१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

सहभागितामै दंग

Share:
  
- सुरेशराज न्यौपाने
ह्याण्डबल, क्रिकेट, महिला फूटबल, बास्केटबल र गल्फका खेलाडीहरुले सागको प्रवेशलाई नै सफलता ठानेका छन् ।

मीनरत्न बज्राचार्य
प्रशिक्षणमा व्यस्त महिला फुटबल खेलाडी ।
बाङ्लादेशको राजधानी ढाकामा जारी ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश २३ खेलमध्ये महिला फूटबल, बास्केटबल, क्रिकेट, ह्याण्डबल र गल्फका खेलाडीहरूका लागि सागको ‘एरेना’ नौलो हो । सागमा यी खेलहरुमा पहिलो पटक भिड्न लागेको नेपाली खेलाडीहरुले पदकभन्दा अनुभवलाई महत्व दिनुपर्ने अवस्था छ ।

लामो अनुभव सँगालेका ६ जना खेलाडी भए पनि नेपाली महिला फूटबल टिमले ६ वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएका छैनन् । भारतले पछिल्ला वर्षमा अण्डर–१४ र अण्डर–१५ बाट महिला फूटबलमा गतिलो तयारी गरिरहेको छ । भर्खरै सम्पन्न मुम्बई फूटबल लिगले राम्रा खेलाडी उत्पादन गरेको बताइन्छ । आयोजक राष्ट्र बाङ्लादेश एसिएन फूटबल काउन्सिल (एएफसी) को सहयोगमा सञ्चालित ‘भिजन बाङ्लादेश’ कार्यक्रमपछि बलियो देखिएको छ । श्रीलङ्का र पाकिस्तानले पनि हरेक वर्ष महिला फूटबल च्याम्पिअनशीप गराउदै आएका छन् । नेपाली महिला फूटबल टिमको प्रदर्शनमा स्ट्राइकरहरू अनु लामा र कप्तान जमुना गुरुङबीचको समन्वय नै निर्णायक हुनेछ । वरिष्ठ प्रशिक्षक ध्रुव केसी भन्छन्, “खेलाडीहरुको मेहनत र खेलस्तर हेर्दा आशावादी हुने ठाउँ छ, अनपेक्षित परिणाम नआउला भन्न सकिन्न ।” सागमा राम्रो नतिजा ल्याउन सके त्यसको प्रभाब आगामी साफ च्याम्पिअनशीपमा पर्ने उनी बताउँछन् ।

ओलम्पिक र एसियाडमा समावेश गरिए पनि सागमा नसमेटिनु तथा घरेलु प्रतियोगिता नहुनुले ५० को दशकमा नेपाली खेलक्षेत्रमा लोकप्रिय ह्याण्डबलका गतिविधि पछिल्ला वर्षहरूमा शून्यप्रायः छन् । ८० को दशकमा भारतलाई समेत कडा चुनौती दिने मात्र होइन सन् १९९० मा हङकङमा सम्पन्न आमन्त्रण प्रतियोगितामा आयोजक र बाङ्लादेशलाई हराएर नेपाली टोलीले कास्य जितेको थियो । तर अहिले भारतको स्तर निकै माथि छ भने त्यसपछि पाकिस्तान र बाङ्लादेश छन् । एक दशकदेखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको नेपाली ह्याण्डबल टोलीमा कप्तान सन्देश रेग्मी, पद्मबहादुर नेपाली र दिनेश बिष्टबाहेकका खेलाडीहरूका लागि ११ औं साग पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । यसैकारण नेपालका लागि ११ औं साग अनुभव र सहभागिता दुबै हिसाबले महŒवपुर्ण छ । सन् १९८७ देखि नेपालको प्रतिनिधित्व गर्दै आएका कप्तान रेग्मी पदकभन्दा पनि सागमा ह्याण्डबलको प्रवेशलाई महŒवपुर्ण ठान्छन् । भन्छन्, “सागमा ह्याण्डबलको प्रवेशले सम्भावनाको ढोका खोलेको छ ।” ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने ह्याण्डबलमा नेपाल, अफगानिस्तान र बाङ्लादेशको समूह छ । सागमा ह्याण्डबलको प्रवेशबाट उत्साहित प्रशिक्षक प्रकाशसिंह ठकुरी संघ र राखेपले यस खेलमा पहल गर्न सके नेपालले पुरानै स्तर हासिल गर्न सक्ने बताउँछन् ।

नेपालमा निजी क्षेत्रको मात्र संलग्नता रहेको गल्फ खेलले ११ औं सागमा प्रवेश पाएपछि खेलाडीहरू उत्साही छन् । दक्षिण एसियाकै उत्कृष्ट गल्फ कोर्स मानिने ढाकास्थित कुर्मितोला गल्फ क्लबमा नेपाली एमेच्योर गल्फरहरू टासी घले, रुपक आचार्य, टासी छिरिङ र विष्णुप्रसाद शर्माले टिम इभेन्ट र व्यक्तिगत गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् । अनुभवी कप्तान टासी र एमेच्योर गल्फमा नेपालका नम्बर एक खेलाडी रुपकमाथि नेपाली गल्फ टीमको प्रदर्शन निर्भर हुनेछ । यसअघि सन् २००७ मा सम्पन्न ९ औं सार्क गल्फ प्रतियोगितामा यो जोडीले दोस्रो स्थान हात पारेको थियो । कप्तान घले भन्छन्, “सबै एमेच्योर खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेहुँदा खेलस्तरमा खासै अन्तर छैन ।” लामो समयदेखि विदेशी प्रशिक्षकको प्रशिक्षण र घरेलु मैदानको अनुकूलताले बाङ्लादेशी टिम नेपालका लागि मुख्य चुनौती बन्ने प्रस्ट छ ।

नेपालले पहिलो पटक सहभागिता जनाउने अर्को खेल हो क्रिकेट । उमेर वर्गमा पछिल्ला वर्षहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि त्यसलाई नेपाली सिनियर टिमले निरन्तरता दिन सकेको छैन । सागमा ज्ञानेन्द्र मल्लको नेतृत्वको अण्डर–२१ नेपाली क्रिकेट टीमले पहिलो खेल पाकिस्तानसँग १९ माघमा खेल्नेछ । २०–२० ढाँचामा खेलाइने क्रिकेटमा पाकिस्तान, नेपाल, बाङ्लादेश र माल्दिभ्सले भाग लिनेछन् । भारत र अफगानिस्तानले अन्तिम समयमा प्रतियोगितामा सहभागी हुन असमर्थता देखाएका कारण माल्दिभ्सलाई हराए मात्र पनि नेपालले पदक जित्न सक्छ । सन् २००२ को अण्डर–१९ विश्वकपको प्लेट च्याम्पिअनशीपमा पाकिस्तान र बाङ्लादेशलाई हराएको र सन् २००६ मा अण्डर–१९ विश्वकपको प्लेट च्याम्पिअनशीपमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई हराएर क्रिकेट जगत्लाई नै अचम्मित बनाएको नेपाली क्रिकेटबाट आशा गर्ने ठाँउ छ । नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे भन्छन्, “टिमको स्तर र विगतलाई हेर्दा नसोचेको नतिजा पनि आउन सक्छ ।” तर पनि नेपाली टीमका सामु चुनौती नभएका होइनन् । २०–२० क्रिकेटको विश्व च्याम्पिएन पाकिस्तानी टोलीको नेतृत्व उमर आमिनले गर्दैछन् जो गत वर्ष सम्पन्न पाकिस्तान र श्रीलङ्काबीचको एकदिवसीय शृङ्खलामा राष्ट्रिय टीममा परेका थिए । त्यसैगरी श्रीलङ्काली टीममा सहभागी दिनेश चण्डिमल, लाहिरू थिरिमाने र थिसेरा परेराले हालै बाङ्लादेशमा सम्पन्न भारतको समेत सहभागिता रहेको क्रिकेट प्रतियोगितामा सम्मिलित थिए । लाहिरूले भारतविरुद्धको एउटा म्याचमा ओपनिङ समेत गरेका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) लाई मान्यता दिएको र क्रिकेटलाई आगामी एसियाडमा समेत समावेश गरिएको हुँदा सागको नतिजाले नेपाली क्रिकेटमा दूरगामी प्रभाव पार्नुका साथै फेब्रुअरीमा काठमाडौंमा हुने विश्वकप डिभिजन–५ को प्रदर्शनमा समेत सकारात्मक असर गर्ने पाण्डे बताउँछन् ।

नेपाली खेलाडीहरूले पहिलो सहभागिता जनाउने अर्को खेल हो, बास्केटबल । कलेज र स्कूलका विद्यार्थी माझ लोकप्रिय भए पनि यस खेलमा पदकको अपेक्षाभन्दा पनि अन्तर्राष्ट्रिय अनुभवलाई प्रमुख लक्ष्य बनाइएको छ । नेपाली बास्केटबल टीमले सन् २००२ मा भारतको गुहावटीमा सम्पन्न प्रतियोगितामा माल्दिभ्सलाई हराएर कास्य पदक जितेको थियो । तर प्रशिक्षक दिनेशचन्द्र नकर्मीका अनुसार सन् २००५ मा दिल्लीमा सम्पन्न मध्य–एसियन छनोट चरणमा भाग लिएयता नेपाली बास्केटबल टीमले विदेशी भूमिमा खेल्ने कुनै अवसर पाएको छैन । सागमा माल्दिभ्स र बाङ्लादेशसँगै समूह ‘बी’ मा परेको नेपाली टीमले कुनै एक टिमलाई हराए मात्र पनि कास्य जित्न सक्नेछ । प्रशिक्षक नकर्मी भन्छन्, “नेपाल जस्ता मुलुकका खेलाडीहरूले खेलेर पैसा कमाउने भन्दा पनि अन्तर्राष्ट्रिय अनुभवको अपेक्षा मात्र राखेका हुन्छन् ।”

सागका विगतका संस्करणहरूमा प्रवेश नपाएका कारण क्रिकेट, गल्फ, ह्याण्डबल, बास्केटबल र महिला फूटबलका राष्ट्रिय प्रतियोगिताहरूप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खासै चासो दिने गरेको थिएन । खेल सामग्री, वैदेशिक सहभागिता र प्रशिक्षणको अवसर पनि कमै पाउने गरेको तीतो अनुभव प्रशिक्षक र खेलाडीहरूको छ । ११ औं सागमा यी खेलहरूको प्रवेशले राखेपबाट हुँदै आएको उपेक्षाको अन्त्य हुनेमा खेलाडी र प्रशिक्षकहरु विश्वस्त छन् ।


सत्कार्यमा आहा

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गरौं” भन्ने मुल नारा सहित पोखरामा आठौ आहा गोल्डकप फुटबल प्रतियोगिता संचालन भईरहेको छ । माघ २३ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ३ विभागिय टोलिसहीत १२ टोली सहभागि छन् । यसअघि नेपाल पुलिस क्लबले तीन, मनाङमस्र्याङ्दी क्लबले दुई, अफ्रिकन युनाइटेड र नबिल थ्रीस्टारले एक–एक पटक प्रतियोगिता जितेका छन् । यस पटक उपाधि विजेताका लागि एक लाख ५० हजार र दोश्रो हुने टोलीका लगि ७५ हजार रुपैया पुरस्कारको व्यवस्था छ । प्रतियोगिता सम्पन्न गर्न करीब ४३ लाख लाग्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगिताले राजधानी केन्द्रित फुटबल गतिविधिलाई राष्ट्रिय एवम अन्तराष्ट्रिय क्लबहरुलाई सहभागि गराएर मोफसलमा विस्तार र विकास गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । क्लबले दोश्रो आहा गोल्ड कप २०६१ सालदेखि गरीब तथा असाय १८ जना किशोरहरुको भरण पोषण गरी एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । यस पटकको प्रतियोगितामा दैनिक बिक्रि हुने प्रतिटिकटबाट एक रुपैया एन्फा कास्कीद्धारा स्थापित खेलाडी अक्षय कोषलाई प्रदान गर्ने क्लबले जनाएको छ ।

दिननाथ बराल, पोखरा


पूर्वमा बूढासुब्बा

धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकप प्रतियोगिताको बाह्रौं संस्करण १९ माघदेखि १ फागुनसम्म सञ्चालन हुँदैछ । मोफसलमा हुदै आएको ठुला खेल प्रतियोगिता मध्येको बुढासुब्बामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १२ क्लबले सहभागिता जनाउदैछन् ।

रु. २६ लाख ४८ हजार ४०० अनुमानित बजेट रहेको प्रतियोगिताको बिजेता टोलीले उपाधी ट्रफीसँगै नगद रु. १ लाख ५० हजार तथा उपबिजेताले रु. ७५ हजार प्राप्त गर्नेछ । खेल अवधीभर उत्कृष्ट खेलाडीलाई नगद रु.२५ हजार, फाइनल खेलमा म्यानअफ दी म्याच हुने खेलाडीलाई नगद रु.१० हजार र प्रतियोगिता अवधिभर सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद रु.१५ हजार प्रदान गरिनेछ ।

धरानलाई खेलकुदको क्षेत्रमा पूर्वाञ्चलकै केन्द्रविन्दुको रुपमा स्थापित गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गर्न र खेलकुदको माध्यमबाट आन्तरीक तथा बाह्य खेल पर्यटक भित्राउने उदेश्यले २०५५ सालबाट यो प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय स्तरमा ख्याती कमाएका स्थानीय कलाकारहरुको साङ्गीतिक कार्यक्रमबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नाईटचेस क्लब झापा र न्यु रोड टीम काठमाण्डौं बीच हुने भएको छ । धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सञ्चालन हुने खेलमा प्रतियोगिता अवधिभर करिब एक लाख दर्शक सहभागी हुने आयोजक क्लबका अध्यक्ष सुवास राईको अनुमान छ ।

मनिता चाम्लिङ्ग ,धरान

comments powered by Disqus

रमझम