक सेनहरूका तर्फबाट खस र तराईका विभिन्न समुदाय तथा सिक्किमका तर्फबाट हिमाली इलाकामा भोटमूलका बोन र बौद्धमार्गी तथा पहाडी इलाकामा केही लेप्चाहरूको प्रवेश भएको थियो ।
‘तमुवान’, ‘मगरात’ र गोरखा
यस प्रसङ्गमा पनि नेपालको इतिहासमा ‘तमुवान’ नामक राज्य, प्रदेश वा कुनै राजनीतिक इकाइ कहाँ र कहिले थियो भन्ने नै सर्वाधिक महŒवको प्रश्न छ । तमुवानको पहिचान बोकेको राज्य वा प्रादेशिक तथा प्रशासनिक इकाइ इतिहासमा छँदै छैन । प्रस्तावित तमुवानका भोट क्षेत्रमा बाहेक सबैतिर पृथ्वीनारायण शाहभन्दा शताब्दीयौं पहिले नै अनेकौं खसमूलका ठकुराइको प्रादुर्भाव भइसकेको थियो । पृथ्वीनारायण शाह वा उनका सन्ततिले विजययात्रा चलाएका बखत गोरखालगायत लमजुङ, कास्की, तनहुँ आदि कुनै ‘तमु’ समुदायका राज्य थिएनन् । उल्टै लमजुङका आदिवासीहरूले आफूलाई राजा चाहियो भनेर कास्कीका राजा कुलमण्डन शाहका माहिला छोरा कालु शाहलाई मागेर लमजुङमा ल्याई राजा थापेको र ती बालक राजाको अकाल मृत्यु भएकाले फेरि कुलमण्डनकै अर्का छोरा यशोब्रह्म शाहलाई राजा बनाएको इतिहास छ । यसमा बालक यशोब्रह्मलाई मागेर ल्याई लमजुङको राजा थाप्ने कामको नेतृत्व गरेको भन्ने लोक परम्पराको आधारमा स्थानीय दुराहरूकै सक्रियतामा खरे दुराको सालिक बनाएर स्थापना गरिएको प्रसङ्ग उल्लेखनीय छ ।
यस ऐतिहासिक लोक परम्पराले स्पष्ट पारेको छ, लमजुङका शासक शाह–ठकुरीले गुरुङ (तमु) को शासन खोसेर लिएको नभई दुरा आदि स्थानीय आदिवासीले नै कास्कीका बालक राजकुमारहरूलाई लोलोपोतो गरी ल्याएर राजा थापेका हुन् । यसलाई बालक कालु वा यशोब्रह्म शाहहरूले तमुहरूको राज्य खोसेर लिएको भनेर व्याख्या गर्न सकिँदैन । लमजुङमा जस्तै स्थानीय जनताकै जोडमा अरू शासक खलकका छोराछोरी, नाति–नातिना वा कहिलेकाहीं नातेदारलाई समेत मागेर बिरानु देशको राजगद्दीमा राखिएका घटना नेपालमा मात्र नभई अरू देशमा पनि धेरै छन् । पाटन, भक्तपुरलगायत पश्चिमको खस साम्राज्यमा समेत यस्तै चलन चलेका उदाहरण भेटिन्छन् ।
यसरी तमुहरूको राज्य वा प्रदेश पनि कुनै ठकुराईले खोसेको देखिँदैन । त्यसमाथि पृथ्वीनारायण त पश्चिमतर्फको अभियानमा खासै गहनताका साथ पसेका पनि थिएनन् । हिजोआज बरु इतिहाससम्मत नभएको भनेर सयौं, हजारौं वर्ष अलग्गै ऐतिहासिक, राजनीतिक र सांस्कृतिक पहिचान बोकेका लो (मुस्ताङ) जस्ता प्रदेशको गौरवपूर्ण पहिचानलाई जबर्जस्त मेटाउँदै सङ्ख्याको हिसाबले ठूलो तर ऐतिहासिक हिसाबले छुट्टै अस्तित्वमा नदेखिएको राज्य वा प्रदेशभित्र कोचिदिने लठिमुङ्ग्रे दृष्टिकोण अगाडि आउँदैछ । होइन भने कुनै समय स्वतन्त्र अस्तित्व भएको २४ भन्दा धेरै पुस्ताका राजाले राज्य गरेको, छुट्टै भाषिक र सांस्कृतिक पहिचान बोकेको, राजतन्त्रको अन्त्य नहुन्जेल चार संवैधानिक राज्यमध्ये एक रहेको मुस्ताङ जस्तो प्रदेशलाई किन तमुवानभित्र पारेर अस्तित्व मेटाइदिने ?
यस्तै किसिमले ‘मगरात’ भनिएको क्षेत्रमा धेरै पहिलेदेखि नै खस–ठकुरीका बाइसी–चौबिसी राज्यमा ठकुराईहरू मात्र थिए । गण्डकी प्रस्रवण इलाकाका दशौं शताब्दीका शक्तिशाली राजा अरमुढीलाई ‘नेपाल पालक’ अर्थात् नेपालका राजा भनेर काश्मिरका पण्डित कल्हणले आफ्नो पुस्तक राजतरङ्गिणी मा उल्लेख गरेको प्रसङ्ग यहाँ सम्झ्नयोग्य छ । ऐतिहासिक आधारमा दशौं शताब्दीसम्म पनि उक्त इलाकाका शासकलाई मगर र मगरातको राजाको रूपमा चिन्ने–चिनाउने चलन थिएन । वास्तवमा दशौं शताब्दीभन्दा पहिले मगरहरू नै मगरको रूपमा चिनिएका थिएनन्, जसको ऐतिहासिक चर्चा छुट्टै प्रसङ्गमा गरिने छ ।
एघारौं शताब्दीमा आइपुग्दा यस इलाकालाई ‘मंग्वर विषय’ भनेर उल्लेख गरिए तापनि यो नेपालका मूल शासक शिवदेव र उनकै नातेदार स्थानीय सामन्त शासक रामदेव नामक ठकुरीअन्तर्गत थियो । स्थानीय राना आदि मगरहरू अमात्य वा अन्य प्रशासनिक भारदार मात्र थिए । १२औं शताब्दीदेखि त गण्डकी प्रस्रवण इलाका र त्यसभन्दा पश्चिमका कुमाउ–गढवालसम्मको सारा भू–भागलाई सिञ्जाका खस मल्ल राजाहरूले कज्याएका हुनाले विस्तारित खस देशको रूपमा चिन्ने–चिनाउने गरेको देखिन्छ । खस देश वा साम्राज्यको पतनपछि बनेका छुट्टै स्थानीय राज्यहरू पनि खस मूलकै ठकुरी शासकअन्तर्गत विभिन्न स्थानीय नामले चिनिएका थिए । त्यसैले ‘मगरात’ भनिएको क्षेत्रमा पनि कुनै मगर राजाको शासन भएको ऐतिहासिक प्रमाण पाइएको छैन ।
इतिहासमा जम्मा दुईवटा स्रोतमा ‘मगरात’ वा ‘मंग्वर विषय’ को उल्लेख पाइन्छ र ती दुवैले उक्त इलाकाका शासक मगर नभएर पूर्व मध्यकालका नेपालमण्डलका शासक शिवदेव, स्थानीय सामन्त रामदेव भनेको तथा पछि आएर पृथ्वीनारायण शाह स्वयंले उनको राज्य निर्देशिकामा आफूलाई मगरातको राजा भनेर चिनाएको देखिन्छ । गोरखाका बिराज बखेतीलगायत वीर योद्धा र अति विश्वासपात्र मगर भारदारहरू पृथ्वीनारायणको साथमा भएका र गोरखामै पनि मगरहरूको सङ्ख्या धेरै भएकाले उनले आफूलाई ‘म मगरातको राजा हुँ’ भनेर चिनाएको हुनसक्छ । मनकामना र त्यहाँका अन्य स्थानीय मन्दिरको पुजारी समेत मगरहरू रहेको र उनीहरूको सहयोग पृथ्वीनारायण शाहलाई शुरुदेखि नै रहँदै आएको इतिहास पनि यस प्रसङ्गमा उल्लेखनीय छ । पृथ्वीनारायण शाह वा उनका सन्तति शासकहरूले मगरहरूको स्वतन्त्र राज्य खोसेर लिएको ऐतिहासिक प्रमाण कहीं कतै पाइँदैन । मगर समुदायबाट पृथ्वीनारायण तथा उनका सन्ततिहरूसमक्ष सौहार्दपूर्ण सम्बन्ध बाहेक अरू कुनै पहिचानकेन्द्रित आवाज उठाएको ऐतिहासिक प्रमाण पनि पाइएको छैन ।
