१६–२९ माघ २०६६ | 30 January-12 Febraury 2010

कमरेड नेपालको डायरी

Share:
  
- ऋतुराज

कामरेड ज्योति वसुको निधनमा कामरेड नेपालले शोक व्यक्त गर्दै एउटा दैनिक अखबारमा लेख निकाले । तर वास्तवमा उनले हतारमा टिपाएको लेख थियो त्यो । आफ्नै हातले लेखेको होइन । उनको मनको असली भावना पनि त्यहाँ परेको थिएन । उनी त दिल खोलेर गहकिलो र विश्लेषणात्मक लेख लेख्न चाहन्थे । तर प्रधानमन्त्री भइखाएकाले कतिपय कुरा राजनीतिक हिसाबले लेख्न ठीक नहुने, कतिपय कुरा कूटनीतिक हिसाबले उचित नहुने । उनले आफ्ना कुरा टिपाएर छपाए पनि उनलाई त्यसमा साह्रै चित्त बुझ्ेको थिएन ।

त्यसैले त्यस राति कामरेड नेपालले निजी डायरी खोले, जसमा उनले लेख्न नभ्याएको निकै भएको थियो । यसै पनि दिनहुँ डायरी लेख्ने उनको स्वभाव छैन । तर भावप्रवण अवस्थामा भने उनी लेख्ने गर्छन् । त्यस्ता अवसर उनको जीवनमा बेला–बेला आएको छ । जस्तो प्रधानमन्त्री हुने भनेर लवेदा–सुरुवाल तयार पारिसक्दा पनि त्यो पद हातबाट उम्केका बखत । गएको निर्वाचनमा दुई–दुई ठाउँबाट हारेको बखत । त्यस्तो बेला भक्कानिएर उनी आफ्ना सारा भावना डायरीमा पोख्ने गर्छन् । त्यस रात उनी त्यस्तै भावप्रवणताले ओतप्रोत भएका थिए । किनभने कामरेड ज्योति वसुको निधन भएको थियो, जसलाई सबैले कम्युनिस्टहरूको ज्योति भनेर गुणगान गरिरहेका थिए । ज्योति वसुको मृत्युको शोकमा कामरेड नेपालले पनि कामरेड वसुलाई महान् कम्युनिस्ट भनेर प्रशंसा गरेका थिए । त्यो त उनले दुनियाँको खपतका लागि भनेका थिए । तर उनलाई खुलेर भत्रु थियो त्यसैले उनले डायरीको सहारा लिनु परेको थियो । उनले कलम समाते र शीर्षक लेखे ‘कामरेड ज्योति वसु र म’ । वास्तवमा उनी पहिले शीर्षक दिएर लेख पछि लेख्ने मध्येका हुन् । शीर्षकले नै उनको विचार तरङ्गलाई डो¥याउँथ्यो । जस्तो ‘माक्र्सवाद र नेपाल’ । त्यसो भएपछि उनलाई लेख्न सजिलो हुन्थ्यो ।

उनले लेखेः “कामरेड ज्योति वसु निःसन्देह महान् कम्युनिस्ट थिए । उनलाई मैले एकदुई पटक भेटेको थिएँ । भेटबाट म साह्रै प्रभावित भएको थिएँ । यद्यपि नभेटिकन पनि उनीबाट म पहिल्यैदेखि प्रभावित थिएँ । उनी साँच्चिकै ठूला मानिस थिए । सबैले महान् मानेका छन् उनलाई । मलाई पनि उनी महान् नै लाग्छ । तर सोचेर ल्याउँदा म आफंैलाई पनि कामरेड ज्योति वसुभन्दा कम महान् लाग्दैन । (ज्ञातव्य छ उनको नाममा पत्रिकामा छापिएको लेखमा स्वर्गीय वसुलाई उहाँ भनिएको थियो, डायरीमा भने उनी ।)

उनी त उसैबेला अमेरिका गई डाक्टरी पढेर आउने धनाढ्य बाबुका छोरा थिए । ब्यारिष्टर पढ्न लण्डन गए । उतैबाट कम्युनिस्ट बनेर भारत फर्के, फर्कनेबित्तिकै नेता भए । ठूला बाबुका ठूला छोरा थिए । म त सामान्य परिवारमा जन्मेर, गाउँ–देहातमा पढेर अनि अनेक सङ्घर्ष गरेर बल्ल नेता भएको । मेरा लागि कताको सेन्ट जेभियर स्कूल, कताको प्रेसिडेन्सी कलेज, कताको क्याम्ब्रिज !

