१ वैशाख २०७० | 14 April 2013

खानेपानीको समस्याबाट आक्रान्त

Share:
  

पानीको सीमित स्रोत र बढ्दो मागका कारण गर्मीको पारो चढ्दै जाँदा देशका थुप्रै स्थानमा खानेपानीको अभाव पनि चुलिंदै जान्छ। हिमाल ले काठमाडौं उपत्यकासहित देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणले पनि सर्वसाधारणले खानेपानीको गम्भीर समस्या भोगिरहेको देखाएको छ।

सर्वेक्षणका क्रममा 'तपाईंको घर, छिमेक, टोलमा खानेपानीको अवस्था कस्तो छ' भनेर सोधिएको प्रश्नमा ५२.४ प्रतिशतले 'राम्रो छैन' भनेका छन्। 'राम्रो छ' भन्नेहरू ४६.५ प्रतिशत छन्। देशका प्रमुख १४ शहरमध्ये धरानमा खानेपानीको समस्या सबैभन्दा बढी देखिएको छ। धरानका कुल उत्तरदातामध्ये ८४ प्रतिशतले खानेपानीको अवस्था राम्रो नभएको बताए। नारायणगढ खानेपानीका लागि सबैभन्दा उत्तम देखियो। यहाँका शतप्रतिशत उत्तरदाताले खानेपानीको अवस्था राम्रो रहेको बताएका छन्। नारायणगढपछि वीरगञ्ज, घोराही, विराटनगर र जनकपुर क्रमशः खानेपानीको अवस्था राम्रो भएका शहरमा परेका छन्। यद्यपि नारायणगढ बाहेकका अन्य शहरमा सुक्खा याममा चाहिं पानीको चर्कै समस्या भोगिरहेका छन्।

सर्वेक्षणमा सहभागी ३७४ उत्तरदातालाई 'गर्मी र सुक्खा मौसममा चाहिं खानेपानीको समस्या पर्छ कि पर्दैन' भनेर सोधिएको प्रश्नमा ६२.८ प्रतिशतले 'पर्छ' भन्ने उत्तर दिए। 'पर्दैन' भन्नेको संख्या ३४.२ प्रतिशत थियो। सुक्खायाममा पानीको सर्वाधिक समस्या धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, काठमाडौं, जनकपुर, दमक र धरानमा रहेको छ। नारायणगढ, वीरगञ्ज र विराटनगरका बासिन्दाले भने सुक्खा मौसममा पनि तुलनात्मक रूपमा पानीको कम समस्या भोगिरहेका छन्।

शहरिया नागरिकहरूमध्ये सर्वाधिक ४४.६ प्रतिशतले चापाकल (ट्यूबवेल) को पानी नै खानेपानीका रूपमा प्रयोग गरिरहेका छन्। ३८ प्रतिशतले वाटर सप्लाइ (पाइपमार्फत वितरीत) को पानी पिउन पाएका छन्। पोखरामा सबैभन्दा धेरै ८४ प्रतिशत वाटर सप्लाइको पानीमा निर्भर देखिए। धनगढी, बुटवल र नारायणगढका ५२, धरानका ७६, दमक र घोराहीका ४४, काठमाडौंका ३१ र वीरगन्जका २८ प्रतिशत मानिस वाटरसप्लाईको पानीमा आश्रित भएको उत्तर भेटियो। शहरमा बसेर पनि ०.८ प्रतिशतका लागि अझै खोला वा नदी नै खानेपानीको स्रोत हुनु चाहिं विडम्बना नै मान्नुपर्छ।

४८.९ प्रतिशत उत्तरदाताले खानेपानीको समस्या समाधान गर्न सबैतिर खानेपानीको लाइन पुर्‍याएर पर्याप्त पानीको व्यवस्था गर्न सुझाएका छन्। ४६.७ प्रतिशतले भने पानीका मुहान नसुक्ने गरी वैकल्पिक व्यवस्था गर्नसके खानेपानीको समस्या समाधान हुने विचार राखेका छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम