१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

क्यान्टोन्मेन्टको रातो गुलाब

Share:
  
- शिव गाउँले
शिविरमा देखिएको प्रेममय वातावरण भविष्यप्रतिको आशा त हुँदै हो, सँगै क्यान्टोन्मेन्टभित्र हुर्किरहेको युद्ध र हिंसा परित्यागको मनोविज्ञान पनि ।

राजु अधिकारी÷नागरिक
लाग्थ्यो त्यो माओवादी सैन्य शिविर नै होइन । २३ पुसका दिन सिन्धुलीको छापामार शिविर दुधौलीमा रुनेहरू त रोए, अरूका आँखा पनि ओभानो रहेनन् । एक वर्षअघिसम्म हुँदो हो त सम्भवतः त्यहाँ बन्दुक पड्काएर बिदाइ गर्नुपर्ने आवाज उठ्न सक्थ्यो । नभए पनि क्यान्टोन्मेन्ट पूरै लाल हुनेथियो । छापामारहरू बलियोसँग मुठी कसेर सलाम गरेर बिदा हुन्थे । समग्रमा युद्ध जारी छ भन्ने जनाउ दिइन्थ्यो । किनकि छापामार शिविरहरू युद्ध विज्ञानका रणनीति र कार्यनीति पढ्ने÷पढाउने, सिक्ने÷सिकाउने ठाउँ हुन् पनि । तर, यस पटक सिन्धुलीको दुधौली शिविरमा त्यस्तो देखिएन ।

यतिसम्म कि त्यहाँ कडा शब्द र चर्को शैलीमा फौजी र राजनीतिक कुरा पनि भएनन् । केहीले यतिसम्म मात्रै भने, “अनमिन र सरकारले अयोग्य भने पनि हामी अयोग्य त होइनौं ।” हुन पनि ‘तोकिएको मापदण्डभित्र नपरेका लडाकू’ लाई न्यूनतम योग्यता नपुगेको अर्थमा ‘अयोग्य’ भनियो । त्यो हदसम्मको उनीहरूको गुनासो नाजायज पनि होइन ।

अनुमान गरौं त, १० वर्षसम्म हिंसात्मक लडाइँ गरेका छापामारको आवासमा शान्तिप्रक्रिया जारी रहेको भनिएको पछिल्लो समयमा के हुर्किरहेको होला ? स्वाभाविक छ माओवादको अध्ययन अनि तालिम र सैन्य अभ्यास । अर्को वाक्यमा माओवादी सैन्य रणनीति र कार्यनीतिको विचार–विमर्श । नेपाली सेनासरहको हैसियत देखाउनै भए पनि नियमित तालिम र हतियार अभ्यास जारी राखेको देखाउनु जरुरी थियो होला । तर, दुई वर्षदेखि शिविरमा बसेका आफ्ना ‘कमरेड’ हरूको बिदाइमा उनीहरू जसरी प्रकट भए त्यसले त्यहाँ युद्ध–विज्ञानको अध्ययन र अभ्यास भन्दा भिन्दै मनोविज्ञान हुर्किरहेको आभास दिन्थ्यो ।

शिविरबाट बाहिरिएका छापामारहरूको तस्बिरले छापामाध्यममा राम्रो स्थान पाएका छन् । तिनको अनुहारमा एउटा छुट्टै सन्देश पढ्न पाइन्छ । मिलन र विछोड दुवैमा आँसु आउँछ त्यो स्वभाबिक कुरा हो । तर, छुट्टिन लागेका प्रेमी÷प्रेमिकाप्रतिको माया, पेटको बच्चालाई धर्तीमा आउन दिने सहज वातावरणको तयारी र होसियारी, काखको बच्चा हुर्काउने जिम्मेवारीप्रति त्यहाँ व्यक्त चिन्ताले ध्वंस होइन निर्माणको सङ्केत गर्छ । शिविरमा कोही स्कूल तहको कक्षाको तयारी गरिरहेका रहेछन् त कोही कलेज तहको । कलेजतहको परीक्षा दिनेहरू परीक्षाफल पर्खिएर बसेका रहेछन् । परीक्षाफल पर्खिनु भविष्यको खोजी गर्न र भविष्यप्रति आशावादी हुन सिक्नु हो ।

अहिले मुलुकमा शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रयत्न भइरहेको छ । शिविरका छापामारलाई माओवादीले रणनीतिक कार्डका रूपमा प्रयोग गर्न अझ्ै छाडेको छैन । ‘पहिला संविधान अनि मात्रै सेना समायोजन’ भनेर बेलाबखत आउने माओवादी नेताको भनाइबाट पनि यो पुष्टि हुन्छ । तर, शिविर छाडेर निस्किएका कुनै पनि छापामारले ‘अर्को युद्धको तयारी गर्ने’ जस्ता उत्तेजक अभिव्यक्ति नदिनुले माओवादीको यो कार्ड कमजोर हुँदै गएको आभास हुन्छ । चितवनको शक्तिखोरमा एकजना माओवादी सैन्य कमाण्डरले ‘अब तपाईंहरूको सेनासँगको सम्बन्ध टुटेर पार्टीसँग जोडियो’सम्म भनेका छन् । उनले ठीकै भने, किनकि अब माओवादी छापामारहरू लडाइँको मोर्चा छाडेर राजनीति गर्न जानुको विकल्प पनि थिएन । बन्दुक बोक्ने छापामारले राजनीति गर्छु भन्नु मात्रै पनि हतियारको विसर्जन हो ।

विद्रोह र हिंसाका लागि नेपाली समाज उर्वर देखिन्छ । डढेलो लाग्न उपयुक्त वातावरण तयार छ, आगो कोरिदिने भए मात्र पुग्छ । त्यसैले धेरैलाई शिविर छाडेका छापामारप्रति भय हुन सक्छ । तर, केही अपवादलाई छाडेर लामो इख नराख्ने, क्षमा दिने र मिलेर बस्ने संस्कृति नेपाली समाजको बिशेषता हो । त्यसैले कसैले चाहँदैमा नेपाली समाजलाई बिथोल्न सजिलो छैन भन्ने उदाहरण अहिले जातीयताका आधारमा सङ्घीय संरचना निर्माण गर्ने प्रस्ताव तयार हुँदा पनि विरोधको स्तर नखस्किएबाट प्रष्ट हुन्छ । त्यसैले यहाँनेर अयोग्य भनिएका माओवादी छापामारहरूले शङ्काको सुविधा पाउनुपर्छ । तर, जीवनको महŒवपूर्ण कालखण्डमा एउटा छुट्टै काम गरेकाहरूलाई भोलिपल्टदेखि नै ‘भैंसी पाल’ अथवा ‘चुलो बनाऊ’ भनियो भने त्यसले उनीहरूलाई उत्तेजित बनाउन सक्छ । त्यसकारण उनीहरूको व्यवस्थापनको जिम्मेवारी कुनै अमूक गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई दिएर हुन्न । त्यस्तै जीवनको उर्वर १० वर्षसम्म लडाइँ, हतियार र माओवाद रटेका छापामारहरूको भविष्य अब माओवादीको मात्रै चासोको विषय पनि हुनुहुन्न । यसको व्यवस्थापन र रेखदेखका लागि सरकार, दल र नागरिक निकायहरू अघि सर्नुपर्छ । त्यसो त शक्तिखोर शिविरबाट छापामार बिदाइका क्रममा उपहार दिइएको रातो गुलाबले समायोजन र रेखदेख कठिन छैन भन्ने सङ्केत गरिसकेको छ ।

comments powered by Disqus

रमझम