उनी सम्भ्रान्त बङ्गाली समाजका ‘भद्रलोक’ मध्येकै थिए । उनले के दुःख गरे जति मैले गरें । असली सर्वहारा त म हुँ । मैले ब्याङ्कको क्लर्क भएर कैयौं वर्ष कलम घसेको छु । बङ्गालीका हिसाबले मैले बाबु काम गरेको छु । वास्तवमा मलाई कसैले नामपछिल्तिर बाबु जोडेर ‘माधवबाबु’ भन्यो कि मलाई मैले खाएको त्यही क्लर्कको जागिर याद आउँछ । तर अहिले म प्रधानमन्त्री भएँ । छलाङ भनेको यो पो हो त ।

फेरि कामरेड वसुलाई सिगार तात्रुपर्ने अङ्ग्रेजहरूले जस्तो । अनि पाएमा एक–दुई पेग ह्विस्की पनि चढाउनुपर्ने साँझ्मा । त्यस्ता खालका कम्युनिस्ट थिए उनी । आफू त चुरोट, जाँडरक्सीबाट टाढा महात्मा गान्धी जस्तो । आत्ममूल्याङ्कन गर्दा यस मानेमा कामरेड वसुभन्दा सदाचारी पाउँछु म आफैंलाई ।

मानिसहरू मलाई कम्युनिस्ट भएर प्रधानमन्त्री हुनलाई राजाकहाँ पनि बिन्तीपत्र हाल्यो भनेर मेरा कुरा काट्छन् । अरे उनको देशमा राजा भए ज्योति वसुले पनि हाल्थे बिन्तीपत्र । प्रधानमन्त्री हुन को चाहँदैन ? त्यस्तो इच्छा नहुँदो हो त पार्टीले आफूलाई प्रधानमन्त्री हुनबाट रोक्दा कामरेड वसुले त्यसलाई ‘ऐतिहासिक भूल’ भनेर तीतो पोख्थे ?

मलाई नातागोता च्यापेर जागिर दियो भनी आरोप लगाउँछन् । भाइलाई हङकङ पठायो भनेर मलाई यो फत्तुर लागेको हो । मैले भाइलाई कहाँ पठाएको हुँ र ? एक योग्य सरकारी कर्मचारी पो गएको हो । धुईंधुईं खोज्दा उही योग्य फेला प¥यो । फेरि उसलाई खटाई पठाउने परराष्ट्र मन्त्रालय हो, मैले होइन । आफ्नो परिवारलाई काखी च्यापेको दोष कामरेड वसुलाई मात्रै नलागेको हो र ? छोरा चन्दनको व्यापार उनको आशीर्वाद नपाई के मौलाउँदो हो !

कामरेड वसुको मुख्यमन्त्रीत्वकालमा भ्रष्टाचार बढ्यो भनेर त्यसको विरोधस्वरुप मन्त्रिमण्डलमा भएका उनकै पार्टीका नेताहरूले राजिनामा दिएका थिए । कतिपय मामिलामा मेरा कुरा नसुनी बर्खिलाफ गरिहिँडे पनि त्यसरी राजिनामा त दिएका छैनन् । यस अर्थमा पनि कामरेड वसुको भन्दा मेरो रेकर्ड राम्रो छ ।
उनी तेइस वर्षसम्म अविच्छित्र रूपमा मुख्यमन्त्री जरुर भए । चुनाव जितेको जित्यै भए ।

ठीक छ, त्यति लामो रेकर्ड बनाए । तर आखिर त थिए उनी एउटा भारतीय प्रान्त पश्चिम बङ्गालका मुख्यमन्त्री । प्रोटोकलका हिसाबले उनी र सिक्किमका पवनकुमार चाम्लिङमा खासै केही फरक छैन । म जति महिना प्रधानमन्त्री भए पनि एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्री हुँ । त्यो गौरव कता हो कता ठूलो हो । उनी दिल्लीलाई कलकत्ता बसी–बसी चलाउँथे रे, मलाई दिल्लीले चलाउँछ भन्छन् भत्रेहरूले । भत्रेको मुख कसले थुत्र सक्छ, भन्दै गरुन् । जे भए पनि प्रधानमन्त्रीका रूपमा मेरो नाम दर्ता भइहाल्यो क्यारे !

जहाँसम्म चुनाव जित्ने कुरा छ, प्रजातन्त्रमा चुनाव जित्नु राम्रो हो । तर चुनाव जित्नु नै सबथोक होइन । सरकार बनाउन सक्नुपर्छ, प्रधानमन्त्री हुन सक्नुपर्छ । कसैले मलाई हेरोस् । दुई–दुई ठाउँबाट चुनाव जितेको व्यक्तिबाट प्रधानमन्त्रीको पद खोसेर म दुई–दुई ठाउँबाट चुनाव हारेको व्यक्ति अहिले प्रधानमन्त्री छु । अब कसैले भनोस् कामरेड ज्योति वसु महान् कि म कामरेड नेपाल महान् ?”

comments powered by Disqus

रमझम