तराई–मधेश र एकीकरण
तराई–मधेशतिरको इतिहास त झ्नै अर्कै किसिमको छ । प्राचीन जनपद युगको लुम्बिनी, कपिलवस्तु आदिको इतिहासको प्रसङ्गलाई टाढै राख्दा पनि १४औं शताब्दीमा तिरहूतका शासक र जनतालाई छिमेकी भारतीय क्षेत्रबाट पसेका आक्रमणकारीले राजधानी सिम्रौनगढ ध्वस्त पारी मारेका तथा बचेकालाई पनि मूलथलोबाट खेदेकाले त्यस इलाकामा कुनै छुट्टै राजनीतिक–प्रादेशिक पहिचानसहितको भौगोलिक वा जातीय राज्य बन्न सकेको देखिँदैन । त्यसबेला पश्चिम र पूर्वतर्फका तराई इलाका प्रायः पाल्पा, मकवानपुर, विजयपुर, चौदण्डी आदि सेन राज्यअन्तर्गत तथा पश्चिमका केही इलाका डोटीलगायतका पश्चिमका केही ठकुराई अन्तर्गत थिए ।
सेन र ठकुराईहरूले मधेशका विभिन्न इलाका माथिको अधिकारका निम्ति अवधका मुसलमान शासकसँग बेलाबेलामा लडिरहनुपर्दथ्यो । उत्तर भारतमा अङ्ग्रेजको प्रभुत्व कायम भएपछि अवधले पहिले अधिकार जमाएको नेपाल तराईको भू–भागमाथि अङ्ग्रेजले आफ्नो स्वामित्व दावा गरेकै कारण नेपाल र अङ्ग्रेजबीच ठूला युद्ध चलेका थिए । ती युद्धमा कुनै तराई वा मधेशवासीले गोरखाली र अङ्ग्रेजको समर्थन वा विरोधमा वा आफ्नै स्वतन्त्र अस्तित्वका निम्ति आवाज र हतियार उठाएनन् । तिनले राजनीतिक सोच, उद्देश्य र बल भएका आगन्तुक शक्तिलाई स्वीकार गर्ने काम मात्र गरेको देखिन्छ ।
यस अर्थमा पृथ्वीनारायण शाह वा उनका सन्ततिले तराईका स्थानीयहरूको राज्य खाइदिएका होइनन् । बरु उल्टै अवधसँग साँठगाँठ भएका र भारततर्फको प्रभावमा अगाडि बढेका नवआगन्तुकले सिम्रौनगढ जस्तो सभ्यताको केन्द्रलाई ध्वस्त पारी त्यहाँका पुराना बासिन्दालाई धपाएपछि तिरहूतका शासक, भारदार, गुरु–पुरोहित, नोकर–चाकर सबै, नेपालमण्डलको तात्कालीन राजधानी भक्तपुरमा शरण लिन आएको इतिहास आजको प्रसङ्गमा सम्झ्न लायक छ ।
शेर्पा समुदायको यथार्थ
ऐतिहासिक तथ्यका आधारमा अन्वेषकहरूले नेपालको हिमाली भेकमा १६औं शताब्दीभन्दा पहिले एउटा पनि शेर्पा नभएको ठोकुवा गरेका छन् । ऐतिहासिक प्रमाण अनुसार सन् १५३३ मा शेर्पाको पहिलो सानो समूहले भारततर्फबाट चौंरी आदि गोठ पाल्दै बसाइँ सरी खुम्बु इलाकामा बसोबास शुरु गरेको र त्यसको दुई दशकपछि सोलु इलाकातिर प्रवेश गरेको तथा त्यसपछि विस्तारै–विस्तारै पूर्वका अन्य हिमाली भेकमा फैलँदै र सर्दै गएको देखिन्छ । सन् १७१७ मा आइपुग्दा शेर्पाहरूको बसोबास र जनसङ्ख्या दुवैमा स्थायित्व तथा वृद्धि भइसकेको हुँदा मकवानपुरको सेन राज्यले वार्षिक कर र सलामीको आधिकारिक दावासहित सोलु र खुम्बु इलाकामाथि आफ्नो अधिकार कायम गरेको थियो । पछि सेनका मकवानपुर र चौदण्डी राज्य जितेपछि खुम्बु, सोलु आदि शेर्पा समुदायले बसोबास गरेका इलाका स्वतः एकीकृत नेपालमा परे । पृथ्वीनारायणका गोरखाली सैनिक अधिकारीले आफूतर्फ मिल्न आह्वान गर्ने बाहेक कुनै युद्ध गरेर शेर्पा समुदायको इलाका लिनुपरेको थिएन ।
यसरी पृथ्वीनारायण शाह वा अरू कसैले शेर्पाको राज्य खाएको कुरा पनि इतिहाससम्मत छैन । स्मरणीय छ, गोरखाले उठाएको नेपाल एकीकरणको सैनिक अभियानको क्रममा भोट मूलका मानिसको बसोबास रहेको कुनै पनि उच्च हिमाली क्षेत्रलाई अधीनस्त गर्न पृथ्वीनारायण र उनका उत्तराधिकारीहरूले साधारण चिठ्ठीपत्र बाहेक आधिकारिक सम्झैता वा आक्रमण गर्नुपरेको थिएन । त्यसैले ‘शेर्पा’ नामको छुट्टै राज्यको परिकल्पनामा कुनै ऐतिहासिक आधार पाइँदैन ।
माथि उल्लिखित बाहेक ‘थारुवान’ नामको राज्यका निम्ति पनि ऐतिहासिक आधार पाइएका छैनन् । किम्बदन्ती, लोक परम्परा तथा केही अस्पष्ट पुरातात्विक अवशेषबाहेक ‘थारुवान’ नामक छुट्टै राज्य वा इकाइको ऐतिहासिकता भेटिएको छैन । थारू जातिका आफ्नै स्थानीय नायकहरूको व्यवस्थाका बारेमा छिटपुट उल्लेख भए तापनि गोरखाको एकीकरण अभियानको थालनी हुनुभन्दा धेरै पहिलेदेखि नै थारू नायक र क्षेत्र अन्य बाह्य शक्तिअन्तर्गत परिसकेको हुनाले ‘थारुवान’ अधीनस्त गर्न गोरखाले कुनै युद्ध गर्नुपरेको ऐतिहासिक प्रमाण पाइएको छैन । यसैगरी ‘लामा–भोटे’ राज्य भनिएका प्रदेशहरू सबै अघिअघि ‘खस’ वा ‘याचे’ साम्राज्य अन्तर्गतको ‘जडान’ इलाका र पछि जुम्लाको शाही ठकुराईअन्तर्गत थिए । बरु मुस्ताङ (तिब्बतीमा लो वा लोवो), मनाङ र त्यसभन्दा पूर्वका नार, नेश्चाङ, न्हुव्–री, चुमतर्फ र अझ्ै सुदूर पूर्वमा बालुङहुङ आदि ‘युल् ङावा’ को इलाकामा आफ्नै स्थानीय राजा (छो ग्याता) तथा सामन्त ‘गो वा’, ‘देपा पोम्बु’ (पोन् पो) ‘झेम् पोन’ (जोङ पोन) जस्ता उपाधिधारी स्थानीय शासकले शासन चलाएका उदाहरण पाइएका छन् ।
पृथ्वीनारायण शाहले कोच समुदायको पनि कुनै राज्य जितेर वा खोसेर लिएका होइनन् । हिजोआज प्रस्तावित ‘कोचिला राज्य’ ले चर्चिन सक्ने इलाका त युगौंदेखि सिक्किम, मोरङ वा विजयपुरका विजयनारायण लिम्बुलगायत स्थानीय लिम्बु शासक, जसलाई ‘राय’ वा ‘दिवान’ भनिन्थ्यो, अन्तर्गत र पछि पूर्णतः सेन राज्यअन्तर्गत थियो । सारा मोरङ इलाका र त्यस पूर्व सिक्किमको सिमानासम्मको भू–भाग वास्तवमा सेनअन्तर्गतको लिम्बुवान प्रदेश नै थिए । विजयपुर समेत सबै सेन राज्य विजय गर्ने क्रममा हाल प्रस्तावित ‘कोच प्रदेश’ पनि पृथ्वीनारायण शाहले हात लगाएका हुन् । इतिहासमा छुट्टै ‘कोचिला’ नामको राज्य वा प्रशासनिक इकाइको कुनै अस्तित्व नभएको र त्यस्तो नामको समुदायसँग गोरखाली सेनाको झ्डप भएको उदाहरण एउटा पनि नपाइएकाले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा ‘कोचिला राज्य’ को अस्तित्व मेटिएको हो भन्ने तर्कलाई स्वीकार गर्न सकिँदैन ।
यसरी हेर्दा हिजोआज उठाइएका जातीय वा क्षेत्रीय राज्यहरू नेपालको वर्तमान भू–भागभित्र स्वतन्त्र अस्तित्वमा थिएनन् । नेपालमा भएका लगभग पाँच दर्जन साना–ठूला टुक्रे राज्यमा उपत्यकाका मल्ल शासकअन्तर्गतका राज्य बाहेक सबै पश्चिमका खस राज्यको विखण्डनको क्रममा जन्मिएका हुन् । त्यसैले सेन समेत सबै राज्यमा खस मूलकै ठकुरी राजाहरू थिए । पृथ्वीनारायण र उनका सन्ततिले जितेका सबैजसो राज्य हिजोआज व्याख्या गरिए जस्तो अनेक जातजातिका आफ्नै अधिकारमा नभएर खस मूलका ठकुरीहरूअन्तर्गत थिए । स्मरणीय छ, पृथ्वीनारायण शाहले सबैभन्दा पहिले आफ्नै ससुराली अर्थात् मकवानपुरको सेन राज्यलाई आक्रमण गरेर गोरखा अन्तर्गत पारेका थिए । त्यस क्रममा आफ्नै जेठान दिग्बन्धन सेनलाई नुवाकोटमा ल्याई ठिंगुरा ठोकेर छिँडीमा थुनेका र त्यहीँ उनको अवसान भएको थियो । सेन राजाका खस मूलकै सैन्यको ठूलो सङ्ख्या सखाप भएको थियो त्यस घटनामा ।
डा. रमेश ढुंगेल
इतिहासवेत्ता डा. ढुङ्गेल त्रिवि, सिनाससँग आवद्ध छन् ।