'खुलेर कुरा गर्न, घरमा होइन बाहिर' भन्ने अध्यक्ष दाहालकै भनाइ अनुसार होटल सांग्रिलाको 'डेस्मण्ड डोइग लाइब्रेरी लाउञ्ज' मा तय गरिएको अन्तर्वार्ताका लागि नजिकैको निवासबाट दिउँसो तीन बजेको निर्धारित समयमै सुरक्षाकर्मीहरूको घेरामा उनी आइपुगे। करीब ९० मिनेटको बसाइ र ८५ मिनेटको 'अन द रेकर्ड' अन्तर्वार्तामा उनी आफूले कबोल गरेजस्तै खुलेरै प्रस्तुत भए, तर आफ्नो प्रत्येक राजनीतिक 'मूभ' लाई 'शान्तिका लागि रणनीतिका रूपमा बुझने' आग्रह दोहोर्याउँदै।
सह–प्रकाशन नेपाली टाइम्स का सम्पादक कुन्द दीक्षितको जस्तै हामी दुईको अनुभवमा यसअघिका अन्तर्वार्तामा प्रश्नकर्तासँग 'आइ कन्ट्याक्ट' नगर्ने अध्यक्ष दाहाल यो पटक भिन्न रूपमा प्रस्तुत भए, प्रश्नकर्ताको आँखामा आँखा जुधाएर जवाफ दिंदै। जसबाट हौसिएका हामीले मुलुकको राजनीति, उनको पार्टीको अवस्था, बाबुराम भट्टराईसँगको सम्बन्ध, उनको खस्किएको ओज, आगामी निर्वाचनलगायतका विषयका प्रश्नहरू गर्यौं। तिनको सहज जवाफ दिएका दाहाललाई विद्रोहकालमा भएका मानवता विरुद्धका अपराध, त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको चासो, हालै जारी बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश, विभिन्न फौजदारी अपराधमा सामेल भएका व्यक्तिहरूलाई पार्टीमा दिइएको प्रोत्साहनलगायतका विषयसम्बद्ध जिज्ञासाहरूले असहजतातर्फ धकेल्न खोजे जस्तो देखिन्थ्यो। तर, आफ्नो स्वभाव अनुसार (यसअघिका अन्तर्वार्तामा जस्तै) उनी कुनै प्रश्नमा रिसाएनन्, 'बडी ल्याङ्गवेज' बाट असहजता प्रकट गरे पनि। कतिपय बेला उनले दुवै कुम र जीउ हल्लाउँदा अन्तर्वार्ता छाडेर उठ्न पो खोजेका हुन् कि भन्ने भान चाहिं पारे।
आफू अगाडिको व्यक्तिलाई 'कन्भिन्स' गर्न 'तपाईंले भनेको ठीक भए पनि, कुरा यसो हो', 'गल्ती भएका छन्, सुधार्छौं; बाध्यता बुझनु पर्यो' जस्ता वाक्यांश दाहालले यो अन्तर्वार्ताको क्रममा पनि भरपूर दोहोर्याए। कुनै प्रश्नबाट तर्किनुपर्दा र प्रतिपक्षीलाई उडाउनुपर्दा (यहाँ वैद्यको गठबन्धनमा ३३ दल रहेको प्रसङ्गमा) पूरै शरीर हल्लाएर हाँस्ने दाहालको स्वभाव उस्तै रहेको यो अन्तर्वार्तामा पनि देखियो। खिलराज सरकारबारेको प्रश्नमा भने उनी जवाफ दिन्न भन्दै सोझै तर्किए। बाबुराम र उनीबीचको प्रतिस्पर्धा सम्बन्धी प्रसङ्गमा पनि खुलेर जवाफ दिन चाहेनन्।
युद्ध अपराधीमाथि हुने कारबाही 'सत्य निरुपण तथा बेपत्ता भएकाहरू सम्बन्धी आयोग' को सिफारिसमा हुने र क्षमादान नहुने भनेर मन जित्न खोज्दै गर्दा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संस्थाहरूले त्यही आयोग निर्माणका लागि जारी अध्यादेशमा उठाएको प्रश्नमा चाहिं दाहालले 'बाहिरकाले ठीक नभनेसम्म हामी ठीक भएको नहुने यो हाम्रो कस्तो सोचाइ हो' भन्ने अनौठो प्रतिप्रश्न गरे। तर, यसअघि आफू र आफ्नो पार्टीले राष्ट्रसंघ सम्बन्धी प्रत्येक विषयमा (अनमिन लगायत) अरू दलले भन्दा बढी स्वागत गरेको तथ्यलाई भने त्यो जवाफ दिने क्रममा सम्झेको देखिएन।
दाहालको 'डाइनामिजम'! आफ्नै र अन्य पार्टीका नेताहरूबाट तथा सार्वजनिक रूपमा आफूलाई लाग्ने 'बोलीको ठेगान नभएको', 'दोधारे', 'भनाइ र गराइबीच अन्तरविरोध देखिने' जस्ता आरोपहरूलाई उनले सहज रूपमा स्वीकारे, तर; त्यसलाई आफ्नो व्यक्तित्वको 'डाइनामिजम' का रूपमा परिभाषित गर्र्दै। उनले डब्बा (विद्रोह) लाई इञ्जिन (आफू) बाट छुट्टिन नदिइकनै पार्टीलाई रूपान्तरित गर्ने रणनीति अन्तर्गत त्यस्तो प्रस्तुति दिएको बताए। उनले प्रष्टै भने– “कतिपयले भने जस्तै पहिले नै सबै 'ढ्याङ्ग' भनेको भए सबै डिब्बा तानेर हिंड्ने स्थिति आउने थिएन। यति मिलाउँदा त केही डिब्बा छुटे (वैद्य पक्ष) नभए त, सबै डिब्बा छाडेर इञ्जिन एक्लै हुन्थ्यो।”
भिडिओ टेपबाट सार्वजनिक भएको शक्तिखोरको भाषण र सार्वजनिक मञ्चहरूको प्रस्तुतिको फरकलाई पनि त्यही 'डायनामिज्म' का रूपमा अर्थ्याउँदै उनले भने, “त्यसो नगरेको भए शान्ति प्रक्रियामा आउने कुरा पनि हुन्थेन। त्यो डाइनामिजम हुँदैनथ्यो भने यो सब कसरी सम्भव हुन्थ्यो?” तर, उनले डायनामिजम भन्ने गरेका ती सबै क्रियाकलाप र युद्धबाट शान्तितर्फ अवतरणका प्रयासलाई धेरै मानिस एमाओवादी नेतृत्वको बाध्यता मान्छन्। राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति पूरै प्रतिकूल भएको त्यो बेला दाहाललाई संयोग मात्र मिलेको हो, तत्कालीन राजा ज्ञानेन्द्रको मूर्ख्याइँका कारण लोकतान्त्रिक दलहरू उनका लागि तारणहारका रूपमा प्रकट हुनु।
हामी अन्तर्वार्ताकार र हामीमार्फत आम पाठकलाई प्रभावित पार्न उनले लामो रणनीति अन्तर्गत पार्टीलाई रूपान्तरण गरेको खुलेरै बताउँदा आफूसँग विभाजित मोहन वैद्य नेतृत्वको नेकपा―माओवादीले उनीबारे गरेको टिप्पणीलाई बल पुग्छ भन्ने ख्याल नगरे जस्तो देखियो। किनभने, वैद्य पक्षले दाहाललाई 'जनयुद्ध' लाई नियोजित रूपमा शान्तिवार्तामार्फत विसर्जन गराएको बताउँदै आएको छ। त्यस्तै हौस्याइ अन्तर्वार्ताको क्रममा उनमा पटक–पटक देखियो, खासगरी उनलाई दक्षिण एशियाको सम्भावित नेता भन्दै प्रश्न गर्दा।